'आशा र कठिनाइ' को बीचमा बितेको इरानी राष्ट्रपतिको पहिलो वर्ष

मसुद पेजेस्कियान

तस्बिर स्रोत, Atta Kenare / AFP via Getty Images

    • Author, आइदन सालेही
    • Role, बीबीसी विश्व सेवा

पदको शपथ लिएको भोलिपल्ट सन् २०२४ को जुलाईमा इरानको राष्ट्रपति भवनमा पाइला राख्दै गर्दा मसुद पेजेस्कियानले एउटा सङ्कटग्रस्त राज्यको उच्च पदमा मात्रै नभई विरासतमा प्राप्त धेरै कुराका साथ सोझै राजनीतिक भद्रगोलमा प्रवेश गर्नु परेको थियो।

शपथ ग्रहण समारोह सम्पन्न भएको केही घण्टामै इजरेली हवाई हमलामा इरानका महत्त्वपूर्ण पाहुना तथा हमास नेता इस्माइल हानिया मारिएको खबर फैलियो।

गाजामा नभई तेहरानकै मुटुमा उक्त घटना भएको थियो। इरान आर्थिक, हातहतियार तथा राजनीतिक हिसाबले इतिहासदेखि नै हमासको ठूलो समर्थक रहँदै आएको थियो।

उक्त हत्याको घटनाले पूरै क्षेत्रलाई स्तब्ध पार्नुका साथै सङ्क्रमण सहज हुने भ्रमलाई पनि चकनाचुर पारिदियो।

यो इस्लामवादी गणतन्त्रको इतिहासकै सबैभन्दा अशान्त वर्षहरूमध्ये एउटाको नाटकीय सुरुवात थियो।

हानिया (बायाँ) र इरानी राष्ट्रपति पेजेस्कियान

तस्बिर स्रोत, Iranian Presidency handout via Getty Images

तस्बिरको क्याप्शन, हानिया (बायाँ) इरानी राष्ट्रपतिको सत्ता आरोहण समारोहका निम्ति इरानमा थिए र उनी बसेको भवनमा इजरेलले गरेको हमलामा परी मारिए

आशादेखि कठिनाइसम्म

पेजेस्कियान एउटा राष्ट्रिय आघातपश्चात् सत्तामा आए। उनका पूर्ववर्ती कट्टरपन्थी राष्ट्रपति इब्राहिम रइसी एउटा हेलिकप्टर दुर्घटनामा परी मारिएका थिए। उक्त घटनामा इरानका विदेशमन्त्रीको पनि ज्यान गएको थियो। उक्त असाधारण घटनाले देशलाई केही सातामै आकस्मिक चुनावतर्फ धकेल्यो।

छोटो अवधिमै भएको उक्त चुनावमा मुटुका शल्यचिकित्सक तथा पूर्वमन्त्री अनि संसद्‌का सदस्य पेजेस्कियानले विजय हासिल गरे।

तेहरानमा सन् २०२५ को अप्रिलमा आयोजित राष्ट्रिय सेना दिवसको समारोहमा इरानी राष्ट्रपति मसुद पेजेस्कियान (दायाँ)

तस्बिर स्रोत, Majid Saeedi / Getty Images

उनको नरम स्वर, सामाजिक रोक तथा हिजाब लागु गर्नेबारे नरम रबैया अनि पश्चिमाहरूसँग टक्कर लिनुको साटो संवाद गर्ने वाचाले प्रतिबन्धहरूबाट हैरान भएको देशका निम्ति आशाको किरणको काम गर्‍यो।

तर उनी पदमा आएको केही महिनामै इजरेलले विनाशकारी हमालाहरूको लहर नै सुरु गर्‍यो र त्यसलगत्तै अमेरिकाले पनि इरानका पारमाणविक केन्द्रहरूमा हमला गर्‍यो। पहिल्यैदेखि कमजोर अर्थतन्त्र झनै धरमराउन पुग्यो। देशैभर ऊर्जा र पानीको अभाव देखा पर्‍यो।

त्यसले सन् २०२४ को गर्मीताका पलाएको आशामा गहिरो तुषारापात गरिदियो।

मसुद पेजेस्कियान

तस्बिर स्रोत, AFP via Getty Images)

राष्ट्रपति पेजेस्कियान (बीचमा)

तस्बिर स्रोत, Majid Saeedi / Getty Images

तस्बिरको क्याप्शन, राष्ट्रपति पेजेस्कियानले कूटनीतिक माध्यमबाट इरानमाथिको दबाव घटाउने वाचा गर्दै पद सम्हालेका थिए

कहाँ कुरा बिग्रियो?

