सगरमाथा: सर्वोच्च शिखरमा जडित उपकरणबाट प्राप्त डेटा किन मौसम पूर्वानुमानमा प्रयोग हुन सकेन

मौसम मापन उपकरण

तस्बिर स्रोत, The Himalayan Times

    • Author, अशोक दाहाल
    • Role, बीबीसी न्यूज नेपाली

विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोनजिकै मौसमसम्बन्धी उपकरणहरू राखिए पनि तिनबाट प्राप्त हुने विवरण नेपालको मौसम पूर्वानुमानमा प्रयोग हुन नसकेको अधिकारीहरूले बताएका छन्।

सगरमाथाको चुचुरोनजिकै 'विशप रक' भनिने ८,८१० मिटर उचाइ र बाल्कोनी भनिने ८,४०० मिटर उचाइको क्षेत्रमा विभिन्न चरणमा मौसम मापनमा प्रयोग हुने उपकरणहरू स्थापना गरिएका छन्।

मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले त्यहाँ राखिएका उपकरहरूबाट प्राप्त विवरण मौसम पूर्वानुमानमा प्रयोग हुन नसकेको बताए।

"सगरमाथामा राखिएको भनिएको उपकरणबाट हामीले अहिले प्रत्यक्ष डेटा प्रयोग गरिरहेका छैनौँ। हामीले अरू विधिहरू डेटाहरू पाउने हो," उनले भने।

किन प्रयोग हुन सकेन डेटा

अमेरिकाको न्याश्नल जीओग्राफिक सोसाइटी र जल तथा विभागले संयुक्त रूपमा जडान गरेका यस्ता उपकरणहरूबाट न्याटजीओले र विभाग र त्रिभुवन विश्व विद्यालयको जल तथा मौसम केन्द्रीय विभागले नियमित विवरणहरू प्राप्त गर्छन्।

प्राविधिक कारणले ती विवरणहरू प्रशोधन र विश्लेषण गरेर नेपालको मौसम पूर्वानुमानमा प्रयोग गर्न नसकिएको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् सुवास तुलाधरले बताए।

"हामीसँग विवरण नै नआएको होइन। तर त्यसलाई मौसम पूर्वानुमानमा प्रयोग गर्न सकिने ढाँचामा ढाल्न सक्ने प्राविधिक प्रणालीमा समस्या भएको हो। यसलाई सकेसम्म छिट्टै समाधान गर्न प्रयत्न गरिरहेका छौँ," उनले भने।

भिडिओ क्याप्शन सुरु हुँदैछ, देशमा कतै बाढी आउने कुरा काठमाण्डूमा यसरी थाहा हुन्छ!

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका प्रमुख दीपक अर्याल यस्ता अत्याधुनिक उपकरणबाट प्राप्त हुने विवरण नेपालको मौसम पूर्वानुमानमा प्रयोग हुन नसक्नु दुःखद भएको बताउँछन्।

"सगरमाथाको ३,८०० देखि ८,८१० मिटर उचाइका बीच राखिएका उपकरणहरूबाट हामीले रीयल टाइम डेटा पाइरहेका पनि छौँ," अर्यालले भने।

"हामीले यस्ता परिष्कृत उपकरणबाट प्राप्त हुने विवरण मौसम पूर्वानुमानमा प्रयोगमा ल्याउन नसक्नु चाहिँ दुःखद हो।"

न्याटजीओ र फ्रान्सको आईआरडीसँग संयुक्त रूपमा सगरमाथा क्षेत्रमा १० वटा मौसम उपकरणहरू राखिएका छन्। चीनसँग सहकार्यमा पनि मौसम उपकरहरू राख्ने परियोजना अघि बढिरहेको अर्यालले जानकारी दिए।

उनले यस्ता विवरणहरूलाई मौसम पूर्वानुमानमा प्रयोगमा ल्याउन आवश्यक संयन्त्र निर्माणमा विभागले पनि पहल लिइरहेको बताए।

