भारत चारधाम यात्रा: हिमाली भेगमा भक्ति, विकास र विनाशबीच कस्तो सम्बन्ध देखा परेको छ

चारधाम यात्रा

तस्बिर स्रोत, Getty Images

भारतको हिमालय क्षेत्रमा कैयौँ हिन्दू तीर्थस्थल अवस्थित छन् र तिनले बर्सेनि लाखौँ तीर्थयात्रीलाई आकर्षित गर्छन्।

ती क्षेत्रले वर्षौँदेखि कैयौँ प्राकृतिक विपद्को सामना गरिरहेको छ। त्यस क्रममा हजारौँको ज्यान पनि गइसकेको छ।

वातावरणवादीहरू कैयौँ शताब्दीदेखि जारी परम्परा र हिमालयलाई पनि बचाउनका लागि सन्तुलित दृष्टिकोण आवश्यक पर्ने बताउँछन्।

बीबीसीकी शरण्या हृषीकेशको रिपोर्ट:

सन् २०२१ मा धेरै वटा परियोजनाहरूको उद्घाटन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तरी राज्य उत्तराखण्डमा अर्को दशकमा विगत १०० वर्षको तुलनामा धेरै पर्यटकहरू आउने बताएका थिए।

त्यसको मुख्य श्रेय सङ्घीय र राज्य सरकारको जोडमा बन्ने मुख्य पूर्वाधारहरूलाई जाने उनको भनाइ थियो।

भारतमा केन्द्र र उत्तराखण्ड राज्य दुवैमा भारतीय जनता पार्टीको सरकार छ।

दुवै सरकारलाई उत्तराखण्डमा पूर्वाधार सञ्जाल विकास गर्ने कार्यका लागि बहुसङ्ख्यक हिन्दू समुदायको ठूलो समर्थन देखिन्छ।

उक्त राज्यमा धेरै हिमाली चुचुराहरू र हिमनदीहरू अवस्थित छन्। त्यहाँ हिन्दूका पवित्र तीर्थस्थलहरू पनि छन्।

हिन्दूका पवित्र तीर्थस्थलहरू

उक्त क्षेत्रमा केदारनाथ, बद्रीनाथ, यमुनोत्री र गङ्गोत्रीजस्ता मन्दिरहरू छन् भने उक्त राज्य हिमालयका चारधाम यात्राको हिस्सा पनि हो।

भारत प्रशासित कश्मीरमा अमरनाथ गुफा र वैष्णोदेवी मन्दिरसहित हिमालय क्षेत्रमा अन्य धेरै पुण्य स्थलहरू छन्।

सयौँ वर्षदेखि भक्तालुहरूले यी तीर्थस्थलहरूमा प्रार्थना गर्नका लागि कडा चिसो र दुर्लङ्घ्य पहाडी मार्गहरू पार गर्ने साहस देखाएका छन्।

कतिपय तीर्थस्थलमा त केही महिनाका लागि मात्र मार्गहरू खुल्ने गर्छन्।

विगतका दशकहरूमा ती क्षेत्रहरूमा पुग्ने श्रद्धालुहरूको सङ्ख्या ह्वात्तै बढेको छ।

चारधाम यात्रा

तस्बिर स्रोत, Getty Images

त्यसको मानिहरूको यात्रा गर्ने बानी र त्यस क्षेत्रमा यात्रालाई सहज बनाउने पूर्वाधारको विकास हुनु पनि एउटा आंशिक कारण हो।

तर विज्ञहरू बढ्दो सङ्ख्यालाई व्यवस्थापन गर्न विकास भएका पूर्वाधारका कारण नाजुक अवस्थाको त्यस क्षेत्रमा पारिस्थितिक सन्तुलनलाई असर परिरहेको बताउँछन्।

हिमालय क्षेत्र यसै पनि पहिरो र भूकम्पजस्ता प्राकृतिक विपद्‌को जोखिममा रहेको छ।

समाधान के?

विज्ञहरूको भनाइमा लामो समयदेखि जारी परम्परा जोडिएकाले कुनै पनि खालको प्रतिबन्ध समाधान हुन सक्दैन।

तर धार्मिक भावनालाई चोट नपुर्‍याईकन चाल्न सकिने कैयौँ कदमहरू रहेको विज्ञहरू बताउँछन्।

धार्मिक पर्यटन र सहरी योजनाबारे व्यापक रूपमा काम गरेका अस्ट्रेलियाको ला ट्रोब विश्वविद्यालयका वरिष्ठ लेक्चरर किरण शिन्दे भन्छन्, "यी नाजुक क्षेत्रहरूमा धेरै र बारम्बार हस्तक्षेप भएको छ।"

