नेपाली मनसुनसँग सोमाली हावाको साइनो

तस्बिर स्रोत, RSS
- Author, अशोक दाहाल
- Role, बीबीसी न्यूज नेपाली
नेपालमा प्रत्येक वर्ष जुन महिनाको मध्यतिर (जेठ महिनाको अन्त्यतिर) बाट प्रवेश गर्ने मनसुनको सम्बन्ध सोमालियामा चल्ने हावाहुरीसँग जोडिएको मौसमविद्हरू बताउँछन्।
उनीहरूका अनुसार नेपालमा मौसम भित्र्याउन सबैभन्दा पहिले सोमालियामा हावाहुरी चल्नुपर्छ र त्यो हावा भूमध्य सागर र हिन्द महासागर हुँदै दक्षिण एशियामा प्रवेश गर्छ। बङ्गालको खाडी र अरब सागर हुँदै नेपाल प्रवेश गर्ने त्यही सोमाली हावाले नेपालमा मनसुन भित्र्याउँछ।
मौसमविद्हरूका अनुसार मौसम परिवर्तनसँगै हावाको दिशामा आउने परिवर्तन मनसुन हो। त्यस्तो परिवर्तन साधरणतया समुद्रबाट जमिनतर्फ र जमिनबाट समुद्रतर्फ हुने गर्छ।
“मनसुन नेपालको हकमा दक्षिणपूर्वी हावा विशेषगरी नेपालको पूर्वी भागबाट प्रवेश गरेर पश्चिमसम्म पुग्ने गर्छ,” जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् शान्ति कँडेल भन्छिन्।
उनका अनुसार नेपालमा धेरैजसो मनसुन पूर्वबाट सुरु भएर पश्चिमतर्फ अघि बढ्दै जान्छ।
विभागका अनुसार नेपालमा औसतमा जुन १३ मा मनसुन सुरु भएर अक्टोबर २ सम्म सरदर ११२ दिन मनसुन रहन्छ।

तस्बिर स्रोत, ICIMOD/Reuters
सन् २०२३ मा मनसुन औसतभन्दा एक दिन ढिलो गरेर जुन १४ मा नेपाल प्रवेश गरेको थियो।
तर केही दिनमै देशका सबै भागमा मनसुनी वायुको प्रभाव फैलिएको विभागअन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाले जनायो।
हावाको दिशा कसरी परिवर्तन हुन्छ?
विशेषगरी मार्च, एप्रिल र मे महिनामा दक्षिण एशियाली क्षेत्रमा जमिन धेरै तात्छ।
छिटो तात्ने भए पनि जमिन छिटै सेलाउँछ।
तर जमिनसँग जोडिएका समुद्रहरू ढिलो तात्ने र ढिलै सेलाउने भएका कारण जमिन र समुद्रबीच हावाको ओहोरदोहोर भइरहन्छ।

तापक्रम उच्च भएका क्षेत्रमा हावाको चाप कम हुने भएका कारण कम तापक्रम भएका क्षेत्रबाट त्यसतर्फ हावा बग्न थाल्छ।
“जमिन धेरै तातेको हुनाले त्यहाँ न्यूनचापीय क्षेत्र बन्छ र चाप न्यून भएको कारणले अरबसागर वा बङ्गालको खाडीबाट त्यहाँ हावा आउँछ,” मौसमविद् कँडेल भन्छिन्।

तर नेपाल, भारत, भुटान र पाकिस्तानको उत्तरी भागमा हिमालय क्षेत्र रहेका कारण त्यसले दक्षिणबाट आएको आर्द्रतायुक्त हावा छेकिदिने भएकाले यहाँ वर्षा हुने कँडेल बताउँछिन्।
“हावा तिब्बततिर जान नपाएपछि उचाइमा पुगेर चिसिँदै जान्छ र पानीको मात्रा धेरै भएको हावा भएका कारण विभिन्न प्रक्रियामार्फत् पानीको कण बन्छ र त्यो कण वायुमण्डलमा थेगिन नसकेपछि बर्सातको रूपमा पानी बनेर जमिनमा आउने गर्छ,” उनी भन्छिन्।

