संवैधानिक नियुक्तिको निर्णयमा भाग लिन पाउने विपक्षी दलको नेताको टुङ्गो कहिले लाग्ला

मोहन आचार्य र भीष्मराज आङ्देम्बे

तस्बिर स्रोत, House of Representatives

तस्बिरको क्याप्शन, संसदीय दलको नेताका लागि मोहन आचार्य र भीष्मराज आङ्देम्बेसहित अर्जुन नरसिंह केसी र वासना थापाको नाम पनि चर्चामा आउने गरेको छ
    • Author, अशोक दाहाल
    • Role, बीबीसी न्यूज नेपाली
  • पढ्ने समय: ४ मिनेट

संसद्को दोस्रो ठूलो अर्थात् प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निर्वाचनको अन्तिम परिणाम सकिएको एक महिना हुन लाग्दा पनि संसदीय दलको नेता चयन गरेको छैन।

चुनावअघि नै पार्टीबाट प्रधानमन्त्रीको उम्मेदवार तोकिएका सभापति गगन थापासहित पार्टी पदाधिकारीहरू प्रतिनिधिसभा निर्वाचनमै पराजित भएपछि दलको नेता चयनमा कांग्रेसमा अलमल देखिएको विश्लेषकहरूको धारणा छ।

प्रतिनिधिसभामा कांग्रेसको संसदीय दलका नेता सरकारका लागि पनि सरोकारको विषय हो। सर्वोच्च अदालतका प्रधानन्यायाधीशदेखि निर्वाचन आयोगका प्रमुखसम्म रिक्त रहेको समयमा संवैधानिक नियुक्तिको सिफारिस गर्ने संवैधानिक परिषद्‌मा पनि प्रमुख प्रतिपक्षी दलका नेता सदस्य रहन्छन्।

प्रधानमन्त्री अध्यक्ष रहने यो परिषद्‌मा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रतिनिधिसभाको विपक्षी दलको नेता र उपसभामुख पदेन सदस्य हुने संवैधानिक व्यवस्था छ।

प्रतिनिधिसभाबाट शुक्रवार उपसभामुख चयन भएपछि यो परिषद्‌का सदस्यमा चयन हुन बाँकी विपक्षी दलका नेता मात्रै हुने छन्।

कांग्रेसले कहिले नेता छान्छ

गगन थापा र विश्वप्रकाश शर्मा

तस्बिर स्रोत, Nepal Photo Library

नेपाली कांग्रेसका नेताहरू नयाँवर्षसँगै पार्टीले दलको नेता चयन गर्ने तयारी भइरहेको बताउँछन्।

अहिले प्रदेशस्तरीय कार्यक्रमहरू चलिरहेकाले पार्टीको ध्यान दलको नेता चयनमा पुग्न बाँकी नै रहेको पार्टी प्रवक्ता देवराज चालिसेले दाबी गरे।

"संसद्‌भित्र इच्छुक साथीहरूलाई सर्वसम्मतिको प्रयास गर्ने जिम्मेवारी दिएका छौँ र साथीहरूबीचमा छलफल पनि चलिरहेकै छ। सकेसम्म सर्वसम्मतिबाट बनाउने क्रममा नै हाम्रो ध्यान छ," चालिसेले बीबीसीको जिज्ञासामा भने।

"भएन भने लोकतान्त्रिक विधि पद्धतिअनुसारको चुनाव पनि हुन सक्ला।"

कांग्रेस दलको नेताका आकाङ्क्षी भनेर चर्चा गरिएका नेताहरू भीष्मराज आङ्देम्बे र मोहन आचार्यले बीबीसीको जिज्ञासामा सर्वसम्मतिबारे छलफल चलिरहेको प्रतिक्रिया दिए।

प्रवक्ता चालिसेका अनुसार केही दिनभित्रै दलको नेता चयन अघि बढाउने योजना छ।

"दुई चार दिनभित्रै यसलाई सम्पन्न गर्छौँ," उनले भने।

कांग्रेसमा दलको नेता बन्ने मापदण्ड के हो?

