इजरेल-इरान द्वन्द्वबाट खाडी क्षेत्रका उडानहरूमा चर्को प्रभाव, हवाई यात्रा लामो र खर्चिलो

कतार एअरवेजको विमान

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, दोहा विमानस्थल प्रभावित भएपछि कतार एअरवेजका कतिपय उडान सञ्चालनमा असर परेका छन्
    • Author, निक मार्श, लुसी हुकर र फारिआ मसुद
    • Role, बीबीसी न्यूज

इरान र इजरेलबीचको युद्ध चर्किएका कारण मध्यपूर्व भएर आउजाउ गर्ने उडानहरूलाई विमानसेवा कम्पनीहरूले कतिपय अवस्थामा रद्द तथा कुनै बेला अन्यत्र मोड्न परिरहेको छ।

सोमवार राति इरानले कतारस्थित अमेरिकी सैन्य अखडामा क्षेप्यास्त्र प्रहार गरेपछि उक्त क्षेत्रको महत्त्वपूर्ण केन्द्र रहँदै आएको दोहाको विमानस्थलको सञ्चालन केही बेर रोकियो।

दुबईको विमानस्थल, जुन विश्वको सबभन्दा व्यस्त एअर टर्मिनल मानिन्छ, मा पनि उडानहरू अस्थाई रूपमा रोकिए। विमानस्थलका अधिकारीहरूले उडान सेवामा थप ढिलाइ तथा रद्द हुन सक्ने चेतावनी पनि दिएका छन्।

विमानस्थल सञ्चालनमा पनि पर्‍यो प्रभाव

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरान र इजरेलबीच 'पूर्ण युद्धविराम'को सहमति लागु हुन लागेको घोषणा गरेका छन् तर दुवै देशले त्यसको सम्पूर्ण पुष्टि गर्न बाँकी छ।

इरानका विदेशमन्त्रीले 'पहिले इजरेलले आक्रमण रोकोस्' भन्ने टिप्पणी गरेका छन्।

पछिल्ला दिनहरूमा तनाव चर्किएपछि एक दर्जनभन्दा धेरै विमानसेवा कम्पनीहरूले मध्यपूर्व क्षेत्रका तिनका उडानहरू रद्द गर्दै आएका थिए।

एअर इन्डियाले मध्यपूर्व तथा उत्तर अमेरिकाको पूर्वी तट अनि युरोपमा सबै सेवा सञ्चालन बन्द गर्न लागेको बताएको थियो।

जापान एअरलाइन्सले टोक्यो-दोहा उडान रद्द गरेको बताएको थियो।

बाङ्ग्लादेशको राजधानी ढाका जाने क्रममा दोहा विमानस्थलमा अड्किएका बीबीसीका एक कर्मचारी रब लिड्लले सोमबार अबेर विमानस्थलको लाउन्जमा सयौँ यात्रुहरूले खाने तथा सुत्ने प्रयास गरिरहेको बताए।

यात्रुहरू कहिले तिनको उडान फेरि होला भनेर व्यग्रतापूर्वक प्रतीक्षारत रहेको उनले बताए।

दोहा विमानस्थलमा यात्रुहरू
तस्बिरको क्याप्शन, उडानहरू रद्द वा ढिलो हुँदा दोहा विमानस्थलमा यात्रुहरू लामो पर्खाइमा

उडान रद्द हुँदा पर्ने प्रभाव व्यापक हुन्छ

उड्डयन परामर्शदाता टिम एटकिन्सन् भन्छन् यस्तो परिस्थितिले नियमहरू उथलपुथल पारिदिने गर्छन् र त्यसको प्रभाव सामान्य यात्रु र उडान कर्मचारीहरूमा पर्दछ जो अस्थायी रूपमा भएपनि दोहा विमानस्थलमा अड्किएर रहनु पर्ने हुन्छ।

"कतारको हवाई क्षेत्र बन्द हुँदा एकदमै ठूलो स्तरको अवरोध सिर्जना हुन जान्छ र त्यस्तो प्रभाव उडानहरूमा मात्रै पर्दैन," उनी भन्छन्।

