कांग्रेस एकताको विकल्पबारे गगन थापाको 'निर्णायक पहलको पर्खाइ'

थापा र देउवा

तस्बिर स्रोत, NurPhoto via Getty Images

पढ्ने समय: ५ मिनेट

विशेष महाधिवेशनपछि चिरा परेको नेपाली कांग्रेसभित्र नेताहरूकै शब्दमा वृहत् एकताको निम्ति प्रयास तीव्र बनेको देखिएको छ।

संस्थापन र संस्थापन इतर दुवै पक्षका नेताहरू एकता अपरिहार्य भएको बताउँछन्।

सभापति गगन थापाले सबैको निम्ति सम्मानजनक सूत्र प्रस्ताव गर्नुपर्ने संस्थापन इतर खेमाका नेताहरूको भनाइ छ।

थापा पक्षले पनि विकल्पहरूबारे छलफल गर्न तयार रहेको बताएको छ।

के कांग्रेसीहरू फेरि एकजुट हुने अवस्थातर्फ अग्रसर भएका हुन्?

गगन थापाको पहलको प्रतीक्षा

कांग्रेस नेताहरू

तस्बिर स्रोत, Nepal Photo Library/BBC/ShekharKoirala,FB

विशेष महाधिवेशनमा सहभागी नभएका नेता डा. मिनेन्द्र रिजालले एकता प्रयासका क्रममा सभापति थापासँग केही दिनअघि कुराकानी गरेका थिए।

उनले एकता प्रयासको निम्ति थापालाई अग्रसरता लिन आफूले आग्रह गरेको जानकारी दिए।

"उहाँको धारणा सकारात्मक पाएँ तर त्यसपछि थप केही प्रयास भएको मलाई थाहा छैन। म पर्खिएको छु," नेता रिजालले भने, "एकता हुनै पर्छ, विकल्प छैन, अदालतको फैसलाभन्दा अगाडि हामीसँग त्यसको निम्ति विभिन्न विकल्पहरू हुन्छन्। त्यसको निम्ति अग्रसरता गगन थापाले लिनुपर्छ।"

विशेष महाधिवेशनबाट निर्वाचित महामन्त्री गुरुराज घिमिरेका अनुसार विभिन्न तहमा एकता प्रयासको निम्ति छलफल भइरहेको छ। उनका अनुसार इतर खेमाले सभापति थापाले नै कुरा गर्नुपर्ने बताइएको छ।

"संसदीय दलको नेता चयन लगायतको कामको व्यस्तता छ, सभापतिजीले पनि कुरा गर्नुहुन्छ," महामन्त्री घिमिरे भन्छन्।

महाधिवेशन गर्ने नयाँ संयन्त्र?

शेरबहादुर देउवा र डा. शेखर कोइराला निकट कयौँ नेताहरूले अब अदालतमा विचाराधीन मुद्दामा अल्झिन नहुने धारणा राख्न थालेको पाइन्छ।

कांग्रेस नेता दिलेन्द्रप्रसाद बडू सरकार गठन र संसद् विघटनविरुद्धको रिट निवेदनबारेको फैसला नपर्खिए जस्तै पार्टीको मुद्दालाई पनि अब कुर्न नहुने बताउँछन्।

"संसद् विघटन असंवैधानिक भन्दा भन्दै पनि देश अगाडि बढ्यो। नयाँ परिस्थितिमा पुग्यौँ, त्यस्तै कांग्रेस विशेष महाधिवेशनविरुद्धको मुद्दा कुरेर बस्नु भनेको विवाद झन् गहिरो बनाउनु हो। समय अनुसार अगाडि बढ्नु नै सबैको हितमा हुन्छ," उनी भन्छन्, "पुराना विवादको पटाक्षेप गरेर नयाँ बाटो खोल्नु नै हामी सबैको हितमा हुन्छ, त्यसैले १५ औँ महाधिवेशनमा सहभागी हुनु नै मध्य मार्ग हो, एकताको सूत्र र बाटो हो।"