"पहिले दुर्गम क्षेत्रका गाउँलेहरूले एउटै सडकमा पहुँच पाउन वर्षौँ कुर्नुपर्थ्यो। अहिले त्यहाँ सुविधाहरूमा ठूलो विस्तार भएको छ। तर ती पूर्वाधारले अन्य राज्यमा जस्तो स्थानीय नागरिकलाई त्यति धेरै सुविधा दिँदैनन्।"

ठूला धार्मिक जमघटको प्रबन्ध गर्नु निकै कठिन कार्य हो।

तर भारतमा चार राज्यहरूमा आयोजित कुम्भ मेलाजस्ता सफल उदाहरणहरू पनि छन्।

चारधाम यात्रा

तस्बिर स्रोत, Getty Images

जोखिमपूर्ण पहाडी क्षेत्रका समस्याहरू भने विविध र धेरै गुणा बढी हुन्छन्।

महत्त्वाकाङ्क्षी चारधाम फराकिलो सडक परियोजनालगायत यस क्षेत्रका धेरै पूर्वाधारसम्बन्धी पहलहरूलाई वातावरणविद् र स्थानीय बासिन्दाले पारिस्थितिक आधारमा चुनौती दिएका छन्।

विज्ञको निराशा

सर्वोच्च अदालतले चारधाम आयोजनाको चिन्ताबारे छानबिन गर्न गठन गराएको समितिमा अध्यक्षता गरेका वरिष्ठ वातावरणविद् रवि चोपडाले फेब्रुअरीमा राजीनामा दिएका थिए।

उनले एउटा पत्रमा आफू सर्वोच्च अदालतको एउटा आदेशबाट "निराश" बनेको लेखेका थिए।

उक्त आदेशले एउटा समूहले प्रस्ताव गरेको सडकको चौडाइसम्बन्धी सिफारिसलाई बेवास्ता गरेको उनको भनाइ थियो।

"दिगो विकासले भूगर्भ र पारिस्थितिकै दुवै हिसाबले राम्रो दृष्टिकोणको माग गर्छ... [समिति] को एक सदस्यको रूपमा मैले एकपटक अखण्ड हिमालयको अपमान गरेको नजिकबाट देखेको छु," उनले त्यसमा लेखेका छन्।

त्यसबाहेक त्यहाँ अन्य खाले चिन्ता पनि छन्।

चारधाम यात्रा

तस्बिर स्रोत, Getty Images

सन् २०२१ को फेब्रुअरीमा उत्तराखण्डमा २०० भन्दा बढी व्यक्तिको मृत्यु भएको बाढीको प्रकोपको अध्ययन गर्ने अनुसन्धानकर्ताहरूको टोलीले एक प्रतिवेदनमा बढ्दो तापक्रमले हिमालयमा चट्टान खस्ने प्रवृत्ति बढिरहेको उल्लेख छ। त्यसले खतरा बढाउन सक्छ।

धेरै देशहरूले जस्तै भारतले पनि बारम्बार चरम मौसमी घटनाहरूको सामना गरिरहेको छ।

त्यसलाई केही अध्ययनहरूले आंशिक रूपमा जलवायु परिवर्तनका कारण भनेका छन्।

यसै महिनाको सुरुमा अमरनाथ गुफा नजिकैको अस्थायी शिविरमा आएको पहिरोले कम्तीमा १६ तीर्थयात्रीको मृत्यु भएको थियो।

विपद्‌का घटना

सन् २०१३ मा केदारनाथ सहर विनाशकारी बाढीबाट प्रभावित भएको थियो।

भारी मनसुनी वर्षाको कारणले गर्दा आएको उक्त बाढीमा हजारौँ मानिसहरू बगेका थिए।

तर त्यस्तो पीडादायी सम्झना हुँदाहुँदै पनि तीर्थयात्रीहरूलाई उक्त तीर्थस्थलको भ्रमण गर्नबाट रोकेको छैन।

त्यहाँ यो मौसममा मात्र २०१९ को १० लाख आगन्तुकहरूको कीर्तिमान् तोडिने अधिकारीहरूको अनुमान छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, पानीको दुःख भएपछि टुक्रिएको एउटा हिमाली गाउँ

निश्चित रूपमा यी पर्यटकहरू राज्य सरकारका लागि आम्दानीका स्रोत हुन्। त्यसले तीर्थयात्रीलाई कम गर्नेबारे कडा कदमहरू चाल्नलाई निरुत्साहित गर्छ।

शिन्देका भनाइमा धार्मिक पर्यटनको नतिजालाई सम्बोधन गर्ने क्रममा प्राय: "संस्थागत शून्यता"को स्थिति देखिन्छ।

पहुँच विस्तारले देशभरि र विदेशका धेरै मानिसलाई यी पवित्र तीर्थस्थलको भ्रमण गर्न सहज बनाएको छ। तर विज्ञहरू यो प्रक्रियालाई "आधारभूत रूपमा पुनर्विचार" गर्नु आवश्यक रहेको बताउँछन्।