'विशेष महाधिवेशन'ले गर्न सक्ने 'रूपान्तरणकारी' निर्णय र त्यसमा कांग्रेस संस्थापनको प्रतिक्रिया

तस्बिर स्रोत, Nepal Photo Library
- Author, पवनराज पौडेल
- Role, बीबीसी न्यूज नेपाली
नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधर नेताहरूले आइतवार काठमाडौँमा सुरु भएको विशेष महाधिवेशनको बैठक सञ्चालन गरी 'नीति र नेतृत्व परिवर्तन गर्न' आवश्यक सङ्ख्यामा प्रतिनिधिहरू उपस्थित भएको दाबी गरेका छन्।
"प्रतिनिधिहरूको जति सङ्ख्याले विशेष महाधिवेशन मागेका थिए, हामी त्यो अवस्थामा पुग्यौँ," नाम दर्ता शाखाका प्रमुख युवराज पाण्डेले बीबीसीसँग भने।
कांग्रेसको विधानअनुसार ४० प्रतिशत प्रतिनिधिहरूले मागेको खण्डमा विशेष महाधिवेशन हुन सक्छ भने त्यहाँ वैधानिक निर्णय गर्न ५१ प्रतिशतको आवश्यकता पर्छ।
काठमाण्डूमा आइतवारबाट सुरु भएको विशेष महाधिवेशनको उद्घाटन कार्यक्रम सम्पन्न भएपछि ५७.३९ प्रतिशतभन्दा धेरै प्रतिनिधिले नाम दर्ता गराएका जानकारी प्रेस विज्ञप्तिमार्फत् आयोजकहरूले दिएका थिए।
नाम दर्ता शाखाका प्रमुख युवराज पाण्डेले बीबीसीसँग सोमवार बिहान नाम दर्ता गर्नेहरूको लामो लाइन थपिएकाले सङ्ख्या अझ बढ्ने निश्चित रहेको बताए।
गत असोजमा विशेष महाधिवेशनको माग गर्दै ५४.५८ प्रतिशत प्रतिनिधिले हस्ताक्षर बुझाएका थिए।
देशभर कांग्रेसका ४,७४३ जना महाधिवेशन प्रतिनिधि छन्।
सोमवार बिहानबाट महाधिवेशनको बन्द सत्र सुरु हुने भनिएको छ।
फेरिएला नेतृत्व?

तस्बिर स्रोत, Nepal Photo Library
पार्टीको नेतृत्व परिवर्तन र नीतिगत पुनरवलोकन सहितका विषयलाई मुख्य 'अजेन्डा' बनाएर महाधिवेशन माग गरिएकाले बन्द सत्र सोही विषयमा केन्द्रित हुने हस्ताक्षर सङ्कलन अभियानका नेतृत्वकर्तामध्येका गुरुराज घिमिरले बीबीसीलाई बताए।
"सबैभन्दा मुख्य विषय भनेको नेतृत्व परिवर्तन नै हो," उनले भने, "तर कसले नेतृत्व लिने भन्नेसम्म हाम्रो छलफल पुगिसकेको छैन।"
"सङ्ख्याले नीति र नेतृत्व परिवर्तन गर्न सक्ने देखायो तर हामी पार्टीको केन्द्रीय समितिले के गर्छ भन्ने पनि हेरिरहेका छौँ। केन्द्रीय समितिले यो विशेष महाधिवेशनको स्वामित्व लिन्छ कि लिँदैन, त्यो ढोका पनि खुला राखेका छौँ। उहाँहरू हामीसँग सहमत हुनुपर्छ भन्ने हाम्रो कुरा हो।"
उद्घाटन सत्रमा महामन्त्री गगनकुमार थापाले महाधिवेशन प्रतिनिधिहरूले गर्ने निर्णय स्वीकारेर जाने बताएका थिए।
"पार्टीलाई ठीक ठाउँमा उभ्याउनका निम्ति जोखिम मोलेर आउनुभएको छ," उनले भने, "अवसर र चुनौतीका बीच (सोमवार) बिहान हामी हलमा उपस्थित हुन्छौँ। दिनभरि छलफल गर्छौँ। हलले जेजे कुरा नेपाली कांग्रेस पार्टीमा स्थापना गर्ने भन्छ, त्यो त्यो स्थापना हुन्छ।"
"कांग्रेसको विधानले महाधिवेशनभन्दा ठूलो अरू केही छैन भन्छ। यसले चाहेमा नेता छान्छ र बदल्छ पनि। नीति छान्छ र बदल्छ पनि। महाधिवेशनले चाह्यो भने विधान पनि बदल्छ। त्यो अधिकार राख्ने महाधिवेशनको भेला हो यो। सोमवार बसेर परिपक्व र पार्टीका निम्ति रूपान्तरणकारी निर्णय गर्छौँ भन्ने विश्वास छ।"
संस्थापन के भन्छ
कतिपय विश्लेषकहरूले महाधिवेशन पक्षधर र संस्थापनबीच अझै पनि समझदारी हुन सक्ने सम्भावना औँल्याइराखेका बेला सभापति शेरबहादुर देउवा निकटका नेताहरूले भने "त्यो अर्को पक्षको इच्छामा निर्भर हुने" बताएका छन्।
'दुई पक्षबीच संवाद चलिरहेको हो?' भन्ने बीबीसीको प्रश्नमा संस्थापन पक्षका नेता विमलेन्द्र निधिले भने, "मेरो जानकारीमा छैन। मिल्न त उहाँहरू त्यसका निम्ति सहमत हुनुपर्यो नि। उहाँहरू कुनै पनि हालतमा नेतृत्व परिवर्तन गर्ने र फलानोलाई बनाउने भनिरहनुभएको छ।"
देउवा पक्षका नेताहरूले विशेष महाधिवेशनलाई 'अवैध' भन्दै आएका छन्।
"विशेष महाधिवेशनलाई केन्द्रीय कार्यसमितिले आधिकारिक रूपमा मान्यता नै दिएको छैन। त्यसैले यसका निर्णय मान्य हुँदैनन्। केन्द्रीय समितिलाई प्रथम दृष्टिमै यसका निर्णयहरू स्वीकार छैन। बाँकी राजनीतिक घटनाक्रम के हुन्छ, पछिको कुरा हो।"
'देउवाको उपस्थिति अपेक्षा गर्नु हास्यास्पद'

