नयाँ प्रतिनिधिसभामा रास्वपाको स्पष्ट बहुमतको सङ्केत
प्रतिनिधिसभा निर्वाचनका लागि फागुन २१ गते भएको मतदानपछि देशका विभिन्न निर्वाचन क्षेत्रमा जारी मतगणनामा रास्वपा अरू पार्टीभन्दा निकै अगाडि देखिएको छ।
सारांश
प्रतिनिधिसभा निर्वाचनपछि विभिन्न क्षेत्रमा प्रत्यक्ष प्रणालीतर्फको मतगणना जारी छ, प्रारम्भिक परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीले अधिकांश स्थानमा अग्रता लिएको छ
अहिलेसम्म छ क्षेत्रको अन्तिम परिणाम घोषणा भएको छ
रास्वपाका उम्मेदवार काठमाण्डू १, ३ र ८ बाट विजयी भएका छन्। काठमाण्डूका अरू क्षेत्रमा पनि रास्वपाकै अग्रता कायम छ
यो निर्वाचनबाट प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० सांसद निर्वाचित हुने छन्
प्रत्यक्षतर्फको मतगणना सकिएपछि समानुपातिकतर्फको मतगणना सुरु हुने निर्वाचन आयोगले जनाएको छ
गत भदौ महिनामा जेन जी आन्दोलन भएपछि प्रतिनिधिसभा विघटन भएको थियो। त्यसैले निर्धारित समयभन्दा अगाडि नै अहिले निर्वाचन भएको हो
लाइभ कभरेज
आजका लागि हाम्रो अपडेट समाप्त, भोलि भेटौँला
हिजो भएको प्रतिनिधिसभा निर्वाचनको मतगणनाबारे बीबीसी न्यूज नेपालीको लाइभ पेजबाट आजलाई हामी बिदा चाहन्छौँ। भोलि फेरि हामी मतगणनाको जानकारी दिन उपस्थित हुने नै छौँ।
थप समाचार तपाईँ हाम्रो होमपेजमा गएर हेर्न र पढ्न सक्नुहुन्छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।
शुभरात्रि!!
दुई जिल्लामा मतपत्र ढुवानी बाँकी, आइतवारसम्म प्रत्यक्षको परिणाम आइसक्ने अपेक्षा, अशोक दाहाल, बीबीसी न्यूज नेपाली
तस्बिर स्रोत, RSS
निर्वाचन आयोगले करिब एक दर्जन निर्वाचन क्षेत्रको मात्रै मतगणना सुरु हुन
बाँकी रहेको जनाएको छ।
त्यसमध्ये केही जिल्लाको सुरु हुने क्रममा रहेको तथा सङ्खुवासभा र गोरखाका एकएक वटा मतदान केन्द्रबाट मतपत्र ल्याउन बाँकी रहेको
आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले बीबीसी न्यूज नेपालीलाई जानकारी दिए।
आज अबेरसम्म पनि सङ्खुवासभाको दूधपोखरी केन्द्र र गोरखाको एउटा हिमाली
गाउँबाट हेलिकप्टरमार्फत् मतपत्र ल्याउने प्रयास खराब मौसमका कारण सफल हुन सकेको
थिएन।
“भोलि शनिवार बिहान गोरखा र सङ्खुवासभाको मौसम अनुकूल भयो र ढुवानी सकियो भने
दिउँसोबाट बाँकी रहेको क्षेत्रको पनि गणना चालु हुन्छ,” जिसीले भने।
विवादका कारण बिहान मतगणना सुरु हुन नसकेका केही स्थानमा पनि अहिले मतगणना
सुरु भएको उनले बताएका छन्।
“ढुवानीका कारण केही क्षेत्रको भोली वा पर्सीसम्म जान्छ होला। आज गणना सुरु
भएका क्षेत्रको भोलिसम्म आइसक्छ होला। समानुपातिकको बाँकी दुईतीन दिन लाग्छ होला,” उनले भने।
बेलुका ९ बजेसम्म रास्वपाले तीन स्थानमा, कांग्रेसले दुई र नेकपाले एक स्थानमा जित हासिल गरेको निर्वाचन आयोगले
