भारत: अमरनाथ गुफानजिकै अचानक ठूलो वर्षा, '१६ जनाको मृत्यु'

भारत

तस्बिर स्रोत, Twitter/@JmuKmrPolice

भारतमा अमरनाथ गुफा नजिकै शुक्रवार अचानक ठूलो वर्षा हुँदा कम्तीमा १६ जनाको मृत्यु हुनुका साथै ३० देखि ४० जना हराइरहेको अधिकारीहरूले बताएका छन्। 

शुक्रवार साँझ जम्मुकश्मीरमा पर्ने हिन्दू धार्मिक स्थलका रूपमा रहेको उक्त गुफामुनि अचानक भएको भारी वर्षासँगै सिर्जित विपद्पछि सुरु भएको उद्धारकार्य अझै जारी छ।

भारतका राष्ट्रपति रामनाथ कोविन्द र प्रधानमन्त्री नरेन्द्र मोदीले 'बादल फाटेको' उक्त घटनाप्रति दुःख व्यक्त गरेका छन्। 

उद्धार कार्यमा खटिएको इन्डो-तिब्बटन बोर्डर पुलिसका प्रवक्ता विवेककुमार पाण्डेले शनिवार ३०-४० जना मानिसहरू हराइरहेको सूचना आफूहरूलाई स्थानीय प्रशासनले दिएको बताएका छन्। 

घटनाबारे अहिलेसम्म के थाहा छ? 

यसअघि शुक्रवार भारतको राष्ट्रिय आपद् मोचन बल एनडीआरएफका प्रमुखले आफूहरूले पानीको बहाव कम हुने अवस्थाको आशा राखे तापनि "जस्तोसुकै परिस्थितिको लागि तयार रहेको" बताएका थिए। 

जम्मुकश्मीर प्रहरीले अचानक आएको भारी वर्षाका कारण मानिसहरूको लस्कर र टेन्ट अचानक बाढीको चपेटामा परेको जनाएको छ। 

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

जम्मुकश्मीरका पूर्व मुख्यमन्त्री फारूक अब्दुल्लाहले 'त्यस्तो जोखिमपूर्ण ठाउँमा के आधारमा टेन्ट लगाइयो' भन्दै छानबिन माग गरेका छन्।

समाचार संस्था एएनआईसँग उनले भने, "त्यहाँ टेन्ट लगाइएको यो पहिलो पटक हो। यो एउटा मानवीय भुल हुनसक्छ। यस्तो कसरी भयो भनेर सरकारले बताउनुपर्छ।"

अल इन्डिया रेडियोले पदयात्रा मार्गमा अब कोही यात्रु बाँकी नरहेको जनाएको छ। 

त्यस क्षेत्रबाट १५ हजार मानिसहरूलाई सुरक्षित ठाउँमा सारिएको उसले जनाएको छ।