झापा ५ मा केपी ओली र बालेन्द्र शाहको रोचक प्रतिस्पर्धा

- Author, विक्रम निरौला
- Role, दमक, झापा
- पढ्ने समय: ४ मिनेट
फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध काठमाडूका निवर्तमान मेयर बालेन शाह खडा भएको झापा क्षेत्र नं ५ यतिबेला चर्चाको शिखरमा छ।
दुवै जना उम्मेदवारहरू यसबेला मतदाताका घर दैलोमा पुगेर भोट मागिरहेका छन्।
एमालेबाट प्रधानमन्त्रीका लागि प्रस्तावित ओली र रास्वपाबाट प्रधानमन्त्रीका प्रस्तावित उम्मेदवार शाहबीचको चुनावी प्रतिस्पर्धा निकै रोचक रहेको स्थानीय मतदाताहरूले बताएका छन्।
ओलीले २०४८ देखि २०७९ सम्म छ पटक यही क्षेत्रबाट चुनाव जितेका छन्।
२०६४ मा मात्रै उनी पराजित भएका थिए।

आइतवार दमक क्षेत्रका विभिन्न वडाहरूका चुनावी सभामा सहभागी हुँदा एमाले उम्मेदवार ओली केही अस्वस्थ र थकित देखिन्थे।
चुनावी दौडधुप र धुलोका कारण आफूलाई खोकी लागिरहेको उनले चुनावी सभामा सहभागीलाई सुनाए।
उनले यस पटकको चुनावलाई देश बनाउने कि देश बिगार्ने भन्ने विचारको लडाइको रूपमा अर्थ्याए ।
झापा ५ कै अर्का उम्मेदवार रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह पनि आइतवार काठमाण्डूबाट झापा झरेर अन्तिम चुनावी प्रचारमा जुटेका छन्।
दोस्रो पटक संसदीय निर्वाचनमा प्रतिस्पर्धा गरिरहेको रास्वपाले आफूहरूलाई नयाँ दलका रूपमा प्रस्तुत गर्दै आएको छ।
स्थानीय बासिन्दा के भन्छन्

स्थानीय बासिन्दा पुष्कर पोखरेलले बीबीसीसँग आफूहरूको मुख्य चाहना देशमा भ्रष्टाचार नहोस् र सुसाशन होस् भन्ने रहेको। उनले नेपालीहरू विदेश जान नपरोस् र विदेशमा गएका पनि स्वदेश फर्केर काम गर्ने वातावरण बनोस् भन्ने आफूलाई लागेको बताए।
"कसलाई भोट दिने भन्नेबारे चाहिँ अहिलेसम्म दोधारमै छौँ," उनले भने।
ठेलामा तरकारी बेचेर गुजारा गर्ने रचना लावती भन्छिन्, "हामीले भोट त राम्रो मान्छेलाई दिने हो। उनीहरूले हामीजस्तो काम गर्ने मान्छेलाई गरी खान वातावरण राम्रो बनाइदिनुपर्यो। बाटोघाटो राम्रो बनाइदिऊन्। हाम्रा छोराछोरी कामका लागि विदेश जानु नपरोस्। नेताले भाषण मात्र गर्छन्, घोषणापत्रमा लेखेका कुरा कार्यान्वयनमा लग्नुपर्यो।"
सोमवार राति १२ बजेपछि मौन अवधि सुरु हुने भएकाले त्यसपछि चुनावी प्रचार गर्न पाइँदैन ।
स्थापित शक्ति एमाले र रास्वपाका उम्मेदवारको भिडन्तले झापा–५ लाई देशको हाइप्रोफाइल चुनावी मैदानमध्ये एक बनाइदिएको छ।
यहाँ नेपाली कांग्रेसबाट मन्दरा पौडेल चिमरिया, नेकपाबाट रञ्जित तामाङ, श्रम संस्कृतिबाट समीर तामाङ लगायतका करिब दुई दर्जन उम्मेदवार चुनावी मैदानमा छन्।
यो निर्वाचन क्षेत्रमा १ लाख ६३ हजार ३७९ जना मतदाता छन् ।
झापा ५ लाई एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्र भएकाले यहाँको चुनावलाई सधैँ राष्ट्रिय राजनीतिसँग जोडेर हेरिन्छ।
यस पटक बालेन शाह ओलीसँग प्रतिस्पर्धामा उत्रिएसँगै यो चासो अझ बढेको देखिन्छ ।
२०७९ को निर्वाचनमा ओलीले ५२ हजारभन्दा बढी मत ल्याएर ठुलो मतान्तरसहित जितेका थिए।
उक्त निर्वाचनमा रास्वपा उम्मेदवार तेस्रो भए पनि समानुपातिकतर्फ रास्वपाले एमालेपछि दोस्रो ठुलो मत पाएको थियो।
केपी शर्मा ओली र बालेन शाहबीचको चुनावी भिडन्तले झापा ५ ले धेरैको ध्यान तानिरहेका बेला झापाकै अर्को क्षेत्र रोचक चुनावी प्रतिस्पर्धाको थलो बनेको छ।
झापा २ त्यस्तो क्षेत्र भएको छ, जहाँबाट विघटित प्रतिनिधिसभाका सभामुख, उपसभामुख र एक जना सदस्य गरी तीन जना आपसमा भिड्ने भएका छन्।
झापा २ मा सभामुख देवराज घिमिरे एमालेबाट, उपसभामुख इन्दिरा राना रास्वपाबाट र विघटित प्रतिनिधिसभा सदस्य सरिता प्रसाईँ नेपाली कांग्रेसबाट उम्मेदवार छन्।
राप्रपाका अध्यक्ष राजेन्द्र लिंदेन पनि झापा क्षेत्र नं ३ बाट उम्मेदवार छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।