"हवाई उडानको चरित्र नै यस्तो हुन्छ की त्यसमा विभिन्न क्षेत्रहरू स्वभावतः जोडिएका हुन्छन्। त्यसैले एक ठाउँमा अवरोध भयो भने त्यसको प्रभाव डढेलो फैलिएजस्तो अन्य ठाउँहरूमा पनि पर्न जान्छ।"

हालैका वर्षहरूमा खाडी क्षेत्र हवाई यात्राको दृष्टिले संसारकै सबैभन्दा महत्त्वपूर्ण केन्द्र बन्न पुगेको छ।

दुबई र दोहामा रहेका विमानस्थलहरूबाट दैनिक रूपमा झण्डै चार लाख यात्रुहरू आवतजावत गर्ने गर्छन्।

युएईको अर्को हवाई यात्रा केन्द्र अबुधाबीबाट थप असी हजार यात्रुहरू दैनिक रूपमा यात्रा गर्ने गर्छन्।

थुप्रैका लागि यी विमानस्थलहरू युरोप र एशिया वा अष्ट्रेलियाबीचको यात्रामा केही समय रोकिने विन्दुहरू हुन्।

त्यसैले यहाँका हवाई क्षेत्रहरू बन्द हुँदा वा यहाँका उडानहरू रद्द हुँदा त्यसको उल्लेखनीय र तत्काल प्रकृतिका प्रभाव पर्ने सम्भावना रहन्छ जुन त्यस क्षेत्र र त्यहाँभन्दा बाहिरका क्षेत्रमा पनि पर्ने, अर्का उड्डयन विज्ञ जोन स्ट्रिकलेन्ड बताउँछन्।

आर्थिक पाटो

"लामो हवाई मार्ग चुन्नु पर्ने अवस्था भएमा र उडान समय लम्बिन गएमा विमानसेवा कम्पनीहरूको खर्च पनि एकाएक बढ्न पुग्छ किनकी लामो यात्रा गर्नु पर्दा विमानहरूले इन्धन पनि धेरै खपत गर्नु पर्ने हुन्छ," स्ट्रिकलेन्ड बताउँछन्।

"त्यस्तो अवस्थामा सेवा उपलब्ध गराउनु पर्ने भएता पनि विमानसेवाहरूले आफूसँग उडानका लागि विमान उपलब्ध नभएको बताउनु पर्ने हुन्छ, खासगरी उडान कर्मचारीहरू उपलब्ध नहुन सक्छन्। किनकी कानुनी प्रावधान अनुसार नै पनि उडान कर्मचारीहरूलाई निश्चित समय काम गरेपछि विश्राम लिन दिनै पर्छ," उनी भन्छन्।

उनका अनुसार, रुसी र युक्रेनी हवाई क्षेत्र त्यहाँ जारी द्वन्द्वका कारण पहिले नै धेरैजसो विमानसेवाहरूका लागि बन्द छ। परिणामस्वरूप धेरैजसो विमानहरू मध्यपूर्वको आकाश भएर नै उड्ने गरिराखेका छन्। र अब त्यस्ता उडानहरूका लागि उपलब्ध हवाई क्षेत्र झन "साँघुरो" भएर गएको छ।

मध्यपूर्वको द्वन्द्वले पहिले नै महत्त्वपूर्ण हवाई क्षेत्रको ठूलो हिस्सा बन्द नै छ। इजरेलले उसको आक्रमण आरम्भ गरेयता व्यावसायिक विमानसेवाहरूले इरान, इराक, लेबनन, सिरिया र जोर्डन माथि भएर उडान गर्न छाडिसकेका छन्।

एशिया र युरोपबीचको यो महत्त्वपूर्ण हवाई मार्ग भएर अनुमानित १४०० उडानहरू हुने गर्छन् तर अब ती विमानहरू उत्तरतर्फ टर्की माथिको मार्ग वा दक्षिणमा साउदी अरेबियामा माथि भएर उड्नु परेको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।