चुनावमा सहभागी भएर सबैले विशेष महाधिवेशनलाई मान्यता दिइसकेको उनको भनाइ छ। "हामी मान्दैनौँ भन्ने पक्ष पनि स्वतः आउने भनेकै नियमित महाधिवेशनमा हो," नेता बडू भन्छन्।

तर देउवा निकट नेता डा. प्रकाशशरण महत विशेष महाधिवेशनमा बहुमत सङ्ख्या सहभागी नभएको बताउँछन् र त्यसले केन्द्रदेखि तलसम्म मनोवैज्ञानिक विभाजन निम्त्याएको औँल्याउँछन्। तर उनी 'जे भए पनि दुवै पक्ष नजोडिएर हुन्न' भन्नेमै देखिए।

"अहिलेको चुनौतीपूर्ण अवस्थामा को के कारणले ठिक छौँ भन्ने बहस गर्नुभन्दा पनि सबैले स्वीकार गर्ने गरी नियमित महाधिवेशन गर्नुपर्छ," नेता महतले त्यसको विकल्पबारे भने, "साझा सबैलाई स्वीकार्य अधिकार सम्पन्न संयन्त्रले महाधिवेशन गरोस्, त्यसबाट जो निर्वाचित भए पनि स्वीकार गर्न सबैलाई सजिलो हुन्छ।"

महामन्त्री घिमिरे महाधिवेशन गर्ने अलग संयन्त्र बनाउने परम्परा र अभ्यास नरहेको बताउँछन्। पार्टीभित्र बृहत्तर एकता अहिलेको आवश्यकता रहेको ठान्ने उनी चुनावमा बेहोरेको हार लगायतका कारणले पनि 'वरिपरि चुनौतीले घेरिएको' मान्छन्।

"तर अभ्यासमै नरहेको विषयमा हामी कसैले दृष्टि लगाएका छैनौँ," उनी भन्छन्, "एकताका अरू पनि ढोका हुन सक्छन्। हामीले केके गर्न सक्छौँ त खुला छलफल गरौँ।"

संस्थापन पक्षले गर्ने 'त्याग' भित्र के के छन्?

शर्मा र थापा

कतिपय जानकारहरूका भनाइमा सभापति थापाले दिएको राजीनामा एकताको विकल्प बाँकी राख्न पनि अस्वीकृत गरिएको हुनसक्छ।

किनकि कांग्रेस संस्थापन विशेष महाधिवेशनलाई इतर खेमाले पनि स्वीकार गरोस् भन्नेमा छ। अदालतमा दायर रिट निवेदन फिर्ता लिइदिएमा १५ औँ महाधिवेशन एकताको विन्दु बन्न सक्ने उक्त पक्षको बुझाइ पाइन्छ।

त्यस्तो अवस्थामा चुनावी हारपछि नैतिकताको आधारमा राजीनामा दिएका सभापति थापाले मिलनबिन्दुको खोज्न पार्टी एकताको निम्ति पदत्याग गर्ने विकल्प पनि हुनसक्छ?

महामन्त्री घिमिरे भन्छन्, "सभापतिजीसँग कुराकानी गरेर सबै मिलाउने कुरा भयो भने त यो मान्छे हटाउनु पर्‍यो, यो मान्छे राख्नु पर्‍यो भन्ने तहसम्म जान सक्ने भयो नि।"

उनी एकताको निम्ति आफूहरू व्यक्तिगत रूपमा पनि एकदमै उदार र खुला रहेको बताउँछन्।

"एकताको स्थान खोज्ने कुरामा खुला छलफल गर्न तयार छौँ, आवश्यक पर्‍यो भने त्याग गर्न पनि तयार छौँ," उनले बताए।

तर वैध भन्दै गरिएको विशेष महाधिवेशनबाट निर्वाचितलाई एकताको नाममा स्वैच्छिक बाहेक कसरी पदत्याग गर्न बाध्य बनाउन सकिन्छ?

