शेरबहादुर देउवा चुनावमा 'नखुल्दा' गगन थापामाथि हुन सक्ने 'राजनीतिक प्रहार'

गगन थापा र शेरबहादु देउवा

तस्बिर स्रोत, NurPhoto via Getty Images

    • Author, शरद केसी
    • Role, बीबीसी न्यूज नेपाली
  • पढ्ने समय: ५ मिनेट

नेपाली कांग्रेस चुनावमा होमिएको बेला शेरबहादुर देउवाको मौनताबारे देशभरि उक्त दलभित्र चासो रहेको देखिन्छ।

पार्टीको "मत वृद्धि, साख वृद्धि र उम्मेदवार विजयी बनाउन पार्टीका सबै नेताहरूको समान दायित्व" रहेको बताउने कांग्रेस प्रवक्ता देवराज चालिसेले चुनावअघि देउवाबाट अपील गर्न लगाउने दुई साताअघि जनाएका थिए। तर त्यो अझै भएको छैन।

नेता अर्जुन नरसिंह केसीले त्यसो निम्ति सभापति गगन थापाले पहल गरेको र देउवालाई धेरै पटक भेटेको आफूलाई थाहा भएको दाबी गरेका छन्। "पहल नभएको त होइन, तर सक्रिय नभएको परिस्थिति किन छ भन्ने मैले पनि बुझेको छैन," केसीले भने, "तर अझै समय बाँकी छ, प्रतीक्षा गरौँ।"

अपमानले छेकेको देउवाको बाटो?

निर्वाचन आयोगमा गगन थापा

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, विशेष महाधिवेशनबाट गगन थापा पार्टी सभापति निर्वाचित भएपछि निर्वाचन आयोगले त्यसलाई मान्यता दिएको थियो

देउवा निकटस्थ नेताहरू आन्तरिक विवादबारे टिप्पणी गर्ने बेला नभएको बताउँछन्। तर सभापति थापाले देउवासँग भेटघाट वा चुनावी अभियानमा सहभागी गराउन पहल नगरेको दाबी गर्ने गरेका छन्।

वरिष्ठ पत्रकार तथा प्राध्यापक पुरुषोत्तम दाहाल सहयोग लिने वातावरण बनाउने अभिभारा विशेष महाधिवेशन पक्षधर र सभापति थापाको भएको बताउँछन्। अन्यथा देउवा आफैँ अघि बढ्ने बाटो नभएको उनको बुझाइ छ।

"तिम्रो हस्ताक्षर र अनुहार लिएर हामी चुनावमा जान सक्दैनौँ भनेको पार्टी नेतृत्व र त्यो नेतृत्वअन्तर्गत उम्मेदवारी दिएकाहरूलाई देउवाले कसरी मुख देखाउँदै यसो गरे भन्न जान्छन् त, यो त मूर्ख मान्छेले पनि जान्दछ," दाहाल भन्छन्, "उहाँहरूले देउवाको निम्ति चुनावमा प्रचार गर्न जाने र सहयोग पुर्‍याउने बाटोनै राख्नु भएन।"

तर थापासँग निकट नेताहरू उक्त कुरा अस्वीकार गर्छन्।

कांग्रेस प्रवक्ता चालिसे 'जनमानसमा बदलिएको कांग्रेस लग्न नेतृत्व परिवर्तन गरेको' बताउँछन्।

"कसैको अनुहारको बारेमा टिप्पणी गर्ने गरेको होइन, नेतृत्व परिवर्तन भनेको कसैलाई आक्षेप लगाएको होइन नि," उनको तर्क छ।

कांग्रेस नेता केसी पनि देउवालाई अपमान गरिएको अस्वीकार गर्छन्।

"विधानको व्यवस्था केन्द्रीय समितिले पालना गरेपछि महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन बोलाएर पछि एउटा प्रक्रियामा प्रवेश गरेको हो," केसी भन्छन्, "चुनावपछि विचार र संवाद अघि बढाउन सकिन्छ तर अहिले निर्वाचनमा घाटा पुर्‍याउने कुरा कांग्रेसको निम्ति मात्रै होइन, लोकतन्त्रको निम्ति पनि धोका हुन्छ।"

देउवा 'नखुल्दा' क्षति पुग्ने सम्भावना कति?

शेरबहादुर देउवा र शशाङ्क कोइराला

तस्बिर स्रोत, RSS

कतिपय कांग्रेस नेता कार्यकर्ताहरू देउवामाथि विशेष महाधिवेशनको नाममा अपमानजनक व्यवहार गरिएको धारणा राख्छन्।

पार्टी एक हुँदा समेत घात र अन्तर्घातको सामान गर्ने कांग्रेसमा आन्तरिक रूपमा चिरा पर्दा त्यसले यस पटकको चुनावमा थप क्षति पुर्‍याउने आकलन पाइन्छ। त्यसमा देउवा स्वयंको मौनताले बल दिने पनि ठानिन्छ।

"एउटा क्रियाशील सदस्य निष्क्रिय हुँदा त घाटा लाग्छ भने उहाँ त पार्टीको पूर्वसभापति हो, घाटा त पक्कै लाग्छ," केसी भन्छन्।

पत्रकार दाहालले पनि कांग्रेसका कैयौँ उम्मेदवारहरू अझै पनि देउवालाई पर्खिरहेको पाएको सुनाए।

त्यसैले देउवा नबोलिदिँदा कांग्रेसलाई हानि हुन सक्ने उनको ठम्याइ छ।

"तर देउवालाई पार्टीबाट विस्थापित गरेको खुसीमा उनीसँग रिसाएकाहरू गोलबद्ध हुँदा त्यो रिक्तता परिपूर्ति हुन सक्छ," दाहालको विश्लेषण छ, "त्यसैले घाटा नाफा करिबकरिब उस्तै होला भन्ने लाग्छ।"

