एमालेको नराम्रो हारपछि अब ओली नेतृत्वमै बस्लान् कि उनको राजीनामा आउला?

केपी शर्मा ओली, विष्णु पौडेल र पृथ्वी सुब्बा गुरुङ

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, फाइल तस्बिर
पढ्ने समय: ७ मिनेट

प्रतिनिधिसभा निर्वाचनमा दलले बेहोरेको हारलाई 'गम्भीर धक्का' भन्दै नेकपा एमालेका नेताहरूले मतपरिणाम समीक्षाका क्रममा समग्र पार्टीको पुनर्गठनबारे छलफल हुने र आवश्यक परे नेतृत्व परिवर्तनबारे पनि विचार गरिने बताएका छन्।

प्रत्यक्ष प्रणालीतर्फको अहिलेसम्मको परिणाम र समानुपातिक मततर्फ प्राप्त अनुपातले एमाले तेस्रो स्थानमा खुम्चिने निश्चित देखिन्छ। जेन जी आन्दोलनपछि विकसित घटनाक्रममाझ पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अगाडि सारेर निर्वाचनमा सहभागी भएको एमालेले प्रत्यक्षतर्फका १६५ क्षेत्रमध्ये सात वटामा जितेको छ भने तीन स्थानमा अग्रता कायम गरेको छ।

झापा ५ मा ओली काठमाण्डूका पूर्वमेअर एवं राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह बालेनबाट ५०,००० भन्दा बढीको फराकिलो मतान्तरले पराजित भएका छन्।

प्रत्यक्ष प्रणालीतर्फ झन्डै १२५ सीटमा विजयी भएको रास्वपा दुईतिहाइ बहुमतको निकट पुग्न सक्ने आकलन कतिपय विज्ञहरूले गरेका छन्। यद्यपि समानुपातिक मतको प्रतिशतले त्यसको छिनोफानो गर्ने छ।

एमालेका कैयौँ शीर्ष नेताहरू पनि फाल्गुन २१ गते भएको निर्वाचनमा नराम्रोसँग पराजित भएका छन्। अहिले एमालेभित्र निर्वाचनको परिणामबारे "निर्मम समीक्षा" गर्नुपर्ने आवाज उठ्न थालेको छ।

'अध्यक्ष स्वयंले निर्णय गर्ने कुरा हो'

यो फाइल तस्बिरमा ओलीले बालेनलाई मादल उपहार दिँदे गरेको देखिन्छ

तस्बिर स्रोत, K P Sharma Oli/Facebook

तस्बिरको क्याप्शन, आफूलाई पराजित गरेका बालेन्द्र शाहलाई सामाजिक सञ्जाल फेसबुकबाट बधाई दिने क्रममा ओलीले यो तस्बिर पोस्ट गरेका छन्

एमालेका उपाध्यक्ष रघुजी पन्त मतपरिणामबाट नागरिकहरू नेपाली कांग्रेस र नेकपा एमालेसँग धेरै चिढिएको देखिएको भन्दै यसबाट पाठ सिकेर अघि बढ्नुपर्ने ठान्छन्।

उनले बीबीसीसँग भने, "हामीलाई नयाँ ढङ्गले अघि जान, परम्परागत तौरतरिकाबाट मुक्त हुन र विगतका गल्तीहरूबाट आत्मआलोचित हुँदै नम्र भएर जनताका बीचमा गएर हामी विगतका गल्ती कमजोरीबाट मुक्त हुन्छौँ, हामी जनताको बीचमा आएका छौँ भनेर अघि बढ्नुपर्ने अवस्था छ।"

पन्तले जनता र मतदाताले नेतृत्वले गम्भीर प्रश्न उठाएको भन्दै थपे, "गम्भीर प्रश्नचिह्न त हाम्रा अगाडि लागि नै सक्यो। हामीले भन्दा पनि अध्यक्ष स्वयंले आफ्नो भूमिका के हुने भन्नेबारे सोच्नु निर्णय लिनु र सबै साथीहरूसँग सल्लाह लिएर त्यही सरसल्लाह अनुसार अघि बढ्नु उपयुक्त हुन्छ भन्ने मलाई लाग्छ।"

"संसदीय परिपाटि भएका देशहरूमा संसदीय निर्वाचनमा विजय हासिल नगर्दाखेरि पनि बहुमत नआउँदा पनि प्रधानमन्त्रीको दाबेदार भएर चुनावमा जसले नेतृत्व गरेको हुन्छ, उसले राजीनामा गरेका उदाहरणहरू छन्।"

