इरानका सर्वोच्च नेतालाई फेला पारेर मार्ने महिनौँ लामो अमेरिकी-इजरेली अभियान

तस्बिर स्रोत, Getty Images
- Author, गोर्डन कोरेरा
- Role, सुरक्षा विश्लेषक
- पढ्ने समय: ४ मिनेट
इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईलाई मार्ने सैन्य कारबाही धेरैले अपेक्षा गरेजस्तो मध्यरातमा नभई बिहानीको समयमा गरियो।
त्यो किनभने अमेरिका र इजरेलले उनीहरूले केही घण्टाअगाडि प्राप्त गरेको महत्त्वपूर्ण खुफिया जानकारीको उपयोग गरिहाल्न चाहे।
महिनौँदेखि उनीहरूले वरिष्ठ इरानी अधिकारीहरू भेला हुने अवसर छोप्न निगरानी गरिरहेका थिए। शनिवार बिहान मध्यतेहरानको एक परिसरमा सर्वोच्च नेता अली खामेनेई उपस्थित हुने जानकारी उनीहरूले पाएका थिए।
त्यही समयमा इरानका अन्य वरिष्ठ सैन्य तथा जासुस अधिकारीहरू कहाँ छन् भन्नेबारे पनि उनीहरूले चियो गरिरहेका थिए।
महिनौँको प्रयास
महिनौँदेखि अमेरिका र इजरेलले सर्वोच्च नेताको आवतजावत ट्र्याक गरिरहेका थिए। ठ्याक्के कुन विधिबाट उनीहरूले चियो गरेका थिए भन्ने त गोप्य नै छ, तर त्यसबारे राष्ट्रपति डोनल्ड ट्रम्पले उनको सामाजिक सञ्जाल पोस्टमा केही छनक दिएका छन्।
"हाम्रा खुफिया जानकारी तथा अत्याधुनिक ट्र्याकिङ् प्रणालीबाट उनी (खामेनेई) जोगिन सकेनन्।"
ट्रम्पको उक्त भनाइबाट मानवस्रोतले नै जानकारी दिएको पनि हुन सक्ने देखिन्छ तर अझ सम्भव चाहिँ उनीहरूले खास इरानी मानिसहरूको प्राविधिक ट्र्याकिङ् गरेको हुन सक्छ।

तस्बिर स्रोत, Getty Images
गत जुनमा भएको १२ दिने युद्धका बेला इजरेलले इरानको परमाणु कार्यक्रमसँग जोडिएका वैज्ञानिक तथा अधिकारीहरूलाई निसानामा पारेको थियो। ती व्यक्तिहरूको आवतजावत जान्न उसले टेलिकम तथा मोबाइल फोन प्रणालीको उपयोग गरेको ठानिएको थियो।
मुख्य अधिकारीहरूका अङ्गरक्षकहरूको आवतजावत पनि ट्र्याक गरिएको ठानिएको थियो।
लामो समय त्यसरी निगरानी गर्दा व्यक्तिहरूको "आनीबानी" तथा गतिविधि थाहा हुन्छ र तिनको कमजोर समय पत्ता लाग्छ।
इरानको विफलता?
उसका दुस्मनहरूले सर्वोच्च नेताको निगरानी गरिरहेका छन् भनेर इरानलाई पनि थाहा थियो। तथापि त्यस्तो जोखिम पहिचान गरेर सम्बोधन गर्न नसक्नु भनेको या त इरानी सुरक्षा तथा प्रतिखुफिया प्रणालीको गहिरो विफलता हो या त इजरेल र अमेरिकाले निगरानी गर्ने नौलानौला तरिका निरन्तर अपनाउन सकेका हुन्।
सायद रात्रिकालीन आक्रमण हुन्छ भन्ठानेका इरानीहरूलाई बिहान उज्यालो भइसकेपछि आक्रमण हुने सम्भावना कम हुने लाग्यो।
न्यूयोर्क टाइम्सका अनुसार यसपालि खुफिया जानकारी अमेरिकी जासुसी संस्था सीआईएले पाएको थियो। त्यो जानकारी उसले इजरेललाई दियो, जसले लक्षित आक्रमण गर्यो।
यसो हेर्दा लाग्छ अमेरिका र इजरेलले आक्रामक कार्यको बाँडफाँट गरेका थिए - इजरेलले नेतृत्वलाई निसानामा पारेर प्रहार गर्ने अनि अमेरिकाले चाहिँ सैन्य निसानाहरूमा ध्यान केन्द्रित गर्ने।
महत्त्वपूर्ण के रह्यो भने उपलब्ध खुफिया जानकारीले सर्वोच्च नेताको गतिविधिबारे पर्याप्त सूचना दियो जसले गर्दा इजरेली तथा अमेरिकी अधिकारीहरूले लामो दूरीको क्षेप्यास्त्र प्रहार गर्न सक्ने जेटको उपयोग गरेर हमलाको योजना बनाउन सके।
कुनै एउटा मात्र आक्रामक प्रहारको साटो उक्त प्रहारसँगै समग्र सैन्य कारबाही पनि थाल्ने योजना थियो र यो अवसरसँगै त्यो योजना कार्यान्वयनको समय अघि सारियो।
इजरेली जेटहरूलाई तेहरानसम्म पुग्न करिब दुई घण्टा लाग्छ तर तिनले कति परबाट अस्त्र प्रहार गरे भन्ने स्पष्ट छैन।
जब निर्णय भयो, इजरेली जेटहरूले सो परिसरमा आक्रमण गर्दा स्थानीय समय ९:४०मा ३० वटा बम प्रहार गरे।

सायद सर्वोच्च नेताले सुरक्षाका निम्ति अझै पनि परिसरको जमिनमुनिको बङ्करको प्रयोग गरेका हुन सक्ने ठानेर त्यसरी आक्रमण गरिएको होला।
जमिनमुनिसम्म क्षति पुर्याएर निसानामा प्रहार गर्न सकिने ठानेर धेरै बम हानिएको हुन सक्छ।
इरानको राजधानीका अन्य स्थलहरूमा पनि प्रहार गरिए, जसमा राष्ट्रपति मसुद पेजेस्कियानको कार्यालय पनि थियो। उनले पछि आफू सुरक्षित रहेको विज्ञप्ति जारी गरेका थिए।
इरानको रक्षा परिषद्का सचिव अली शाम्खानी, रक्षामन्त्री ब्रिगेडिअर जनरल अजीज नसीरजादेह तथा इस्लामिक रेभलूशनरी गार्ड्स कोर (आईआरजीसी)का कमान्डर जेनरल मोहम्मद पकपोरसहित मारिएका सात वरिष्ठ सुरक्षा अधिकारीहरूको नाम इजरेलले दिएको छ।
ती जेटहरूले आक्रमण गरिरहँदा मार-आ-लागो, फ्लोरिडामा मध्यरात थियो र त्यहाँ राष्ट्रपति ट्रम्प उनका उच्च अधिकारीहरूसहित भेला भएर घटनाक्रमको निगरानी गरिरहेका थिए।
सर्वोच्च नेता मारिएको पुष्टि हुन अझै कैयन् घण्टा लाग्यो।
तथापि इरानले उसको सर्वोच्च नेताको हत्या हुने सम्भावनाबारे तयारी गरेको थियो। सर्वोच्च नेता मात्र नभई अन्य वरिष्ठ अधिकारीहरूका उत्तराधिकारीहरू चयन भइसकेका थिए।
त्यसैले यो हत्याले अब यस युद्धलाई कतातिर मोड्छ भन्ने स्पष्ट छैन।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

