मनसुन भित्रिने र बाहिरिने समयमा दक्षिण एशियाली देशहरूमा यसको प्रभाव देखिन्छ।
“भारतीय उपमहाद्वीपको क्षेत्रमा जमिनको पनि ठूलो भाग छ र समुद्रको भाग पनि ठूलो छ। संसारमा दुवै भाग यति ठूलो भएको क्षेत्र अर्को छैन,” त्रिभुवन विश्वविद्यालयस्थित जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक विनोद पोखरेल भन्छन्।
“त्यस कारणले गर्दा पनि दक्षिण एशियाली मनसुन मौलिक प्रकृतिको छ।"
मनसुनको न्यूनचापीय रेखाले यसको प्रभाव कुन क्षेत्रमा बढी र कुन क्षेत्रमा कम हुन्छ भन्ने निर्धारण गर्छ।
मौसमविद् कँडेलका अनुसार हिमाली क्षेत्रको नजिक न्यूनचापीय क्षेत्र रहेको अवस्थामा नेपालमा मनसुन सक्रिय हुने भारतमा मनसुन कमजोर हुने गर्छ। अनि न्यूनचापीय क्षेत्र भारतको बीचतिर रहेको अवस्थामा नेपालमा मनसुन कमजोर रहने गर्छ।

“सामान्य बुझाइमा मनसुन भित्रियो भनिन्छ। मनसुन भित्रिए पनि ११२ दिन नै पानी नपर्न सक्छ,” कँडेल भन्छिन्।
मनसुन भित्रिए पनि एक सातासम्म नेपालका पश्चिमी भूभागसम्म पुगेको थिएन।
मनसुन केले निम्त्याउँछ?
सहप्राध्यापक पोखरेलका अनुसार मनसुन सुरु हुँदा र अन्त्य हुँदा हावा झन्डै विपरीत दिशामा बग्न सुरु गर्छ।
हिउँदमा हुने हावाको दिशा परिवर्तन पनि मनसुनको परिभाषामा समेटिने भए पनि साधरणतया गर्मीमा समुद्रबाट जमिनतर्फ हावा बहने अवस्थालाई धेरैले मनसुन भन्ने गर्छन्।
“जमिन छिटो तात्ने र छिटो सेलाउने हुन्छ, तर समुद्र ढिलो तात्ने र ढिलै सेलाउने हुन्छ। त्यसले गर्दा जमिनमा तापक्रम बढी भएको समयमा हावाको ठूलो मात्रा समुद्रबाट जमिनतिर आउँछ। समुद्रबाट आउने हावामा बाफ धेरै हुने भएकाले आर्द्रता धेरै हुन्छ र त्यो चिसिएपछि पानी पर्छ,” उनले भने।
वर्षायाममा समुद्रबाट निरन्तर जमिनतर्फ पानी बोकेको हावा आपूर्ति हुने भएकाले त्यसलाई समर मनसुन भनिन्छ।
तर मनसुन हिउँदमा पनि हुन्छ।
“हिउँदमा चाहिँ पानी ढिलो सेलाउने भएकाले जमिनबाट समुद्रतर्फ हावा बहन्छ। जमिनबाट गएको हावामा आर्द्रता कम हुने भएकाले हिउँदमा कम वर्षा हुन्छ,” पोखरेल भन्छन्।
तर उनका अनुसार हिउँदमा पानी पार्ने अर्को प्रणाली छ। “हिउँदमा चाहिँ भूमध्य सागरबाट आउने हावा चाहिँ नेपालसम्म आएर पानी पर्छ,” उनी भन्छन्।
तर उनका अनुसार त्यो हावाले पनि पानी पार्ने सुनिश्चितता हुँदैन र त्यसले पानी पार्न निश्चित प्रक्रियाहरू पूरा गरेको हुनुपर्छ।

तस्बिर स्रोत, RSS
नेपालमा बर्खा ल्याउने सोमाली हावा
पृथ्वीको दक्षिणी गोलार्धमा र अफ्रिकाको दक्षिणपूर्वी तटनजिक रहेको हिन्द महासागरस्थित म्याडग्यास्कर टापुमा रहने उच्चचापीय क्षेत्र वर्षायाममा बिस्तारै उत्तरतर्फ अघि बढ्दै भूमध्यरेखामा पुग्ने र त्यसले उत्पन्न गर्ने दबावका कारण हावा उत्तरी गोलार्धमा पुगेर दायाँतर्फ अघि बढ्ने मौसमविद् कँडेल बताउँछिन्।
“त्यसको प्रभावले एक्वडरआसपास रहेका सोमालियालगायतका देशहरूमा ठूलो हावाहुरी चल्छ,” उनी भन्छिन्।
मनसुनको समयमा मात्रै विकास हुने यो हावालाई ‘सोमाली लो लेभल जेटस्ट्रिम’ नाम दिइएको छ।
त्यो भनेको उच्च गतिको हावा बहने क्षेत्र हो।
“त्यो हावा हिन्द महासागरमा आइपुग्छ र समुद्रमाथिबाट बहने हावा भएको कारण यो हावा जलवाष्पयुक्त हुन्छ,” कडेल भन्छिन्।
हिन्द महासागरमा आइपुगेपछि यो हावा दुई क्षेत्रमा बाँडिने मौसमविद्हरू बताउँछन्।