आधिकारिक घोषणा गरेको छ।
रास्वपाबाट काठमाण्डू १ मा रञ्जु दर्शना न्यौपाने, काठमाण्डू ८ मा विराजभक्त श्रेष्ठ र काठमाण्डू ३ मा
राजुनाथ पाण्डे निर्वाचित भएका छन्। पाण्डेले उज्यालो नेपाल पार्टीका कुलमान घिसिङलाई
पराजित गरेका छन्।
त्यसै गरी कांग्रेसबाट मनाङमा टेकबहादुर गुरुङ र मुस्ताङमा योगेश गौचन थकाली
निर्वाचित भएका छन्।
नेकपाबाट रुकुमपूर्वमा पार्टी संयोजक पुष्पकमल दाहाल निर्वाचित भएका छन्।
प्रमुख दलका नेताहरूमध्येमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल
दाहाल 'प्रचण्ड' मात्रै हालसम्म निर्वाचित भएका छन्।
प्रत्यक्षतर्फ कुल १६५ सिटका लागि भएको मतदानमा बेलुका ९ बजेसम्म १०० भन्दा
धेरै स्थानमा रास्वपाका उम्मेदवारको अग्रता देखिन्छ।
एउटै दलको बहुमत आएको अवस्थामा राष्ट्रपतिले उक्त पार्टीको संसदीय दलका
नेतालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ। रास्वपाले चुनावअघि
नै आफ्ना वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्री बनाउने बताएको थियो।
कुलमान घिसिङ पराजित, राजुनाथ पाण्डे निर्वाचित
तस्बिर स्रोत, RajuPandey/FB
काठमाण्डू ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका राजुनाथ पाण्डे
निर्वाचित भएका छन्।
पाण्डेले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलाई पराजित
गरेका छन्।
यसअघि काठमाण्डू महानगरपालिकामा महानगरीय प्रहरी प्रमुख रहेका पाण्डेले १८,७२७ मत पाएका छन्। घिसिङले ११,१७१ मत पाएका छन्।
राजेन्द्र लिङ्देन ४ हजारभन्दा बढी मतले पछाडि, विक्रम निरौला, विराटनगर
निर्वाचन आयोगको पछिल्लो मत परिणामअनुसार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन रास्वपाका उम्मेदवार प्रकाश पाठकभन्दा चार हजारभन्दा बढी मतले पछि परेका छन्।
उनी झापा ३ बाट उम्मेदवार छन्।
प्रकाश पाठक, रास्वपा - ९,२६४
राजेन्द्र लिङ्देन, राप्रपा - ४,९२४
दीपक तिम्सिना, श्रम संस्कृति - २,४६३
अमरेश सिंहभन्दा गगन थापा झन्डै २ हजार मतले पछाडि
सर्लाही ४ को पछिल्लो मतपरिणाम प्राप्त भएको छ।
साँझ ७ः५०को आँकडा यसप्रकार छ -
अमरेशकुमार सिंह, रास्वपा - ४,४९६
गगन थापा, कांग्रेस - २,५३०
अमनिशकुमार यादव, एमाले - ६४३
चितवन २ मा रवि लामिछाने र मीना खरेलबीच झन्डै १४ हजार मतान्तर
तस्बिर स्रोत, Reuters
तस्बिरको क्याप्शन, फाइल तस्बिर
चितवन २ को ताजा परिणामअनुसार रास्वपा सभापति रवि लामिछानेले फराकिलो मतान्तर बनाएका छन्।
पछिल्लो आँकडा यसप्रकार छ -
रवि लामिछाने, रास्वपा - १९,७०७
मीनाकुमारी खरेल, कांग्रेस - ५,८५५
अस्मिन घिमिरे, एमाले - ४,८५६
यस्तो छ अहिलेको मतपरिणाम
