इरान: जुन देशमा घरपालुवा जनावर पाल्दा जेल पर्न सकिन्छ

इरान

तस्बिर स्रोत, Getty Images

    • Author, अली हमेदानी
    • Role, बीबीसी विश्व सेवा

"उसले आफ्ना निर्दोष र सुन्दर आँखाले मलाई हेर्‍यो। उसले आफूलाई बाहिर घुमाउन लैजान भन्यो तर मैले त्यस्तो आँट गरिनँ। हामी पक्राउ पर्न सक्छौँ।"

तेहरानका माशा नाम गरेकी कुकुर पाल्ने एक महिलाले घरपालुवा जनावरहरू पाल्नेहरूको पक्राउ र जनावरहरूको बन्ध्याकरणबारेको एउटा नयाँ लहरलाई इङ्गित गर्दै थिइन्।

इरानको राजधानी शहरको प्रहरीले हालै एउटा घोषणा गर्दै शहरका पार्कहरूमा कुकुर लिएर डुल्नु "अपराध" हुने जनाएको छ। 

त्यस्तो प्रतिबन्ध "आम मानिसको सुरक्षा सुनिश्चित गर्न" लगाइएको बताइएको छ। 

त्यसैबेला महिनौँको बहसपछि इरानको संसदले एउटा विधेयक पारित गर्ने तयारी गरिराखेको छ। 

जनावरहरूविरूद्ध मानिसको अधिकार संरक्षण गर्ने भनिएको उक्त कानुनको प्रस्तावले जनावर पाल्ने कुरा प्रतिबन्ध लगाउनेछ। 

जरिबाना

प्रस्तावित नयाँ कानुनी व्यवस्था अन्तर्गत घरपालुवा जनावर राख्न एउटा विशेष समितिले जारी गर्ने अनुमति लिनुपर्नेछ। 

उक्त कानुनमा धेरैजसो घरपालुवा जनावरहरूको "आयात, खरिद तथा विक्री र पालन"का लागि न्यूनतम ८०० अमेरिकी डलरसम्म जरिबाना हुनसक्ने उल्लेख गरेको छ। 

जनावरको उक्त सूचीमा धेरैजसोले पाल्ने गरेका बिरालो, कछुवा र मुसासम्म छन्।

"यस विधेयकमाथिको बहस एक दशकभन्दा अगाडीदेखि सुरु भएको हो जतिखेर इरानी सांसदहरूको सबै कुकुरहरूलाई लिएर चिडियाखानामा दिने वा तिनलाई मरुभूमिमा छाड्ने एउटा कानुन अगाडि बढाउन खोजेका थिए," त्यस प्रस्तावको विरोध गरेका इरान भेटेरनरी एशोसिएशनका अध्यक्ष डा पायम मोहिबीले बीबीसीसँग भने। 

"यसबीचका वर्षहरूमा उनीहरूले त्यस विधेयकलाई कैयौँ पटक परिवर्तन गरेका छन् र कुकुर पाल्नेहरूलाई शारीरिक दण्ड दिने सम्मबारे छलफल गरेका छन्। तर उनीहरूको योजनाले कतै लगेन," डा मोहेबीले भने। 

इरान भेटेनरी एशोसिएसनका अध्यक्ष डा पायम मोहिबीले नयाँ विधेयकको खुला रूपमा विरोध गरेका छन्

तस्बिर स्रोत, Courtesy of Dr Payam Mohebi

तस्बिरको क्याप्शन, इरान भेटेनरी एशोसिएसनका अध्यक्ष डा पायम मोहिबीले नयाँ विधेयकको खुला रूपमा विरोध गरेका छन्

इरानी शहरी जीवनको एउटा प्रतीक

ककुर पाल्ने कुरा इरानको ग्रामीण भेगमा सामान्य झैँ छ। तर २०औँ शताब्दीमा त्यो इरानको शहरी जीवनको प्रतीकजस्तो पनि बन्यो। 

मध्यपूर्वमा पशु कल्याण कानुनहरू पारित गर्नेमा इरान सुरुवाती देशमध्ये गनिन्छ। 

भिडिओ क्याप्शन सुरु हुँदैछ, 'चिम्पू र चम्पालाई जसरी आफ्नै बच्चा पनि हुर्काएको छैन'

सन् १९४८ मा सरकारले जनावरहरूको अधिकारलाई प्रवर्द्धन गर्न भनेर पहिलो संस्था स्थापना गरेको थियो। 

देशको शाही परिवारसँग पनि कुकुरहरू थिए। 

तर सन् १९७९ मा भएको इस्लामिक क्रान्तिले इरानी नागरिक र कुकुरहरूका लागि धेरै पक्षमा परिवर्तन ल्यायो। 

२०औँ शताब्दीमा इरानको शाही परिवारसँग पनि कुकुरहरू थिए। 

तस्बिर स्रोत, Iranian Royal Family Collection

तस्बिरको क्याप्शन, २०औँ शताब्दीमा इरानको शाही परिवारसँग पनि कुकुरहरू थिए

२०औँ शताब्दीमा त्यो इरानको शहरी जीवनको प्रतीकजस्तो पनि बन्यो। 

इस्लामिक परम्परामा जनावरहरूलाई अपवित्र मानिन्छ। 

नयाँ शासकहरूले कुकुरहरू पश्चिमाकरणको प्रतीक बनेको भन्दै त्यसलाई अनावश्यक ठानेर नियन्त्रण गर्नुपर्ने आदेश दिएका छन्।