"हाम्रोमा माधवकुमार नेपालले २०६४ सालको निर्वाचनमा, अहिलेको जस्तो पराजय पनि थिएन त्यो बेला, सोचेको परिणाम नआएपछि, राजीनामा दिनुभएको थियो। अब के गर्ने भन्नेमा हामीहरूले भन्दा पनि यो त स्वयं अध्यक्षले निर्णय गर्ने कुरा हो। आफ्नो भूमिकाको बारेमा अब उहाँले नै निर्णय गर्नु उपयुक्त हुन्छ," पन्तले भने।

रघुजी पन्त
RSS
हामीले भन्दा पनि अध्यक्ष स्वयंले आफ्नो भूमिका के हुने भन्नेबारे सोच्नु निर्णय लिनु र सबै साथीहरूसँग सल्लाह लिएर अघि बढ्नु उपयुक्त हुन्छ भन्ने मलाई लाग्छ
रघुजी पन्त
उपाध्यक्ष, एमाले

चुनावमा पराजय बेहोरेपछि प्रतिक्रिया व्यक्त गरेका एमालेका कतिपय वरिष्ठ नेताहरूले विगतमा पार्टीका तर्फबाट भएका गल्ती कमजोरीहरूको गम्भीर समीक्षा गरिने बताइरहेका छन्।

एमालेका अर्का उपाध्यक्ष विष्णु पौडेलले नेकपा एमालेको 'नीति, नेतृत्व, सङ्गठन र कार्यशैलीलाई जनअपेक्षा अनुरूप पुनर्गठन गर्न अग्रसरता लिने' धारणा राखेका छन्।

'विकल्पको माग' भए त्यसमा पनि छलफल

 केपी ओली, माधव कुमार नेपाल, बाबुराम भट्टराई, झलनाथ खनाल र शेरबहादुर देउवाको कोलाज गरिएको तस्बीर

तस्बिर स्रोत, BBC/Getty/RSS/FB

तस्बिरको क्याप्शन, पाँच पूर्वप्रधानमन्त्रीहरू आगामी संसद्‌मा हुने छैनन्। यसपालि निर्वाचनमा उठेका ओली र माधव नेपाल पराजित भएका छन् भने बाबुराम भट्टराई, झलनाथ खनाल र शेरबहादुर देउवाले प्रतिस्पर्धा नै गरेनन्

एमालेका अध्यक्ष ओलीले आफ्ना प्रतिस्पर्धी बालेन्द्र शाहलाई बधाई दिनेबाहेक औपचारिक प्रतिक्रिया जनाइसकेका छैन। पार्टीका महासचिव शङ्कर पोखरेलले 'परिवर्तनको लहरका सामु' आफूहरूको प्रयास सफल हुन नसकेको उल्लेख गर्दै सामाजिक सञ्जाल फेसबुकमा एउटा पोस्ट राखेका छन्।

त्यसमा उनले हारजितलाई स्वाभाविक लोकतान्त्रिक प्रक्रियाका रूपमा लिनुपर्ने धारणा व्यक्त गरेका छन्।

एमालेका नेता प्रदीप ज्ञवालीले मतपरिणामलाई आफूले "गम्भीर धक्काका रूपमा" भन्दै दलहरूले बोक्ने मुद्दाको सान्दर्भिकता अझै पनि रहेको र ती मुद्दाहरूको पक्षमा उभिन एमालेको "संरचनामा ठूलो सुधारको खाँचो" यो निर्वाचनले देखाएको बताए।

"यसका केही आन्तरिक कारणहरू, केही बाह्य कारणहरूको हामी समीक्षा गर्छौँ। हाम्रो जस्तो समाजमा विभिन्न खालका लोकप्रिय लहरहरू चल्छन्। ती कति दिगो हुन्छन्, कति दिगो हुँदैनन् भन्ने हामीले देखेकै छौँ। एउटा घटनाले एउटा राजनीतिक पार्टीको समग्र भविष्य निर्धारित हुन्छ भन्ने म ठान्दिनँ। तर यो निक्कै गम्भीर धक्का हो।"

