जर्मनीमा कुकुरलाई दैनिक एक घण्टा घुमाउनै पर्ने कानुन बन्ने

कुकुर

तस्बिर स्रोत, Getty Images

जर्मनीमा तपाईँले पालेको कुकुरलाई दैनिक दुई पटक गरेर कम्तीमा एक घण्टा डुलाउनै पर्ने कानुन बन्ने बताइएको छ।

मस्यौदा तयार भइसकेको कानुनमा लामो समयसम्म कुकुरलाई सिक्रीमा बाँधेर राख्न पनि प्रतिबन्ध लगाइने प्रावधान छ।

एक पटकमा तीनवटा भन्दा धेरै जनावर पाल्न नदिने गरि 'कुकुर फार्म'माथि प्रतिबन्ध लगाउने योजना पनि कानुनमा राखिएको छ।

कानुन परिवर्तनको योजनबारे कृषिमन्त्री युलिया क्लोकनरले भनिन्, "घरमा पालेका जनावर टाँसेर राख्ने खेलौना होइनन्, उनीहरूको आवश्यकताको ख्याल गरिनुपर्छ।"

कुकुर कल्याण योजना

कानुनमा गर्न लागिएको सुधारमा कुकुरपालकहरूले अनिवार्य रूपमा गर्नुपर्ने कुराहरू समेटिएका छन्।

कुकुरलाई दिनदिनै बाहिर डुलाउनु पर्ने व्यवस्था गरिएको त्यसैमा हो।

जसअनुसार दिनमा दुई पटक कम्तिमा एक घण्टा घुमाउनु पर्नेछ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोरोनाभाइरस: महामारीसँग सङ्घर्ष गर्ने स्वास्थ्यकर्मीको उपचारमा कुकुर

कुकुरका मालिकले पूरै दिन कुकुरलाई एक्लै घरमा छाड्न पनि पाउने छैनन्।

पशुपालकले तीनवटा भन्दा बढी जनवार पाल्न पाउने छैनन् र कुकुरका छाउराको सामाजिकीकरणका निम्ति दैनिक कम्तीमा चार घन्टा मानिसहरूसँगै राख्नुपर्ने छ।

मन्त्री क्लोकनरका अनुसार जनावरको सुरक्षा र कल्याण सुनिश्चित गर्न कानुनमा गर्न लागिएका परिवर्तनहरू विज्ञहरूको सुझावमा आधारित छन्।

घरमै पुग्छन् प्रहरी?

नयाँ नियमको मस्यौदा तयार भइसकेको छ र त्यो आउँदो वर्षको सुरुमा त्यो कानुन बन्न सक्छ।

परित भएमा त्यो लागु गराउने अभिभारा जर्मन राज्यहरूको हुनेछ।

कुकुर

तस्बिर स्रोत, EPA

कृषि मन्त्रालयकी एक प्रवक्ताले कसैले कुकुरलाई डुलाउन लग्यो कि लगेन भनेर प्रहरी कुकुरपालकको घरमा सोधखोज गर्न जाने सम्भावना निकै कम रहने बताइन्।

पालिएका कुकुरहरूलाई राम्रो व्यवहार गरिएको सुनिश्चित गर्नेमा जोड दिने उद्देश्य रहेको उनको भनाइ छ।

पशु सुरक्षा नियमहरू विपरीत कान र पुच्छर काटिएका कुकुरहरूलाई प्रदर्शन गर्न पनि रोक लगाउने प्रस्ताव योजनामा छ।

मन्त्री क्लोकनरको योजनामा टाढा यात्रा गराइने पशुका निम्ति साढे चार घण्टाको ट्रान्जिट समय पनि निर्धारण गर्ने नयाँ नियम समावेश गरिएको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, तीनवटा कुकुर लिएर 'विश्व जोगाउने' अभियानमा दुई दिदीबहिनी