आन्दोलनकारीहरूले आगो लगाएको सिंहदरबारमा कति क्षति, पुनर्निर्माण कसरी होला?

भदौ २४ गते सिंहदरबारमा आगो लगाइएपछि देखिएको दृश्य। गेटभन्दा पछिल्लो भागमा रहेको भवनको मूल भागमा आगो दन्किरहेको छ र पृष्ठभूमीमा भीषण धुँवा देख्न सकिन्छ। सिंहदरबारको बाहिरपट्टी ठूलो सङ्ख्यामा आन्दोलनकारी उभिएका छन्

तस्बिर स्रोत, EPA

    • Author, फणिन्द्र दाहाल
    • Role, बीबीसी न्यूज नेपाली

हालै भएको आन्दोलनका क्रममा भएका विध्वंसात्मक घटनाहरूमा जलेको ऐतिहासिक सिंहदरबारको पुनर्निर्माणका लागि ठूलो स्रोतसाधन आवश्यक पर्ने विज्ञहरूले बताएका छन्।

तर उनीहरूले उक्त राणाकालीन दरबारभित्र जलेर नष्ट भएका सम्पदाहरू पुरानै स्वरूपमा फर्काउन असम्भव रहेको उल्लेख गर्दै सिंहदरबार जल्दा अपूरणीय क्षति भएको उल्लेख गरेका छन्।

यसअघि सन् २०१५ को विनाशकारी भूकम्पले पनि सिंहदरबार भत्काएको र त्यसबेला प्रबलीकरण विधि अन्तर्गत उक्त संरचना ७० महिना लगाएर पुनर्निर्माण गरिएको थियो।

सन् १९७३ को जुलाईमा सिंहदरबारमा भीषण आगलागी भएपछि तात्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टले राजीनामा दिएका थिए र नेपाली सेनाले एक भाग विस्फोटन गराएर बाँकी क्षेत्रलाई सुरक्षित गराएको थियो।

पछिल्लो ध्वंसमा सिंहदरबारमा कति क्षति पुग्यो?

अधिकारीहरूले सिंहदरबारमा आगजनीले पुर्‍याएको क्षतिको आफूहरूले तथ्याङ्क विवरण सङ्कलन गरिरहेको भन्दै दक्षिण एशियाकै वैभवशाली सम्पदामा पुगेको क्षतिले आफूहरूलाई स्तब्ध तुल्याएको प्रतिक्रिया दिएका छन्।

जेन जीको आन्दोलनको दोस्रो दिन मुलुकको प्रशासनिक केन्द्र सिंहदरबारमा आगजनी गरिएको थियो र त्यसबाट सिंहदरबारको अघिल्लो भागमा क्षति पुगेको बताइएको छ।

पुरातत्त्व विभागकी महानिर्देशक सौभाग्य प्रधानाङ्ग भन्छिन्, "सिंहदरबारको क्षति आकलन नै गर्न नसकिने अवस्थाको छ। केही छैन, सबै खण्डहर नै छ, त्यहाँ भित्र। त्यसलाई निर्माण गर्न के कति क्षति भयो भनेर हामी मूल्याङ्कन गराउन खोजिरहेका छौँ। त्यसपछि मात्रै कति समय वा खर्च लाग्छ हामी भन्न सक्छौँ।"

उनले थपिन्, "त्यहाँ भित्र भएका सामाग्रीहरू अब पुनर्स्थापित गर्न गाह्रै छ। तर भवनको हामीसँग नक्सा, चित्र, अस्ति भर्खर (भूकम्पको समयमा) बनाएको भएर हामीले भेटाउन सक्छौँ। त्यहाँको बस्तुहरू सबै जलिसकेको छ, त्यो फेरी ल्याउन सम्भव छैन।"

उनले पुनर्निर्माण गर्दा आफूहरूले सकेसम्म पुरानै परम्परागत सामाग्रीहरू प्रयोग गर्ने उल्लेख गर्दै सुरुमा भवन खडा गर्ने र त्यसपछि भित्र कस्ता बस्तुहरू राख्ने भन्नेबारे सोचविचार गर्न सकिने बताइन्।