तस्बिर स्रोत, Nepal Photo Library
विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्नेहरूमध्ये धेरैले सभापति देउवालाई विशेष महाधिवेशनमा आएर एकताको सन्देश दिन आह्वान गरेका थिए।
"हामीले जुन बिन्दुमा नियमित महाधिवेशन अवरुद्ध हुन्छ, त्यही बिन्दुबाट विशेष महाधिवेशन सुरु हुन्छ भनेका थियौँ। हामीले हाम्रो वचन राखेका छौँ," घिमिरेले भने, "सभापतिज्यू, दोस्रो विशेष महाधिवेशनलाई नजरअन्दाज नगर्नुस्। आउनुस्, यसलाई शतप्रतिशतको महाधिवेशन बनाऔँ।"
संस्थापनपक्षीय निधि देउवालाई गरिएको आमन्त्रण हास्यास्पद भएको बताउँछन्।
"जसलाई उहाँहरूले हटाउने भनिरहनुभएको छ, पहिलो कुरा। दोस्रो, जसको हस्ताक्षरबाट चुनाव लड्दैनौँ भनेर प्रतिस्थापन गर्न खोज्नुभएको छ र यो विशेष महाधिवेशन गर्नुभएको छ, त्यसैलाई प्रमुख अतिथिका रूपमा निम्ता गर्नु आफैँमा हास्यास्पदजस्तो लाग्छ।"
शेखर कोइराला के भन्छन्
मध्यमार्गी नेताका रूपमा चिनिँदै आएका नेता शेखर कोइराला पनि आइतवार भृकुटीमण्डप पुगेनन्। उनले महाधिवेशन उद्घाटन हुनुभन्दा केही समयअघि एउटा भिडिओ जारी गर्दै आफू पार्टीको समग्र एकताको पक्षमा रहेको बताए।
"नेपाली कांग्रेस विधिसम्मत तरिकाले चलोस् भन्नेमा म सङ्घर्षरत रहेँ। मेरो लड्ने तरिका शान्त र मधुरो थियो। आक्रोश र अधैर्य [का साथ] भएर अघि बढ्न चाहिनँ," भिडिओमा उनले भनेका छन्, "मैले एकातिर सभापति देउवाको कार्यशैलीसँग लड्नुपरेको थियो भने अर्कातिर युवाहरूको असन्तोषको सामना गर्न परिरहेको छ।"
कोइरालाले गत भदौको आन्दोलनबाट उत्पन्न राजनीतिक परिस्थितिमा मूलधारका पार्टीको नेतृत्व परिवर्तनबारे नागरिक तहबाट र पार्टीभित्रै बहस र छलफल सुरु हुनुलाई स्वाभाविक भनेका छन्।
"के हामी सबै मिलेर समग्र एकताको बिगुल फुक्ने महाधिवेशन गरेर जान सक्दैनौँ?," महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गर्दै उनले भनेका छन्, "तपाईँहरू पार्टीको धरोहर हुनुहुन्छ र विधिको प्रभावकारिता र नीतिको सान्दर्भिकता स्थापित गर्ने पवित्र उद्देश्यका साथ काठमाण्डू आउनुभएको छ। समग्र कांग्रेसको हित र एकताबद्ध पार्टी कसरी निर्माण गर्न सकिन्छ भन्ने ऐतिहासिक दायित्व निर्वाह गर्न समेत त्यति नै सक्षम हुनुहुन्छ भन्ने मेरो गहिरो विश्वास छ।"
"यो कार्यका निम्ति म प्रयासरत छु र निकास ननिस्किँदासम्म लागिरहन्छु।"
सोमवारका कार्यक्रम यस्ता
सोमवार बिहान ८ बजेबाट बन्द सत्र सुरु हुने र दिनभरजसो छलफल हुने घिमिरेले बताए।
"नीतिगत विषयमा समूहसमूह बनाएर छलफल गर्छौँ," घिमिरेले भने, "सुरुमा अहिलेको परिस्थितिको समीक्षा गर्छौँ, त्यसपछि साङ्गठनिक संरचनाका विषयमा छलफल गर्छौँ र अन्तिममा मात्रै नेतृत्व परिवर्तनको कुरा आउँछ।"
उनले विशेष महाधिवेशन थप एक दिन लम्बिन सक्ने पनि बताए।
"उद्घाटन, छलफल र नेतृत्वको चुनाव समेत गरेर सामान्यतया: अधिवेशन तीन दिनको हुने चलन छ। यो विशेष अधिवेशन भएकाले हामीले दुई दिन भनेका थियौँ तर मङ्गलवारसम्म जान्छ नै," घिमिरेले भने।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








