नेपालका नयाँ प्रधानमन्त्रीलाई मोदीले दिए शुभकामना, अरू देशले के भने

भारतका राजदूत नवीन श्रीवास्तवले नयाँ प्रधानमन्त्री सुशीला कार्कीलाई शुभकामना दिँदै

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, शपथ ग्रहण समारोहमा भारतका राजदूत नवीन श्रीवास्तवसहित विभिन्न देशका राजदूतहरूको उपस्थिति थियो

शुक्रवार राति पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त भएपछि भारत, यूके, जापान अनि संयुक्त राष्ट्रसङ्घलगायतले प्रतिक्रिया जनाएका छन्।

'जेन जी' आन्दोलनले पुरानो सरकार अकस्मात् विस्थापित भएको तथा प्रतिनिधिसभा विघटित भएको बेला ती देशहरूले टिप्पणी गरेका हुन्।

नयाँ सरकारले फागुन २१ गते प्रतिनिधिसभाको चुनाव गर्ने मिति घोषणा गरेको छ।

मोदीले के भने?

शनिवार बिहान सामाजिक सञ्जालमा नेपाली, हिन्दी र अङ्ग्रेजी भाषामा पोस्ट गर्दै भारतका प्रधानमन्त्री मोदीले नेपालकी नयाँ प्रधानमन्त्रीलाई शुभकामना दिएका छन्।

"नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्नुभएकोमा सम्माननीय श्रीमती सुशीला कार्कीज्यूलाई हार्दिक शुभकामना। नेपालका दाजुभाइ तथा दिदीबहिनीहरूको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्ण रूपमा प्रतिबद्ध छ," मोदीले भनेका छन्।

त्यसअघि शुक्रवार राति नै नयाँ प्रधानमन्त्री नियुक्त भएपछि भारतको विदेशमन्त्रालयले पनि संक्षिप्त प्रतिक्रिया जनाएको थियो।

"सम्माननीय सुशीला कार्कीको नेतृत्वमा नेपालमा नयाँ अन्तरिम सरकार गठन भएकोमा हामी स्वागत गर्छौँ। शान्ति र स्थिरता प्रवर्धनमा यसले मद्दत पुग्नेमा हामी आशावादी छौँ," उसले भनेको छ।

"एक निकट छिमेकी, साथी प्रजातन्त्र तथा दीर्घकालीन विकास साझेदारका रूपमा दुई देश तथा जनताको सुख र समृद्धिका निम्ति भारतले निरन्तर नेपालसँग निकट रहेर काम गर्नेछ।"

शपथ ग्रहणमा उपस्थिति

सुशीला कार्कीको सपथग्रहण

तस्बिर स्रोत, RSS

शुक्रवार अबेर शीतल निवासमा आयोजित नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा अमेरिका, चीन, भारतलगायत विभिन्न देशका राजदूतहरूको पनि उपस्थिति थियो।

भारतीय राजदूत नवीन श्रीवास्तव, अमेरिकी राजदूत डिन थम्सन तथा चिनियाँ राजदूत चेन सङले नयाँ प्रधानमन्त्रीलाई शुभकामना दिएको देखिएको थियो।

काठमाण्डूस्थित ब्रिटिश राजदूतावासले सुशीला कार्की अन्तरिम प्रधानमन्त्रीमा नियुक्त हुनुलाई केही दिन अघि भएका हृदयविदारक मृत्यु, घाइते तथा सम्पत्तिमा भएका क्षतिपश्चात् एक महत्त्वपूर्ण कदम भनेको छ।

"नेपालको सबभन्दा पुरानो मित्रका रूपमा हामी अगाडिका चुनौतीबारे जानकार छौँ र जवाफदेहीता तथा समावेशी शासनको नेपाली आकांक्षालाई सहयोग गर्ने प्रतिबद्धता जनाउँछौँ," ब्रिटिश राजदूतावासले भनेको छ।

जापानले नेपालले चाँडोभन्दा चाँडो शान्तिपूर्ण तथा प्रजातान्त्रिक सङ्क्रमण गर्नेमा बलियो आशा प्रकट गरेको छ।

