सिंहदरबारको सत्ता फेरिएसँगै राजनीतिक दलका पुराना नेतृत्व फेरिएलान्

तस्बिर स्रोत, Getty Images/EPA
- Author, अशोक दाहाल
- Role, संवाददाता, बीबीसी न्यूज नेपाली
- पढ्ने समय: ६ मिनेट
गत साता दुई दिनको प्रदर्शनले दुई तिहाइ बहुमतको समर्थनमा बनेको सिंहदरबारको सत्ता फेरिएसँगै पुराना राजनीतिक दलभित्र नेतृत्व फेर्नुपर्ने आवाज उठ्न थालेको छ।
भ्रष्टाचारको अन्त्य र सुशासन तथा पारदर्शिताको माग सहित नवयुवाहरूको अगुवाइमा भएको आन्दोलनको निशानामा अधिकांश पुराना राजनीतिक दलका नेताहरू परे।
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र कतिपय मधेश केन्द्रित राजनीति गर्दै आएका दलका शीर्ष नेताविरुद्ध सामाजिक सञ्जाल र सडकमा देखिएको आक्रोश ती दलका पार्टी कार्यालय र निजी सम्पत्तिमा समेत आगजनी र तोडफोडको हदसम्म पुग्यो।
भदौ २३ र २४ को प्रदर्शन अघिबाटै पार्टीभित्रको सत्ताको विपक्षमा आवाज उठाइरहेका नेताहरूले सार्वजनिक रूपमै नेतृत्व हस्तान्तरण र पार्टी पुनर्संरचनाबारे आवाज उठाउन सुरु गरेका छन्।
बीबीसीले कुरा गरेका केही राजनीतिक विश्लेषकहरू पछिल्लो प्रदर्शनले पुराना नेताका अनुहार जनताले नरुचाएको आधार दिएका कारण आगामी फागुनका लागि तोकिएको निर्वाचन अघि नै कतिपय दलको नेतृत्व हस्तान्तरण हुन पनि सक्ने अनुमानहरू प्रस्तुत गर्दछन्।
नेतृत्व परिवर्तनबारे उठ्न थाल्यो आवाज
नवयुवाहरूको प्रदर्शनमा पुराना दल र नेताहरू निशानामा परेपछि भदौ २७ गते छ दलका १६ जना नेताहरूले संयुक्त विज्ञप्ति निकालेका थिए।
जसमा उनीहरूले "परिवारवादको अन्त्य र नयाँ पुस्ताबाट नेतृत्व गर्ने वातावरण सिर्जना गर्ने" आवश्यकताबारे उल्लेख गरेका थिए।
"सत्तामा लामो समयसम्म निश्चित व्यक्तिको हालीमुहाली हुनुले सङ्कटको अवस्था सिर्जना गरेको" ती नेताहरूद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
जसमा नेपाली कांग्रेसका एनपी साउद, मिनेन्द्र रिजाल, नेकपा एमालेका सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट तथा नेकपा माओवादी केन्द्रका जनार्दन शर्मा, सुदन किराँती, नेकपा एकीकृत समाजवादीका घनश्याम भुसाल, रामकुमारी झाँक्री, रास्वपाका सन्तोष परियार, जसपा नेपालका राज किशोर यादव सहितका नेताहरू छन्।
एकजना वामविश्लेषक झलक सुवेदी भन्छन्, "पुनर्संरचना पार्टीहरूको अस्तित्व सर्त हो। भविष्य बचाउने हो भने पुनर्संरचना नगरी हुन्न। जटिल छ तर हुन्छ," उनी भन्छन्।
"नयाँ नेतृत्व नबनाई चुनावमा जाने अवस्था कुनै दलको पनि छैन। त्यस कारण परिवर्तन चुनाव अगाडि नै आउँछ जस्तो लाग्छ मलाई।"
पार्टी नेतृत्वमा परिवर्तन ल्याउन सक्ने दल पुनःस्थापित हुने र नसक्ने दल सङ्कटमा पर्दै जाने उनको विश्लेषण छ।
कांग्रेस निकट विश्लेषक पुरञ्जन आचार्य बताउँछन्, "जनताको अपेक्षा अनुसार पार्टी कार्यकर्ताहरूले नेतृत्व परिवर्तन गर्न चाहेनन्, सकेनन्। त्यसको परिणाम अहिले पुराना नेता र पार्टीहरू धरापमा परे।"
