के इरानको इस्लामिक रेभलुशन गार्ड कोर आतङ्कवादी सङ्गठन घोषित होला?

तस्बिर स्रोत, Getty Images
यूके र ईयूले इस्लामिक रेभलुशन गार्ड कोर (आईआरजीसी) लाई छिटै आतङ्कवादी सङ्गठन घोषणा गर्न सक्छन्।
आईआरजीसी इरानको सैन्य, राजनीतिक र आर्थिक बल हो जसले देशभित्र सत्ताका लागि रहेका खतराको सामना गर्छ भने देशबाहिर उसको सामर्थ्यलाई देखाउँछ।
आईआरजीसी किन आतङ्कवादी सङ्गठन कहलिन सक्छ?
यूकेका विदेशमन्त्री जेम्स क्लेभर्लीले अलीरेजा अकबरीलाई इरान सरकारले मृत्युदण्ड दिएपछि आईआरजीसीलाई आतङ्कवादी सङ्गठन घोषणा गर्नेबारे विचार गरिरहेको बताएका छन्।
इरानका पूर्वमन्त्री समेत रहेका अकबरी पछि यूके गए र त्यहीको नागरिक बने।
पछि अकबरीलाई “प्रलोभन”मा पारी इरान फर्काइयो र त्यहाँ उनीमाथि “इरानी सत्ताको कुख्यात स्वेच्छाचारी कानुनी प्रक्रिया” चलाइयो।
अकबरीमाथि यूकेका लागि जाजुसी गरेको आरोप लगाइएको थियो।
उक्त आरोपको उनले खण्डन गरेका थिए र आरोप स्वीकार्न इरानी एजेन्टहरूले आफूलाई यातना दिएको बताएका थिए।
यूकेका गुप्तचर निकायहरूले पनि यूकेमा बस्दै आएका इरानी पत्रकारहरूसहित दश जनालाई गत वर्षभरिमा इरानका गुप्तचर निकायहरूले निशाना बनाएको बताएका छन्।
जर्मन विदेशमन्त्री अनालेना बेअरबोक र युरोपेली आयोगकी अध्यक्ष उर्जुला फोन डेअर लायनले पनि आईआरजीसीलाई आतङ्कवादी सङ्गठनको सूचीमा राख्न ईयूलाई अपील गरेका छन्।
बाइस वर्षीया माशा अमिनीको मृत्युपछि इरानमा शुरू भएको प्रदर्शनमाथि गरिएको दमनमा आईआरजीसीको भूमिकालाई उनीहरूले उल्लेख गरेका छन्।
नैतिकता प्रहरीले हिरासतमा लिएका बेला माशा अमिनीको मृत्यु भएको थियो।
युरोपेली संसद्ले आईआरजीसीलाई आतङ्कवादी सङ्गठनको रूपमा लिने पक्षमा एउटा सङ्कल्प प्रस्ताव पारित गरेको छ।
तर सदस्य राष्ट्रहरूले त्यसलाई अनुमोदन गर्नुपर्ने हुन्छ।
हिजबुल्लाहजस्ता सशस्त्र समूहलाई समर्थन गर्दै आएकोले संयुक्त राज्य अमेरिकाले सन् २०१९ मै आईआरजीसीलाई आतङ्कवादी सङ्गठनको सूचीमा राखेको थियो।

तस्बिर स्रोत, Reuters
आईआरजीसी के हो?
इरानी क्रान्तिपछि नयाँ इस्लामिक प्रणालीको प्रतिरक्षा गर्ने उद्देश्यका साथ सन् १९७९ मा आईआरजीसी स्थापना गरिएको थियो।
इरानको नियमित सैनिक बलको विकल्पका रूपमा त्यो सञ्चालन भयो।
“त्यो एउटै मिलिसिया ब्रिग्रेड हुने गर्थ्यो। तर अहिले एउटा ठूलो सङ्गठनको रूपमा विकसित भएको छ,” लन्डनमा अवस्थित च्याटम हाउस इन्टरन्याश्नल नामक थिङ्क ट्याङ्कका सनम विकालले भने।
आईआरजीसीको आफ्नै स्थल, नौसेना र हवाई बल छ जसमा अनुमानित १,९०,००० सैनिक छन्।
उसले इरानको बलिस्टिक क्षेप्यास्त्र र परमाणु कार्यक्रमलाई सञ्चालन गर्छ।

तस्बिर स्रोत, AFP
आईआरजीसीले इरानमा के गर्दै आएको छ?
आईआरजीसीले आफ्नो अर्धसैनिक निकाय बासिज रेसिस्टेन्स फोर्समार्फत् इरानमा आन्तरिक सुरक्षा कायम राख्छ।
आईआरजीसी विगत चार महिनायता जारी सरकारविरोधी प्रदर्शनलाई मत्थर पार्ने प्रयासको अग्रपङ्क्तिमा रहिआएको छ।
अमेरिकामा अवस्थित ह्युमन राइट्स न्यूज एजेन्सीका अनुसार प्रदर्शनका क्रममा कम्तीमा ५२२ जना मारिएका छन्।
“बासिजले असीमित मात्रामा हिंसा र मृत्यु हुनेगरी अपराधहरू गरेको छ,” अक्सफर्ड विश्विद्यालयमा अध्यापनरत प्राध्यापक मरियम आलिमजादेहले भनिन्।
“त्यसले सरकारलाई सहयोग चाहिँ गरेको छैन। किनकि हिंसाले प्रदर्शनलाई थप उक्साएको छ।”

तस्बिर स्रोत, AFP
आईआरजीसीले विदेशमा के गर्छ?
आईआरजीसीको चिरपरिचित विदेशी शाखा भनेको कुद्स (जेरुसलेम) फोर्स हो।
त्यसले मध्यपूर्वमा लेबननको हिजबुल्लाहसहित, इराकमा शिया लडाकुहरू र सिरियामा सरकार समर्थित फौजहरूलाई अस्त्र, पैसा र प्रशिक्षण दिँदै आएको छ।
“कुद्स फोर्सले त्यस्ता ठाउँहरूमा मित्रवत् बलहरू तयार पार्छ जहाँ इरानको पक्षमा शक्ति सन्तुलन गराउन सकियोस्,” आलिमजादेहले भनिन्।
कुद्स फोर्स र त्यसले समर्थन गर्ने समूहहरूले इराकमा र मध्यपूर्वमा अन्यत्र पनि सयौँ अमेरिकी सैनिकको हत्या गरेको अमेरिकी आरोप छ।

तस्बिर स्रोत, Getty Images
आईआरजीसी आतङ्कवादी सङ्गठन घोषित भए के हुन्छ?
आईआरजीसी आतङ्कवादी सङ्गठन घोषित भएमा त्यससँग आबद्ध हुने वा समर्थन गर्ने कार्य अपराध ठहरिने छ।
आतङ्कवादी सङ्गठन घोषित गरिएका देशमा त्यसरी आबद्ध हुने अथवा सहयोग गर्नेहरूको सम्पत्ति रोका हुनेछ र त्यहाँका नागरिक वा पेशा-व्यवसायलाई रकम दिन रोक लगाइने छ।
तर इरानले पनि जबाफी कदम चाल्दै यूके र ईयूमा आबद्ध देशहरूका सशस्त्र फौजलाई आतङ्कवादी समूह घोषित गर्न सक्ने प्राध्यापक आलिमजादेह बताउँछिन्।
यद्यपि आईआरजीसीलाई आतङ्कवादी सङ्गठन घोषणा गरिँदैमा त्यसका गतिविधिमा आघात पुग्नेमा उनी सशङ्कित छिन्।








