लाइभ, चुनाव प्रचारप्रसार अन्तिम चरणमा, प्रधानमन्त्री कार्कीद्वारा 'काम छाडेरै भए पनि' मतदान गर्न जान आह्वान

प्रधानमन्त्री सुशीला कार्कीले सबै मतदातालाई फागुन २१ गते हुन लागेको निर्वाचनमा मतदान गर्न आह्वान गरेकी छन्।

सारांश

  • फागुन २१ गते बिहीवार हुने निर्वाचनका लागि प्रचारप्रसार गर्न पाइने आज अन्तिम दिन हो, देशैभरि राजनीतिक दल, उम्मेदवार र तिनका कार्यकर्ताहरू निर्वाचन प्रचारप्रसारको अन्तिम चरणमा व्यस्त देखिन्छन्
  • प्रधानमन्त्री सुशीला कार्कीले नेपाल टेलिभिजन र रेडियो नेपालमार्फत् देशवासीलाई सम्बोधन गर्दै मतदानमा सहभागी हुन मतदाताहरूलाई आह्वान गरेकी छन्
  • प्रतिनिधिसभाको निर्वाचनका लागि १६५ वटा निर्वाचन क्षेत्रमा बिहीवार एकै चरणमा मतदान हुन लागेको छ
  • मतदान हुनुभन्दाअघि ४८ घण्टाअघि 'मौन अवधि' सुरु हुन्छ
  • आज राति १० बजेदेखि चुनावको भोलिपल्ट फागुन २२ गते शुक्रवार बिहान ६ बजेसम्म नेपाल-भारतका सीमानाकाहरू बन्द गर्ने निर्णय स्थानीय प्रशासनहरूले गरेका छन्
  • गत भदौ महिनामा जेन जी आन्दोलन भएपछि प्रतिनिधिसभा भङ्ग भएको थियो। त्यसैले निर्धारित समयभन्दा अगाडि नै फागुन २१ गते निर्वाचन हुन लागेको हो
  • प्रत्यक्ष र समानुपातिक प्रणालीका लागि दुइटा मतपत्र हुने छन्
  • निर्वाचन आयोगले मतदान प्रक्रिया र बदर मत घटाउने उद्देश्यले देशभरि सञ्चालित मतदाता शिक्षा कार्यक्रम सम्पन्न भएको जनाएको छ

लाइभ कभरेज

केशव कोइराला र प्रदीप बस्याल

  1. कार्कीको सम्बोधनमा मध्यपूर्वको सङ्कट र सत्ता छाड्ने कुरा पनि

    इरान र मध्यपूर्वको तनावले "चिन्तित बनाएको" भन्दै प्रधानमन्त्री कार्कीले उक्त क्षेत्रमा विकसित घटनाक्रमलाई नेपाल सरकारले "सूक्ष्म रूपमा नियालिरहेको" जनाइन्।

    उक्त क्षेत्रका सम्पूर्ण नेपाली नियोगहरूलाई सुरक्षा सहजीकरणमा कुनै कमी हुन नदिन सक्रिय बनाइएको र परराष्ट्र मन्त्रालयले सघन अनुगमन गरिरहेको बताइन्।

    कार्कीले इतिहासकै कठिन मोडमा प्रधानमन्त्रीको "जिम्मेवारी सम्हालेर देशलाई नेतृत्व दिनुलाई मैले आफ्नो मातृभूमिप्रतिको जिम्मेवारीका" रूपमा लिएको बताइन्।

    "मैले सधैँ न्याय र निष्ठाको पक्षमा उभिएर काम गर्ने प्रयास गरेँ," उनले भनिन्। "अब केही दिनमा यो देशको बागडोर तपाईँहरूले चुन्ने प्रतिनिधिहरूको हातमा पुग्ने छ।"

  2. कार्कीले जाँचबुझ आयोगबारे के भनिन्?

    प्रधानमन्त्री सुशीला कार्की

    तस्बिर स्रोत, PMO/RSS

    सुशीला कार्कीको नेतृत्वमा गठित अन्तरिम सरकारले गत भदौमा भएको जेन जी आन्दोलनमा भएका घटनाक्रम र सरकारी पक्षबाट भएको भनिएको दमनबारे छानबिन गराउने जिम्मेवारी पनि पाएको थियो।

    पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा बनेको जाँचबुझ आयोगले निर्वाचन भएपछि मात्रै आफ्नो प्रतिवेदन बुझाउने देखिएको छ।