मनसुनका दुईवटा मार्ग
मौसमविद्हरूका अफ्रिका हुँदै हिन्द महासागरमा पुगेको हावाले नेपालमा दुईवटा बाटोबाट मनसुन भित्र्याउँछ।
उनीहरूका अनुसार नेपालमा मनसुनको धेरै भाग बङ्गालको खाडी हुँदै देशको दक्षिणपूर्वी क्षेत्रबाट भित्रिने गरेको छ। बाँकी भाग अरब सागर हुँदै भारतको गुजरातबाट प्रवेश गरेर नेपालको दक्षिणपश्चिमी क्षेत्रबाट नेपाल आइपुग्छ।
यसरी समुद्रबाट जमिनतर्फ आएको हावामा आर्द्रता अर्थात् पानीको मात्रा अत्यधिक हुने भएकाले यस्तो हावा चिसोमा पुग्नासाथ त्यसले वर्षा गराउँछ।
“आर्द्रतायुक्त हावा पहाडमा ठोक्किएर र जमिनको तापक्रमका कारण उचाइमा पुग्छ चिसो हुन्छ। हावा चिसो हुनासाथ त्यसमा रहेका पानीका कणहरू वर्षाको रूपमा जमिनमा झर्छन्,” सहप्राध्यापक पोखरेल भन्छन्।
“त्यो बादललाई पनि उचाइमा पुर्याउन पहाडले मद्दत गर्छ र पानी पर्छ।”
नेपालमा झन्डै ८० प्रतिशत पानी मनसुनमा पर्ने मौसमविद्हरू बताउँछन्। तर पश्चिम नेपालमा हिउँदमा पनि उल्लेख्य परिमाणमा पानी पर्छ। त्यहाँ बर्खायाममा पर्ने पानी ६५ प्रतिशत भएको मौसमविद्हरू बताउँछन्।

तस्बिर स्रोत, DHM Weather
माथिल्लो वायुमण्डलमा हावाको वेग
नेपालको मनसुनलाई वायुमण्डलको माथिल्लो भागमा रहेको हावाको पनि सहयोग हुन्छ।
'सब-ट्रपिकल वेस्टर्ली जेटस्ट्रीम' भनिने पश्चिमबाट पूर्वतर्फ बहने हावा र 'ट्रपिकल इस्टर्ली जेटस्ट्रीम' भनिने पूर्वबाट पश्चिमतर्फ बहने हावाले नेपालमा मनसुन निम्त्याउँछन्।
“सब-ट्रपिकल क्षेत्रमा पश्चिमबाट पूर्वतर्फ तीव्र गतिको हावा बहेको हुन्छ। यो चाहिँ माथिल्लो वायुमण्डलमा हुन्छ र यसलाई सब-ट्रपिकल वेस्टर्ली जेटस्ट्रीम भनिन्छ,” कँडेल भन्छिन्।
मनसुनको समयमा यो हावा नेपालबाट उत्तरतर्फ सरेको हुन्छ।
“उच्च वायुमण्डलमा ट्रपिकल ईस्टर्ली जेटस्ट्रीम पनि हुन्छ र यो नेपालभन्दा माथितर्फबाट तीव्र वेगको हावा भारतीय उपमहाद्वीपमा आएको हुन्छ,” उनी भन्छिन्।
“यी जेटस्ट्रीमहरूको पनि भूमिका हुन्छ, यी दुवै मनसुनको समयमा सक्रिय हुन्छन्।”

तस्बिर स्रोत, rss
मौसम पूर्वानुमान कसरी हुन्छ
मौसमको पूर्वानुमान गर्ने विधि त्यसको अवधिअनुसार फरक हुन्छ।
मनसुनको पूर्वानुमान हेर्न विश्वव्यापी मौसमी नमुना र क्षेत्रीय नमुनाहरूको अध्ययन गरिने मौसमविद् कँडेल बताउँछिन्।
त्यसअनुसार नेपालमा यो वर्ष औसतभन्दा कम वर्षा हुने र तापक्रम चाहिँ औसतभन्दा बढी हुने पूर्वानुमान छ।
स्थानीय मौसम पूर्वानुमानका लागि गणितीय विश्लेषण र स्थानीय अवस्था र वायुमण्डलको प्रणाली हेरेर पनि पूर्वानुमान गरिने मौसमविद् कँडेल बताउँछिन्।
उनका अनुसार अनुसन्धानमा अनुभवी मौसमविद्हरूको अनुभव पनि मौसम पूर्वानुमानमा उपयोगी हुन्छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