प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रमध्ये १४८ मा मतगणना जारी छ भने छवटामा अन्तिम नतिजा घोषणा भइसकेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी - २ जित, १०९ अग्रता
नेपाली कांग्रेस - २ जित, १२ अग्रता
नेपाली कम्युनिस्ट पार्टी - १ जित, ७ अग्रता
नेकपा एमाले - १० अग्रता
श्रम संस्कृति पार्टी - ५ अग्रता
राष्ट्रिय प्रजातन्त्र पार्टी - १ अग्रता
प्रगतिशील लोकतान्त्रिक पार्टी
- १ अग्रता
उज्यालो नेपाल पार्टी - १ अग्रता
स्वतन्त्र
१ अग्रता
प्रत्यक्षतर्फ मतपरिणाम आइसकेका स्थानमा कतै समानुपातिक मत गन्न थालिएको छ भने कतै गन्ने तयारी हुँदै छ।
कुल २८,३४० मत गन्दा रास्वपा अरू पार्टीभन्दा निकै अगाडि देखिन्छ।
राष्ट्रिय स्वतन्त्र पार्टी - १६,७२६
नेपाली कांग्रेस - ४,९८७
राष्ट्रिय प्रजातन्त्र पार्टी - २,५३६
नेकपा एमाले- १,८०२
श्रम संस्कृति पार्टी - ६८६
नेपाली कम्युनिस्ट पार्टी - ५६४
बालेन ओलीभन्दा १० हजारभन्दा बढी मतले अगाडि, विक्रम निरौला, विराटनगर
झापा ५ मा रास्वपाका बालेन्द्र शाहले एमालेका केपी शर्मा ओलीलाई निकै पछाडि पारेका छन्। निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मत परिणामअनुसार शाह ओलीभन्दा साढे १० हजार मतले अगाडि देखिएका छन्।
बालेन्द्र शाह, रास्वपा - १३,६४५
केपी शर्मा ओली, एमाले - ३,०११
समीर तामाङ, श्रम संस्कृति - १,५१७
मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी
नेपाली कांग्रेसले दोस्रो सीट जितेको छ। त्यहाँ पार्टीका टेकबहादुर गुरुङ विजयी भएका छन्।
त्यस क्षेत्रका शीर्ष तीन उम्मेदवारको मत यसप्रकार छ -
टेकबहादुर गुरुङ, कांग्रेस - २,४१५
यशोदा गुरुङ सुवेदी, नेकपा - ४५४
रामबहादुर घले, मङ्गोल नेशनल अर्गनाइजेशन - ९
स्रोत : निर्वाचन आयोग
नेकपाको पहिलो जित, रुकुमपूर्वमा प्रचण्ड विजयी, प्रकाश पन्त, सुर्खेत
तस्बिर स्रोत, RSS
चुनावमा देशैभरी पार्टीले खराब प्रर्दशन गरिरहदा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' भने रुकुमपूर्वबाट फराकिलो मतान्तरले निर्वाचित भएका छन्।
निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लीलामणि गौतमलाई ६,७७८ मतअन्तरले हराउँदै उनी तेस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन।
दाहाल निर्वाचन क्षेत्र फेरेर रुकुम पूर्व गएका हुन्।
दाहालले १०,२४० मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी गौतमले ३,४६२ मत ल्याएको निवार्चन अधिकृतको कार्यालयले जनाएको छ।
नेपाली कांग्रेसकी कुसुमदेवी थापाले ३,०८१ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका लखन थापाले ८१९ र प्रगतिशील लोकतान्त्रिक पार्टीका सन्दीप पुनले २०३ मत ल्याएका छन्।
मोरङ ६ मा कांग्रेसका शेखर कोइराला १४ हजार मतले पछाडि, विक्रम निरौला
