रास्वपाको पक्षमा देखिएको लहरबारे अरू दल के भन्छन्

तस्बिर स्रोत, EPA/Shutterstock
- Author, सञ्जय ढकाल
- Role, बीबीसी न्यूज नेपाली
- पढ्ने समय: ४ मिनेट
निर्वाचन सकिएर फर्कँदै गरेका नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले बीबीसीसँग कुरा गर्दै जनमानसमा व्याप्त कांग्रेससहित अन्य दल 'पुराना' भन्ने भाष्य अनि 'नयाँले केही गर्छन् कि' भन्ने अपेक्षाका कारण निर्वाचनको परिणाम आफूहरूले सोचे जस्तो नआएको बतएका छन्।
नेकपा एमालेका नेता प्रदीप ज्ञवाली चाहिँ अहिलेको मतपरिणाम 'अनपेक्षित' रहेको ठान्छन्।
नेपाली कम्युनिस्ट पार्टीका नेता अग्नि सापकोटका अनुसार प्रारम्भिक परिणाम "सोचमग्न पार्ने" खालको छ।
परिणामलाई 'आत्मसात्'

तस्बिर स्रोत, RSS
निर्वाचन आयोगका अनुसार शुक्रवार अपराह्न ५ बजेसम्म प्रत्यक्षतर्फको १६५ मध्ये १३५ क्षेत्रको मतगणना जारी छ। तीमध्ये ९६ क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अग्रपङ्तिमा देखिन्छ।
रास्वपा एक स्थानमा र नेपाली कांग्रेस एक स्थानमा विजयी भइसकेका छन्। नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारले क्रमश: ११ र १० स्थानमा अग्रता लिएका छन्। नेपाली कम्युनिस्ट पार्टी नौ स्थानमा अगाडि छ।
उक्त प्रारम्भिक मतपरिणामबारे कतिपय पुराना भनिएका दलका नेताहरूले आश्चर्य एवं चिन्तामिश्रित प्रतिक्रिया दिएका छन्।
"नेपाली मतदाताले जुन रूपमा परिणाम दिनुभएको छ, त्यसलाई आत्मसात् गरेर अगाडि बढ्नुपर्छ," कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले भने।
परिणामलाई "अनपेक्षित" को सङ्ज्ञा दिँदै एमालेका ज्ञवालीले भने, "यसका विभिन्न कारणहरू होलान्। यसको हामी अध्ययन गर्छौँ। अहिलेको समयमा रास्वपालाई शुभकामना छ।"
"मुलुकले स्थिरता पाओस्, जनताका अपेक्षा पूरा होऊन्। हामी परिणामलाई स्वीकार गर्छौँ र अब यो स्थिति कसरी निर्माण भयो भनेर हामी क्रमश: अध्ययन गर्ने छौँ।"
चुनावअगाडि विभिन्न दलहरूसँग एकता गरेर मैदानमा ओर्लिएको प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले पनि परिणामलाई गम्भीरतापूर्वक समीक्षा गर्ने बताएको छ।
"यो परिणामलाई अनपेक्षित भनौँ भने पहिलेदेखि त्यस्ता लक्षणहरू देखा परिरहेका थिए। अपेक्षित भनौँ भने यो कुनै विचारमा, सिद्धान्तमा वा राजनीतिक मुद्दामा प्रतिस्पर्धा भएको छैन। चुनाव भएको छ, जनताले भोट हालेका छन्। अहिले त्यसलाई अवमूल्यन गर्नुभएन," नेकपाका नेता अग्नि सापकोटाले बताए।
चिन्ता र चासो कस्ता