गगन थापा

नेपाली कांग्रेसले प्रतिनिधिसभामा ३८ सीट जितेको छ। त्यसमध्ये १८ जना प्रत्यक्ष निर्वाचित हुने प्रणाली र २० जना समानुपातिक प्रणालीबाट चुनिएका हुन्।

प्रवक्ता चालिसेका अनुसार कांग्रेसले दलको नेता चयनमा प्रत्यक्ष वा समानुपातिक प्रणालीबाट निर्वाचित भएका सांसदहरूलाई भेदभाव गर्ने छैन।

"संसद्‌को सदस्य भइसकेपछि संविधानले समान स्तरको सांसद बनाइसकेपछि त्यसमा विभाजन गर्ने वा विभेद गर्ने कुरा राजनीतिक तर्क हुँदैन। सबैभन्दा मुख्य कुरा सांसदहरूको छनोटको कुरा हो," चालिसेले भने।

उनका अनुसार प्रतिनिधिसभा सदस्यलाई कुनै गुट वा समूहसँग नजिक भएको आधारमा छान्ने मापदण्ड बनाइएको छैन।

नयाँ कांग्रेसको काम गराइमा पुरानै शैली?

गगन थापा र पूर्णबहादुर खड्का

तस्बिर स्रोत, Nepal Photo Library

कांग्रेसको आन्तरिक राजनीतिबारे रुचि र जानकारी राख्ने विश्लेषक पुरञ्जन आचार्य विशेष महाधिवेशनबाट पुस्तान्तरण भएको भनिएको कांग्रेसमा पुरानै शैली देखिएको बताउँछन्।

"कांग्रेस २.o भनिए पनि पार्टीभित्रको संस्कार एउटै छ," आचार्य भन्छन्।

"फेरि नेतृत्वमा पनि केही शक्तिसङ्घर्ष पनि छ। नयाँ पुस्तालाई दिने कि पुरानै पुस्तालाई भन्ने देखिएको छ।"

यद्यपि बाहिर बहस भए जस्तो पार्टीभित्र नेता चयनको विषयमा विवाद वा शक्तिसङ्घर्ष नरहेको दाबी पार्टी प्रवक्ता चालिसेले गरे।

"हाम्रो कार्यक्रम २.o हो। यो भनेको कांग्रेसलाई समयसापेक्ष, आधुनिकीकरण र बदलिएको रूपमा लाने हो। एक दुई दिन संसदीय दलको नेता चयनमा ढिलाइ भयो भन्ने कुराले त्यसको अवमूल्यन हुँदैन।"

"यही २.o अन्तर्गत नै हामीले पार्टीलाई जनस्तरसम्म र प्रदेशस्तरसम्म लगिरहेका छौँ," उनले भने।

विशेष महाधिवेशनबाट पार्टीको पुरानो नेतृत्वलाई हटाएको गगन थापा नेतृत्वको नयाँ कार्यसमितिले पार्टीभित्रको शक्तिसङ्घर्षलाई दृष्टि गरेर पनि नेता चयनमा हतार नगरेको हुन सक्ने आचार्यको विश्लेषण छ।

"प्रतिपक्षको जुन भूमिका अहिले जरुरत छ, यति ठूलो जनमत लिएर सरकार बनाएको रास्वपालाई सानै आकारको भए पनि कांग्रेसजस्तो पार्टीले संसदीय भूमिकामा सिकाउनु पनि पर्ने छ," आचार्य भन्छन्।

कांग्रेस विशेष महाधिवेशनको आधिकारिकता विवादबारे असन्तुष्ट पक्षले दायर गरेको रिट सर्वोच्च अदालतमा विचाराधीन छ।

निर्वाचनपछि विशेष महाधिवेशनबाट विस्थापित नेताहरूले पूर्णबहादुर खड्काको नेतृत्वमा समानान्तर गतिविधि गर्न थालेको छ।

खड्काले आफूलाई पार्टीको 'कार्यवाहक सभापति'का रूपमा प्रस्तुत गरेर विज्ञप्ति निकालेपछि समानान्तर गतिविधि सञ्चालन गर्ने नेताहरूमाथि कारबाही हुन सक्ने चेतावनी नेताहरूले दिएका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।