कांग्रेसमा सहमतिको सूत्र खोज्दै तीनै पक्ष, टिकट वितरणमा देउवा समूहले राख्यो यस्तो अडान

तस्बिर स्रोत, Nepal Photo Library/BBC/ShekharKoirala,FB
- Author, फणीन्द्र दाहाल
- Role, बीबीसी न्यूज नेपाली
पार्टी आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा पुगेका बेला रुख चिन्ह लिएर सँगै आसन्न निर्वाचनमा सहभागी हुने सहमति जुटाउने प्रयास गरिरहेको नेपाली कांग्रेसका परस्परविरोधी समूहका नेताहरूले बताएका छन्।
उनीहरूले अहिलेसम्मको संवादलाई सकारात्मक भन्दै सोमवारभित्र एउटा निष्कर्षमा पुग्न सके मङ्गलवार साझा उम्मेदवारहरू मनोनयन गरिने जनाएका छन्।
निर्वाचन आयोगले अघिल्लो साता कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता दिँदै सभापति गगन थापालाई चुनाव चिन्ह रुख दिने निर्णय गरेको थियो।
वार्तामा थापा समूहले उक्त विषयलाई लिएर पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको समूहले सर्वोच्च अदालतमा आइतवार दर्ता गराएको रिट निवेदन फिर्ता लिन माग गरेको बताइएको छ।
देउवा पक्षले चाहिँ प्रत्यक्ष प्रणालीअन्तर्गत १६५ निर्वाचन क्षेत्रका उम्मेदवारहरूमध्ये ५० प्रतिशत हिस्सेदारी आफूलाई दिइनुपर्ने माग गरेको पनि नेताहरूले बताएका छन्।
सहमतिको प्रयासमा के भइरहेको छ?

तस्बिर स्रोत, Gagan Thapa/FB
आइतवारबाटै सुरु भएको भनिएको सहमति कायम गर्ने प्रयासमा तीनै पक्षका शीर्ष र केही दोस्रो तहका नेताहरू सम्मिलित रहेका छन् र उक्त सहमति कायम गर्ने प्रयास जारी रहेको नेताहरू बताउँछन्।
निर्वाचन आयोगबाट आधिकारिकता पाएको नेपाली कांग्रेसका प्रवक्ता देवराज चालीसेले बीबीसीसँग भने, "पार्टीका सबै तहका नेताहरूसँग वार्ता संवाद चलिरहेको छ। सबैलाई मिलाएर एक ढिक्का बनाएर जाने प्रयासमा छौँ। हामीले पूर्वाग्रह राखेर काम पनि गर्दैनौँ। चुनाव लक्षित नै निर्णय हुन्छ। अन्तर पार्टी सङ्घर्षको असर टिकट वितरणमा पर्दैन। हामी सहमतिको नजिक छौँ"
सोमवार पार्टी सभापति गगन थापाले सामाजिक सञ्जाल फेसबुकमा एउटा भिडिओ पोस्ट राख्दै 'कानुनी परीक्षण' गराउन अदालत गएका साथीहरूलाई पनि समेट्न आफूले प्रयास गरिरहेको बताएका छन्।
उनले भनेका छन्, "पार्टीका केही साथीहरूले यो (आयोगको निर्णय) चित्त बुझेन भनेर कानुनी परीक्षण खोजिराख्नुभएको स्थिति छ। कानुनी परीक्षण खोजिराख्नुभएको साथीहरूलाई पनि समेटेर लैजान हिजो साँझसम्म मेरो त्यही नै प्रयास रह्यो। त्यसको कारणले अहिले समयको एकदमै चाप रह्यो तर यो बीचमा पनि सकेसम्म मिलाउने कोसिस गरिरहेको छु।"
प्रवक्ता चालीसेले रुख चिन्ह लिएर टिकट प्राप्त गर्नका लागि अदालतमा दर्ता गराइएको मुद्दा फिर्ता लिन आफूहरूले आग्रह गरेको बताए।
उनी भन्छन्, "पार्टी एउटा प्रक्रियाबाट अघि बढिसकेपछि त्यसलाई स्वीकार गरेर जानु एउटा बुद्धिमानीपूर्ण काम हुन्थ्यो। आन्तरिक कुराहरू पार्टीकै फोरममा हामीले निरूपण गर्नुपर्छ। वास्तवमा अदालतको सहारा लिनुपर्ने जरुरी थिएन। जो साथीहरू अदालतमा जानुभयो उहाँहरूले पनि सभापतिकै हातबाट टिकट लिनुपर्छ। त्यसो हुँदा अदालतमा उजुरी गरिएको कुराको औचित्य समाप्त हुन्छ।"
उनले थपे, "यो सबै समायोजन भएपछि उजुरी फिर्ता हुनसक्ने सम्भावना पनि रहन्छ।"
सर्वोच्च अदालतमा दायर निवेदन फिर्ता होला?