भिडिओ क्याप्शन सुरु हुँदैछ, यसरी गरियो सगरमाथाको नयाँ उचाइको घोषणा

पूर्वानुमान सहज हुने

नेपालको मौसम पूर्वानुमान 'रिमोट डेटा' भनिने भू-उपग्रहहरूबाट प्राप्त हुने विवरणहरूमा धेरै निर्भर रहेको अधिकारीहरू बताउँछन्।

तर मौसम विभागले विभिन्न उचाइमा राखिएका उपकरणहरूबाट प्राप्त हुने रीयल टाइम डेटा भरपर्दो मौसम पूर्वानुमानमा थप उपयोगी हुन सक्ने विज्ञहरू बताउँछन्।

विभाग आफैँले पनि ४,८०० सम्मको उचाइमा मौसम उपकरण राखेको तुलाधरले जानकारी दिए।

"यस्ता उपकरणहरूबाट प्राप्त हुने विवरण अन्त कतै पाइँदैन र हिमालय क्षेत्रको [मौसम] पूर्वानुमानमा निकै उपयोगी हुन्छ। थप उपकरण पनि जडान गरेपछि हामी सगरमाथा क्षेत्रमा हरेक मिनेटको मौसमसम्बन्धी जानकारी दिन सक्ने अवस्थामा हुन्छौँ," विभाग प्रमुख अर्यालले भने।

यस्ता उपकरणहरूबाट प्राप्त हुने विवरणहरू विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका विद्यार्थीहरूले अध्ययनका लागि पनि प्रयोग गरिरहेका छन्।

मौसम मापन उपकरण

तस्बिर स्रोत, GETTY IMAGES

तस्बिरको क्याप्शन, चिनियाँ टोलीले पनि तिब्बत तर्फको ८,८०० मिटरमा मौसमसम्बन्धी उपकरणहरू जडान गरेको छ

तर मौसम पूर्वानुमान महाशाखाका मौसमविद् पौडेलले पनि उचाइमा राखिएका उपकरणहरूले मौसम पूर्वानुमान सहज र भरपर्दो बनाउने बताए।

"उच्च भूभागमा हाम्रो स्टेशन कम छ किनभने यस्तो उपकरणबाट हाम्रो डेटा सञ्जालमा जोडेर रीयल टाइममा हेर्न पाएको खण्डमा के कस्तो भइरहेको छ भन्ने हेर्न र हिमाल आरोहण गर्नेहरूका लागि पनि उपयोगी हुन सक्छ," उनले भने।

समन्वयको अभाव

नेपालका विभिन्न उचाइमा राखिने मौसम उपकरण जडानमा समन्वयको अभाव हुने गरेको गुनासो मौसम पूर्वानुमान महाशाखाका मौसमविद्हरूको छ।

"कतिपय उपकरण कसले राख्यो कुन संस्थाबाट र के प्रयोजनका लागि राखियो कुनकुन प्यारामिटर मापन गर्नेगरी राखिएको छ र हिउँ मात्रै छ कि तापक्रम मात्रै छ कि के-के देखाउँछ त्यसले भन्ने कुरा हामीलाई पनि जानकारी हुँदैन," उनले भने।

"नेपालमा विभिन्न सरकारी र गैरसरकारी संस्थाहरूले आफ्नै अध्ययन प्रयोजनका लागि उस्तै किसिमका उपकरण राख्छन् तर समन्वय गर्ने र विवरण साझा गर्ने हो भने हामीलाई अझै सहज हुन्छ," पौडेल भन्छन्।

उचाइमा राखिएका कतिपय उपकरणहरू परियोजना सकिएसँगै अलपत्र हुने गरेका छन्।

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, सगरमाथाः 'मनास्लु बेस क्याम्पमुनि चिया बेच्थेँ, यो पटक आफैँ सगरमाथा चढेँ'