कांग्रेसमा महाधिवेशनको नयाँ मिति तोकिँदा 'संस्थापन' र 'इतर' पक्षका आआफ्नै तर्क

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

तस्बिर स्रोत, RSS

नेपाली कांग्रेस कार्यसम्पादन समितिले सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति म्याद आगामी जेठ मसान्तसम्म थप्दै फागुन २१ को चुनावपछि मात्र नियमित महाधिवेशन गर्ने निर्णय गरेको छ।

शुक्रवार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय कार्यसमितिसहित सबै समितिहरूको म्याद जेठ मसान्तसम्म थप्ने र वैशाख २८ गतेदेखि ३१ गतेसम्म नियमित महाधिवेशन गर्ने नयाँ कार्यतालिका पेस गरेका र त्यसलाई बैठकले पारित गरेको प्रवक्ता प्रकाशशरण महतले बताए।

उनका अनुसार यसमा केही नेताहरूले फरक मत राखेका छन्।

निर्णयपछाडिका आधार

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

तस्बिर स्रोत, RSS

बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै प्रवक्ता महतले यसअघि पारित गरिएको कार्यतालिकाअनुसार काम हुन नसकेकाले यस्तो निर्णय लिइएको बताए।

"मङ्सिर १५ गते केन्द्रीय कार्यसमितिले पुसभित्र नियमित महाधिवेशन गर्ने निर्णय गर्नेसँगै विशेष महाधिवेशनको औचित्य त्यसै दिन सकियो किनकि हामी १५औँ महाधिवेशनको प्रक्रियामा प्रवेश गरिसकेका छौँ," उनले भने।

"प्रक्रिया जारी नै छ, खालि समय मात्र अलिकति लम्ब्याइएको हो।"

फागुन २१ गतेको चुनावका कारण पनि त्यसअघि महाधिवेशन गर्न सम्भव नहुने भएकाले म्याद थपिएको उनको तर्क थियो।

गगन थापाले के भने?

बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै महामन्त्री गगन थापाले आज पारित भएको निर्णयमा आफूहरूको फरक मत रहेको बताए।

यो निर्णयले पार्टी विधानको उल्लङ्घन गरेको र विधान रक्षार्थ आफूहरू विशेष महाधिवेशन आयोजना गर्न लाग्ने पनि उनले भने।

पार्टीमा भएको विशेष महाधिवेशनको व्यवस्था इच्छाधीन नभई बाध्यात्मक भएको उनको तर्क थियो।

"विधानको पालना नगरेको कुरा पार्टीको महामन्त्री भएर टुलुटुलु हेरेर बस्न मिल्दैन," उनले भने, "महामन्त्रीले विधानले दिएको अधिकार प्रयोग गर्दै विशेष महाधिवेशन गर्छन्। पुस मसान्तभित्र काठमाण्डूमा विशेष महाधिवेशन आयोजना हुन्छ।"

महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गर्दै उनले भने, "तपाईँहरूलाई औपचारिक निम्तो १-२ दिनभित्र आउँछ, काठमाण्डू आउन तयार भएर बस्नुहोला।"

फागुन २१ को चुनावअघि नै 'नीति र नेतृत्व परिवर्तन' का निम्ति ४० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले केही समयअघि विशेष अधिवेशनको माग गर्दै हस्ताक्षर दर्ता गराएका थिए।

विशेष महाधिवेशन पक्षधरहरूले विधानत: आफूहरूको उक्त माग अझै जीवितै र महाधिवेशनले मात्रै निष्क्रिय बनाउन सक्ने बताउने गरेका छन्।

पार्टी विधानले विशेष अवस्थामा महाधिवेशन एक वर्ष पर सार्न सकिने अवस्थाको कल्पना गरे पनि महाधिवेशन प्रतिनिधिहरूले रीत पुर्‍याएर हस्ताक्षर दर्ता गराएमा ९० दिनभित्र अधिवेशन डाक्नुपर्ने प्रबन्ध छ। पुसको २८ गते हस्ताक्षर बुझाएको ९० दिन पुग्ने विशेष अधिवेशन पक्षधर नेताहरूले बताएका छन्।

महामन्त्रीद्वयको विज्ञप्तिपछिको निर्णय

कांग्रेसले यसअघि पुस २६ गतेका निम्ति नियमित महाधिवेशनको मिति तोकेको थियो।

पुस १६ गते वडा अधिवेशन हुने भनिए पनि त्यसतर्फ कुनै कार्य अघि नबढेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बिहीबार साँझ एउटा संयुक्त विज्ञप्ति जारी गर्दै यही पुस २६ गतेका लागि निर्धारित पार्टीको नियमित महाधिवेशन स्थगित भएको र विकल्पका रूपमा विशेष महाधिवेशन नै अघि आएको उल्लेख गरेका थिए।

देउवा पक्षले फागुन २१ गतेका निम्ति निर्धारित आमनिर्वाचनलाई औँल्याउँदै त्यसअघि महाधिवेशन सम्पन्न गर्न कठिन हुने तर्क गर्दै आएको छ तर महामन्त्रीद्वय थापा र शर्माले पक्ष नयाँ नेतृत्व चयन गरेर मात्रै चुनावमा जानुपर्ने अडानमा छ।

चार वर्षअघि सम्पन्न कांग्रेसको १४ औँ महाधिवेशनले तोकेको वर्तमान पार्टी नेतृत्वको आवधिक कार्यकाल मङ्सिरमा समाप्त हुनुअघि माघसम्मको म्याद थपिएको थियो।

शुक्रवार २५ जना केन्द्रीय सदस्यहरूले पार्टी सभापति देउवा र महामन्त्रीद्वाय गगन थापा तथा विश्वप्रकाश शर्मासँग भिन्दाभिन्दै भेटेर आपसी सहमतिमा निकास खोज्न आग्रह गरेका थिए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।