पदच्युत इरानी राजाका निर्वासित छोरा रेजा पह्लवी को हुन्?

पदच्युत इरानी राजाका निर्वासित छोरा रेजा पह्लवी

तस्बिर स्रोत, AFP

    • Author, बीबीसी न्यूज पर्सिअन

इरानमा राजनीतिक प्रदर्शनहरूको लहर चलिरहँदा देशका अन्तिम राजाका छोरा रेजा पह्लवीले इरानभरि एउटा ठूलो प्रदर्शन आह्वान गरेका छन्।

सन् १९७९ मा इस्लामिक विद्रोहले पदच्युत गरेका राजाका जेठा छोराले सामाजिक सञ्जालमार्फत् एउटा सन्देश जारी गर्दै पछिल्ला प्रदर्शनहरूमा मानिसहरूको उपस्थिति "अभूतपूर्व" रहेको बताएका छन्। उनले इरानको "सत्ता धेरै नै आत्तिएको" र प्रदर्शन रोक्न "फेरि पनि इन्टरनेट बन्द गर्ने प्रयास गरिरहेको" उल्लेख गरेका छन्।

यो अवस्थामा देशको भविष्य निर्धारणमा आफ्नो भूमिका खोजिरहेका पूर्वराजकुमारबारे हामीलाई केके थाहा छ त?

सन् १०७९को क्रान्तिले आफ्ना बुवाको नेतृत्वमा रहेको राजतन्त्र अन्त्य गर्दा सानैबाट इरानको राजगद्दी सम्हाल्ने गरी हुर्काइएका रेजा पह्लवी संयुक्त राज्य अमेरिकामा लडाकु विमानको तालिम लिइरहेका थिए।

कुनै समय पश्चिमा देशहरूको साथ पाएका उनका बुवा मोहम्मद रेजा शाह पह्लवीले पदच्युत भएपछि अर्को देशमा शरण पाउन पनि सङ्घर्ष गर्नुपर्‍यो। क्यान्सरसँग सङ्घर्ष गर्दा गर्दै उनले इजिप्टमा प्राण गुमाए।

आफ्ना बुवाजस्तै रेजाले पनि बाहिरबाटै आफ्ना देशमा भइरहेका गतिविधि नियालिरहेका थिए। अचानक सत्ता गुम्दा युवावस्थामै रहेका राजकुमारको परिवार राज्यविहीन बन्यो। निर्वासनमा उनीहरू सानो सङ्ख्यामा रहेका राजतन्त्र पक्षधर जनता र शुभचिन्तकहरूमा मात्र भर परे।

त्यो दशक यो राजपरिवारका लागि एकपछि अर्को दुःदख अवधि रह्यो। उनका भाइ र बहिनी दुवै जनाले आत्महत्या गरे। कैयौँका बुझाइमा इतिहासमा सीमित बनिसकेको राजतन्त्रको साङ्केतिक नेतृत्व उनको काँधमा आइपुग्यो।

अहिले ६५ वर्ष पुगेका रेजा पह्लवी देशको भविष्य निर्माणमा आफ्नो भूमिका खोजिरहेका छन्।

अमेरिकाको राजधानी वाशिङ्टन डीसीको केही बाहिरी भागको शान्त ठाउँमा बस्ने पह्लवीलाई उनका समर्थकहरूले सहजै भेट्न सकिने र साधारण जीवनशैलीका व्यक्ति ठान्छन्। उनी स्थानीय क्षेत्रमा रहेका क्याफेहरूमा पनि स्पष्ट सुरक्षा व्यवस्थाबिना आफ्नी श्रीमती यस्मिनसँग नियमित गइरहेका भेटिन्छन्।

सन् २०२२ मा एक जना बाटोमा हिँडिरहेका व्यक्तिले इरानको 'आन्दोलनको नेताको रूपमा आफूलाई हेर्नुहुन्छ' भनेर सोधेको प्रश्नमा यस्मिन र उनकी श्रीमतीले एकैस्वरमा जबाफ दिएका थिए- "परिवर्तन त्यहीँभित्रबाट आउनुपर्छ।"

एउटा मोड

पछिल्ला वर्षहरूमा उनी अनि अलि मुखर देखिन्छन्। सन् २०२५ मा इजरेली हवाई आक्रमणमा इरानका कैयौँ वरिष्ठ जेनरलहरू मारिएपछि उनले प्यारिसमा पत्रकार सम्मेलन गर्दै केही गरी इस्लामिक गणतन्त्र ढलेको अवस्थामा सङ्क्रमणकालीन सरकारको नेतृत्व गर्न आफू तयार रहेको बताएका थिए।

त्यसयता उनले अन्तरिम सरकारले १०० दिनमा गर्ने कामको प्रारूप समेत तयार गरिसकेका छन्।

पह्लवीले आफ्ना पिताले छोडेका "अधुरा लक्ष्य" पूरा गर्न निर्वासनमा रहँदा आफूले पाठ सिकिसकेको बताउँदै आएका छन्।