त्यसबारे जबाफ दिने क्रममा महामन्त्री गुरुराज घिमिरेले अनौपचारिक वार्ताका कतिपय प्रस्तावतर्फ सङ्केत गर्दै भने, "उहाँहरूको प्रस्ताव त्यस्तै खालको बुझिन्छ, हामी मान्दै मान्दैनौँ, हट्नुपर्छ भन्ने खालको छ नि। कुराकानी त होस् के प्रस्ताव आउँछ हेरौँ।"

स्थानीय तह र प्रदेश सभा चुनावको दबाव

कांग्रेस बैठक

तस्बिर स्रोत, RSS

कांग्रेसभित्र एकताको निम्ति अब एक वर्षमा हुने स्थानीय तह र त्यसपछि हुने प्रदेशको चुनावले पनि थप दबाव बढाउने कतिपय ठान्छन्।

संसदीय चुनावमा ठूलो हार बेहोर्दा चरम दबावमा परेका सभापति थापाको राजनीतिक भविष्यसँग ती चुनावहरू निर्णायक बनेर आउने कतिपय विश्लेषकहरूको बुझाइ छ।

इतर खेमामा रहेकाहरूको निम्ति पनि या नयाँ पार्टी बनाउने वा थापाकै नेतृत्वमा विना सर्त जाने जस्ता सीमित विकल्प बाँकी हुन सक्छन्।

संस्थापन पक्ष नियमित महाधिवेशनमा एक्लै अघि बढेमा कांग्रेस औपचारिक विभाजनमा जान सक्ने देखिन्छ।

तर नेता मिनेन्द्र रिजाल भन्छन्, "विभाजनको बाटोमा हिँडेको कांग्रेसलाई नेतृत्व दिएर उहाँले देशलाई कहाँसम्म पुर्‍याउन सक्नुहुन्छ, त्यो प्रश्न बढी गम्भीर हुन जान्छ जस्तो लाग्छ।"

देउवा विश्वस्त?

देउवा

एकताको निम्ति अनौपचारिक छलफल चलिरहेको बेला तत्कालीन सभापति शेरबहादुर देउवा देश बाहिर छन्।

उनका कतिपय विश्वासपात्र नेताहरू समेत अदालती मुद्दा मामिलामा अल्झिन नहुने धारणा सार्वजनिक रूपमा व्यक्त गर्न थालेका छन्।

के अहिले जारी छलफलमा आइरहेका अनौपचारिक प्रस्तावहरूमा देउवाको सहमति छ?

उनी प्रधानमन्त्री हुँदाका प्रेस सल्लाहकार गोविन्द परियार भन्छन्, "विशेष महाधिवेशनपछि जुन चिरा जस्तो देखिएको छ, त्यसलाई सम्बोधन गरेर पार्टी एक ढिक्का बनाउनु पर्छ भन्नेमा उहाँ हुनुहुन्छ तर त्यसको मोडालिटीबारे प्रस्ट भइसकेको छैन।"

उनका अनुसार विशेष महाधिवेशन र हालैको चुनावबाट शिक्षा लिएर दुवै पक्षलाई मिलाउन कसले के गर्नुपर्छ त्यसको निम्ति सबै तयार हुनुपर्छ भन्ने देउवाको मत छ। अदालती मुद्दा चलिरहे पनि मध्यमार्गी बाटो भेटिएमा त्यसतर्फ जान सकिने सम्भावना औँल्याउँदै पत्रकार परियारले भने, "आपसी खाडल पुर्न सकिएमा अरू तपसिलका विषय हुन्छन्, उहाँ (देउवा) पनि दुवै पक्षका कतिपय नेतामा रहेको इगो समय क्रमसँगै सेलाउने र अन्ततः एकताबद्ध हुनेमा विश्वस्त हुनुहुन्छ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।