कांग्रेसको त्यो विशेष महाधिवेशन र यो 'विशेष महाधिवेशन', समानता र भिन्नता

तस्बिर स्रोत, BBC/RSS
- Author, विनिता दाहाल
- Role, संवाददाता, बीबीसी न्यूज नेपाली
नेपाली काङ्ग्रेसको 'दोस्रो विशेष महाधिवेशन' जारी रहँदा कांग्रेसलाई लामो समयदेखि नियाल्दै आएका जानकारहरूले कांग्रेसको पहिलो विशेष महाधिवेशनबाट अहिलेका दुवै पक्षले पाठ सिक्नुपर्ने बताएका छन्।
'नेतृत्व र नीति' परिवर्तन गर्ने भन्दै हाल विशेष महाधिवेशन पक्षधरहरूले गरेका पहललाई पार्टीको संस्थापन भनिएको पक्षले वैधानिक नभएको भनिरहँदा विक्रम संवत् २०१४ सालमा भएको पहिलो विशेष महाधिवेशन कस्तो अवस्थामा गरिएको थियो भन्ने बारेमा पनि विभिन्न चर्चा भैरहेको छ।
परस्पर विपरित मत सार्वजनिक गरिरहेका नेपाली कांग्रेस पार्टीको संस्थापन पक्ष र विशेष महाधिवेशनका आयोजक पक्ष भनिएकाहरू बीच सहमतिको आधार खोज्ने प्रयत्न भइरहँदा त्यति बेलाका पार्टी सभापति सुवर्ण शमशेर र अहिलेका पार्टी सभापति शेरबहादुर देउवाको भूमिकाको तुलना गरेर पनि हेरिँदै छ।
नेपाली कांग्रेसको राजनीतिक घटनाक्रमलाई लामो समयदेखि नियाल्दै आएका जानकारहरू कांग्रेसको पहिलो विशेष महाधिवेशन र हालको महाधिवेशनमा समानता र भिन्नता दुवै देखिने बताउँछन्।
समानता के हुन्?

तस्बिर स्रोत, NEPALI CONGRESS
विक्रम संवत् २०१४ सालमा नेपाली कांग्रेसका सभापति सुवर्ण शमशेर थिए। उनी २०१२ सालमा भएको महाधिवेशनबाट पार्टी सभापति भएका थिए।
त्यतिबेलाका राजा महेन्द्रले सबैभन्दा ठूलो दल नेपाली कांग्रेसलाई चुनावमा सहभागी गराउने नदेखिएपछि 'भद्र अवज्ञा आन्दोलन' गर्ने नेपाली कांग्रेसले निर्णय गरेको कांग्रेस मामिलाका जानकार पत्रकार गोविन्द अधिकारी बताउँछन्।
त्यो आन्दोलनको नेतृत्व आफूले भन्दा वीपी कोइरालाले गर्दा बढी प्रभावकारी हुने ठानेर सुवर्ण शमशेरले विशेष महाधिवेशनका लागि पहल गरेका उनी बताउँछन्।
"त्यतिबेला राजा महेन्द्रले चुनाव गराउने लक्षण नै देखाएनन्। सबैभन्दा ठूलो पार्टी कांग्रेस थियो। अनि राजालाई संविधानसभाको चुनाव गराउन बाध्य बनाउन सङ्घर्षको कार्यक्रम सुरु गर्ने निर्णय कांग्रेसले गर्यो," पत्रकार अधिकारीले भने।
"अनि सुवर्ण शमशेरले म सामान्य अवस्थामा पार्टी चलाउन सक्षम हुँला, तर सङ्घर्षको बेला पार्टी चलाउन उपयुक्त पात्र म होइन त्यसैले म नेतृत्व सुम्पिन चाहन्छु भनेपछि केन्द्रीय समिति बोलाएर पहिलो विशेष महाधिवेशन भयो।"
उक्त महाधिवेशनले नेतृत्व हस्तान्तरण वीपी कोइरालालाई गरेपछि भएको भद्र अवज्ञा आन्दोलनपछि विक्रम संवत् २०१५ सालमा चुनाव भएको थियो।
आइतवार सुरु भएको उद्घाटन सत्रको अन्तिममा भाषण गर्दै पार्टीका एकजना महामन्त्री गगन थापाले पनि तत्कालीन पार्टी सभापति सुवर्ण शमशेरले त्यतिबेला खेलेको भूमिकाको चर्चा गरेका थिए।
"समानता भनेको लोकतन्त्रलाई बचाई राख्नका लागि पार्टीका नेता कार्यकर्ताले पार्टीप्रति र देशप्रति लिएको चिन्ता र देखाएको दायित्वबोध हो," अधिकारी भन्छन्।
त्यो बेला र अहिले के भिन्नता छन्?