भदौ २४ गते साँझको समयमा सिंहदरबार यस्तो अवस्थामा पुगिसकेको थियो। गेटभन्दा पछाडीको भागमा आगोको मुश्लो छ भने बाहिर प्रदर्शनकारीहरूको ठूलो भीड छ

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, भदौ २४ गते साँझको समयमा सिंहदरबार यस्तो अवस्थामा पुगिसकेको थियो

राणा प्रधानमन्त्री चन्द्र शमशेरले आफ्नो निवासका रूपमा सन् १९०३ मा सिंहदरबार निर्माण गराएका थिए। पुरातात्त्विक मामिलाका अध्येताहरू दक्षिण एशियाकै एउटा उत्कृष्ट दरबारका रूपमा सिंहदरबार चिनिएको बताउँछन्।

पुरातत्त्व विभागका निर्देशक रामबहादुर कुँवरले बीबीसीसँग भने, "सिंहदरबारको अघिल्लो भाग जुन हो त्यसमा क्षति भएको छ। क्षति धेरै नै पुगेको छ। हामीसँग त्यहाँ के के कुन रूपमा थिए भन्ने छ। जलिसकेका सामानहरू पुरानै अवस्थामा फर्काउन नसक्ने अवस्था हुनसक्छ। तर हामीसँग इन्भेन्ट्रीहरू छन्। हामीले जति भाग बच्छ त्यसलाई बचाउँदै र बचाउन नसकिनेलाई पुरानै स्वरूपमा हुबहु बनाउँदै जानुपर्छ।"

पुनर्निर्माणमा चुनौती के छन्?

पुरातत्त्व विभागका पूर्व महानिर्देशक भेष नारायण दाहालले एक पटक नष्ट भएको यस्तो सम्पदालाई पुरानै जस्तो बनाउन असम्भव हुने भएपनि बाहिरी भाग पुरानै स्वरूपमा ल्याउन सकिने बताए।

उनले भने, "पुराना फोटोग्राफीहरूलाई ध्यानमा राखेर हामीले भूकम्पपछि सिंहदरबार जुन किसिमको अवस्थामा थियो, जस्ताको तस्तै त्यसको पुनर्निर्माण गरेका थियौँ। सकेसम्म जीवन्त बनाएका थियौँ र नोक्सान भएको ठाउँमा पनि प्रबलीकरण र पुनर्स्थापनाको काम गरेका थियौँ।"

सन् २०१५ को बिनाशकारी भूकम्पमा सिंहदरबारमा ठूलो क्षति पुगको थियो। त्यसको रेट्रोफिटिङ गर्ने क्रममा काम गर्दै हेल्मेट र सुन्तला रङ्गको ज्याकेट लगाएका दुई मजदुरहरू

तस्बिर स्रोत, NRA

तर यस पटक आगजनीका कारण सिंहदरबारको पुनर्निर्माणमा त्यो भन्दा धेरै चुनौती आउनसक्ने उनको बुझाइ छ।

उनले थपे, "अहिले पनि आवश्यक दस्ताबेजहरू छन्, दुरुस्तै निर्माण गर्न सकिन्छ। तर पहिलाको जे थियो, त्यो नष्ट भयो। एक चोटि नष्ट भएको कुरा पुन: फर्काउन सकिँदैन। त्यै पनि त्यहाँ भित्र पहिला के के थिए, त्यो कस्तो थियो हेरेर हामीले पुनर्निर्माण गर्न सक्छौँ।"

सन् १९७३ मा कीर्तिनिधि विष्ट प्रधानमन्त्री रहेका बेला सिंहदरबारको मूल भवनको पछिल्लो भागमा आगो लागेको थियो। पूर्व महानिर्देशक भेष नारायण दाहालका अनुसार त्यसबेला नेपाली सेनाले विस्फोट गराएर सिंहदरबारको अग्र भागलाई जलेको भागबाट छुट्याएर जोगाएको थियो।

उनले भने, "अहिले त अगाडिकै भागमा नोक्सान भएको छ। भूकम्पले त्यसलाई भत्काउँदा हामीले भत्काएनौँ पुनर्निर्माण गर्‍यौँ। ६० इन्चको मोटो गाह्रो भएको छ, त्यो पर्खाल। त्यसलाई पुरानै रूपमा लैजान सकिन्छ तर खर्च धेरै लाग्छ।"