तस्बिर स्रोत, RSS
नयाँ उदाएका दलले शासन सम्हाल्ने स्थिति देखा पर्दै गरेकोलाई नेकपाका नेता सापकोटाले सतर्कतापूर्वक हेर्नुपर्ने प्रतिक्रिया दिए।
"अहिले नै यसो र उसो भनिहाल्नु हतारो हुन्छ। नेपाल नेपाल नै हो। नेपालको कसैसित तुलना हुन सक्दैन। यसको आफ्नै मौलिकता छ, आफ्नै विशेषता छ अनि नेपालीहरूको आफ्नै मूल्य र मान्यता छन्," उनले भने।
नेकपा एमालेका नेता ज्ञवाली राष्ट्रिय हितबारे सजग रहनुपर्ने सुझाव दिन्छन्।
"रास्वपा बहुमत वा बहुमतनजिक पुग्यो भने अन्य दलहरूसँगको सम्बन्ध कस्तो हुन्छ भन्ने हेर्नुपर्छ। अहिले हामी यति कामना गर्छौँ कि लोकतन्त्र सुदृढ होस्, र राष्ट्रिय हितहरूमा कुनै पनि सम्झौताहरू नहून् अनि भूराजनीतिक परिस्थितिहरू संवेदनशील बन्दै गएको बेला कुनै पनि आवेगमा निर्णय नहून्," ज्ञवालीले भने।
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा मतदाताले रुचाएको पक्षलाई सघाएर जाने आफूहरूको सोच रहेको बताए।
"मतदाताबाट जसले जिम्मेवारी पाएको हुन्छ उसलाई सकारात्मक रूपमा सघाएर जाने अनि उसको कमजोरीमा प्रहार गर्ने सन्दर्भ हुन्छ," शर्माले भने।
परिणामका रुझानबमोजिम आफ्नो पार्टीले सरकारमा जाने कुरा "बिल्कुलै नसोच्ने" उनले बताए।
"बाहिर बस भनेर जनादेश प्राप्त हुने अनि नेपाली कांग्रेस पार्टी सरकारमा सहभागी हुने भन्ने त हुँदै हुँदैन। त्यो सोच्दै सोच्दैन," उनले भने।
तथापि सबै परिणाम आउँदा बहुमत पुर्याउन प्राविधिक रूपमा सङ्ख्या कसैलाई आवश्यक पर्न गयो भने त्यही समयमा परिपक्व छलफल हुने उनले बताए।
अहिलेको अवस्थामा पहिलो बन्दै गरेको दलले विगतमा नेकपा माओवादी (पहिलो संविधानसभाको निर्वाचन)को उदाहरण अध्ययन गर्न आवश्यक भएको उनले बताए।
"जनताले नयाँलाई हेरौँ न भनेर हेर्दा त्यतिखेर मुलुकले निकास नपाएको र संविधान बनाउन नसकेको उदाहरणबाट शिक्षा लिन सक्नुपर्छ। किनभने सरकारमा पुग्नु र सरकारमा टिक्नुको बीचमा फरक हुन्छ। आशा जगाउनु र आशालाई विश्वासमा बदल्नुको बीचमा फरक हुन्छ।"
नेकपाका नेता सापकोटा चाहिँ अग्रपङ्तिमा आएको पक्षलाई "विचार, सिद्धान्त र दृष्टिकोणमा आधारित भएर अलि परिपक्व" भएर प्रस्तुत हुन सुझाव दिन्छन्।
"नत्र त अहिले अलि 'प्रियतावादी' रुझान अनि भावनात्मक र व्यक्तिवादी प्रवृत्ति हाबी भएको छ।"
के भन्छ रास्वपा
देशभरि आकर्षक अग्रता कायम गर्दै रहेको रास्वपाले प्रारम्भिक प्रतिक्रिया दिँदै आफूहरू जिम्मेवार रूपमा प्रस्तुत हुने बताएको छ।
सो पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीले जुन जगमा ठूला अपेक्षाका साथ आफूहरूलाई मत दिइएको छ त्यसले रास्वपालाई "सम्हालिएर र जिम्मेवार भएर" अघि बढ्न मार्गनिर्देश गर्ने बताउँछन्।
"हाम्रो प्राथमिकता सुशासन हो, अस्तव्यस्त सेवा प्रवाहलाई सुधार गर्दै चुस्त सेवा दिनु हो, "महामन्त्री बुर्लाकोटी भन्छन्।
"दैनिक सेवा प्रवाहका कामसँगै समृद्धितर्फ हामी अग्रसर हुन्छौँ। पूर्वाधार विकासबाट आर्थिक समृद्धि गर्दै लोकतान्त्रिक र लोककल्याणकारी राज्यका रूपमा हामी अघि बढ्छौँ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

