"सम्माननीय सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्रीका रूपमा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलद्वारा गरिएको नियुक्तिलाई हामी स्वागत गर्छौँ र त्यसलाई उक्त सङ्क्रमण तर्फको एक महत्त्वपूर्ण कदम (का रूपमा हेरेका छौँ)," उसको विज्ञप्तिमा भनिएको छ।

जापान सरकारले नेपालको विकास तथा समृद्धिलाई निरन्तर सहयोग गर्ने पनि जनाएको छ।

संयुक्त राष्ट्रसङ्घले पनि सुशीला कार्की नियुक्त भएकोमा नेपाली जनतालाई बधाइ दिएको छ।

"यो महत्त्वपूर्ण घडीमा नेपाली जनताको शान्ति, न्याय, पारदर्शिता, जवाफदेही तथा प्रगतिका आकांक्षाका साथसाथ संयुक्त राष्ट्रसङ्घ खडा छ," काठमाण्डूस्थित राष्ट्रसङ्घकी आवासीय प्रतिनिधि हाना सिङ्गर हाम्दीले एक विज्ञप्तिमार्फत् जनाएकी छन्।

"यो सङ्क्रमण सम्भव तुल्याउन महत्त्वपूर्ण योगदान पुर्‍याएका सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल, प्रधान सेनापति अशोकराज सिग्देल, तथा जेन जी युवा नेताहरूको प्रयासको हामी सराहना गर्छौँ। साथै आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्छौँ," उनले भनेकी छन्।

यो संवेदनशील घडीमा महत्त्वपूर्ण जिम्मेदारी बहन गर्न लागेकी नयाँ प्रधानमन्त्रीलाई सफलताको कामना पनि उनले गरिन्।

नेपाली जनताको भलोका निम्ति तथा स्थिरता, मानव अधिकार तथा दिगो विकासका मार्गमा नयाँ सरकारलाई सहयोग पुर्‍याउन संयुक्त राष्ट्रसङ्घ कटिबद्ध रहेको पनि भनिएको छ।

शीतल निवासमा भएको शपथ ग्रहण समारोहको दृश्य

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, शीतल निवासमा भएको शपथ ग्रहण समारोह

नयाँ सरकार गठन भएपश्चात् चीनको ताजा प्रतिक्रिया आइनसके पनि बुधवार चिनियाँ विदेश मन्त्रालयका एक प्रवक्ताले चीन र नेपाल परम्परागत मित्र तथा छिमेकी रहेका अनि नेपालका विभिन्न पक्षले आन्तरिक मामिलालाई उचित व्यवस्थापन गर्ने तथा शान्ति र स्थिरता चाँडै पुनर्स्थापना गर्ने आशा गरेको उल्लेख गरेका थिए।

भदौ २३ को घटनापश्चात् नेपालस्थित अस्ट्रेलिया, फिनल्याण्ड, फ्रान्स, जापान, कोरिया गणतन्त्र, ब्रिटेन, नर्वे, जर्मनी, स्विट्जरल्यान्ड, र संयुक्त राज्य अमेरिकाका दूतावासहरूले एक संयुक्त प्रेस विज्ञप्ति जारी गरेर गहिरो दु:ख प्रकट गरेका थिए।

सोमवार वानेश्वरमा भएको जेन जी प्रदर्शन र त्यसक्रममा कैयौँको ज्यान गएपछि उनीहरूले भनेका थिए, "हाम्रा सरकारहरूले शान्तिपूर्ण सभा र अभिव्यक्तिको स्वतन्त्रताको सार्वभौमिक अधिकारप्रति आफ्नो दृढ समर्थन पुनः व्यक्त गर्दछ। हामी सबै पक्षलाई अधिकतम संयम अपनाउन, परिस्थितिलाई थप बिग्रिन नदिई शान्तिपूर्ण तरिकाले समाधान खोज्न तथा यी मौलिक अधिकारहरूको पूर्ण संरक्षण सुनिश्चित गर्न आग्रह गर्दछौँ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।