सन् १९७३ को आगलागीपछि कसरी जोगियो सिंहदरबार

सन् १९७३ मा सिंहदरबारमा राती करिब १० बजे आगलागी भएको घटना त्रासदीपूर्ण रहेको तत्कालीन सहअञ्चलाधीश सूर्यप्रसाद श्रेष्ठ सम्झन्छन्। तर यसपालीको आन्दोलनमा भएको विध्वंस त्यो भन्दा कैयौँ गुणा भयावह रहेको र त्यसले नेपाललाई नै 'ढाल्ने अवस्था' जस्तो देखिएको उनले सुनाए।

श्रेष्ठ भन्छन्, "त्यो बेला म आफैँ गाडी चलाएर राती नै सिंहदरबार पुगेको थिएँ। त्यत्ति बेला सेनाले नै त्यो बचाएको हो। मेरो अगाडि नै विस्फोट गरेर जोगाएको हो। त्यो बेला पनि दक्षिण पूर्वी एशियाकै अन्य देश भन्दा हाम्रो सिंहदरबार राम्रो थियो, त्यहाँ सबै कुरा अटाएको थियो।"

उनले थपे, "बिस्फोटनपछि अगाडिको भाग मात्रै ठिङ्ग भयो, बाहिरबाट हेर्दा जलेको छैन जस्तो देखिन्थ्यो। तर त्यत्रो सिंहदरबार जल्यो भनेर त्यसबेला प्रधानमन्त्री कीर्तिनिधि विष्टले सोझै म जिम्मा लिन्छु भनेर राजीनामा दिनुभयो।"

पहिलो दिनको युवा आन्दोलनमा १९ जनाको ज्यान गएपछि दोस्रो दिन भएको उग्र विरोध प्रदर्शनका क्रममा सिंहदरबारका साथै नेपालको संसद् भवन र सर्वोच्च अदालतमा आगजनी गरिएका थिए। ठूलो जनधनको क्षति निम्त्याएको जेनजी आन्दोलनले ३० घण्टा भन्दा कम समयमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ता छाड्न बाध्य पारेको थियो।

श्रेष्ठ यस्ता घटनाको गम्भीर छानबिन गरिनुपर्ने र दोषीलाई कारबाही गरिनुपर्ने बताउँछन्।

उनले भने, "सिंहदरबारको मूल भवनबाहेक विभिन्न मन्त्रालयहरूमा नै गएर आक्रमण गरिएको छ। त्यो नियोजित हो। प्रणालीमात्र होइन, देशैलाई पो ढाल्ने अवस्था देखियो। अहिलेको जागरुक युवाहरूले यस्ता संरचनालाई त बचाउनुपर्ने हो। न सात साल, न ४६ साल न ६२ साल कहिल्यै पनि यस्तो विध्वंसात्मक काम भएको छैन। यस्तो गर्नेहरूलाई पत्ता लगाएर मुलुकलाई जोगाउनुपर्छ।"

दक्षिण एशियाकै 'वैभवशाली दरबार'

राणा प्रधानमन्त्री चन्द्र शमशेरले निर्माण गरेको उक्त दरबारमा त्यसबेला झन्डै १४ सय वटा कोठा रहेको भनिन्छ। पुरातत्त्व विज्ञहरूले यसलाई नवशास्त्रीय शैलीको विशिष्ट सम्पदा मान्छन् र पछिल्लो क्षतिलाई उनीहरूले अपूरणीय भनिरहेका छन्।

पुरातत्वविज्ञ प्रकाश दर्नालले विगतमा बडो मुस्किलले सिंहदरबारलाई पुरानै स्वरूपमा ल्याइएको उल्लेख गर्दै थपे, " ३० सालमा रहस्यमय आगलागीपछि त्यो बनाउन धेरै नै समय लाग्यो। यसलाई नयाँ किसिमले बनाउनुपर्छ पनि भनेका थिए। तर सम्पदामा काम गर्ने अभियन्ता र सम्पदा प्रेमीहरूले पहिला जस्तो छ, त्यस्तै बनाउनुपर्छ भन्ने धारणा राखे। यो बनाउनलाई धेरै खर्च पनि लाग्यो, धेरै समय पनि लाग्यो।"

