चुनावअघि 'नेतृत्व परिवर्तनको दबाव'मा दलहरू

तस्बिर स्रोत, Reuters
- Author, अशोक दाहाल
- Role, संवाददाता, बीबीसी न्यूज नेपाली
राजनीतिक दलहरूमा लामो समयदेखि दोहोरिएको नेतृत्व आगामी फागुनको निर्वाचन अघि नै परिवर्तन गर्नुपर्ने विषयका बारे चर्चा बढिरहेको देखिँदा प्रमुख दुई दलले आगामी साता केन्द्रीय समिति बैठक बोलाएका छन्।
नेपाली कांग्रेसको आइतवारबाट र नेकपा एमालेको सोमवारबाट केन्द्रीय समिति बैठक सुरु हुँदै छ। दलहरूको महाधिवेशनबारे निर्णय गर्ने पार्टीको सर्वोच्च निकाय केन्द्रीय समिति हो।
भदौ चौथो साताको जेन जी आन्दोलनपछि कांग्रेस, एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहितका कैयौँ दलमा दोस्रो पुस्ताका केही नेताहरूले नेतृत्व परिवर्तनको माग गरिरहेका छन्।
नेकपा माओवादी केन्द्रले भने दशैँ अघि नै मङ्सिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो। माओवादी महाधिवेशन आयोजक समितिको संयोजक रहेका पुष्पकमल दाहाल प्रचण्ड तीन दशक भन्दा लामो समयदेखि पार्टी नेतृत्वमा छन्।
नवयुवाहरूको प्रदर्शन अघिबाटै अर्को दल नेकपा एकीकृत समाजवादीमा पनि नेतृत्व हस्तान्तरणको माग भइरहेको छ।
अघिल्लो निर्वाचनबाट मात्रै उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी र नयाँ नेतृत्वको पहिलो कार्यकाल परीक्षण गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीमा भने नेतृत्व हस्तान्तरणको विषयमा उल्लेखनीय रूपमा बहस भएका विवरण सार्वजनिक भएका छैनन्। नेपाल समाजवादी पार्टी नयाँ शक्तिका अध्यक्ष बाबुराम भट्टराईले जेन जी प्रदर्शनपछि पार्टी नेतृत्वबाट राजीनामा दिएका थिए।
कांग्रेसमा दोहोरो तयारी

तस्बिर स्रोत, Nepali Congress
विघटित प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल रहेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा झण्डै १० वर्षदेखि पार्टी नेतृत्वमा छन्। त्यसअघि पनि उनले कांग्रेसबाट टुक्रिएको नेपाली कांग्रेस प्रजातान्त्रिकको नेतृत्व गरिसकेका थिए।
आगामी मङ्सिरभित्र नियमित अधिवेशन गरिसक्नुपर्ने व्यवस्था पार्टीको विधानमा छ। तर विशेष परिस्थितिमा अर्को एक वर्षसम्म यही नेतृत्व र कार्यसमितिको अवधि लम्ब्याउने सुविधा कांग्रेसलाई छ।
मङ्सिरभित्रै महाधिवेशनको मिति तय नभए विशेष महाधिवेशनको माग गर्न कांग्रेसका महासमिति सदस्यहरूले हस्ताक्षर अभियान सुरु गरेका छन्। कांग्रेसको विधान अनुसार ४० प्रतिशत महासमिति सदस्य भनिने महाधिवेशन प्रतिनिधिहरूले माग गरेको अवस्थामा नेतृत्वले विशेष महाधिवेशन गर्नुपर्ने व्यवस्था छ।
"नियमित महाधिवेशन नभए असोज मसान्तभित्र हस्ताक्षर बुझाउने तयारी साथीहरूले गरिरहनुभएको छ र त्यसको ९० दिनभित्र अर्थात् पुस मसान्तभित्र विशेष महाधिवेशन गर्नुपर्ने हुन्छ," कांग्रेसमा नेतृत्व परिवर्तनको पैरवी गरिरहेका केन्द्रीय सदस्य गोविन्द पोखरेल भन्छन्।
पार्टी विधान अनुसार देउवा अब पार्टी सभापतिमा उम्मेदवार हुन पाउँदैनन्।
यसअघि २०७२ सालमा पनि दुई महिनाअघि मात्रै मिति तय भएर महाधिवेशन सकिएको उदाहरण दिँदै पोखरेलले मङ्सिरभित्र महाधिवेशन सक्न सम्भव रहेको बताए।
जेन जी आन्दोलनले कांग्रेसमा छिटो महाधिवेशन र नेतृत्व हस्तान्तरणको दबाव बढाएको उनको बुझाई छ।
"धेरै लामो समयदेखि नेतृत्व गरिरहेका नेताहरूविरूद्ध जेन जीले अभियान चालेका कारण पार्टी भित्र पनि दबाव सिर्जना भएका हुन्," उनले भने।
केन्द्रीय समिति बैठकअघि कांग्रेसमा नेतृत्व हस्तान्तरणको वकालत गरिरहेका महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले सक्रियता समेत बढाएको नेताहरूले बताएका छन्। नवयुवाहरूको प्रदर्शनका क्रममा पार्टी कार्यालय, सभापति शेरबहादुर देउवा सहित कैयौँ नेताहरूको घरमा आगजनी भएपछि कांग्रेसभित्र तत्काल नेतृत्व परिवर्तनको माग प्रखर देखिएको छ।
प्रदर्शनकारीको आक्रमणमा परेका सभापति देउवा केही दिनअघि मात्रै उपचार सकेर डिस्चार्ज भएको नेताहरूले बताएका छन्। यसबीचमा पार्टीका सीमित नेताहरूसँग मात्रै भेट गरेका देउवा सार्वजनिक पार्टी गतिविधिमा देखिएका छैनन्।
ओलीलाई एमाले नेतृत्व छोड्न दबाव