मोरङ क्षेत्र नम्बर ६ को पछिल्लो मत परिणामअनुसार नेपाली कांग्रेसका नेता शेखर कोइराला रास्वपाकी रुबिना आचार्यभन्दा झन्डै १४ हजार मतले पछाडि परेका छन्।
निर्वाचन आयोगका अनुसार रास्वपाकी आचार्यले फराकिलो अग्रता कायम राखेकी छन्।
रुबिना आचार्य, राष्ट्रिय स्वतन्त्र पार्टी : १८,२८१
डा शेखर कोइराला, नेपाली कांग्रेस : ४,२२१
विनोदप्रसाद ढकाल, एमाले : ३,१६३
काठमाण्डू ८ मा रास्वपाका विराजभक्त श्रेष्ठ निर्वाचित
तस्बिरको क्याप्शन, फाइल तस्बिर
काठमाण्डू क्षेत्र नम्बर ८ को मतगणना टुङ्गिएको छ। त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ २४,५९२ मतका साथ विजयी भएका छन्।
उनी विसं २०७९ को निर्वाचनमा पनि सोही क्षेत्रबाट सोही पार्टीका तर्फबाट निर्वाचित भएका थिए।
त्यस क्षेत्रका शीर्ष ५ उम्मेदवारको मत यसप्रकार छ -
विराजभक्त श्रेष्ठ, रास्वपा - २४,५९२
सुमन सायमी, नेकपा - ३,२१७
सपना राजभण्डारी, कांग्रेस - २,८३५
राजेश शाक्य, एमाले - १,९०९
नवीन शाही, राप्रपा - १,९०९
स्रोत : निर्वाचन आयोग
समानुपातिकमा पनि रास्वपा पहिलो, एमाले चौथो, अशोक दाहाल, बीबीसी न्यूज नेपाली
तस्बिर स्रोत, RSS
निर्वाचन आयोगले समानुपातिक प्रणालीतर्फको पनि मतगणना सुरु गरेको छ। प्रारम्भिक मतगणनामा समानुपातिकतर्फ पनि रास्वपाले अग्रता लिएको छ।
काठमाण्डू १ र मनाङमा प्रत्यक्षतर्फको परिणाम आएपछि समानुपातिक मत गन्न थालिएको हो। अपराह्ण ५ बजेसम्मको मतपरिणाममा रास्वपाले ११,५०० मत कटाएको छ।
दोस्रो स्थानमा धेरै मत पछि नेपाली कांग्रेस देखिएको छ। कांग्रेसले ३,६०० भन्दा बढी मत पाएको छ।
समानुपातिकतर्फ राप्रपा तेस्रो स्थानमा छ। उक्त पार्टीले १,७०० भन्दा बढी मत पाएको छ।
अघिल्लो निर्वाचनमा समानुपातिकतर्फ पहिलो बनेको नेकपा एमाले प्रारम्भिक गणनामा चौथो स्थानमा छ। एमालेले १,१०० मत कटाएको छ।
पहिलो पटक संसदीय निर्वाचनमा भाग लिएको श्रम संस्कृति पार्टीले समानुपातिकको प्रारम्भिक मतगणनामा नेकपालाई पनि उछिनेको छ।
श्रम संस्कृतिले ४०० मत कटाउँदा नेकपाले ३९२ मत मात्रै पाएको छ।
हर्क साम्पाङभन्दा रास्वपा उम्मेदवार गोमा तामाङ अगाडि
प्रारम्भिक मतगणनामा सुनसरी १ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ दोस्रो स्थानमा परेका छन्।
प्रारम्भिक मत गणना अनुसार रास्वपाका गोमा तामाङले अग्रता लिएकी छन्।
गोमा तामाङ, रास्वपा :४६१
हर्कराज राई साम्पाङ, श्रम संस्कृति पार्टी :१५४
सुजेन्द्र तामाङ, नेपाली कांग्रेस :१०७
यो क्षेत्रमा २६ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।
काठमाण्डू उपत्यकाका एउटा बाहेक सबै क्षेत्रमा रास्वपाको अग्रता
काठमाण्डू क्षेत्र नं १
बाट रञ्जु न्यौपाने (रञ्जु दर्शना) विजयी भइसकेकी छन्। बाँकी क्षेत्रमा मतगणना जारी छ।
