इरानले बम बनाउन केही महिनाभित्रै युरेनिअम संवर्द्धन गर्न सक्ने आईएईएका प्रमुखको भनाइ

अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी (आईएईए) का प्रमुख राफाएल ग्रोसी

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी (आईएईए) का प्रमुख राफाएल ग्रोसी
    • Author, स्ट्युअर्ट लाऊ
    • Role, बीबीसी न्यूज

संयुक्त राष्ट्र सङ्घको परमाणु निगरानी निकायका प्रमुखले इरानसँग "केही महिनाभित्रै" सम्भावित बमको लागि युरेनियम संवर्द्धन सुरु गर्न सक्ने क्षमता रहेको बताएका छन्।

अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी (आईएईए) का प्रमुख राफाएल ग्रोसीले अघिल्लो सप्ताहन्तमा तीन वटा इरानी केन्द्रहरूमा अमेरिकाले गरेको आक्रमणले गम्भीर असर पारेको तर "पूर्ण रूपमा" क्षति नपुर्‍याएको बताए।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भने ती केन्द्रहरू "पूर्ण रूपमा ध्वस्त" भएको दाबी गरेका छन्। आईएईए प्रमुखले भने उक्त दाबीको खण्डन गरेका छन्।

"सीधै भन्नुपर्दा कसैले पनि सबै कुरा नष्ट भयो र त्यहाँ केही छैन भनेर दाबी गर्न सक्दैन," ग्रोसीले शनिवार भने।

पछिल्लो तनाव

इरानका परमाणु केन्द्र

तस्बिर स्रोत, Maxar Technologies

इजरेलले १३ जुनमा इरानको परमाणु तथा सैन्य केन्द्रहरूमा आक्रमण सुरु गरेको थियो। उसले इरानले परमाणु हतियार निर्माण गर्नै लागेको र त्यसको निकै नजिक रहेको दाबी गर्दै त्यस्तो आक्रमण गरेको थियो।

इजरेली हमलामा पछि अमेरिका पनि जोडिन पुग्यो र उसले इरानका फोर्दो, नातान्ज र इस्फहानमा बम खसाल्यो।

यद्यपि ती बमहरूले कति क्षति पुर्‍याए भन्ने वास्तविक अवस्था हालसम्म स्पष्ट हुन सकेको छैन।

शनिवार ग्रोसीले बीबीसीको अमेरिकी समाचार साझेदार सीबीएस न्यूजसँग तेहरानले "केही महिनामा... केही सेन्ट्रीफ्युजहरू घुमाउने र संवर्द्धन भएको युरेनिअम उत्पादन गर्न सक्ने" बताए।

उनले इरानीहरूले चाहेमा त्यसो गर्न फेरि सक्षम हुने र उनीहरूसँग त्यस्तो क्षमता रहेकोमा जोड दिए।

इरानसँग आफ्नो परमाणु उद्देश्य पूर्तिका लागि अझै क्षमता छ भन्ने आईएईए पहिलो निकाय भने होइन।

यसै साताको सुरुमा पेन्टागनबाट चुहिएको प्रारम्भिक मूल्याङ्कनमा अमेरिकी हमलाहरूले सम्भवतः इरानको परमाणु कार्यक्रमलाई महिनौँका लागि पछि मात्र धकेलेको जनाइएको थियो।

ट्रम्पको दाबी

इरान तनाव

ट्रम्पले इरानका परमाणु केन्द्रहरू "पूर्ण रूपमा नष्ट" भएको घोषणा गर्दै उक्त विवरणप्रति आक्रोशित प्रतिक्रिया दिएका थिए।

उनले उक्त प्रतिवेदनबारे समाचार लेख्ने सञ्चारमाध्यमलाई "इतिहासको सबैभन्दा सफल सैन्य हमलामध्ये एकलाई अपमान गर्ने प्रयास" गरेको आरोप पनि लगाए।