"त्यो विगत फर्काउने होइन," प्यारिसमा पत्रकारहरूसँग उनले भने। "त्यो इरानीहरूका लागि प्रजातान्त्रिक भविष्य सुनिश्चित गर्ने हो।"

राजकीय हुर्काइ

सन् १९६७ मा तेहरानमा आफ्ना पिताको राज्यारोहणका बेला (दायाँतिरको कुर्सीमा बसाइएका) रेजा पह्लवी

तस्बिर स्रोत, UPI/Bettmann Archive/Getty Images

तस्बिरको क्याप्शन, सन् १९६७ मा तेहरानमा आफ्ना पिताको राज्यारोहणका बेला (दायाँतिरको कुर्सीमा बसाइएका) रेजा पह्लवी

सन् १९६० अक्टोबरमा तेहरानमा जन्मिएका पह्लवी उनका पिताको तेस्रो विवाहबाट जन्मिएका पहिलो छोरा हुन्। अघिल्ला दुई वटा विवाहबाट पुरुष उत्तराधिकारीको जन्म नभएको भन्दै उनका पिताले तेस्रो विवाह गरेका थिए।

उनी विशेष हेरचाहमा हुर्किए। उनले निजी शिक्षकहरूबाट शिक्षा लिए र कलिलै उमेरदेखि राजतन्त्रको प्रतिरक्षा गर्ने प्रशिक्षण पाए।

लडाकु विमान पाइलटको तालिम लिन १७ वर्षकै उमेरमा उनलाई अमेरिकाको टेक्सस पठाइयो। तालिम सकेर सेवा गर्न फर्कनुअघि नै क्रान्तिले उनका बुवाको सत्ता ढालिदियो।

त्यसयता पह्लवी अमेरिकामै बस्दै आएका छन्। उनले राजनीतिशास्त्रको अध्ययन गरे, इरानी मूलकी अमेरिकी वकिल यस्मिनसँग त्यहीँ विवाह गरे र नूर, इमान र फराह नाम गरेका तीन जना छोरीहरू पनि हुर्काए।

विभाजित विरासत

निर्वासनमा रहेका पह्लवी राजतन्त्र पक्षधरहरूका लागि एक बलियो प्रतीक हुन्। धेरैले उनका बाबुको शासनको समयलाई तीव्र आधुनिकीकरण र पश्चिमासँगको निकट सम्बन्धका कारण स्मरण गर्छन्।

अरू केही चाहिँ 'सेन्सरशिप' र 'सबक' नामको गुप्त प्रहरी प्रयोग गरेर असन्तुष्ट आवाज दबाउन खोजिएको त्रासका लागि पनि त्यो समय सम्झन्छन्।

पछिल्ला वर्षहरूमा उनको लोकप्रियतामा निकै उतारचढाव आएको छ। सन् १९८० मा उनले काइरोमा साङ्केतिक राज्यारोहण गरेर आफूलाई 'शाह' घोषणा गरे।

यद्यपि त्यसको एकदमै न्यून मात्रै व्यावहारिक प्रभाव पर्‍यो। कतिपय विपक्षीले त्यसले प्रजातान्त्रिक सुधारको उनको अहिलेको सन्देशलाई अवमूल्यन गरेको बताएका छन्।

उनले विपक्षी दलहरूको गठबन्धन बनाउने कैयौँ प्रयासहरू पनि नगरेका होइनन्। सन् २०१३मा स्थापना भएको न्याश्नल काउन्सिल अफ इरान फर फ्री इलेक्शन्स पनि त्यस्तै प्रयास थियो। तर अधिकांश त्यस्ता शक्तिहरू आन्तरिक विवाद र इरानभित्रै सीमित पहुँचका कारण स्थापित हुन सकेनन्।

निर्वासनमा रहेका कतिपय अन्य समूहको जस्तो हिंसाको बाटो पह्लवीले सधैँ अस्वीकार गरे। अनि उनले मुजाहिद्दीन-ए-खल्क (एमईके) जस्ता सशस्त्र समूहबाट आफूलाई टाढै राखे।

उनले शान्तिपूर्ण रूपान्तरणका लागि बारम्बार आग्रह गरिरहेका छन्। अनि इरानको भावी राजनीतिक प्रणालीबारे निर्णयका लागि जनमतसङ्ग्रह गर्नुपर्ने उनको माग छ।

विदेशमा पनि विवाद

सन् २०२३ मा इजरेल भ्रमणका क्रममा त्यहाँकी एक मन्त्री गिला ग्याम्लिअलसँग रेजा पह्लवी

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock

तस्बिरको क्याप्शन, सन् २०२३ मा इजरेल भ्रमणका क्रममा त्यहाँकी एक मन्त्री गिला ग्याम्लिअलसँग रेजा पह्लवी

