यसपालिको संसद्‌मा हुने छैनन् संसदीय राजनीतिका यी चर्चित अनुहार

केपी ओली, माधव नेपाल, शेरबहादुर देउवा, बावुराम भट्टराई र झलनाथ खनालको कोलाज तस्बिर

तस्बिर स्रोत, BBC/Getty/RSS/FB

    • Author, अशोक दाहाल
    • Role, बीबीसी न्यूज नेपाली
  • पढ्ने समय: ५ मिनेट

पटकपटक प्रधानमन्त्री बनेका र नेपालमा बहुदलीय प्रजातन्त्र पुनर्स्थापना भएयता अधिकांश निर्वाचनमा सांसद बनेका कैयौँ नेताहरू यो पटक प्रतिनिधिसभामा नदेखिने भएका छन्।

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड यो पटक संसद्‌मा पुग्ने एक जना मात्रै पूर्वप्रधानमन्त्री हुने छन्।

उनी बाहेक यो निर्वाचनमा कैयौँ पूर्वप्रधानमन्त्रीदेखि पार्टीका प्रमुख र चर्चित नेताहरू कि त पराजित भइसकेका छन् कि दोस्रो वा तेस्रो स्थानमा प्रतिस्पर्धा गरिरहेका छन्।

केपी शर्मा ओली

केपी शर्मा ओली

तस्बिर स्रोत, RSS

विसं २०७० साल पछिका निर्वाचनमा फराकिलो मतान्तर सहित झापा ५ बाट निर्वाचित हुँदै आएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली यो निर्वाचनमा पराजित हुने निश्चित देखिएको छ।

यो क्षेत्रमा गणना हुन बाँकी मत भन्दा ओलीका प्रतिस्पर्धी उम्मेदवारसँगको अन्तर बढी छ।

काठमाण्डू महानगरपालिकाको मेअरबाट राजीनामा दिएर ओलीको निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका बालेन्द्र शाह बालेन ओलीभन्दा निकै मतले अगाडि छन्।

यो क्षेत्रको अन्तिम चुनावी परिणामको औपचारिक घोषणा भएपछि यो निर्वाचनमा पराजित हुने सबैभन्दा 'हेभी वेट' नेता ओली नै हुने छन्।

चार पटक प्रधानमन्त्री भइसकेका र तेस्रो कार्यकाल नेकपा एमालेको अध्यक्ष चलाइरहेका ओली गत भदौको जेन जी आन्दोलनले पदच्युत गरेका सरकार प्रमुख हुन्।

केपी ओलीको यो पहिलो पराजय चाहिँ होइन। उनी विसं २०६४ सालको संविधानसभा निर्वाचनमा पनि पराजित भएका थिए। तत्कालीन समयमा पार्टीको कुनै पदीय जिम्मेवारीमा नभए पनि प्रभावशाली नेता मानिने ओली उक्त चुनावमा माओवादीका कुमार लिङ्देनसँग झापामा पराजित भएका थिए।

शेरबहादुर देउवा

शेरबहादुर देउवा

तस्बिर स्रोत, RSS

ओलीसँगै सत्ता साझेदारी गरेका पाँच पटक प्रधानमन्त्री रहिसकेका नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा पनि यो पटक संसद्‌मा देखिने छैनन्।

विसं २०४८ साल देखि डडेलधुरा र कञ्चनपुरबाट निरन्तर चुनाव जितिरहेका देउवा भदौ २४ को हिंसात्मक आन्दोलनका क्रममा आफ्नै घरमा आक्रमणमा परे।

लामो समय उपचार गराएर पुनः पार्टी राजनीतिमा फर्कने प्रयास गरिरहेका देउवालाई पार्टी महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन मार्फत् पदबाट हटाइदिए। यद्यपि विशेष महाधिवेशनको आधिकारिकता विवाद सर्वोच्च अदालतमा विचाराधीन छ।

एमालेसँगको सहमति अनुसार आगामी असार अन्तिमबाट प्रधानमन्त्री बन्ने पर्खाइमा रहेका देउवा जेन जी आन्दोलनपछि पार्टी नेतृत्वबाट पनि हट्नु परेपछि यो निर्वाचनमा उम्मेदवार समेत बनेनन्।

माधवकुमार नेपाल

माधव नेपाल

तस्बिर स्रोत, RSS

सशस्त्र द्वन्द्वमा रहेको नेकपा माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन सक्रिय भूमिका निभाउने नेता मध्येका एक पूर्व प्रधानमन्त्री माधवकुमार नेपालका लागि नवयुवा आन्दोलनपछिको चुनाव भारी परेको देखिएको छ।