तत्कालका लागि इरान र इजरेल दुवै युद्धविराममा सहमत भएका छन्।

यद्यपि ट्रम्पले यदि गुप्तचरहरूले युरेनिअमलाई निरन्तर चिन्ताजनक स्तरमा संवर्द्धन गर्न सक्छ भन्ने कुरा पत्ता लगाए इरानमा फेरि बम खसाल्नेबारे "पूर्ण रूपमा विचार गर्ने" बताएका छन्।

इरानले पनि ती केन्द्रहरूमा कति क्षति भयो भन्नेबारे विवादास्पद सन्देशहरू दिइरहेको छ।

गत बिहीवार एउटा भाषणमा इरानका सर्वोच्च नेता अयातोल्लाह अलि खामेनेईले अमेरिकी आक्रमणले खासै उल्लेखनीय उपलब्धि हासिल नगरेको बताए। यद्यपि इरानी विदेशमन्त्री अब्बास अराघचीले भने "अत्यधिक र गम्भीर" क्षति भएको बताएका छन्।

गत बुधवार इरानको संसद्ले आईएईएसँगको सहकार्यलाई निलम्बन गर्ने प्रस्ताव गरेसँगै पहिलेदेखि नै चिसिएको इरान र उसको सम्बन्ध थप चिसियो।

इरानले उक्त निकायलाई इजरेल र अमेरिकाको पक्षमा रहेको आरोप लगाउँदै अब ऊसँगको सहकार्यलाई निलम्बन गरिदिएको छ।

गत महिना आईएईएले विगत २० वर्षमा तेहरनले पहिलो पटक आफ्ना अप्रसार दायित्वहरूको उल्लङ्घन गरेको पाइएको जनाएको थियो। त्यसपछि इजरेल र अमेरिकाले इरानमाथि आक्रमण गरेका हुन्।

इरानले आफ्नो परमाणु कार्यक्रम शान्तिपूर्ण उद्देश्यका लागि मात्र भएकोमा जोड दिँदै आएको छ।

तेहरानसँग वार्ताको आशा

इरानका सर्वोच्च नेता

तस्बिर स्रोत, Reuters

इरानले आफ्नो निकायसँग काम गर्न अस्वीकार गरे पनि ग्रोसीले चाहिँ आफू अझै पनि तेहरानसँग वार्ता हुन सक्ने आशामा रहेको बताएका छन्।

"मैले इरानसँग बसेर यसबारे हेर्नुपर्छ किनभने अन्तत: सैन्य आक्रमण पछि यो सम्पूर्ण मामिलामा दीर्घकालीन समाधान खोजिनुपर्छ र त्यो कूटनीतिक समाधान मात्र हुन सक्दैन,' उनले भने।

विश्व शक्तिहरूसँग इरानले सन् २०१५ मा गरेको परमाणु सम्झौताअन्तर्गत इरानसँग ३.६७ प्रतिशतभन्दा माथि शुद्ध युरेनिअम संवर्द्धन गर्न अनुमति थिएन।

त्यो भनेको व्यावसायिक परमाणु ऊर्जा प्लान्टका लागि इन्धनका रूपमा तोकिएको आवश्यक स्तर हो र त्यसको १५ वर्षसम्म आफ्नो फोर्दो केन्द्रमा उसले कुनै पनि प्रकारको संवर्द्धन गर्न पाउने थिएन।

यद्यपि ट्रम्पले आफ्नो पहिलो कार्यकालमा सन् २०१८ मा उक्त सम्झौताबाट बाहिरिने निर्णय गरे।

उनले त्यसलाई इरानलाई बम बनाउने बाटोमा जानबाट रोक्ने झिनो कदम भन्दै इरानमाथि थप प्रतिबन्धहरू लगाएका थिए।

इरानले त्यसको बदलास्वरूप विशेषगरी संवर्धनसँग सम्बन्धित सम्झौताहरूलाई उल्लङ्घन गर्‍यो। उसले सन् २०२१ मा फोर्दोमा पुनः संवर्धन सुरु गर्‍यो र आईएईएका अनुसार ९ वटा परमाणु बम बनाउन पर्याप्त हुने ६० प्रतिशत सम्वर्धन भएको युरेनिअम जम्मा पार्‍यो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।