"कुकुर पाल्नेबारे कुनै ठोस नियमहरू छैनन्," तेहरानमा बस्ने एक पशु चिकित्सक डा अस्कन सेमिरानीले बीबीसीसँग भने। 

"प्रहरीहरूले कुकुर डोर्‍याएर हिँडेका भरमा वा कारमा तिनलाई राखेर डुलेका भरमा छड्के मार्दा मानिसहरूलाई पक्राउ गर्छ किनकी त्यसलाई उनीहरूले पश्चिमाकरणको प्रतीक मान्छन्।"

कुकुर कारागार

"उनीहरूले जनावरहरूका लागि कारागार समेत बनाएका छन् र हामीले त्यस ठाउँबारे धेरै त्रासपूर्ण कथाहरू सुनेका छौँ," उनले थपे।

वर्तमान शासकहरूले कुकुरहरू पश्चिमीकरणको प्रतीक बनेको आरोप लगाउँछन्

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, वर्तमान शासकहरूले कुकुरहरू पश्चिमीकरणको प्रतीक बनेको आरोप लगाउँछन्

"ती जनवारहरूलाई कैयौँ दिनसम्म खुला ठाउँमा राम्ररी खाना वा पानी नदिईकनै राखिन्छ भने तिनलाई पाल्ने मानिसहरू धेरै कानुनी झन्झटहरू झेल्नुपर्ने हुन्छ।"

नयाँ कानुनी प्रस्तावका लागि वर्षौँदेखिको पश्चिमा आर्थिक प्रतिबन्धका कारण इरानमा परेको सङ्कट पनि जिम्मेवार छ। 

अधिकारीहरूले देशको वैदेशिक मुद्रा सञ्चिति बचाउन भनेर तीन वर्षयता घरपालुवा जनावरका लागि दिइने खाना आयात प्रतिबन्ध लगाएका छन्। 

जसले गर्दा विदेशी ब्रान्डको बाहुल्य रहेका त्यस्ता सामानमा मौलाएको कालोबजारीले जनावरका खानेकुराको मूल्य निकै बढेको छ। 

"गोप्य रूपमा लुकाएर त्यस्ता खाना ल्याउने मानिसमा हामी निकै निर्भर छौँ," मस्हाद शहरमा रहेका एक भेटेरनरी क्लिनिकका मालिकले बीबीसीलाई भने। 

"केही महिनाअघि भन्दा अहिले मूल्य पाँच गुणा बढेको छ।"

व्यापारीहरूले स्थानीय रूपमा उत्पादित जनावरका खानेकुरा गुणस्तरीय नरहेको बताउँछन्। 

"कारखानाहरूले सस्तो मासु वा माछा, अझ भन्दा म्याद सकिएका सामग्री प्रयोग गर्छन्।"

बिरालोको समस्या

तर नयाँ विधेयक कुकुरहरूप्रति मात्र लक्षित छैन। 

नयाँ सूचीमा बिरालोहरू पनि छन् - गोहीहरू पनि त्यसमा समावेश छन्। 

इरान विश्वको निकै चर्चितमध्येको बिरालोका जात 'पर्सियन क्याट' जन्मने ठाउँको रूपमा समेत परिचित छ। 

इरान

"तपाईँ विश्वास गर्नुहुन्छ, पर्सिअन बिरालोहरू अब आफ्नै घरेलु भूमिमा सुरक्षित छैनन्?" तेहरानस्थित एक पशु चिकित्सकले बीबीसीलाई भने। 

"यो कानुनपछाडि कुनै तर्क छैन। कट्टरपन्थीहरूले जनतालाई आफ्ना कठोर शैली देखाउन चाहन्छन्।" 

इरान भेटेरनरी एशोसिएशनका अध्यक्ष डा. मोहिबीले प्रस्तावित नयाँ कानुनलाई "लाजमर्दो" बताउँछन्। 

"यदि संसद्ले यो विधेयक पारित गर्‍यो भने आउँदो पुस्ताले हामीलाई कुकुर कुकुर भएकै कारण र बिरालो बिरालो भएकै कारण तिनलाई प्रतिबन्ध लगाउने मानिसका रूपमा सम्झनेछ।"

माशाजस्ता जनावर पाल्नेहरू भने आफ्ना जनावरको भविष्यलाई लिएर निकै चिन्तित छन्। 

"म मेरो 'छोरा'को लागि अनुमति माग गर्ने आँट गर्न सक्दिनँ," उनले भनिन्।

"मेरो आवेदन अस्वीकृत भयो भने के गर्ने? म उसलाई सडकमा छाड्न सक्दिनँ।"

भिडिओ क्याप्शन सुरु हुँदैछ, सिंहको आँखामा मोतीबिन्दु