"त्यसमा कुनै सन्देह छैन। त्यसो हुँदा जहाँजहाँ नीति परिवर्तन गर्नु जरुरी छ, त्यहाँ हामी नीति परिवर्तन गर्छौँ। यदि व्यक्ति विशेषको भूमिकाको पनि माग हुन्छ भने हामी त्यो गर्छौँ र यदि त्यसले विकल्पको माग गर्छ भने त्यसमा पनि हामी छलफल गर्छौ।"

गत भदौ महिनामा सुशासन स्थापना हुनुपर्ने र भ्रष्टाचारको अन्त्य हुनुपर्ने माग गर्दै जेन जी पुस्ताका नवयुवाहरू सडकमा आएपछि भएको विरोधप्रदर्शनका क्रममा सुरक्षाकर्मीले गोली चलाउँदा कम्तीमा १९ जनाको ज्यान गएको थियो।

प्रदर्शनको भोलिपल्ट स्थितिले उग्र रूप लिएपछि एमाले अध्यक्ष एवं तात्कालिक प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका थिए।

त्यसपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको गठित सरकारले प्रतिनिधिसभा विघटन गर्दै ६ महिनाभित्र चुनाव गराएको हो।

प्रदीप ज्ञवाली
Pradeep Gyawali/Facebook
यदि व्यक्तिविशेषको भूमिकाको पनि माग हुन्छ भने हामी त्यो गर्छौँ र यदि त्यसले विकल्पको माग गर्छ भने त्यसमा पनि हामी छलफल गर्छौँ
प्रदीप ज्ञवाली
नेता, एमाले

जेन जी आन्दोलनपछि सम्पन्न नेकपा एमालेको महाधिवेशनबाट ओली दलको अध्यक्षमा तेस्रो पटक निर्वाचित भएका थिए।

यस पटकको चुनावमा एमालेले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको थियो भने ओलीले यो निर्वाचनलाई "देश जलाउने र देश बनाउनेबीचको जनमतसङ्ग्रह"का रूपमा चित्रण गरेका थिए।

'भूराजनीति' देखि जनताको आक्रोशसम्मको चर्चा

पार्टी महाधिवेशनको समापन समारोहमा बोल्दै ओली

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, जेन जी आन्दोलनपछि केपी शर्मा ओली पार्टीको महाधिवेशनबाट तेस्रो पटक अध्यक्ष चुनिएका थिए

एमालेका उपाध्यक्ष पन्तले यसपालिको निर्वाचन अघि मतदाताहरू आलोचनात्मक रहेको आफूले पाएको र राष्ट्रिय स्वतन्त्र पार्टीले बहुमतसम्म ल्याउन सक्ने आकलन आफूले गरेको बीबीसीलाई सुनाए।

"तर जुन प्रकारले जनताले उनीहरूलाई भोट खन्याइदिए त्यो हेर्दाखेरि हामी नेपाली कांग्रेस र नेकपा एमालेसँग जनताहरू धेरै नै चिढिएको रहेछन् भन्ने देखिएको छ। अबको संसद्‌मा हाम्रा साथीहरूले रचनात्मक प्रतिपक्षीको भूमिका खेल्नुहुन्छ।"

जनताको जनादेश लिएर आएको शक्तिलाई काम गर्न दिइनुपर्ने उल्लेख गर्दै उनले थपे, "फेरि संसदीय प्रणालीमा तीन महिना त एक प्रकारले 'हनिमून' अवधि नै हुन्छ। म भन्छु हामीले ५-६ महिना उहाँहरूलाई पर्खेर हेर्नुपर्छ। राम्रो काम गर्नुभयो भने स्वतः उहाँहरूले हाम्रो पनि समर्थन पाउनुहुन्छ। भएन भने संसद्‌मा क्रमशः जनताको पक्षमा रचनात्मक ढङ्गले भूमिका खेल्ने काम हाम्रो हुन्छ।"

भूतपूर्व परराष्ट्रमन्त्री पनि रहेका ज्ञवाली आफूहरूले चुनावी परिणामलाई स्वीकार गरेको उल्लेख गर्दै "कतिपय गलत भाष्य" निर्माण गरिएका कारण आफूहरूले हार बेहोर्नुपरेको उल्लेख गर्छन्।

उनी भन्छन्, "यस्तो हुनुमा बहुआयामिक कारणहरू छन्। स्थापित दलहरू प्रति जनताका गुनासाहरू पनि छन्। परिवर्तनको कुराले मानिसहरूलाई छोएको पनि देखिन्छ। सामाजिक सञ्जाल र सूचना प्रविधिको अत्यधिक प्रयोग भएको छ, सकारात्मक र नकारात्मक दुवै रूपमा। कहीँ न कहीँ युवा पुस्तासँग स्थापित राजनीतिक दलको नेतृत्वको संवाद टुटेको देखिन्छ।"