पछिल्ला वर्षहरूमा पह्लवी पुनः चर्चाको विषय बने। सन् २०१७मा इरानको सरकारविरोधी एउटा प्रदर्शनमा उनका हजुरबुवासँग जोडिएको "रेजा शाह, तिम्रो आत्माले आशिर्वाद पाओस्" भन्ने नारा लगाइयो।

सन् २०२२ मा प्रहरीको हिरासतमा महसा अमिनीको मृत्यु भएपछि चर्किएको देशव्यापी प्रदर्शनमा पनि उनीप्रति सञ्चारमाध्यमको ध्यान केन्द्रित भयो।

इरानका छरिएका विपक्षीहरूलाई एकत्रित गर्ने उनको प्रयासले पनि अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरूलाई सचेत गरायो। तर उनले त्यसलाई गति दिन सकेनन्।

उनका आलोचकहरू चार दशक देशबाहिर रहँदा पनि उनले एउटा दिगो संस्था वा स्वतन्त्र सञ्चारमाध्यम बनाउन नसकेको बताउँछन्।

सन् २०२३ मा उनको विवादास्पद इजरेल भ्रमणले पनि मानिसहरूको धारणा थप विभाजित बन्यो। पह्लवीले त्यहाँ 'होलोकस्ट' स्मृतिसभामा सहभागिता जनाएर प्रधानमन्त्री बेन्जमिन नेतन्याहूसँग पनि भेट गरेका थिए।

कतिपय इरानीले भने यसलाई सम्पर्क स्थापित गर्ने व्यावहारिक बाटोको रूपमा लिए भने बाँकीले इरानका मुस्लिम र अरब सहयोगी देशहरूलाई चित्त दुखाउने कदम भने।

पछिल्लो पटक इजरेलले इरानभित्र हवाई हमला गरेपछि उनले सबैभन्दा कठिन प्रश्नहरूको सामना गर्नुपर्‍यो।

बीबीसीकी लाउरा कून्स्बर्गसँगको अन्तर्वार्तामा उनलाई 'सर्वसाधारणको ज्यान जोखिममा पर्ने गरी इजरेलबाट भएको आक्रमणको उनले समर्थन गर्छन्?' भनेर सोधिएको थियो।

उनले त्यसको जबाफमा सर्वसाधारण इरानीहरू आक्रमणको निसानामा नरहेको र "त्यहाँको सत्तालाई कमजोर बनाउने कुनै पनि कुरा"लाई इरानमा धेरैले स्वागत गर्ने बताएका थिए। उनको त्यो अभिव्यक्तिले ठूलो बहस निम्त्यायो।

अलिखित भविष्य

हिजोआज पह्लवी आफूलाई भावी राजाका रूपमा प्रस्तुत गर्दैनन्। बरू उनी आफूलाई राष्ट्रिय मेलमिलापको प्रतिमूर्तिका रूपमा देखाउँछन्।

इरानलाई स्वतन्त्र निर्वाचन, कानुनी शासन र महिलाहरूलाई समान अधिकार दिलाउनेतर्फ आफूले बाटो देखाउने उनले बताउँदै आएका छन्। उनले राजतन्त्र फर्काउने वा गणतन्त्र नै कायम राख्ने निर्णय देशव्यापी मतदानबाट टुङ्गो लगाइनुपर्ने बताएका छन्।

समर्थकहरू उनलाई परिचित र शान्तिपूर्ण रूपान्तरणप्रति प्रतिबद्ध एक मात्रै प्रतिपक्षी व्यक्तित्वमा रूपमा लिन्छन्। तर उनका आलोचकहरू पह्लवी विदेशी समर्थनमा अति निर्भर रहेको भन्दै दशकौँको राजनीतिक उतारचढावबाट थकित इरानीहरूले निर्वासित नेतालाई विश्वास गर्नेमा प्रश्न गर्छन्।

इरानको सरकारले उनलाई खतराको रूपमा प्रस्तुत गरिरहे पनि राजनीतिक स्थान र भरपर्दो चुनावबिना उनको वास्तविक समर्थन चाहिँ कति छ भनेर मापन गर्न सम्भव छैन।

केही इरानीहरू उनको परिवारलाई अझैसम्म श्रद्धा गर्छन्। तर अरू इरानीहरू एक अनिर्वाचित शासकलाई लोकतन्त्रको भेषमा आएका अर्का अनिर्वाचित शासकबाट प्रतिस्थापन गर्ने कुराप्रति डर मान्छन्।

पह्लवीका पिताको शव काइरोमै गाडिएको छ। राजावादीहरूले प्रतीकात्मक रूपमा भए पनि त्यो एक दिन इरान फर्कने आशा गरेका छन्।

निर्वासनमा रहेका राजकुमारले त्यो दिन अथवा स्वतन्त्र इरान देख्न पाउँछन् या पाउँदैनन्, आफ्नो विगतसँगै सङ्घर्ष गरिरहेको देशका लागि यो पनि अनुत्तरित प्रश्नमध्येको एक प्रश्न हो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।