यसको सङ्क्षिप्त उत्तर हो : इरानमा उनले सरकार त चलाए तर शासन गरेनन्।

अन्य देशभन्दा विपरीत कुरा के हो भने इरानमा राष्ट्रपति देशको सबैभन्दा शक्तिशाली व्यक्ति होइनन्। इस्लामवादी गणतान्त्रिक संविधानका अनुसार सत्ताको वास्तविक शक्ति सर्वोच्च नेतामा निहित हुन्छ। सन् १९८९ देखि उक्त पदमा अयातोल्लाह अली खामेनेई आसीन छन् र उनले सेना, न्यायपालिका, गुप्तचर निकाय र महत्त्वपूर्ण रूपमा विदेश नीतिमाथि समेत व्यापक नियन्त्रण राख्दछन्।

भलै पेजेस्कियानले राष्ट्रपतीय चुनाव जितेका हुन् तर उनको शक्ति सधैँ उक्त प्रणालीका अनिर्वाचित शक्तिहरूद्वारा सीमित गरिएको हुन्छ र ती भनेका रेभलूशनरी गार्डस्, गार्डियन काउन्सिल र सर्वोच्च नेताको कार्यालय हुन्।

यहाँसम्म कि मन्त्रिपरिषद्को छनौटका निम्ति समेत उनलाई माथिको मौन सहमतिको खाँचो पर्छ। जहाँसम्म कूटनीतिको कुरा छ, चाहे त्यो पारमाणविक कार्यक्रमबारे वा क्षेत्रीय तनावबारे चर्चा गर्दा होस्, पेजेस्कियान प्राय: निर्णयकर्ता भन्दा पनि अन्तै कतै तयार पारिएका कुराहरू प्रस्तुत गर्ने प्रवक्ता जसरी देखा पर्छन्।

खामेनेई

तस्बिर स्रोत, Majid Saeedi / Getty Images

तस्बिरको क्याप्शन, खामेनेई सन् १९८९ देखि इरानको सर्वोच्च नेताका रूपमा छन् र सेना, न्यायपालिका, गुप्तचर निकाय र विदेश नीतिमाथि अन्तिम प्राधिकार राख्छन्

अधिक महत्त्व राख्ने अन्य चुनाव

इरानमा एउटा ठट्टा प्रचलित छ : "हामीलाई अमेरिकाको चुनावमा भाग लिन दिइनुपर्ने हो– हामी नै त हौँ, जसले त्यसको नतिजा भोग्छौँ।"

सन् २०२४ को नोभेम्बरमा अमेरिकी राष्ट्रपतिका रूपमा डोनल्ड ट्रम्प ह्वाइट हाउस फर्किँदा उक्त भावना झनै प्रबल भयो र त्यसलाई धेरै मानिसहरूले तेहरानका निम्ति सबैभन्दा खराब स्थितिका रूपमा हेरे।

ट्रम्पको पहिलो कार्यकालले नै अमेरिका र इरानबीचको सम्बन्धलाई खतराको सङ्घारमा पुर्‍याइसकेको थियो किनकि निकै मेहनतले तय गरिएको परमाणु सम्झौताबाट एकतर्फी रूपमा हात झिक्नुका साथै ट्रम्पले कठोर प्रतिबन्ध मात्रै लगाएनन् इरानमा सबैभन्दा शक्तिशाली सैन्य अधिकारीमध्येका जेनरल कासिम सुलेमानीको ज्यान लिन निर्देशन समेत दिएका थिए।

ट्रम्पको पुरागमन सङ्कटको सङ्केत थियो र इरानलाई त्यो थाहा थियो।

त्यसलगत्तै इजरेलले गाजाको हमास, लेबननको हिज्बुल्लाह र यमनका हूथीजस्ता इरानका क्षेत्रीय सहयोगीमाथिको सैन्य कारबाही तीव्र पार्‍यो। त्यसपछिका वर्षदिनसम्म तनाव चुलिँदै गयो। पेजेस्कियानका निम्ति यो सबैभन्दा खराब समय थियो – एक जना नरमपन्थी राष्ट्रपति जटिल समस्यामा फसेका थिए र उनीसँग स्थितिलाई बदल्ने लगभग कुनै उपाय थिएन।

'तपाईँ जेलेन्स्की होइन'

इजरेलसँग १२ दिनसम्म चलेको युद्धमा गरेका कार्यले उनीप्रतिको जनताको मोह झनै भङ्ग भयो। इतिहासमै पहिलोपटक इजरेलले इरानी भूमिमा ठूलो स्तरको हमला गरेसँगै सन् २०२५ को १३ जुनमा सङ्घर्ष सुरु भयो। इरानका कैयौँ सहर भीषण हमलाको चपेटामा परे र परिणामस्वरूप ठूलो सङ्ख्यामा मानिसहरू हताहत भए।