"तीन वटा नेतालाई देखेर अब यिनीहरूको अनुहार नभइदिए हुन्थ्यो भन्ने भयो। पछि पार्टीहरू बदनाम हुन थाले त्यसले यो आन्दोलनमा ऊर्जा थप्ने काम गर्यो।"
तर पार्टी नेतृत्वबाट हट्दा 'भ्रष्टाचारको मुद्दा लाग्नसक्ने डरले' उनीहरूले सहजै नेतृत्व छोड्नेमा भने आचार्य आशङ्का व्यक्त गर्दछन्।
अर्का वाम विश्लेषक हरि रोकाका विचारमा पार्टीहरूले आफू अप्ठ्यारोमा परेको दलहरूले महसुस नै नगरेका कारण पछिल्लो राजनीतिक विद्रोह भएको हो।
"त्यत्रो सूचना राख्ने ठाउँमा बस्दा समेत उनीहरू यो प्रदर्शनबारे अनभिज्ञ थिए भने उनीहरू पार्टीबारे कुनै पनि ठाउँमा उपयुक्त हुने ठाउँ देखिँदैन," संविधानसभाका पूर्व सदस्य समेत रहेका रोका भन्छन्।
कांग्रेसमा दबाव

अन्तरिम प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा विघटित संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसमा नेतृत्व हस्तान्तरणको विषयमा पार्टीका महामन्त्री तहबाटै आवाज उठ्न थालेको छ।
पार्टी सभापति शेरबहादुर देउवाको अन्तिम कार्यकाल सकिन अब एक वर्ष भन्दा कम छ। भदौ २४ गते घरमै प्रदर्शनकारीहरूको आक्रमणमा परेर गम्भीर घाइते भएका देउवा अहिले पनि उपचाररत नै रहेका बुझिएको छ।
कांग्रेस नेताहरूका अनुसार उनले उपसभापति पूर्णबहादुर खड्कालाई पार्टी हेर्ने जिम्मा तोकिसकेका छन्। खड्काले पार्टीका बैठक समेत राखिसकेका छन्।
कांग्रेसका महामन्त्री गगन थापाले एक भिडिओ सन्देश मार्फत् "पार्टीलाई नागरिकसँग जोड्न अहिलेको नेतृत्वबाट सम्भव भए नभएको" बताएका छन्। अर्का महामन्त्री विश्वप्रकाश शर्मासँग संयुक्त रूपमा जारी गरिएको विज्ञप्तिमा पनि पार्टी पुन:निर्माणको वाचा गरिएको छ।
यसअघि स्वास्थ्यमन्त्री रहेका कांग्रेस नेता प्रदीप पौडेलले पार्टी नेतृत्वले राजीनामा दिनुपर्ने माग गरेका छन्।
"हालको पार्टी नेतृत्वले तत्काल राजीनामा गर्ने तथा सोही काम चलाऊ कमिटीको संयोजनमा ६ महिनाभित्रमा पार्टीको महाधिवेशन सम्पन्न गर्ने," पौडेलले सामाजिक सञ्जाल मार्फत् अहिलेको सङ्कटको निकासका लागि प्रस्तुत गरेका बुँदामा भनिएको छ।
"पार्टी भित्र नेतृत्व चयनको प्रक्रियामै हस्तक्षेप गर्न सके भने मात्रै यी पार्टीहरूमा सुधार सुरु हुने हो। नभए अहिलेकै पार्टी प्रणालीको ढाँचाबाट आउने देउवा नभए पनि देउवा जस्तै हो," विश्लेषक आचार्य भन्छन्।
उनी अहिले दबाव सुरु भएको र त्यसले नेतृत्व फेर्ने सङ्केत देखिए पनि कस्तो नेतृत्व भन्ने बहस नदेखिएको बताउँछन्।
"हाम्रो नेतृत्वमा हामीले सत्ता पनि जोगाउन सकेनौँ क्षति पनि जोगाउन सकेनौँ भनेर तीन वटै नेताले आफ्नो पदबाट राजीनामा दिनुपर्ने हो," आचार्य भन्छन्।
कांग्रेसभित्र चाहिँ आगामी निर्वाचन अघि नै नेतृत्व हस्तान्तरणको सम्भावना आफूले देखेको आचार्य बताउँछन्।
