लाइभ, मतगणना सुरु, राष्ट्रिय स्वतन्त्र पार्टी प्रारम्भिक गणनामा अगाडि

प्रतिनिधिसभा निर्वाचनका लागि फागुन २१ गते भएको मतदानपछि देशका विभिन्न निर्वाचन क्षेत्रहरूमा मतगणना भइरहेको छ।

सारांश

  • प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएपछि अहिले देशका विभिन्न निर्वाचन क्षेत्रहरूमा प्रत्यक्ष प्रणालीतर्फको मतगणना सुरु भएको छ
  • प्रारम्भिक गणना भइरहेका निर्वाचन क्षेत्रहरूमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिइरहेको देखिएको छ
  • हिजो देशैभरि प्रत्यक्ष र समानुपातिक प्रणालीका लागि एकै चरणमा मतदान भएको थियो
  • प्रत्यक्षतर्फ ३,४०० भन्दा बढी उम्मेदवार प्रतिस्पर्धामा छन्
  • यो निर्वाचनबाट प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० सांसद निर्वाचित हुने छन्
  • प्रत्यक्षतर्फको मतगणना सकिएपछि समानुपातिकतर्फको मतगणना सुरु हुने निर्वाचन आयोगले जनाएको छ
  • गत भदौ महिनामा जेन जी आन्दोलन भएपछि प्रतिनिधिसभा विघटन भएको थियो। त्यसैले निर्धारित समयभन्दा अगाडि नै अहिले निर्वाचन भएको हो
  • यी हुन् प्रतिनिधिसभा पुग्न प्रत्यक्ष प्रतिस्पर्धामा रहेका उम्मेदवारहरू

लाइभ कभरेज

  1. देउवाको ७ पटक जितेको डडेल्धुरामा मतगणनाको तयारी

    नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा मतगणनाको तयारी भइरहेको छ।

    त्यसका निम्ति सर्वदलीय बैठक गर्न लागिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

    डडेल्धुरामा ९३,४०३ मतदाता रहेकोमा ४५,९०९ जनाले मतदान गरेका छन्, जसअनुसार यहाँ ४९ दशमलव २ प्रतिशत मत खसेको छ। डडेल्धुरामा तीनजना स्वतन्त्रसहित १३ जना उम्मेदवार छन्।

    नेपाली कांग्रेसका नैनसिंह महर, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मानसिंह माल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा. ताराप्रसाद जोशीबीच कडा प्रतिस्पर्धा हुने आकलन गरिएको हाम्रा संवाददाता प्रकाश पार्कीले जनाएका छन्।

    देउवाले डडेल्धुराबाट सात पटक चुनाव जितेका थिए।

  2. पर्सामा गणना थाल्न सर्वदलीय छलफल

    पर्सा

    पर्सामा मतगणना थाल्न सर्वदलीय छलफल हुन लागेको वीरगन्जस्थित हाम्री संवाददाता माधुरी महतोले बताएकी छन्।

    निर्वाचन अधिकृतहरूका अनुसार मतगणना प्रक्रिया अघि बढाउन केहीबेरमा सर्वदलीय बैठक बस्न लागेको हो।

  3. रसुवामा नेपाली कांग्रेसको अग्रता

    रसुवामा मतगणना प्रारम्भ भएको छ। पछिल्लो परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्यले अग्रता लिएका छन्।

    निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली कांग्रेसका उम्मेदवार आचार्यले ६८९ मत प्राप्त गरेका छन्।

    राष्ट्रिय स्वतन्त्र पार्टीका वसन्त भट्टले ५३८ र नेकपा एमालेका प्रेम तामाङले २३५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

  4. नुवाकोटमा मतगणना शुरू हुन बाँकी

    नुवाकोटका दुवै निर्वाचन क्षेत्रमा मतगणना शुरू हुन बाँकी रहेको हाम्री संवाददाता शक्तिमाया तामाङले बताएकी छन्।