उनले थपे, "जसरी यो खरानी भयो, यसले नेपालको एउटा मुख्य मुटुलाई नै जलाएको जस्तो भयो। हामीसँग अभिलेख छ, फोटो र कागजपत्र छ। इच्छाशक्ति भयो भने पुनर्निर्माण गर्न सकिन्छ। जसरी फ्रान्सको नोट्रेडाम त्यत्रो आगो लागेर ध्वस्त भएको थियो, त्यहाँको सरकारले आफ्नो सबै शक्ति लगाएर समय भन्दा अगावै निर्माण गरेको उदाहरण हाम्रो आँखा अगाडि छ। सरकार र नेपाली जनताले चाह्यो भने त्यो पुनर्निर्माण गर्न सकिन्छ।"

उनले कतिपय बस्तु नष्ट भएकाले तीनलाई हुबहु पुनर्स्थापना गर्न नसकिने उल्लेख गरे।

उनी थप्छन्, "पहिला सुरुमा सबै सामानहरू ब्रिटेनबाट नै ल्याइएको थियो। जस्तै ग्लासको घडी थियो, कार्पेटहरू थिए। बाघको छाला र टाउकोहरू ध्वस्त भएको भन्ने छ। कतिपय पेन्टिङहरू पनि जलेको कुरा छ। अहिले नपाउन पनि सक्छ। तर अझै पनि प्रयास गर्‍यौँ भने हामीले पुरानै रूपमा ल्याउन सकिन्छ भन्ने मलाई लाग्छ।"

सिंहदरबारमा पुगेको क्षतिको आकलन गरिरहेको अधिकारीहरूले बताएका छन्। सिंहदरबारको अग्रभागमा आगो दन्किरहेको अवस्था। केही युवा र एक जना सैनिक मूल भवन बाहिरको सडकमा उभिएका छन्

तस्बिर स्रोत, Tulsi Sapkota

उनले चन्द्र शमशेरले बनाएको सिंहदरबारलाई दक्षिण एशियामा नै एउटा महत्त्वपूर्ण सम्पदा मानिएको उल्लेख गरे।

उनले भने, " एक हजार भन्दा बढी कोठाहरू भएको त्यो साँच्चिकै सिंहदरबार नै थियो। दक्षिण एशियाको लागि त्यो विशाल, वैभवशाली अनि प्रभावशाली दरबार थियो। चन्द्र शमशेरले त्यो दरबार बेचेर नेपाल सरकारको हातमा आएपछि नेपाल सरकारको मुख्य प्रशासनिक भवन नै त्यही थियो।"

कलात्मक र साजसज्जाको हिसाबले समेत महत्त्वपूर्ण रहेको उक्त दरबारको प्रारम्भिक निर्माण पाँच लाख रुपियाँमा गरिएको दर्नाल बताउँछन्।

"पहिला पुरातत्त्व विभाग पनि त्यहीँ थियो। ३० सालको आगलागीपछि त्यो सर्वोच्च अदालत नजिकै सारिएको हो। त्यसबेला आगो लाग्दा कैयौँ पुराना अभिलेखहरू जलेर नष्ट भएका थिए। त्यसपछि राष्ट्रिय अभिलेखालयले यस्ता दस्ताबेजहरू आफूलाई उपलब्ध गराइदिन भन्दै अभियान नै चलाएको थियो।"

आन्दोलनकारीहरूले काठमाण्डूका कैयौँ महत्त्वपूर्ण केन्द्रमा तोडफोड र आगजनी गरिरहँदा कतिपय सम्पदा संरक्षणकर्ताहरूले राष्ट्रिय अभिलेखालयमा पहरा दिएका थिए।

प्राचीन दस्ताबेज, सनद र ग्रन्थसहित ऐतिहासिक सम्पदाहरू राखिएको राष्ट्रिय अभिलेखालय जोगाउन सकिएकोमा सम्पदा संरक्षणमा लागेका अभियानकर्ताहरूले सन्तुष्टि व्यक्त गरेका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।