ज्ञवालीले पुराना राजनीतिक दलहरूले बिगारे मात्रै भन्ने भाष्य तलसम्म गएको उल्लेख गर्दै कैयौँ ठाउँहरूमा क्षेत्र र भूगोलको बारेमा खासै जानकारी नभएका उम्मेदवारहरूले जितेको दाबी गरे।

"देश बरबाद भइरहेको छ भन्ने भाष्य यसरी तल गयो कि त्यसलाई चिर्ने हाम्रा कमिटीका प्रयासहरू पर्याप्त देखिएनन्। कतिपय भूराजनीतिक पक्षहरू पनि छन्, कस्तो राजनीतिक शक्तिलाई स्थापित गर्ने कस्तोलाई विस्थापित गर्ने भन्ने सन्दर्भमा भूराजनीतिले पनि धेरै ठाउँका चुनावमा प्रभाव पार्ने गरेको छ। हाम्रा आन्तरिक कमजोरीहरू जहाँजहाँ छन्, त्यसको गहिरो, वस्तुनिष्ठ र निर्मम समीक्षा हामी गर्ने छौँ।"

रास्वपाले सत्ता सञ्चालन गर्दा रचनात्मक प्रतिपक्षको भूमिका खेल्ने बताएका ज्ञवालीले थपे, "राष्ट्रिय स्वाभिमानको रक्षा, लोकतन्त्रको संरक्षण, जनताका अपेक्षाहरूको सम्बोधन र स्थिरता हाम्रा सरोकारका विषयहरू हुन्। ती कुराहरूमा काम होस् भन्ने हाम्रो शुभेच्छा छ।"

जेन जी आन्दोलनमा सहभागी एक युवक

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, जेन जी आन्दोलनपछि प्रतिनिधिसभा विघटन भएकाले अहिले निर्वाचन भएको हो

विश्लेषकले देखेको ओलीको 'हठ'

विश्लेषकहरूले ओलीलाई पार्टीभित्र चुनौती दिने अवस्थामा कुनै पनि नेता नरहेको उल्लेख गर्दै एमालेले आगामी दिनमा लिने नीति ओलीकै कदममा भर पर्ने टिप्पणी गरेका छन्।

विश्लेषक राजेन्द्र महर्जनले बीबीसीलाई भने, "मेरो विचारमा अहिले हेर्दा जुवामा हारेकै स्थिति हो। त्यहाँबाट उभ्रिन धेरै गाह्रो हुन सक्छ। उनीप्रति काफी अविश्वास र आक्रोश छ। प्रश्नहरू केही उठेका छन् तर पार्टीमा उनको विरुद्ध वा विपक्षमा अर्को नेतृत्व तत्कालै देखिएको छैन।"

ओलीलाई "हठी स्वभाव" का नेताका रूपमा चित्रण गर्ने महर्जन उनले नैतिकताका आधारमा राजीनामा दिने कुरामा आफूलाई विश्वास नभएको बताउँछन्।

उनले भने, "आफूलाई पुनर्स्थापित गर्ने हो भने एमालेभित्र पनि पुनर्गठन जरुरी हुन्छ। त्यस्तो नगरी सुख नै छैन। नभए पश्चिम बङ्गालका कम्युनिस्ट पार्टीहरूको जुन अवस्था छ, यहाँ पनि त्यस्तै हुन सक्छ।"

"नेतृत्वको हठ र एक खालको अदूरदर्शिता र केही हदसम्म तानाशाही प्रवृत्तिको कारण कम्युनिस्ट पार्टीहरूको यसरी नै स्खलन भएको छ। यिनले पाठ सिक्छन् भन्ने मलाई पटक्कै लागेको छैन।"

चौहत्तर वर्षे ओली चार पटक प्रधानमन्त्री बने। उनी झन्डै छ दशकदेखि राजनीतिमा छन्।

यो चुनावले कैयौँ पाका पुस्ताका नेताहरूलाई राजनीतिबाट बिदाइ गर्ने मतपरिणामले देखाएका बेला अझै दुई दशक राजनीतिमा सक्रिय रहने बताउने गरेका ओलीको भविष्यलाई लिएर चासोहरू प्रकट भइरहेका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।