तस्बिर स्रोत, RSS
असन्तुष्ट पक्षले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतले मङ्गलवार सुनुवाइ थाल्दै छ।
उक्त पक्षका एक जना नेता मीन विश्वकर्माले बीबीसीसँग कुरा गर्दै पार्टीका कार्यकर्ता र समर्थकहरूको भावनालाई ध्यान दिएर रुख चिन्हबाटै निर्वाचनमा सहभागी हुन नेताहरूले छलफल गरिरहेको बताए।
उनी भन्छन्, "निर्वाचनको सम्मुखमा पार्टीको आन्तरिक प्रक्रियागत मतभेद र साङ्गठनिक झगडाले निर्वाचन प्रभावित हुने भयो र कांग्रेस कमजोर हुने भयो। एकातर्फ निर्वाचन आयोगले गरेको निर्णयविरुद्ध हिजो सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। अरू बेला झगडा भए त ठिकै छ, केही थिएन। तर रुख चिन्हविरुद्ध मत माग्ने अवस्था नबनोस् भन्नका लागि नेताहरूका बीचमा सहमति खोजिरहेका छौँ।"
उनले थपे, "आज दिनभरमा सहमति खोज्यौँ भने रातभरमा साझा उम्मेदवार बनाएर कांग्रेसको पक्षमा मत माग्ने वातावरण बनाउनेछौँ।"
नेता विश्वकर्माले तत्कालै आफूहरूले मुद्दा फिर्ता लिने सोच नराखेको उल्लेख गर्दै आगामी महाधिवेशनसम्म पार्टीभित्रको 'झगडा' कायमै रहने बताए।
उनले भने, "त्यो सम्भव छैन। अदालतमा मुद्दा दर्ता भइसकेपछि महाधिवेशनसम्म यो झगडा रहिरहन्छ। अस्ति उहाँहरूले विशेष महाधिवेशन फिर्ता लिइदिनुभएन। नीति महाधिवेशन भन्नुभयो त्यसलाई नेतृत्व चयनमा लैजानुभयो। नेतृत्व चयन भएर विद्रोही शैलीमा आइसकेपछि अदालत पुगेको कुरालाई मुद्दा फिर्ता लिनुहोस् भन्नु झन् अप्ठेरो विषय हो।"
उनले थपे, "त्यसले पार्टी एकतालाई सहयोग पुर्याउँदैन। बरु टिकट चाहिँ सहमतिमा बाँडौँ। जो जितेर आउँछ भोलि पार्टी एकता गरौँला। कम्तीमा रुख चिन्हमा धेरै जना जितेर आउँछन् भन्ने सोच राख्नुपर्छ।"
टिकट वितरणमा देउवा पक्षको माग के छ?

तस्बिर स्रोत, NurPhoto via Getty Images
निर्वाचन आयोगले आफ्नो पक्षमा निर्णय दिएपछि सभापति थापाले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सक्रिय राजनीतिबाट विश्राम लिनुपर्ने भन्दै यस पटकको चुनावमा उनलाई टिकट नदिने पक्षमा आफू रहेको बताएका थिए।
प्रवक्ता चालिसेले परिवर्तनका सङ्केतहरू पार्टीले देखाउनुपर्ने भन्दै उक्त अडान नबदलिएको सङ्केत गर्छन्।
उनले भने, "जे सन्देश लिएर हामी निर्वाचनमा जान खोजेका हौँ। त्यसको औचित्य हामीले प्रमाणित गर्नुपर्छ। परिवर्तनका सङ्केतहरू देखिनुपर्यो। व्यक्ति लक्षित होइन, परिवर्तन केन्द्रित कुरा हामीले गरेका हौँ।"
तर नेता विश्वकर्मा कांग्रेस एकताबद्ध नभई चुनाव जित्न नसकिने भन्दै त्यसलाई ध्यान दिएर निर्णय लिइनुपर्ने बताउँछन्।
उनले भने, "टिकट दिने नदिने भन्दा पनि समूहगत सबैको समझदारी बनाउनुपर्यो। नेताहरूको बीचमा पनि समझदारी बनाउनुपर्यो र त्यसरी दिइने टिकटले पनि उत्साहका साथ निर्वाचनमा जानुपर्यो। हिजो शेरबहादुरजी हुँदा पनि ४० प्रतिशत र ५५ प्रतिशत टिकट दिएकै हो। अहिले गगनजीले टिकटमा हस्ताक्षर गर्छु भन्नुभयो भने पनि उहाँले त्यो अनुसार गर्नुपर्छ।"
उनले केन्द्रीय कार्यसमितिमा देउवाकै पकड रहेको उल्लेख गर्दै थपे, "अहिले शेरबहादुर देउवा र गगन (थापा) को पक्षमा आधा आधा टिकट बाँडियोस् भन्ने प्रयास भइरहेको छ। त्यसमा तलमाथि हुन सक्छ।"
सोमवारको आफ्नो भिडिओ सन्देशमा सभापति थापाले नयाँ पुरानाको सन्तुलन, समावेशीकरण र पार्टीभित्र सबैलाई न्यायको अनुभूति गराउने प्रयास आफूले टिकट वितरणमा गर्ने उल्लेख गरेका छन्।
निर्वाचन आयोगले आफ्नो निर्णय सुनाएपछि असन्तुष्ट समूहको वैठकमा सहभागी भएका काँग्रेस नेता शेखर कोइरालाले त्यस उप्रान्त आफ्नो पक्षको अलग्गै भेलाहरू गराएका छन्।
देउवा पक्ष अदालतमा रिट निवेदन लिएर जाँदा शेखर पक्षका नेताहरू उक्त प्रक्रियामा सहभागी भएनन्।
बीबीसीसँग कुरा गर्दै उक्त समूहका नेता जीवन परियारले भने, "चुनावको सहभागिताको विषयमा नेताहरूले कुराकानी गरिरहनुभएको छ। नेताहरूको कुरा मिल्यो भने हामी त्यही अनुसार जान्छौँ।"
आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचन अन्तर्गत दलहरूले मङ्गलवार आफ्ना उम्मेदवारहरू मनोनयन गर्ने कार्यपालिका रहेको छ।
गए रातिबाट लागु हुने गरी आयोगले निर्वाचन आचारसंहिता पनि कार्यान्वयनमा ल्याएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