कैयौँ पटक चुनाव जितेको रौतहट १ मा यो पटक नेपालले चौथो स्थानमा चित्त बुझाउनु पर्‍यो।

रौतहट १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका राजेशकुमार चौधरी निर्वाचित भएका छन्।

हाल नेपाली कम्युनिस्ट पार्टीका नेता माधव नेपाल यसअघि २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा पनि पराजित भएका थिए। त्यसबेला एमालेको नेतृत्व गरिरहेका नेपाल काठमाण्डू २ र रौतहट १ दुवै ठाउँबाट पराजित भएका थिए। नेपाललाई दुवै ठाउँबाट राजनीतिमा चर्चामा नभएका उम्मेदवारले पराजित गरेका थिए।

काठमाण्डूमा नेपाललाई माओवादीका झक्कु सुवेदीले र रौतहटमा स्वतन्त्र उम्मेदवार बबन सिंहले पराजित गरेका थिए।

संसद्‌मा हुने छैनन् यी तीन पूर्व प्रधानमन्त्री

बाबुराम भट्टराई

तस्बिर स्रोत, BaburamBhattarai/FB

केपी ‌ओली, शेरबहादुर देउवा र माधव नेपाल जस्तै नेपालका अरू तीन जना निर्वाचित पूर्वप्रधानमन्त्रीहरू पनि यो पटक संसद्मा हुने छैनन्।

पूर्वप्रधानमन्त्रीहरू बाबुराम भट्टराई, झलनाथ खनाल र लोकेन्द्रबहादुर चन्द क्रमशः संसदीय प्रतिस्पर्धाबाट अलग हुँदै गएका छन्।

अघिल्लो निर्वाचनमा गृहजिल्ला इलाममा पराजित भएका खनाल यो पटक उम्मेदवार नै बनेनन्। विसं २०४८ सालदेखि २०५६ बाहेकका सबैजसो निर्वाचनमा सांसद रहेका पूर्व प्रधानमन्त्री खनाल पनि नयाँ संसद्मा नदेखिने राजनीतिज्ञ हुन्।

अघिल्लो पटक आफ्नो चुनावी क्षेत्र अर्का पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाललाई छोडेका बाबुराम भट्टराई यो पटक गोरखा २ बाट उम्मेदवार बनेका थिए।

तर मतदान अघि नै भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिए।

विसं २०४० देखि २०६० सालको बीचमा चार पटक प्रधानमन्त्री बनेका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता लोकेन्द्रबहादुर चन्द पछिल्ला चुनावहरूमा उम्मेदवार छैनन्। उनी पछिल्लो पटक २०६४ सालको संविधानसभासम्म सभासद् थिए।

अरू प्रभावशाली राजनीतिक अनुहारहरू

कुलमान घिसिङ

तस्बिर स्रोत, RSS

यो निर्वाचनमा कांग्रेस र एमालेका प्रभावशाली नेताहरू पनि पराजित भएका छन्।

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री विष्णु पौडेल २८ वर्षका सुलभ खरेलसँग पराजित भए। पौडेल पनि पछिल्ला संसदीय चुनावमा निरन्तर अपराजित रहेका नेता हुन्।

नेकपा एमालेका अर्का उपाध्यक्ष पूर्वमन्त्री पृथ्वी सुब्बा गुरुङ पनि रास्वपाका धर्मराज केसीसँग पराजित भए।

यो निर्वाचनमा नेपाली कांग्रेसका प्रभावशाली नेता शेखर कोइराला निकै फराकिलो मतान्तरले पराजित भए। उनलाई रास्वपाकी रुबिना आचार्यले ४२ हजार मतान्तरले पराजित गरेकी छन्।

कांग्रेसका महामन्त्रीद्वय गुरुराज घिमिरे र प्रदीप पौडेल पनि रास्वपाका नयाँ उम्मेदवारसँग पराजित भए।

नयाँ पार्टी खोलेर पहिलो पटक निर्वाचनमा भाग लिएका पूर्व ऊर्जामन्त्री कुलमान घिसिङ पनि काठमाण्डूमा रास्वपाका राजुनाथ पाण्डेसँग पराजित भएका छन्।

नेपाल मजदुर किसान पार्टीका पटकपटक सांसद भएका प्रेम सुवाल पनि यो पटक पराजित बनेका छन्।

त्यस बाहेक नेपाली कांग्रेसका सभापति गगन थापा, प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता तथा पूर्वमन्त्री जनार्दन शर्मा, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन यो समाचार तयार पार्दासम्म मतगणनामा पछाडि छन्।

त्यसैगरी जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीके राउत लगायतका कैयौँ दलका प्रमुख नेताहरू पनि मतगणनामा पछाडि परेका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।