इरान: मोबाइल फोनले कसरी जेलमा पुर्याउन सक्छ

तस्बिर स्रोत, Getty Images
“तिम्रो फोनमा पासकोड हान्!” इरानी सुरक्षा अधिकारीले प्रदर्शनकारीलाई चिच्याउँदै भने।
प्रत्येक पटक कराएर त्यसो भन्दै गर्दा उनले ती प्रदर्शनकारीको मुखमा मुक्का हानिरहेका थिए।
हालै २० वर्षको उमेर पार गरेको ती युवकलाई राजधानी तेहरानबाट गत अक्टोबरमा पक्राउ गरिएको थियो।
“सुरक्षाकर्मीहरूले एक महिलालाई पक्राउ गर्न लागेका थिए। मैले उनलाई भाग्न सहयोग गरेपछि अर्का सुरक्षाकर्मीको फन्दामा परे,” उनले भने।
“त्यसपछि दुई जनाले खुट्टाले मेरो ढाँड अनि मुखमा थिचेर भुइँमा लडाए अनि अर्का एक जनाले कैयौँ मिनेटसम्म कुटपिट गरे।”
त्यसपछि केही समय उनीहरू रोकिए र ती युवकको फोन मागे। फोनको पासकोड प्राप्त गरेपछि ती युवकलाई भ्यानमा राखियो।
सुरक्षाका लागि हामीले यो समाचारमा उल्लेख गर्ने अन्य नामहरूसँगै उनको नाम गोप्य राखेका छौँ।
“एकजना सुरक्षाकर्मीले मेरो फोन खोलेर हेर्दै गर्दा उनीहरूले मलाई कुटपिट गरिरहे,” उनले बीबीसीलाई भने।
“केही मिनेटपछि उनले भने, ’फोनमा केही छैन’। त्यसपछि उनीहरूले मलाई छोडे।”
उनका अनुसार प्रहरीले प्रदर्शनको भिडिओ खिचे वा नखिचेको जाँच गर्नका लागि फोनको तस्बिर सङ्ग्रह मात्रै हेरेका थिए।
यदि उनको फोनमा त्यस्तो फुटेज पाइएको भए उनीमाथि अन्य प्रदर्शनकारीहरूलाई जस्तै “राज्यविरुद्ध प्रचारको” आरोप लाग्न सक्थ्यो।
इरानमा व्यवस्था झन् कडिकडाउ बनाउने प्रयत्न गरिँदैछ।
“अपराध” छायाङ्कन गर्ने र त्यसलाई साझा गर्नेलाई अपराधी बनाउने एउटा विधेयकबारे त्यहाँको संसद्मा समीक्षा भइरहेको छ।
त्यस्तो गरे पाँच वर्षसम्म जेल सजाय हुनसक्छ र सम्भवतः “अवैध” प्रदर्शनहरू पनि त्यस्तो सजायको कारक बन्न सक्छन्।
प्रदर्शनलाई समर्थन गरिरहेका केही चर्चित व्यक्तिलाई त्यस्तो गर्नबाट रोक्नका लागि कानुन संशोधन गर्नेबारे संसद्मा विमर्श भइरहेको छ।
ख्याति कमाएका कसैले “झूटा टिप्पणी” गरेका कारण तनाव उत्पन्न भए उनीहरूलाई १५ वर्षसम्मको जेल सजाय सुनाइन सक्छ।
इन्स्टाग्रामका कारण मृत्यु दण्ड
इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनेईले 'साइबर स्पेस' लाई युद्धभूमिको रूपमा पहिचान गरेका छन् र अधिकारीहरूलाई बारम्बार "शत्रुहरूको हाइब्रिड युद्धविरुद्ध लड्न" आग्रह गरेका छन्।
उनी असहमतिको कुनै पनि प्रकारको कारक अमेरिका र उसका सहयोगी राष्ट्रहरू रहेको बताउँछन्।
अर्का एक युवा प्रदर्शनकारीले छानबिन गर्नका लागि फोन अनलक गर्न उनीसहित अन्य केहीलाई “बलात्कार, मृत्युदण्ड र परिवारका सदस्यहरूलाई पक्राउ गर्ने” धम्की दिइएको बताए।

