नेपाली कांग्रेसमा विशेष महाधिवेशनबाट नेतृत्व फेर्ने सम्भावना कति? फेरिए पार्टीको वैधानिकता के हुन्छ?

तस्बिर स्रोत, RSS
- Author, विनिता दाहाल
- Role, बीबीसी न्यूज नेपाली
नेपाली कांग्रेसको विशेष महाधिवेशनले नेतृत्व चयन गर्छ वा गर्दैन भन्ने टुङ्गो जारी बन्द सत्रले गर्ने निर्णयमा भर पर्ने नेताहरूले बताएका छन्।
कांग्रेसलाई टुक्रिन दिनु हुँदैन भनेर संस्थापन र विशेष महाधिवेशन आयोजक दुवै पक्षबीच छलफल भएको बताइए पनि ती छलफलले मूर्त रूप लिन नसकेको पनि नेताहरूले बताएका छन्।
सोमवार जारी बन्द सत्रले निर्वाचन गर्ने वा नगर्ने भन्ने निष्कर्ष निकालेपछि मात्रै त्यस अनुसार अघि बढ्ने महामन्त्रीद्वय पक्षमा रहेका नेताहरूले बताएका छन्।
तर विशेष महाधिवेशनलाई आधिकारिक नभएको दाबी गर्ने संस्थापन पक्षले चुनाव अघिको परिस्थितिमा धैर्य र संयम अपनाएर मिलेर जानुपर्ने बताएको छ।
आयोजक पक्षले सभापति शेरबहादुर देउवासहित पूर्णबहादुर खड्कालगायतलाई विशेष महाधिवेशनमा उपस्थित हुन आह्वान गरे पनि त्यहाँ जाने कुनै गुञ्जायस नभएको बताइन्छ।
यसैबीच देउवाका निजी सचिव भानु देउवाले एउटा विज्ञप्ति जारी गर्दै सभापति भृकुटीमण्डपस्थित विशेष महाधिवेशन जाने भन्नेबारे गलत सूचना प्रवाह भएको भन्दै त्यसबारे ध्यानाकर्षण गराएका छन्।
"उक्त कार्यक्रममा पार्टी सभापति जाने कुनै पनि कार्यक्रम नरहेको स्पष्ट गर्न चाहन्छौँ," विज्ञप्तिमा भनिएको छ।
विशेष महाधिवेशनको आयोजक पक्ष के भन्छ?

तस्बिर स्रोत, RSS
भृकुटीमण्डपमा सुरु भएको नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र भएको दिनको अन्तिममा आयोजकले ५७.३९ प्रतिशत प्रतिनिधिले नाम दर्ता गराएको बताएका थिए।
नाम दर्ता शाखाका प्रमुख युवराज पाण्डेले सोमवार बिहान पनि नाम दर्ता गर्न आउनेको लामो लाइन रहेको बीबीसी न्यूज नेपालीसँग बताएका छन्।
संस्थापन पक्षका शीर्ष नेता उपस्थित नभएको उक्त विशेष महाधिवेशनमा 'नीति र नेतृत्व' बदल्न आवश्यक पर्ने सङ्ख्यामा महाधिवेशन प्रतिनिधिहरू उपस्थित भएको आयोजक पक्षले दाबी गरेको छ।
तर नेता र नीति बदल्ने विषय सोमवार दिनभरि चल्ने बन्द सत्रमा हुने छलफलको निष्कर्षबाट तय हुने महाधिवेशनमा उपस्थित नेत्री तथा कांग्रेसकी केन्द्रीय सदस्य पुष्पा भुसालले बताइन्।
"अहिले महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन भनेर बोलाएको कारणले यसलाई नीति अधिवेशनमा रूपान्तरण गर्ने वा नेतृत्व गर्ने भनेर कार्यविधि बन्दै छ," वरिष्ठ अधिवक्तासमेत रहेकी भुसालले भनिन्।
"अब भरसक पार्टीलाई कमजोर नहुने गरी एकजुट बनाएर महाधिवेशन प्रतिनिधिले निर्णय गर्नुहुन्छ। तर अहिले छलफलमै छौँ।"
नेतृत्व परिवर्तनको विषयमा माग राख्ने नराख्नेबारे अहिलेका लागि बहुसङ्ख्यक प्रतिनिधिहरूबीच अनुमान र बहसको विषयमात्रै रहेको उनले बताइन्।
