गर्मी बढ्न थालिसकेको थियो अकस्मात् किन भयो जाडो

तस्बिर स्रोत, Nepal Photo Library
- Author, अशोक दाहाल
- Role, बीबीसी न्यूज नेपाली
- पढ्ने समय: ३ मिनेट
काठमाण्डू उपत्यकासहित देशका विभिन्न स्थानमा गर्मी बढ्न थालिसकेको थियो। तर अहिले चैतको अन्तिम सातामा पनि न्यानो लुगा लगाउनुपर्ने गरी चिसो बढेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बुधवार काठमाण्डूको न्यूनतम तापक्रम १०.४ डिग्री सेल्सिअससम्म पुग्यो। विभागको तथ्याङ्कअनुसार एक महिनाअघि फागुन २५ गते काठमाण्डूको न्यूनतम तापक्रम १५ डिग्री सेल्सिअस थियो।
नेपालमा सामान्यतया मध्यफागुनसम्म चिसो रहन्छ। तर अहिले पश्चिमी वायुको प्रभावका कारण पानी परेको र चिसो भएको मौसमविद्हरूले बताएका छन्।
जल तथा मौसम विज्ञान विभागका मौसमविद् आकाश खनाल पश्चिमी वायुको प्रभावका कारण नेपालमा चिसो र वर्षा भएको बताउँछन्।
"हिजोबाटै बादल लागिरहेको थियो। सूर्यको किरण नपर्दा चिसो हुने स्वाभाविक नै हो। अनि पश्चिमी वायुले आर्द्रतासँगै चिसो हावा पनि बोकेर ल्याएको छ," उनले भने।
"चिसो हावाले तापक्रम घटाएको भएर जाडो महसुस भएको हो।"

तस्बिर स्रोत, Nepal Photo Library
विभागका अनुसार गण्डकी प्रदेशसहितका केही स्थानमा मङ्गलवारदेखि नै वर्षा भएको छ।
बुधवार देशको राजधानीसहित बागमती, मधेश र कोशी प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भएपछि पश्चिमी वायुको असर कम हुने आकलन गरिएको छ।
मौसममा कहिले सुधार होला

तस्बिर स्रोत, RSS
मौसम विज्ञान विभागका अनुसार बिहीवार बिहानबाट बादल हटेर घाम लाग्ने पूर्वानुमान गरिएको छ।
"भोलि बिहानसम्म बादल हट्ने जस्तो देखिन्छ। त्यसपछि मौसम सामान्य (घमाइलो) हुने देखिन्छ। यद्यपि हामीले अझैसम्म यसलाई निगरानी गरिरहेका छौँ," मौसमविद् खनाल भन्छन्।
विभागकै मौसमविद् पूजा लामिछाने यो कुनै मौसमी प्रणाली नभएका कारण लामो समय नरहने बताउँछिन्।
"पश्चिमी वायुले चिसो हावा बोकेर आएकाले चिसो भएको हो," उनी भन्छिन्। "पश्चिमी वायु सक्रिय भएको समयमा मात्रै चिसो रहन्छ।
पश्चिम दिशाबाट आउने भएकाले नेपालमा मनसुन सकिएपछि वर्षा गराउने आर्द्रतायुक्त हावालाई 'वेस्टर्ली' वा पश्चिमी वायु भनिएको हो।
विज्ञहरूका अनुसार अरब सागरमा उत्पन्न हुने यो प्रणाली हिउँद याममा त्यहीँबाट आर्द्रता लिएर नेपाल आइपुग्छ।
त्यसअघि यसले इरान, अफगानिस्तान र पाकिस्तान हुँदै यात्रा गरेको हुन्छ।
पश्चिमी वायुको प्रणालीमा तीव्र गतिमा बहने वायु हुन्छ। दक्षिण एशियाको भूगोल र पर्वतीय संरचनाका कारण यसको गति अझ सघन हुने मौसमविद्हरू बताउँछन्।
हिउँद याममा पश्चिमी वायुको प्रभावका कारण नेपालमा वर्षा हुने गरेको छ।
हिमाली भेग हुँदै आउने भएका कारण यो वायुले चिसो निम्त्याउने गरेको मौसमविद् खनालले बताए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।