सङ्कटका समयमा बाटो देखाउने नेताका रूपमा आफ्नो छवि बनाउन पेजेस्कियान विफल भए। सहरहरूमा हमला हुँदै गर्दा र वरिष्ठ सैन्य अधिकारीहरू मारिँदै गर्दा सर्वोच्च नेताझैँ राष्ट्रपति पनि लगभग मौन बसे।

कुनै उत्साहवर्द्धक भाषण गरिएन, कुनै निर्णायक उपस्थिति देखिएन, न सङ्कटमा परेका जनतासँग स्पष्ट संवाद नै गरियो।

अन्य युद्धकालीन नेताहरू र उनीबीचको अन्तर स्पष्ट थियो। रुसी आक्रमणका क्रममा युक्रेनका राष्ट्रपतिले देखाएको प्रत्यक्ष र साहसिक नेतृत्वसँग तुलना गर्दै केही इरानीहरूले अनलाइन माध्यममा "तपाईँ जेलेन्स्की होइन" भनेर टिप्पणी समेत गरे।

जनतालाई विश्वास दिलाउने र सङ्कल्पित देखिनुको साटो पेजेस्कियान शान्त देखिए। त्यसले गर्दा धेरैका नजरमा उनी असान्दर्भिक ठहरिए।

हिजाब, दमन र सामाजिक गतिरोध

इरानका महिला

तस्बिर स्रोत, ERFAN / Middle East Images / AFP via Getty Images

तस्बिरको क्याप्शन, महिलाहरू निजी जोखिम मोलेर हिजाब कानुनको उल्लङ्घन गरिरहन्छन्

इरानको सामाजिक परिदृश्य पनि त्यस्तै तनावपूर्ण छ। सन् २०२२ मा देशलाई नै तरङ्गित पार्ने गरी भएको राष्ट्रव्यापी "महिला, जीवन र स्वतन्त्रता" आन्दोलन निकै हदसम्म शान्त भएको छ तर त्यसपछाडिको माग र आक्रोश कम भएको छैन।

महिलाहरू व्यक्तिगत जोखिम मोलेर निरन्तर रूपमा बाध्यकारी हिजाब कानुनहरूको उल्लङ्घन गरिराखेका छन्। अभियानकर्मी, पत्रकार तथा विद्यार्थीहरूलाई हिरासतमा लिइराखिएको छ।

पेजेस्कियानले "राष्ट्रिय मेलमिलाप" र "पारस्परिक सम्मान"को आह्वान गरेका छन्।

उनले सार्वजनिक रूपमा भनेका छन्, "म कौमार्य र हिजाबसम्बन्धी कानुन लागु गर्न सक्दिनँ। यसले मानिसहरूका निम्ति समस्या सिर्जना गर्छ र म उनीहरूविरुद्ध खडा हुने छैन।"

तर धेरै इरानीहरू र त्यसमा पनि खास गरी युवाहरूले उनका शब्दहरूलाई प्रतीकात्मक तर अर्थहीन ठान्छन् किनकि दमनकारी राज्य संयन्त्रहरूलाई छोइएको छैन। तिनमा संरचनागत हेरफेर नगरीकन मिठो बोल्नुले खासै अर्थ राख्दैन।

विस्फोटक स्थिति

राष्ट्रपतिका रूपमा पेजेस्कियानको एकवर्षे अवधिमा अधिकांश इरानीहरूका निम्ति खासै केही बदलिएको छैन। मूल्यवृद्धि आकासिएको छ, 'लोडशेडिङ' कायमै छ र राजनीतिक स्वतन्त्रतामा रोक लगाइएको अवस्था छ। राज्य र समाजबीचको खाडल चौडा हुँदै गइरहेको छ।

राष्ट्रपतिले एकताको चर्चा त गर्न सक्लान् तर वास्तविक शक्ति उनको नियन्त्रणबाट निकै पर रहेको अवस्थामा त्यसै एकताको घोषणा हुन सक्दैन।

इरान कूटनीतिक, आर्थिक र सामाजिक हिसाबले एउटा विस्फोटक स्थितिको साक्षात्कार गर्ने अवस्थामा छ। नेतृत्वले मार्ग परिवर्तन गरेनन् वा गर्न सकेनन् भने अर्को विस्फोट आकाश वा प्रतिबन्धहरूमार्फत् नभई भित्रैबाट हुन सक्ने विश्लेषकहरू बताउँछन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।