तस्बिर स्रोत, Getty Images
गत सेप्टेम्बरमा उनीसहित ३०० जनालाई नियन्त्रणमा लिएर एउटा गोदाममा राखिएको थियो।
त्यसपछि उनीहरूलाई झूटा विवरणहरू “कबुल” गर्न लगाइयो।
इरानको न्यायपालिकाले मृत्युदण्डको सजाय पाएका किशोरको अपराधलाई 'प्रमाणित' गर्न कथित इन्स्टाग्राम स्टोरी र अनलाइन कुराकानीहरूको स्क्रीनसटहरू पनि प्रकाशित गरेको छ।
उन्नाइस वर्षीय मोहम्मद बोरोउगनीलाई "ईश्वरसँग दुस्मनी", एक सुरक्षा अधिकारीलाई छुरा प्रहार गरेको र विरोध प्रदर्शनमा भाग लिन मानिसहरूलाई "प्रेरित" गरेको आरोप लगाइएको थियो।
ज्यानुअरीमा सामाजिक सञ्जाल र उनी बसेको जेल बाहिर मानिसहरू भेला हुन थालेपछि उनीविरुद्ध मुद्दा समीक्षाका लागि सर्वोच्च अदालतमा पठाइएको थियो।
हार्वर्ड विश्वविद्यालयमा प्रविधि, कानुन र मानव अधिकारसम्बन्धी विषयका सोधकर्ता अफसानेह रिगोत मोबाइल उपकरणहरू "सिन अफ क्राइम" बनिरहेको बताउँछिन्।
उनी एक दशकदेखि मध्यपूर्व र उत्तर अफ्रिकामा समलिङ्गी मानिसहरूमाथि हुने उत्पीडनमा डिजिटल प्रमाणको प्रयोग बारे अध्ययन गर्दैछिन्।
"हामी यो रणनीति विशेषगरी दमनकारी सन्दर्भहरूमा प्रयोग भएको देखिरहेका छौँ जहाँ राज्य र प्रहरी विचार, अभिव्यक्ति र पहिचानको अपराधलाई अभियोग लगाउन खोज्छन्।
"प्रायः अवैध रूपमा" प्राप्त गरिएका फोटो, भिडिओ वा एप जस्ता डिजिटल प्रमाणहरूलाई अकाट्य प्रमाणका रूपमा हेरिने उनी बताउँछिन्।
त्यसपछि ती प्रमाण अदालतमा राज्यको मुद्दालाई सहयोग गर्न प्रयोग गरिन्छ जबकि कसैको ब्राउजिङ्ग हिस्ट्री परिस्थितिमा आधारित प्रमाण मात्र हुन सक्छन्।
लक्षित खोजीहरू
विद्युतीय उपकरणहरू नियमित रूपमा बिना कुनै पुर्जी वा आवश्यक प्रक्रिया पूरा नगरी जफत गरिन्छ।
इन्टेलिजेन्स मन्त्रालयका एक दर्जन अधिकारीहरूले तेहरानस्थित एक पत्रकारको घरमा गत अक्टोबरमा छापा मारेका थिए।उनलाई पक्राउ गरी हप्तौँसम्म नियन्त्रणमा लिइएको थियो।
त्यस्ता सरकारी छापाले प्रभावित पार्ने उनी एक मात्र व्यक्ति होइनन्। सादा पोसाक लगाएका सुरक्षाकर्मीहरूले सबैको फोन खोसे र त्यसपछि डिजिटल “प्रमाण” जुटाउनका लागि ४० वर्षभन्दा कम उमेरका सदस्यहरूको उपकरण छानबिन गरे।
एक किशोरका अनुसार ती अधिकारीहरूले ह्वाट्स एप, टेलिग्राम अनि इन्स्टाग्राममा गरिएका कुराकानी हेरेका थिए।

तस्बिर स्रोत, Getty Images
उनीहरूले सामाजिक सञ्जालमा गरिएका पोस्टहरू पनि हेरे, तर उनीहरू मूलभूत रूपमा तस्बिर सङ्ग्रहमै केन्द्रित थिए।
"एकजना सुरक्षाकर्मीले मेरो पारिवारिक फोटोमा महिलाले लगाएको कपडालाई 'असामान्य' का रूपमा वर्णन गर्दै मलाई प्रश्न गर्न थाले," उनी भन्छन्।
"जब मैले ती तस्बिरहरू निजी पारिवारिक तस्बिरहरू हुन् भनेर ती अधिकारीसँग बहस गर्न थालेँ उनको टोलीको नेतृत्वकर्ताले हस्तक्षेप गरे र 'केवल प्रदर्शनका फोटो र भिडियोहरू हेर्न’ भने। व्यक्तिगत तस्बिरहरूलाई बेवास्ता गर्न उनले निर्देशन दिए।"
उमेर र पृष्ठभूमिका कारण सडकमा उत्रन सक्ने सम्भावना भएकाले अधिकारीहरूले आफूहरूलाई लक्षित गरेको उनको विश्वास छ। "उनीहरू केवल विश्वले विरोधको फुटेज नदेखोस् भन्ने कुरा सुनिश्चित गर्न चाहन्छन्।"
इरानी निकायहरूले प्रदर्शनकारीहरूलाई मृत्युदण्ड दिन थालेसँगै सडकमा छिटपुट प्रदर्शनहरू मात्र हुन थालेका छन्। सञ्चारमाध्यमहरूमा पनि सरकारी निकायहरूको बलियो पकड छ।
सबै च्यानलहरू राज्यद्वारा नियन्त्रित छन् र राज्यद्वारा प्रायोजित पत्रिकाहरूले सत्ताकै विचार दोहोर्याउँछन्।
सरकारी नीतिहरूको आलोचना गर्ने दैनिक पत्रिकारहरूलाई राज्यले प्रतिबन्ध, धम्की र गिरफ्तारीजस्ता अस्त्र प्रयोग गरी दबाउँछ।
परम्परागत सञ्चारमाध्यमहरू नियन्त्रण गरिएकाले अधिकांश इरानीहरू समाचारका लागि स्याटलाइट टिभी च्यानल अनि इन्टरनेटमा निर्भर छन्।
विश्वव्यापी रूपमा तुलना गर्दा साइबर स्पेस अत्यन्तै नियन्त्रण गरिएको भए पनि इरान सरकारले सार्वजनिक गरेको एउटा तथ्याङ्कअनुसार ८ करोड ४० लाख जनसङ्ख्या मध्ये ७० प्रतिशतले इन्टरनेटको प्रयोग गर्ने गर्छन्।
इरानमा चलेका सबै सामाजिक सञ्जाल प्लेटफर्म अनि मेसेजिङ्ग टुलहरूमा प्रतिबन्ध लगाइएको छ।
त्यसलाई छल्न इरानीहरूले भर्चुअल प्रोक्सी नेटवर्क र प्रोक्सी सर्भिसहरू प्रयोग गर्छन् जसमाथि इरानले कडा निगरानी गर्ने गरेको छ।