चुनावमा कमजोर नतिजा आए विशेष महाधिवेशनको औचित्यमाथि प्रश्न उठ्न सक्छ

विश्वप्रकाश शर्मासँग गगन थापा थापा

तस्बिर स्रोत, NurPhoto via Getty Images

चुनावमा यस पटक 'गगन सरकार' र '१०० (सीट) पार' भन्ने नारा लगाइएको छ। थापाको नेतृत्वमा कांग्रेसले कसैसँग गठबन्धन नगरी निर्वाचनमा १६५ निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गर्दै छ।

उनले केही भए पनि देउवालगायत आफ्नो विपक्षमा रहेकाहरूलाई पनि टिकट दिएका छन्। तर लुम्बिनी प्रदेशको एउटा जिल्लामा कांग्रेसका एक अगुवाले प्रत्यक्षमा कांग्रेसको पक्षमा भोट माग्दै समानुपातिकमा जसलाई दिए पनि हुने बताएको आरोप थापा पक्षका एक जनाले फेसबुकमा लगाएका छन्।

संस्थापनेतर पक्ष प्रत्यक्षमा आफू निकटस्थलाई जिताउने तर समानुपातिक मत घटाउने रणनीतिमा लाग्न सक्ने थापा पक्षको बुझाइ पाइन्छ।

कतिपय जानकारहरू पहिलेभन्दा कांग्रेसको सीट र समानुपातिक मत घटेमा सभापति थापामाथि राजनीतिक आक्रमण सुरु हुने ठान्छन्।

प्राध्यापक पुरुषोत्तम दाहाल त गगन थापाको नेतृत्वमा सरकार नबनेमा र १०० सीट नआएमा विशेष महाधिवेशनको औचित्य समाप्त हुने बताउँछन्।

"त्यसो हुन नदिन उनको नेतृत्वमा सरकार पनि बन्नुपर्छ, सीट पनि १०० नाघ्नुपर्छ," उनले भने, "नत्र विशेष महाधिवेशनको औचित्य सिद्ध हुँदैन, एक प्रकारले त्यसको औचित्य अन्त्य हुन्छ। गगन थापाको लागि सबैभन्दा ठूलो घाटा त्यो हुन्छ।"

त्यस्तो अवस्थामा उनी राजनीतिक रूपमा कमजोर हुने कतिपय ठान्छन्। तर पत्रकार दाहाल देउवा पक्षले सहयोग नगरेको भनेर पन्छिन सक्ने बताउँदै भन्छन्, "राजनीतिमा नाक छोप्ने तरिका त हुन्छ नि।"

ठूलो दल बन्नेमा थापा पक्ष कति विश्वस्त?

कांग्रेस प्रवक्ता देवराज चालिसे १०० सीट कटाउने मात्र नभई बहुमतनजिक पुग्ने दाबी गर्छन्। नेता केसी भने कांग्रेस १०० सीट हाराहारीका साथ पहिलो ठूलो दल बन्ने बताउँछन्।

तर दुवै नेताले कांग्रेसले पाउने सीट र भोटलाई विशेष महाधिवेशनको औचित्यसँग दाँज्न नमिल्ने तर्क गरेका छन्।

"१६५ वटै निर्वाचन क्षेत्रमा सशक्तता, जीवन्तता र कार्यकर्तामा नयाँपन ल्याएर सङ्गठन र कांग्रेसलाई जुरुक्क विकास गरेका छौँ," पार्टीले घोषणा गरे जस्तै मत र सीट ल्याउने दाबी दोहर्‍याउँदै केसी भन्छन्, "हिजोको जस्तो गठबन्धन र भागबन्डामा आएको नतिजालाई अहिले जोडेर हेर्न मिल्दैन।"

प्रवक्ता चालिसे पनि नेतृत्व परिवर्तन नभएको भए चुनावमा आउने मत र सीट जति पनि आउँदैनथ्यो भन्ने प्रश्न गर्न सकिने बताउँछन्।

"चुनावमा आउने नतिजाभन्दा पनि तल जान्थ्यो कि," उनी भन्छन्, "जनताले व्यक्त गरेको विश्वास र देखिएको लहर उत्पन्न हुन्थ्यो कि हुँदैनथ्यो भन्ने पनि समीक्षाको विषय हो नि।"

त्यसैले पार्टीको आन्तरिक राजनीतिलाई अन्य दलसँग हुने प्रतिस्पर्धासँग जोडेर हेर्न नहुने उनको धारणा छ।

संस्थापन पक्षले चुनाव उत्कर्षमा पुग्नै लाग्दा अर्को खेमाको नियत र सम्भावित अन्तर्घातलाई नियालिरहेको पनि देखिन्छ।

त्यस्तै सङ्केत दिँदै नेता केसीले भने, "जसले पार्टीको उम्मेदवारलाई सहयोग गर्दैन उसमाथि कडा अनुशासनको कारबाहीसहित अहिलेनै निर्वाचनअघि स्पष्ट पार्नुपर्ने अवस्था छ।"

तर देउवा निकटस्थहरू थापा पक्षले घोषणापत्र सार्वजनिक गर्दा समेत इतरखेमाका नेताहरूलाई आमन्त्रण नगरेर एकपक्षीय रूपमा अघि बढ्न खोजेको सङ्केत दिएको बताउँछन्।

कांग्रेसभित्र अहिले देखिएको अन्तर्विरोध चुनावपछि थप पेचिलो बन्ने कतिपयको आकलन पाइन्छ। त्यससँगै अदालतमा विचाराधीन आधिकारिकताको विषय र सङ्ख्याको खेल फेरि चर्किने ठानिएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।