    सोमवार सम्बोधनका क्रममा कार्कीले आयोगको कामबारे स्पष्ट केही बोलिनन्। तर त्यसतिर केही सङ्केत गरिन्।

    "आज सम्पूर्ण देशवासीलाई अर्को के कुरामा आश्वस्त पार्न चाहन्छु भने, मुलुकमा कुनै पनि प्रकारको दण्डहीनतालाई प्रश्रय दिने काम यो सरकारबाट हुँदैन। कानुनबमोजिम गर्नुपर्ने जुनसुकै तहको कारबाहीमा सरकार पछि हट्ने छैन।"

  3. प्रधानमन्त्री सुशीला कार्कीले के भनिन्

    चुनावको मौन अवधि सुरु हुनुभन्दा झन्डै १२ घण्टाअघि देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री सुशीला कार्कीले नेपाल "कठिन सङ्क्रमण पार गरेर" यहाँसम्म आइपुगेको बताइन्।

    विधिको शासन स्थापित गर्दै, संविधानको मार्गमा स्थिरताका साथ अघि बढ्न सफल भएको बताउँदै दुई दिनपछि हुने चुनावलाई उनले उपलब्धिका रूपमा प्रस्तुत गरिन्।

    "यो उपलब्धि तपाईँ-हामी सबै नेपाली जनताको संयम र सहकार्यको परिणाम हो," कार्कीले सम्बोधनमा भनिन्।

    जेन जी आन्दोलनपछिको परिस्थितिलाई "जटिल, संवेदनशील र चुनौतीपूर्ण" भन्दै स्मरण गरेकी उनले त्यस बेला "सडकमा युवाहरूको आक्रोश, सबैको मनमा डर र देशकै भविष्य अन्योलमा" रहेको बताइन्।

    "आज मलाई सन्तोष लागेको छ कि हामी त्यो कठिन सङ्क्रमण पार गरेर यहाँसम्म आइपुगेका छौँ"

  4. मतदातालाई प्रधानमन्त्रीको आग्रह

    प्रधानमन्त्री सुशीला कार्की

    तस्बिर स्रोत, NTV

    प्रधानमन्त्री सुशीला कार्कीज्यूले मतदाताहरूलाई आफ्नो काम छाडेरै भए पनि फागुन २१ गते मतदान गर्न जान आग्रह गरेकी छन्। अहिले उनी नेपाल टेलिभिजन र रेडियो नेपालमार्फत् देशवासीलाई प्रत्यक्ष सम्बोधन गर्दै छिन्।

  5. अहिले किन हुन लागेको हो निर्वाचन

    संसद् भवनबाहिर नेपालको झण्डा बोकेर उभिएका एक युवक, छानाम पनि केही प्रदर्शनकारीहरू देखिन्छन्

    तस्बिर स्रोत, Reuters

    तस्बिरको क्याप्शन, भदौमा नवयुवा पुस्ताले गरेको आन्दोलनमा कैयौँ जनाको मृत्यु भएपछि प्रधानमन्त्री केपी शर्मा ओली पदबाट राजीनामा दिन बाध्य भएका थिए

    प्रतिनिधिसभाको निर्वाचनका लागि बिहीवार देशैभरि एकै चरणमा मतदान हुन लागेको छ।

    गत भदौ महिनामा जेन जी आन्दोलन भएपछि तात्कालिक प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिएका थिए। प्रतिनिधिसभा विघटन र फागुन २१ गतेको मिति तोक्दै निर्वाचन घोषणा गरिएको थियो।

    त्यसैले प्रतिनिधिसभाको अहिलेको चुनाव आवधिक नभई विशेष परिस्थितिमा हुन लागेको निर्वाचन हो।

    प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० सांसद छान्न छुट्टाछुट्टै मतपत्रमार्फत मतदान हुने छ।

  6. सबै वडामा मतदाता शिक्षा कार्यक्रम सम्पन्न

    किमाथाङ्काकामा मतदान गर्ने तरिका सिकाउँदै एक स्वयंसेविका

    तस्बिर स्रोत, RSS

    तस्बिरको क्याप्शन, मतदाता शिक्षा कार्यक्रममा यसपालि पनि स्वास्थ्य स्वयंसेविकाहरूलाई परिचालन गरिएको थियो

    निर्वाचन आयोगले मतदान प्रक्रिया र बदर मत घटाउने उद्देश्यसहित देशभरि सञ्चालन गरिएको मतदाता शिक्षा कार्यक्रम सम्पन्न भएको जनाएको छ।