त्रिभुवन विश्वविद्यालयकी अवकाशप्राप्त प्राध्यापक डाक्टर ज्ञानु पाण्डे त्यति बेलाका नेता र अहिलेका नेताको वैचारिक उचाइ दाँज्न नमिल्ने ठान्छिन्।
त्यति बेला सुवर्ण शमशेर र वीपी कोइरालाबीच दुवैले एकअर्काप्रति सम्मान व्यक्त गर्ने गरेको र अहिले महामन्त्रीद्वयले पार्टी सभापतिप्रति त्यस्तै सम्मान देखाएको बताउँछिन्।
"लोकतान्त्रिक प्रणालीको जरा बोकिरहेको पार्टीले त्यसलाई जोगाउन अनुज पुस्ताले अग्रज पुस्तालाई सम्मानपूर्वक अनुरोध गर्नुभएको छ," वीपी कोइरालाको सिद्धान्तमाथि विद्यावारिधि गरेकी पाण्डेले भनिन्।
"तर अग्रज पुस्ताले अहिले समयको स्वर र समयको पदचापलाई सुन्न नसकेको देखियो। पुराना पुस्ताले नयाँ पुस्तालाई पेल पाल पार्ने थोत्रो इगोको रोगमा फसेको देखिन्छ। यो भिन्नता हो।"
कांग्रेस निकट भुवन ढुङ्गाना पार्टी सभापति शेरबहादुर देउवाले पुरानादेखि नयाँ सबै पुस्तालाई चिन्ने मौका पाएका कारण उनले सही निर्णय लिनुपर्ने समय आएको ठान्छिन्।
"विगत र अहिलेको विशेष महाधिवेशनमा हेर्ने हो भने त्यति बेला त सुवर्णजीले सभापति छोड्नुभयो, अहिले त शेरबहादुरजीले कार्यवाहक सभापति पूर्णबहादुरजीलाई दिनुभयो। तर दिएको जस्तो मात्रै भयो," ढुङ्गानाले भनिन्।
"त्यति बेला आफूभन्दा वीपी क्यारिसम्याटिक हुनुहुन्छ भनेर सुवर्णजीले छोड्नुभएको हो। अहिले शेरबहादुरजीले पनि त्यो कुरा बुझ्नुपर्छ। उहाँले वीपी, किसुनजी र गणेशमानजीसँग जति अनुभव लिनुभयो त्यो अनुभव अबको पुस्तालाई दिन सक्नुपर्छ।"
पत्रकार गोविन्द अधिकारी पहिलो र दोस्रो विशेष महाधिवेशनको फरक भनेको दुई समयका नेताको कद र बुझाइरहेको बताउँछन्। त्यतिबेला एउटै पुस्ताका दुई नेता रहेको तर अहिले दुई पुस्तामा भिन्नता रहेको उनी ठान्छन्।
"त्यो बेला केन्द्रीय सभापतिकै अग्रसरतामा कार्यसमितिले निर्णय गरेर विशेष महाधिवेशन बोलायो। अहिलेचाहिँ विधानमा भएको व्यवस्था अनुसार महाधिवेशन प्रतिनिधिले बोलाए। यो नै फरक रह्यो," अधिकारीले भने।
"त्यो बेलाको कदको नेता अहिलेको केन्द्रीय समितिमा नभएका कारण यो विशेष महाधिवेशनले कटुता बढाउने काम गर्यो। उ बेलाको विशेष महाधिवेशनले सौहाद्र बढाएको थियो अहिलेकोले कटुता बढायो। यो सबैभन्दा ठूलो भिन्नता हो।"
राजनीतिक विश्लेषक हरि शर्मा पनि सुवर्ण शमशेरले पहिलो विशेष महाधिवेशनमा पार्टी र देशप्रति जे महसुस गरे त्यो अहिलेको महाधिवेशनमा हुन नसक्नु ठूलो भिन्नता रहेको ठान्छन्।
"२००७ सालको क्रान्तिदेखि लिएर सबैको नायकत्व वीपी कोइरालाले निर्वाह गर्नुभएको कारणले गर्दा सुवर्ण शमशेरले त्यो महसुस गरेर नियमित अधिवेशन नकुरी विशेष महाधिवेशनमार्फत नेतृत्व हस्तान्तरण गर्नुभएको कुरा अहिलेभन्दा फरक छ," शर्माले भने।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