    मतगणना शुरू गर्न अहिले सर्वदलीय बैठक हुन लागेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

  5. कास्कीका तीनवटै क्षेत्रमा रास्वपाको अग्रता

    कास्कीमा मतगणना

    तस्बिर स्रोत, RSS

    कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा अहिलेसम्मको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि देखिएको छ।

    कास्की क्षेत्र नं १ मा रास्वपाले १,९७८ मत ल्याएको छ भने एमालेले १,१३४ र कांग्रेसले ८३९मत पाएको छ।

    कास्की क्षेत्र नं मा रास्वपाले १,११७, एमालेले ७३३ र कांग्रेसले रुख ३२२ मत ल्याएको छ।

    कास्कीकै क्षेत्र नं ३ मा रास्वपाले २,०७४ मत पाएको छ भने कांग्रेसले ८९३ र एमालेले ५०६ मत प्राप्त गरेको हाम्रा संवाददाता कृष्णमणि बरालले जनाएका छन्।

  6. दाङ–१ मा रास्वपा अगाडि

    दाङ निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ।

    उक्त पार्टीका उम्मेदवार देवराज पाठकले १,५१५ मत प्राप्त गरेका छन्।

    प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार नेपाली कांग्रेसका योगेन्द्र चौधरीले २९२ र नेकपा एमालेका रेवतीरमण घिमिरेले २२० मत प्राप्त गरेको राससले जनाएको छ।

  7. परिवर्तनको आकाङ्क्षाले जन्माएको मध्यावधि चुनावले बोकेको अर्थ

    नेपाल

    तस्बिर स्रोत, Reuters

    बिहीवार काठमाण्डूमा मतदान गरिसकेपछि सङ्क्षिप्त प्रतिक्रिया दिने क्रममा प्रधानमन्त्री सुशीला कार्कीले ठूलै भारी बिसाएको जस्तो अनुभव साटेकी छन्।

    छ महिनाअगाडि भयङ्कर अप्ठेरो अवस्थामा अन्तरिम सरकारको बागडोर सम्हालेकी प्रधानमन्त्री कार्कीले सन्तोषको सास फेर्दै भनिन्, "कर्तव्य पूरा गर्‍यौँ। म आज खुसी छु।"

    निर्वाचन गराउने मुख्य कार्यादेशसहित गठित उनको सरकारले त्यसको एउटा प्रमुख काम सम्पन्न गरेको छ।

    अब गठन हुने निर्वाचित सरकारलाई कार्यभार हस्तान्तरण गरेपश्चात् अन्तरिम सरकारको बिदाइ हुने छ। पूरा समाचार पढ्न यो लिङ्कमा क्लिक गर्नुहोस्

  8. कञ्चनपुर–२ मा कांग्रेसका साउदलाई पछि पार्दै रास्वपाका बोहरा अगाडि

    कञ्चनपुर क्षेत्र–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दीपकराज बोहराले अग्रता लिएका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार बोहराले २,४२७ मत पाएका छन्।

    नेपाली कांग्रेसका नारायणप्रकाश (एनपी) साउदले ९३६ र नेकपा (एमाले) का वचनबहादुर सिंहले ६२५ मत प्राप्त गरेका छन्।

  9. काठमाडौँ–३ मा कुलमान घिसिङ र राजु पाण्डेबीच प्रतिस्पर्धा

    काठमाडौँ निर्वाचन क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ।

    उक्त पार्टीका उम्मेदवार राजुनाथ पाण्डेले दुई हजार ९६० मत प्राप्त गरी अग्रता लिएको निर्वाचन अधिकृत चमिला भट्टराईले जानकारी दिएको राससले उल्लेख गरेको छ।

    उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले दुई हजार ७०६ मतका साथ पाण्डेसँग प्रतिस्पर्धा गरिरहेका छन्।

    नेपाली कांग्रेसका रमेश अर्यालले एक हजार ११ मत पाएको बताइएको छ।

  10. तनहुँ क्षेत्र–१ मा रास्वपाका वाग्लेको अग्रता

    उक्त पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले एक हजार ३५२ मतका साथ अग्रता लिएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद उपाध्यायलाई उद्धृत गर्दै राससले जनाएको छ।

    नेपाली कांग्रेसका गोविन्द भट्टराईले ५९० र नेकपा (एमाले) की भगवती न्यौपानेले ४१६ मत प्राप्त गरेको बताइएको छ।

  11. चितवनमा मतगणनाको ताजा अवस्था के छ?

