यसपालि औसतभन्दा बढी वर्षा हुने पूर्वानुमानको आधार के

तस्बिर स्रोत, Getty Images
- Author, अशोक दाहाल
- Role, बीबीसी न्यूज नेपाली
जल तथा मौसम विज्ञान विभागले नेपालमा आगामी बर्खायाममा सरदरभन्दा ५५ प्रतिशतसम्म बढी वर्षा हुने आकलन गरेको छ।
विभागका अधिकारीहरूका अनुसार प्रशान्त महासागरमा विकसित हुने ‘ला नीन्या’ प्रणालीका कारण पनि यो वर्ष औसतभन्दा धेरै वर्षा हुने आकलन गरिएको छ।
देशका अधिकांश स्थानहरूमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको विभागको पूर्वानुमान छ।
“देशका अधिकांश ठाउँमा औसत वर्षा नै हुने सम्भावना छ तर गण्डकी प्रदेशमा यो वर्ष औसतभन्दा बढी वर्षा हुने देखिन्छ,” विभागकी उपमहानिर्देशक अर्चना श्रेष्ठले भनिन्।
विभागका अनुसार सुदूरपश्चिम प्रदेशको उत्तरपश्चिमी भूभाग, बागमती प्रदेशको दक्षिणपूर्वी भूभाग, मधेश प्रदेशको मध्य भूभाग र कोशी प्रदेशको मध्य तथा मध्यपश्चिमी भूभागमा भने यो वर्ष सरदर वर्षा हुने सम्भावना छ।
“प्रतिशतमा वर्षा बढी हुने देखिएका ठाउँमा औसतभन्दा बढी हुने सम्भावना हो. त्यो भनेको १० मिलिमिटर बढी पनि हुन सक्छ, १०० पनि हुन सक्छ।”

तस्बिर स्रोत, DHM
नेपालको पूर्वानुमानका लागि कहाँसम्मको प्रणाली हेर्नुपर्छ
नेपालको मौसम पूर्वानुमानका लागि आफ्नो देशभित्रको मात्रै बादल र हावाको गति हेरेर नपुग्ने मौसमविद्हरू बताउँछन्।
त्यसका लागि दक्षिण एशियाली देशहरूमाथि उडिरहेको बादलदेखि आन्ध्र तथा प्रशान्त महासागरमा चलिरहेको हावासम्मको अध्ययन हुने गरेको छ।
जल तथा मौसम विज्ञान विभागले नेपालको आगामी मनसुन ऋतुको हावापानी आकलनमा “ऋतुगत जलवायु विभिन्न सामुद्रिक, वायुमण्डलीय, भूमण्डलीय, हिममण्डलीय र जैविकीय प्रणालीमा निर्भर” रहने उल्लेख गरेको छ।
विभागका अनुसार नेपालको मनसुनी जलवायुमा पूर्वी प्रशान्त महासागरमा विकसित हुने 'एन्सो' अर्थात् 'एल नीन्यो' र 'सर्दन ओसिलेशन' तथा हिन्द महासागरमा विकसित हुने दुई ध्रुवीय प्रणाली पनि जिम्मेवार छन्।
आगामी मनसुन याममा प्रशान्त महासागरमा 'ला नीन्या' विकसित हुने पूर्वानुमानका आधारमा पनि यो वर्षको मनसुनमा नेपालमा औसतभन्दा बढी पानी पर्ने आकलन गरिएको छ।
तर त्यस्तो वर्षा झरीको रूपमा निरन्तर हुने भन्दा पनि कुनै समयमा ठूलो पानी पर्ने र कुनै समय पानी नपर्ने प्रवृत्तिबाट पनि हुन सक्ने विभागकी उपमहानिर्देशक श्रेष्ठ बताउँछिन्।
मौसम पूर्वानुमानमा नेपाल किन 'परनिर्भर'

तस्बिर स्रोत, DHM
मौसम पूर्वानुमान कुनै एउटा देशको मौसमी तथ्याङ्कका आधारमा मात्रै गर्न कठिन हुने भएका कारण संयुक्त राष्ट्रसङ्घीय विशेष निकाय विश्व मौसम सङ्गठनको समन्वयमा राष्ट्रहरूले यस्ता तथ्याङ्क आदानप्रदान र सार्वजनिक गर्ने गरेका छन्।
नेपालले पनि अन्य देशहरूले सार्वजनिक पहुँचमा राखेका मौसमी तथ्याङ्कका विवरणहरू आफ्नो मौसम पूर्वानुमानमा प्रयोग गर्ने गरेको छ।
विभागकी उपमहानिर्देशक श्रेष्ठ नेपालमा दक्ष जनशक्तिको अभाव र आवश्यक उपकरणको अभावमा मौसम पूर्वानुमानमा नेपाल परनिर्भर रहेको बताउँछिन्।
“मौसम पूर्वानुमानका अधिकांश काममा हामी परनिर्भर नै छौँ। तर कुनै पनि देशहरू यसमा आत्मनिर्भर हुँदैनन्। विश्व मौसम सङ्गठनबाट जानकारीहरू आदानप्रदान हुन्छ,” उनले भनिन्।
उनी नेपालले मौसम पूर्वानुमानमा 'ओपन सोर्स मोडल' अपनाउँदै आएको भए पनि आफ्नो भूगोल र मौसमी प्रणालीका लागि सबैभन्दा उपयुक्त मोडलको पहिचान हुन बाँकी नै रहेको बताउँछिन्।
दिल्ली र पाकिस्तान जाने मनसुनको बाटो नेपाल