काठमाण्डूका अरू नौ क्षेत्रमा रास्वपकै उम्मेदवारहरू अगाडि छन्।
क्षेत्र नं २ मा सुनिल
केसी १०,४७७मतसहित अगाडि छन् भने क्षेत्र नं ३
राजुनाथ पाण्डे ११,९७२ मतसहित अगाडि
छन्।
क्षेत्र नं ४ मा ४ पुकार
बमले १४,३९६ मत र क्षेत्र नं ५ सस्मित पोखरेलले १६,७३६ मतसहित अग्रता कायम गरेका छन्।
क्षेत्र नं ६ मा ६ शिशिर
खनाल शिशिर खनाल २५,६१९ मत,
क्षेत्र नं ७ गणेश पराजुली गणेश
पराजुली ११,५२५ मत र क्षेत्र
नं ८ मा विराजभक्त श्रेष्ठ १९,५५९ मतले अग्रता
कायम गरेका छन्।
क्षेत्र नं ९ मा डोलप्रसाद
अर्याल १०,५०८ र क्षेत्र नं
१० प्रदीप बिष्ट १९,०२३ मतले अगाडि
छन्।
ललितपुरका तीन क्षेत्रमध्ये एउटामा नेपाली कांग्रेसका उदय शम्शेर अगाडि छन् भने बाँकी दुई क्षेत्रमा रास्वपाका उम्मेदवारहरूले अग्रता लिएका छन्।
ललितपुर १
उदय सम्शेर जबरा, नेपाली कांग्रेसः ५,६४२
बुद्धरत्न महर्जन, राष्ट्रिय स्वतन्त्र पार्टीः ३,९०७
ललितपुर २
जगदीश खरेल, राष्ट्रिय स्वतन्त्र पार्टीः २२८
प्रेमबहादुर महर्जन, नेकपा एमालेः १३१
ललितपुर ३
तोसीमा कार्की, राष्ट्रिय स्वतन्त्र पार्टीः ८,८७१
जितेन्द्रकुमार श्रेष्ठ, नेपाली कांग्रेसः १,४९९
भक्तपुरका दुई क्षेत्रमा पनि रास्वपाका उम्मेदवारले अग्रता कायम राखेका छन्।
भक्तपुर १
रुकेश रन्जित, राष्ट्रिय स्वतन्त्र पार्टीः १२,१७१
प्रेम सुवाल, नेपाल मजदुर किसान पार्टीः ८,५३८
भक्तपुर २
राजीव खत्री, राष्ट्रिय स्वतन्त्र पार्टीः ९,३४५
महेश बस्नेत, नेकपा एमालेः ३,०२४
बालेन ओलीभन्दा ५,००० भन्दा बढी मतले अगाडि, झापामा सबै क्षेत्रमा रास्वपाको अग्रता, विक्रम निरौला
झापाका पाँचवटै क्षेत्रमा रास्वपाका उम्मेदवारहरूले अग्रता कायम गरेका छन्। झापा ५ मा भावी प्रधानमन्त्रीमा प्रस्तावित रास्वपाका बालेन्द्र शाह (बालेन)ले पूर्वप्रधानमन्त्री केपी ओलीलाई ५,००० भन्दा बढी मतले पछाडि परेका छन्।
झापा क्षेत्र नं १
निशा डाँगी, रास्वपा: ३,१७०
केवलराम राई, श्रम संस्कृतिः १,३२०
केशवराज पाण्डे, कांग्रेस: १०२८
रामचन्द्र उप्रेती, एमाले: ७८०
झापा क्षेत्र नं २
इन्दिरा राना मगर, रास्वपा: ४,५८०
देवराज घिमिरे, एमाले: ७१६
केशवकुमार भण्डारी, श्रम संस्कृति: ६०७
सरिता प्रसाईँ (कांग्रेस): ३६३
झापा क्षेत्र नं ३
प्रकाश पाठक, रास्वपा: २,२८१
राजेन्द्र लिङ्देन, राप्रपा: १,६१०
दीपक तिम्सिना, श्रम संस्कृति: ७८८
झापा क्षेत्र नं ४
शम्भुप्रसाद पाठक, रास्वपा: १,७७५
लालप्रसाद साँवा लिम्बू, एमाले: ५७९
देउमान थेबे, कांग्रेस: ४५२
झापा क्षेत्र नं ५
बालेन्द्र शाह बालेन, रास्वपाः ६,५५१
केपी शर्मा ओली, एमालेः १,४२८
समीर तामाङ, श्रम संस्कृतिः ३८१
मन्धरा चिमरिया, कांग्रेसः २१६
रास्वपाको ‘लहर’बारे के भन्छन् अरू दल?