    चितवन-२ मा भइरहेको प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिएका छन्। उनलाई नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र नेपाली कांग्रेसले पछ्याइरहेका छन्।

    चितवन-३ र चितवन-१ मा पनि रास्वपाका उम्मेदवारले अग्रता लिइरहेका छन्। ती निर्वाचन क्षेत्रमा पनि नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र नेपाली कांग्रेसले पछ्याइरहेको हाम्रा संवाददाता ईश्वर जोशीले जनाएका छन्।

  12. प्रारम्भिक चरणमा रास्वपाको अग्रता

    मतगणना

    तस्बिर स्रोत, EPA

    आमचुनावअन्तर्गत देशभरि मतदान सकिएपछि बिहीवार रातिबाटै विभिन्न क्षेत्रमा मतगणना हुन थालेको निर्वाचन आयोगले जनाएको छ।

    अधिकारीहरूका अनुसार प्रारम्भिक गणनामा बिहान साढे ७ बजेसम्म राष्ट्रिय स्वतन्त्र पार्टी सबैभन्दा अगाडि देखिएको छ।

    अहिलेसम्म मतगणनामा नेकपा एमाले दोस्रो स्थानमा देखिएको छ भने तेस्रो स्थानमा नेपाली कांग्रेस रहेको छ।

    निर्वाचन आयोगले सोमवारसम्म सबै मतपरिणाम सार्वजनिक गर्ने लक्ष्य रहेको जनाएको छ।

    विवाद नहोओस् र मतपत्रसम्म दल एवं उम्मेदवारका प्रतिनिधि नपुगून् भनेर गणनास्थलमा तारजाली लगाइएको स्थानीय अधिकारीहरूले बताएका छन्।

  13. अहिलेसम्म हामीलाई के थाहा छ

    • हिजो सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतदानको प्रारम्भिक गणना भइरहेका निर्वाचन क्षेत्रहरूमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिइरहेको देखिएको छ
    • देशका विभिन्न निर्वाचन क्षेत्रहरूमा प्रत्यक्ष प्रणालीतर्फको मतगणना हिजो रातिदेखि सुरु भएको हो
    • हिजो देशैभरि प्रत्यक्ष र समानुपातिक प्रणालीका लागि एकै चरणमा मतदान भएको थियो
    • प्रत्यक्षतर्फ ३,४०० भन्दा बढी उम्मेदवार प्रतिस्पर्धामा छन्
    • यो निर्वाचनबाट प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० सांसद निर्वाचित हुने छन्
    • प्रत्यक्षतर्फको मतगणना सकिएपछि समानुपातिकतर्फको मतगणना सुरु हुने निर्वाचन आयोगले जनाएको छ
    • गत भदौ महिनामा जेन जी आन्दोलन भएपछि प्रतिनिधिसभा विघटन भएको थियो। त्यसैले निर्धारित समयभन्दा अगाडि नै अहिले निर्वाचन भएको हो
  14. स्वागतम्

    नमस्कार। बीबीसी न्यूज नेपालीको लाइभ पेजमा यहाँहरूलाई स्वागत छ।

    हिजो प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपछि विभिन्न जिल्लामा प्रत्यक्षतर्फको मतगणना सुरु भएको निर्वाचन आयोगले जनाएको छ।

    आज हामी यो लाइभ पेजमा मतगणनासँग सम्बन्धित जानकारी र समाचार प्रकाशित गर्ने छौँ।