तस्बिर स्रोत, KP Oli Secretariat
नवयुवाहरूको प्रदर्शन अघिसम्म कांग्रेससँगको गठबन्धन सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले पनि सोमवारबाट केन्द्रीय समितिको बैठक तय गरेको छ।
यही वर्षभित्र पार्टी महाधिवेशन गर्ने योजना बनाएको एमालेले भदौ तेस्रो साता विधान अधिवेशन पनि सकेको थियो। विधान अधिवेशनबाट पार्टी नेतृत्वमा तेस्रो पटक दोहोरिने औपचारिक बाटो खोलेका अध्यक्ष केपी ओलीलाई नेतृत्वबाट राजीनामा दिन एमालेका केही नेताहरूले माग गरिरहे पनि ओलीकै नेतृत्वको निरन्तरताका निम्ति अर्को पक्षका एमाले नेताहरू खुलेका छन्।
फागुनमा निर्वाचन घोषणा भएसँगै एमालेमा महाधिवेशनको चर्चा पनि सेलाएको छ।
एमालेमा नेतृत्व हस्तान्तरणको विषय उठाइरहेकी एक केन्द्रीय सदस्य उषाकिरण तिम्सेना भन्छिन्, "नेतृत्व हस्तान्तरणको विषयलाई लिएर केन्द्रीय समिति निर्णायक बन्नुपर्छ भन्ने मेरो बुझाई हो। पार्टी सचिवालयमा रहेका नेताहरूले यसको नेतृत्व गर्नुहोला भन्ने विश्वास छ।"
उनका अनुसार केही पार्टी सचिवालय सदस्यहरू नेतृत्व परिवर्तनको पक्षमा देखिए पनि पार्टीका औपचारिक बैठकमा यो विषयको बहसले यसअघिबाटै स्थान पाएको छैन।
बुधवार मात्रै जिल्ला अध्यक्षहरूको भर्चुअल बैठकलाई सम्बोधन गर्ने क्रममा एमाले अध्यक्ष केपी ओलीले आफूले सक्दासम्म पार्टी नेतृत्व नछोड्ने बताएको विवरण आएका छन्। भदौ २४ को प्रदर्शनका क्रममा आफ्नो घर आगजनी भएपछि ओली भक्तपुरको गुन्डुमा बस्दै आएका छन्। उनी त्यहीँबाट पार्टीका गतिविधिमा सक्रिय छन्।
एमालेमा रूपान्तरणको आवाज उठाइरहेकी तिम्सेना पार्टीमा नेतृत्व परिवर्तन नभएसम्म चुनावमा जाने मुद्दा नै आफूहरूसँग नहुने तर्क गर्छिन्।
"नयाँ नेतृत्वमा गएनौँ भने हामी फर्केर आउँदैनौँ भनेर मैले भनिदिएको छु," उनले भनिन्।
नागरिक समाज किन नेतृत्व परिवर्तनको पक्षमा

तस्बिर स्रोत, RSS
नागरिक समाजका अगुवाहरूले पनि विज्ञप्ति जारी गर्दै नयाँ नेतृत्व र नीतिका आधारमा निर्वाचनमा सहभागी हुन दलहरूलाई अपिल गरेका छन्।
"जेन-जी विद्रोहपछि सिर्जना भएको विशेष र असाधारण राजनीतिक परिवेशलाई मध्यनजर गर्दै लोकतान्त्रिक अभ्यास अनुसार विघटित संसद्मा प्रतिनिधित्व गर्ने सबै दलले अविलम्ब विशेष महाधिवेशन गरी ती दलले नयाँ नेतृत्व चयन गर्नु आवश्यक छ," ३० जना अगुवाइहरूद्वारा बुधवार जारी विज्ञप्तिमा भनिएको छ।
"यदि जनभावना अनुसार दलले आफूलाई पुनर्गठन, रूपान्तरण र शुद्धीकरण नगरे थप अलोकप्रिय, कमजोर र अनुत्तरदायी हुने भन्ने वास्तविकता पनि स्मरण गराउन चाहन्छौँ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