तस्बिर स्रोत, Reuters
शुक्रवार अपराह्ण ५ बजेसम्म निर्वाचन
आयोगमा राखिएको विवरणमा प्रत्यक्षतर्फको १६५ मध्ये १३५ क्षेत्रको मतगणना भइरहँदा रास्वपा ९६ स्थानमा अगाडि छ।
रवि लामिछाने र बालेन शाह नेतृत्वको उक्त दलले
पुराना स्थापित दलहरूलाई निकै पछि पारिरहेको छ। त्यसबारे नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टीका नेताहरूले प्रतिक्रिया दिएका छन्।
कैलालीका दुई क्षेत्रमा रास्वपाको अग्रता, हिक्मतबहादुर रावल
तस्बिर स्रोत, RSS
कैलाली क्षेत्र नम्बर १ मा ८,१२१ मत गनिँदा रास्वपा उम्मेदवारले अग्रता लिएका छन्।
कोमल ज्ञवाली, रास्वपा: २,०५६
जनकराज चौधरी, नेपाली कांग्रेस: १,७८२
स्वतन्त्र: फागुराम चौधरी (ढिकी): १४२७
द्वारिका प्रसाद न्यौपाने, एमाले: ८१३
रामलाल डगौरा थारू, नेकपाः ५८५
सुदूरपश्चिमको कैलाली क्षेत्र नम्बर ५ मा रास्वपाका आनन्दबहादुर चन्दले अग्रता लिएका छन्। यो क्षेत्रको ९,१३६ मत गनिँदा उनले करिब आधा मत पाएका छन्।
आनन्दबहादुर चन्द, रास्वपाः ४,२९८
नारायणप्रसाद शाह, कांग्रेसः १,६१८
यज्ञराज ढुङ्गाना उपाध्याय, एमालेः १,३३७
प्रेमबहादुर आले, नेकपाः ९०९
नेपाललाई मित्रराष्ट्रहरूको बधाई
नेपालमा निर्वाचन सम्पन्न भएकोमा विभिन्न राष्ट्रले बधाई र शुभकामना दिएका छन्।
ब्रिटेनले एक विज्ञप्ति जारी गर्दै नेपाली जनताले प्रजातान्त्रिक मूल्यप्रति देखाएको समर्थनले सुशासनका लागि आधार दिएको भन्दै नयाँ सरकारसँग निकट रूपमा काम गर्ने आफ्नो आकाङ्क्षा पनि दर्साएको छ।
हिजो भारतको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नेपाली जनताले चुनावमा देखाएको सहभागिताको प्रशंसा गरेको थियो। "हामीले चुनाव सफल भएको कार्यको स्वागत गर्छौँ," भारतले भनेको थियो।
त्यस्तै काठमाण्डूस्थित अमेरिकी दूतावासले पनि निर्वाचन सम्पन्न भएकोमा बधाई दिएको छ।
"आगामी सरकारसँग हाम्रा दुवै देशको समृद्धि र सुरक्षासम्बन्धी साझा लक्ष्यहरूमा सहकार्य गर्न हामी उत्सुक छौँ," अमेरिकी दूतावासले भनेको छ।
काठमाण्डूस्थित रुसी दूतावासले पनि शान्तिपूर्ण र सम्मानजनक रूपमा निर्वाचन सम्पन्न गरेकोमा नेपाली जनता, राजनीतिक दल र सरकारी निकायहरूलाई बधाई दिएको छ।
"यो वर्ष रुस र नेपालले कूटनीतिक सम्बन्धको ७० वर्ष पूरा गर्दै छन्। हाम्रो सहकार्य अझै बढ्नेमा हामी आशावादी छौँ," दूतावासले भनेको छ।
सर्लाही-४ मा अमरेश अगाडि, गगन दोस्रो, माधुरी महतो
सर्लाही क्षेत्र नं ४ को प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना कार्य जारी छ। नेपाली कांग्रेसका सभापति गगन थापा यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरेशकुमार सिंहसँग पछाडि परेका छन्।
अमरेशकुमार सिंह (राष्ट्रिय स्वतन्त्र पार्टी): २,८४७