"कम्युनिस्ट पार्टीहरूभित्र त्यस्तो दबाव छैन र परिवर्तन नहुन पनि सक्छ। कांग्रेसभित्र चाहिँ विशेष अधिवेशन नै गरेर जाने वा शेरबहादुरजीले कार्यवाहक दिएर आफू अवकाश लिने सम्भावना म देख्छु," आचार्यले भने।
एमालेमा उठ्यो आवाज

तस्बिर स्रोत, RSS
नेकपा एमालेका सचिव योगेश भट्टराईले सामाजिक सञ्जालमा हालै राखेको भिडिओमा पार्टीमा सुधारको कुरा उठाएका छन्।
"अब नेकपा एमाले हिजोजस्तो हुँदैन, यो नयाँ हुन्छ युवामैत्री हुन्छ," उनले पार्टीमा संरचनात्मक सुधार गर्ने वाचा गर्दै भनेका छन्।
एमाले केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनाले प्रमुख तीन दलका शीर्ष नेता सहित उनीहरूको "विकल्प छैन भन्ने यिनका उत्तराधिकारीहरूले पनि" छोड्नुपर्ने धारणा सामाजिक सञ्जालमा राखेकी छन्।
एमाले महासचिव शंकर पोखरेलले पार्टी नेतृत्वविरुद्ध अभिव्यक्ति नदिन पार्टीको प्रदेश कमिटीका प्रमुखहरूलाई भनेका विवरण आएका छन्।
विश्लेषक सुवेदी अहिलेको नेतृत्व एमालेमा पनि विस्थापित हुने आफूले देखेको बताउँछन्।
"एमालेमा आवाज नउठ्नु र नउठाइनु नै एमालेमा आजको सङ्कट देखिनुको कारण हो," सुवेदी भन्छन्।
"ओली गुटका भनिएका दोस्रो तेस्रो पुस्ताका नेताहरूले अब बैठक राखिएपछि कुरा उठाउँछन् भन्ने मलाई लाग्छ।"
उनले आन्तरिक पुनर्गठनको विषय अब दलहरूमा थप पेचिलो बन्दै जाने भए पनि नेतृत्व हस्तान्तरण भएर युवा आउनेमा अझै शङ्का गर्ने ठाउँ रहेको बताए।
"कस्तो आउँछ भन्न सकिन्न। एमालेमा नेतृत्व सेनाले उद्धार गर्नुपर्ने अवस्था आएसँगै जबजको अवधारणा पनि फेल भयो। अब नयाँ ढङ्गले नसोची नेता मात्रै फेरिनुले पुनर्गठन हुँदैन," सुवेदी भन्छन्।
एमाले नेता विष्णु रिजाल सङ्कटको समयमा सामूहिक छलफल आवश्यक देखिएको बताउँछन्।
"सामूहिक र छिटो छलफलहरू हुनुपर्नेमा हामीले गर्न सकिरहेका छैनौँ," उनले भने।
माओवादीमा चुनौती

तस्बिर स्रोत, RSS
माओवादी केन्द्रमा अध्यक्ष प्रचण्डलाई चुनौती दिइरहेका जनार्दन शर्माले संसद् विघटनसँगै पुराना र नयाँ भनिएका पार्टीहरू पनि विघटनको दिशामा पुगेको टिप्पणी गरेका छन्।
"अब आन्दोलनको म्यान्डेट र जनअपेक्षा अनुसार 'गम्भीर आत्म समीक्षा' सहित पुनर्गठन र पुनर्संरचनाको महा-अभियान सुरू गरौँ," उनले फेसबुकमा लेखेका छन्।
पार्टी नेतृत्वमा ३५ वर्षदेखि रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहालले यसअघि नै आफू नेतृत्व हस्तान्तरण गर्न तयार भए पनि पार्टीका दोस्रो तहका नेताहरू त्यसका लागि तयार नभएको बताएका थिए।
तर हरि रोका भन्छन्, "युवाहरूले आँट गरेर यी मान्छेबाट हुँदैन भनेर पार्टीको पद प्रतिष्ठा छोडेर बाहिर निस्कँदैनन्। त्यति नहुँदासम्म नेतृत्वमा कुनै परिवर्तन हुँदैन," उनी भन्छन्।
माओवादी बाहेक मधेश केन्द्रित केही दलमा पनि पुनर्संरचना र नेतृत्व हस्तान्तरणबारे नेताहरूले टिप्पणी गरिरहेका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