तस्बिर स्रोत, RSS
त्रिभुवन विश्वविद्यालयमा मौसमसम्बन्धी अध्यापन गरिरहेका मणिरत्न शाक्य हिन्द महासागर हुँदै बङ्गालको खाडीबाट पश्चिमतर्फ बढ्ने मनसुनी प्रणाली नेपालको बाटो हुँदै भारतको उत्तरपश्चिमी क्षेत्र र पाकिस्तानसम्म पुग्ने बताउँछन्।
लामो समय मौसम विभागमा काम गरेका शाक्यका अनुसार पाकिस्तानभन्दा पश्चिममा भने उक्त प्रणालीले पानी पार्न सक्ने क्षमता गुमाइसकेको हुन्छ।
“त्यहाँभन्दा उता पनि हावा पुग्छ तर त्यसमा पानी पार्नका लागि चाहिने जलवाष्पको मात्रामा ह्रास आइसकेको हुन्छ,” शाक्य भन्छन्।
नेपालमा मौसमविद्हरूका अनुसार अफ्रिका हुँदै हिन्द महासागरमा पुगेको हावाले नेपालमा मनसुन भित्र्याउँछ।
उनीहरूका अनुसार नेपालमा मनसुनको धेरै भाग बङ्गालको खाडी हुँदै देशको दक्षिण पूर्वी क्षेत्रबाट भित्रिने गरेको छ।
यसरी समुद्रबाट जमिनतर्फ आएको हावामा आर्द्रता अर्थात् पानीको मात्रा अत्यधिक हुने भएकाले यस्तो हावा चिसोमा पुग्नासाथ त्यसले वर्षा गराउँछ।
बाढी पूर्वानुमान प्रविधि कस्तो छ

तस्बिर स्रोत, RSS
नेपालमा बाढीको पूर्वानुमान गर्ने प्रविधि र अभ्यास सीमित भएको मौसमविद्हरू बताउँछन्।
जल तथा मौसम विज्ञान विभागले बाढी आउन सक्ने तटीय क्षेत्रमा बस्ने मानिसहरूलाई उनीहरूको मोबाइलमा बाढीको पूर्वसूचनाबारे सन्देश पठाउँदै आएको छ।
तर त्यस्तो पूर्वानुमान नदीको माथिल्लो भागमा आएका बाढीको आधारमा मात्रै हुने गरेको छ।
“हामीसँग माथिल्लो क्षेत्रमा पानी परेको निगरानीका आधारमा दिइने पूर्वचेतावनी मात्रै प्रयोग भइरहेको छ। त्यो भनेको शिवपुरीमा अत्यधिक पानी पर्यो भने निश्चित समयपछि वाग्मतीमा बाढी आउँछ भनेर गरिने पूर्वानुमान हो,” जल तथा मौसम विज्ञान विभागकी उपमहानिर्देशक श्रेष्ठ भन्छिन्।
“पानी पर्नुअघि नै गर्न सकिने पूर्वानुमानका लागि धेरै काम गर्नुपर्ने अवस्थामा हामी छौँ।”
विकसित देशहरूमा भने निश्चित क्षेत्रमा जम्मा भएको वर्षा गराउन सक्ने बादलको अध्ययन गरेर बाढीको पूर्वानुमान हुने गरेको छ। त्यसलाई मौसमविद्हरूले ‘नाउ कास्टिङ’ प्रणालीबाट पूर्वानुमान गर्ने गरेका छन्।
यस्तो प्रविधिको सहयोगमा स्याटलाइट तस्बिरहरूको निगरानीका आधारमा दुई घण्टा अघिबाटै निश्चित क्षेत्रमा बाढीको पूर्वानुमान गर्न सकिने मौसमविद् मणिरत्न शाक्य बताउँछन्।
विपद्को आकलन कसरी गरिन्छ?

तस्बिर स्रोत, RSS
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हालै सार्वजनिक गरेको आगामी बर्खायामको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनामा यस वर्ष विपद्बाट करिब १८ लाख १ हजार जनसङ्ख्या र ४ लाख १२ हजार घरधुरी कुनै न कुनै रूपमा प्रभावित हुन सक्ने अनुमान गरिएको छ।
प्राधिकरणले मनसुनजन्य विपद्बाट ८३ हजार घरपरिवार प्रत्यक्ष प्रभावित हुन सक्ने र १८ हजार घर परिवारलाई मनसुनजन्य विपद्मा उद्धार तथा राहत दिनुपर्ने आकलन गरेको छ।
प्राधिकरणका अनुसार नेपालस्थित संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधिको कार्यालयको प्राविधिक सहयोगमा यस्तो आकलन तयार गरिन्छ।
“विगत ३०-४० वर्षदेखिका तथ्याङ्क हेरेर यस्तो विश्लेषण तयार गरिएको छ र हाम्रो भूगोलअनुसारको जनसङ्ख्याका आधारमा जल तथा मौसम विज्ञान विभागले कुनकुन स्थानमा बढी पानी पर्छ भनेर गरेको पूर्वानुमान गरेको छ। त्यो पूर्वानुमानलाई पनि एउटा आधार बनाइएको छ,” प्राधिकरणका प्रवक्ता डिजन भट्टराई भन्छन्।
प्राधिकरणले बाढीको जोखिम रहेका क्षेत्रबारे यसअघि गरेका अध्ययनबाट थाहा भएका विवरणका आधारमा पनि यस्तो आकलन तयार गरिएको जनाएको छ। प्राधिकरणले बाढीले क्षति पुर्याउन सक्ने बस्तीहरूको नक्साङ्कन पनि तयार गर्ने गरेको छ।
यसअघिका वर्षहरूमा गरिएका अनुमान र वास्तविक क्षतिका समेतका आधारमा यस्तो तथ्याङ्क तयार गरिएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