    आयोगका अनुसार देशभरि स्थानीय तहमा रहेका सबै ६,७४३ वटा वडामा एकैपटक फागुन ३ गतेदेखि सञ्चालित कार्यक्रम आइतवार सम्पन्न भएको हो। त्यसका लागि सबै वडामा मतदाता शिक्षा स्वयंसेवकहरू खटेका थिए।

    निर्वाचन आयुक्त डा जानकीकुमारी तुलाधरले मतदाताको घरदैलोमा पुग्न सक्ने र सर्वसाधारण नागरिकबीच भिजेका इमान्दार स्वयंसेवकका कारण यो कार्यक्रम सम्पन्न भएको बताएकी छन्।

    विसं २०७९ मा भएको निर्वाचनदेखि मतदाता शिक्षा प्रदान गर्न स्वास्थ्य स्वयंसेविका परिचालन गर्न थालिएको राष्ट्रिय समाचार समितिले जनाएको छ।

    मतदातालाई भोट दिने तरिका सिकाउन घरदैलोमा पुगेर नमुना मतपत्रका माध्यमबाट निर्वाचनको महत्त्व र मतदान प्रक्रियाबारे जानकारी दिइएको आयोगले जनाएको छ।

    ‍कार्यक्रम अन्तर्गत विभिन्न ठाउँमा नमुना मतदान गरिएको थियो

    तस्बिर स्रोत, RSS

    तस्बिरको क्याप्शन, कार्यक्रम अन्तर्गत विभिन्न ठाउँमा नमुना मतदान गरिएको थियो
  7. निर्वाचनको सुरक्षामा नेपाली सेना पनि, के हुन् सेनाका जिम्मेवारीहरू

    नेपाली सेना

    तस्बिर स्रोत, EPA

    नेपाली सेनाले निर्वाचन सुरक्षामा आफू प्रतिबद्ध रहेको जनाउँदै ती काम एकीकृत सुरक्षा योजनाअन्तर्गत भइरहेको जनाएको छ।

    सोमवार एक विज्ञप्ति जारी गर्दै सेनाले मतदान सम्पन्न भएपछि स्थापित विधिअनुसार प्रहरी, सशस्त्र प्रहरी बल, निर्वाचन अधिकारी एवं तोकिएका दलका प्रतिनिधिसहितको टोलीले मतगणना स्थलसम्म मतपेटिका पुर्‍याउने जनाएको छ।

    सेनाले २०४८ सालदेखिका चुनावमा खटिएको उल्लेख गर्दै यस पटक आफूले चारवटा विभिन्न जिम्मेवारी पाएको जनाएको छ। ती हुन् -

    • मतपत्र छाप्ने स्थानको सुरक्षा
    • काठमाण्डूबाट देशका सबै जिल्लामा मतपत्र ढुवानी
    • निर्वाचन अवधिमा तेस्रो घेरामा रही सुरक्षा
    • मतपेटिकालाई गणनास्थलसम्म पुर्‍याउने जिम्मेवारी
  8. प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै

    सुशीला कार्की

    तस्बिर स्रोत, MOFA Nepal

    तस्बिरको क्याप्शन, फाइल तस्बिर

    प्रधानमन्त्री सुशीला कार्कीले मौन अवधि सुरु हुनुअघि आज राष्ट्रका नाममा सम्बोधन गर्ने उनको सचिवालयले जनाएको छ।

    प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले चुनाव र अन्य समसामयिक विषयमा प्रधानमन्त्रीले सम्बोधन गर्न लागेको बीबीसीलाई बताए।

    कार्कीले दिउसो १२:१५ बजे सम्बोधन गर्ने उनले बताए।

  9. स्वागतम्

    नमस्कार। बीबीसी न्यूज नेपालीको यो लाइभ पेजमा तपाईँलाई स्वागत छ। फागुन २१ गते बिहीवार हुने लागेको निर्वाचनका लागि प्रचारप्रसार अन्तिम चरणमा पुगेको छ। मतदान हुने दिनभन्दाअघि ४८ घण्टाअघि 'मौन अवधि' सुरु हुने भएकाले आज मध्यरातपछि प्रचारप्रसार गर्न पाइँदैन।

    त्यसैले राजनीतिक दल, उम्मेदवार र तिनका कार्यकर्ताहरू रङ्गहरूको पर्व फागुसँगै निर्वाचन प्रचारप्रसारको अन्तिम चरणमा व्यस्त देखिन्छन्।

    आज हामी यो पेजमा निर्वाचनको तयारी तथा प्रचारप्रसार र तिनकै सेरोफेरोमा रहेर विभिन्न जानकारी उपलब्ध गराउने छौँ।