नेत्री भुसालले कानुनी रूपबाट नेतृत्व परिवर्तन गर्ने कुरा भइरहँदा पार्टीलाई कमजोर नगराउने हिसाबले राजनीतिक निर्णय पनि गर्न आवश्यक रहेको बताइन्।
आइतवार विशेष महाधिवेशनको अन्तिममा भाषण गरेका एकजना महामन्त्री गगन थापाले बन्दसत्रले जे निर्णय गर्छ पार्टी त्यसैगरी अगाडि बढ्ने बताएका थिए।
"कांग्रेसको विधानले महाधिवेशनभन्दा ठूलो अरू केही छैन भन्छ। यसले चाहेमा नेता छान्छ र बदल्छ पनि। नीति छान्छ र बदल्छ पनि। महाधिवेशनले चाह्यो भने विधान पनि बदल्छ," उनले भने।
"त्यो अधिकार राख्ने महाधिवेशनको भेला हो यो। सोमवार बसेर परिपक्व र पार्टीका निम्ति रूपान्तरणकारी निर्णय गर्छौँ भन्ने विश्वास छ।"
नेत्री भुसालले पार्टीको विधानले मागेको विशेष महाधिवेशन भएका कारण केन्द्रीय समितिको नेतृत्व महाधिवेशन भइरहेको स्थलमा आएर एकताको सन्देश दिए हुने भन्ने आफूलाई लागेको बताइन्।
उनले त्यसका लागि आइतवारको सभा सकिएपछि सभापति समक्ष 'कुराहरू पुगिरहेको' पनि बताइन्।
"सभापतिज्यूले छलफल गरेको देखियो। तर दुईपक्षीय वार्ता भन्दा पनि यो बुझिने कुरा हो कि विशेष महाधिवेशन सुरु भइसकेपछि कसरी सही ढंगले अवतरण गराउने भन्ने केन्द्रीय कार्यसमितिको नेतृत्वले नै गराउने हो," नेत्री भुसालले भनिन्।
"कानुनी रूपमा अधिवेशन अगाडि बढ्यो। अब राजनीतिक निर्णय लिने बेला आइसकेको छ।"
तर सोमवार बिहान कांग्रेस सभापति शेरबहादुर देउवाका निजी सचिवले उनी महाधिवेशन स्थलमा उपस्थित नहुने कुरा स्पष्ट पारिसकेका छन्।
बीबीसीले देउवा निकट र पछिल्ला छलफलहरूमा सहभागी भनिएका नेताहरूलाई पटक पटक सम्पर्क गर्ने प्रयास गरे पनि त्यो सम्भव हुनसकेको छैन।
कुनै छलफलमा आफू सहभागी नभएको बताउने देउवा निकट नेता भनेर चिनिने गरेका तथा पूर्व परराष्ट्रमन्त्री एनपी साउदले पार्टीभित्र घटनाक्रम सकारात्मक हिसाबले अगाडि नबढेको बताए।
उनले महामन्त्रीद्वयलगायत नेताहरू 'पार्टीमा रहने वा नरहने उनीहरूकै हातमा भएको' बताएका छन्।
"पार्टी गम्भीर चुनौतीमा छ। अहिले धैर्य र संयम लिएर पार्टीलाई एकजुट राखेर आगामी निर्वाचन र खतरामा रहेको प्रजातन्त्रलाई जोगाउनुपर्ने बेलामा यो पार्टीभित्रकै द्वन्द्वले कांग्रेसलाई राम्रो गर्दैन," नेता साउदले भने।
"जेन जी आन्दोलनका कारण पनि पार्टी तङ्ग्रिसकेको अवस्था छैन। यो चुनाव त्यसै पनि जोखिमपूर्ण छ।"
उनले आधिकारिक आयोजना बिनाको विशेष महाधिवेशनले पार्टीलाई लामो समयसम्म सत्तामा नपुग्ने गरेर आघात पुर्याउन सक्ने बताए।
कांग्रेसको विधानअनुसार ४० प्रतिशत प्रतिनिधिहरूले आह्वान गरे विशेष महाधिवेशन हुनसक्ने भन्ने छ। त्यस्तै वैधानिक निर्णयका लागि ५१ प्रतिशतको आवश्यकता पर्छ।
नाम दर्ता शाखाले आइतवार नै ५७ प्रतिशतभन्दा बढीले नाम दर्ता गराइसकेको र थप दर्ताका लागि प्रतिनिधिहरू लाइनमा रहेको जनाएको छ।
कानुनी अड्चन के हुन सक्छन्?

तस्बिर स्रोत, RSS
विशेष महाधिवेशनबाट नीति र नेतृत्व परिवर्तनबारे के हुन्छ भन्ने सोमवारको बन्दसत्रले तय गर्ने नेताहरूले बताइरहँदा त्यसपछिको वैधानिकता के हुने भन्ने छलफल पनि सुरु भइसकेको छ।
संस्थापन पक्षले अहिले विशेष महाधिवेशनलाई आधिकारिक आयोजना नभएको भनिरहँदा आयोजक पक्षले कानुनी प्रक्रिया पूरा गरेर अगाडि बढेको जनाएको छ।
त्यसो भए विशेष महाधिवशेनले नेतृत्व तय गरे त्यसको वैधानिकता के हुन्छ?
वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य त्यसको वैधानिकताको प्रश्न सुरुमा निर्वाचन आयोगले र त्यसपछि सर्वोच्च अदालतले स्पष्ट पार्ने बताउँछन्।
नयाँ बन्ने नेतृत्वसहितको कार्यसमिति निर्वाचन आयोगमा आफ्नो दाबी लिएर जानुपर्ने वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य बताउँछन्।
"यदि बहुमतले नेता चयन गर्छ र पार्टीको लाइनहरू पुनर्भाषित गर्छ भने त्यो त राजनीतिक विषय हो। त्यसो हुनाले चुनावमा त्यही अनुसार अगाडि बढ्छ," शाक्यले भने।
त्यसको अर्थ विशेष महाधिवेशनले चयन गरेको अवस्थामा नयाँ नेतृत्वचाहिँ कांग्रेसको आधिकारिक नेतृत्व बनेर चुनावमा जान्छ?
"जान्छ। तर चुनावको मुखमा यो मुद्दा पार लागिसक्छ जस्तो मलाई लाग्दैन। त्यसैले यो विशेष महाधिवेशनले जुन नेता र नीति चयन गर्छ त्यही अनुसार कांग्रेस अगाडि बढ्छ," शाक्यले भने।
"बन्दसत्रमा हाजिर गर्नेहरूले ६२ प्रतिशत नै पुर्याउँछ भने एकथरी निर्णय त गर्लान्। त्यो निर्णयलाई चुनौती गर्ने आधार छ भने पुरानो नेतृत्वले निर्वाचन आयोगमा गएर उजुर गर्नुपर्यो। तर राजनीतिक रूपमा महामन्त्रीद्वयले विशेष महाधिवेशन बोलाएर गर्न खोजेको काम फत्ते हुने देखियो।"
निर्वाचन आयोगको निर्णयमा असन्तुष्ट पक्ष अदालत पुगेपछि त्यहीँबाट अन्तिम टुंगो लाग्ने देखिएको वरिष्ठ अधिवक्ता शाक्यले बताए।
फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचन आउन दुई महिनाभन्दा कम समय बाँकी छ।
"चुनावको मुखमा जस्तो घटनाक्रम भयो त्यसले नयाँ दिशातर्फ कांग्रेस पार्टीलाई लग्यो भन्ने अर्थमा बुझ्नुपर्छ," उनले भने।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








