लाइभ, भोटेकोशी-त्रिशूली बाढी गएको आज नवौँ दिन, हराएका मानिसहरू खोज्ने प्रयास 'प्राथमिकतामा'
भोटेकोशी र त्रिशूली नदीमा विनाशकारी बाढी गएको आज नवौँ दिन हो। सरकारी निकायहरूका अनुसार अहिलेसम्म १,२०० जनाभन्दा बढी मानिसको मृत्यु भएको पुष्टि भएको छ भने अझै ४,००० जनाभन्दा बढी मानिस सम्पर्कविहीन छन्।
सारांश
बाढीले निम्त्याएको विपत्तिमा नेपालमा १२ सय जनाभन्दा बढीको मृत्यु
चार हजार जनाभन्दा बढी अझै सम्पर्कविहीन
विभिन्न जलविद्युत् आयोजनाका सुरुङहरूसहित विभिन्न स्थानमा खोज तथा उद्धारकार्य 'प्राथमिकतामा'
कृष्णभीरमा गएको पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि एलपीजी आपूर्तिका लागि काठमाण्डू उपत्यकाबाहिर सिलिन्डर भर्न थालियो
वर्षाका कारण भोटेकोशी र त्रिशूलीमा आज पनि बाढीको जोखिम
भोटेकोशी र त्रिशूली नदीमा आज पनि आकस्मिक बाढीको जोखिम रहेको राष्ट्रिय समाचार समितिले जनाएको छ।
जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रलेअन्तर्गत बाढी पूर्वानुमान महाशाखाका बाढीविद् सरस्वती विष्टका अनुसार भोटेकोशीको माथिल्लो तटीय क्षेत्रमा वर्षा भइरहेको छ।
अझै वर्षाको सम्भावना रहेकाले रसुवा र नुवाकोट हुँदै बहने भोटेकोशी, त्रिशूली नदी तथा आसपासका ससाना नदीमा जलसतह उल्लेख्य बढ्ने सम्भावना रहेको उनले बताइन्।
“ती नदीमा आकस्मिक बाढीको उच्च सम्भावना रहेकाले नदी तथा खोला आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ,” रासससँग उनले भनिन्।
चितवनमा कसरी हुँदै छ बेपत्ताका आफन्तको डीएनए नमुना सङ्कलन, ईश्वर जोशी
भिडिओ क्याप्शन सुरु हुँदैछ, हेर्नुहोस् यो भिडिओ
हराइरहेका मानिसका आफन्तबाट डीएनए नमुना सङ्कलन जारी, पहिचान नभएका शवको डीएनएसँग तुलना गर्नका लागि
भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण ज्यान गुमाएकाहरूको पहिचानका निम्ति डीएनए परीक्षण गर्न नेपाल प्रहरीले फेला परेका शव र हराइरहेका मानिसहरूका निकटका नातेदारबाट रगतको नमुना सङ्कलन गरिरहेको छ।
हिजो साँझसम्म १,०९२ शव र हराइरहेका मानसिका ५६३ जना
आफन्तबाट नमुना सङ्कलन भइसकेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार १,२०० वटाभन्दा बढी शवहरू फेला परेका छन्। तर अधिकांश शव पहिचान गर्न नसकिने अवस्था रहेकाले अनि तिनलाई
लामो समय राख्न नसकिने भएकाले अधिकारीहरूले डीएनए सङ्कलन गरेर जमिनमुनि गाड्ने व्यवस्था मिलाएका छन्।
नेपाल प्रहरीका
अनुसार आफन्तजन फेला नपरी हराइरहेका नेपाली तथा विदेशी
नागरिकहरूले डीएनए परीक्षणमार्फत्
फेला परेका शव तथा शरीरका कुनै अङ्ग वा भाग यकिन गर्नका निम्ति नजिकको रगतको नाता (बाबु, आमा, छोरा वा छोरी)मध्ये कोही एक जनाको
रगतको नमुना तथा दुई प्रति पासपोर्ट साइजको फोटोसहित नेपाल प्रहरी अस्पतालको
प्याथोलोजी ल्याब वा नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न सकिन्छ।
“विदेशमा रहेका व्यक्तिको हकमा, बाबु, आमा, छोरा र छोरीमध्ये कोही एक
जनाको विदेशमा नै डीएनए प्रोफाइलिङ अटोसोमल एसटीआर डीएनए प्रोफाइलिङ गरी तुलनाका
लागि त्यसको सफ्टकपी नेपाल प्रहरीको आधिकारिक इमेल: dnacodis@nepalpolice.gov.np” मा पठाउन सकिने प्रहरीले
जनाएको छ।
तस्बिर स्रोत, Nepal Police
तस्बिरको क्याप्शन, बेपत्ता मानिसहरूको पहिचानका लागि नेपाल प्रहरी अस्पतालमा आफन्तबाट डीएनए परीक्षणका लागि नमुना सङ्कलन गरिँदै
नुवाकोटमा बाढीले पुरेको स्थानमा खनेर शव खोज्न थालियो, जमिनमाथि १७७ वटा शव फेला परे
तस्बिर स्रोत, RSS
तस्बिरको क्याप्शन, यही भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीले नुवाकोट र रसुवा जिल्लाको सिमानामा पर्ने बेत्रावतीमा ठूलो क्षति पुगेको छ
भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परेर ज्यान गुमाएका व्यक्तिको शव व्यवस्थापनअन्तर्गत नुवाकोटमा शव सङ्कलनको प्रारम्भिक चरण सकिएको राष्ट्रिय समाचार समितिले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख विपिन रेग्मीका अनुसार जमिनको सतहमा रहेका शवको खोजतलास एवं सङ्कलनअन्तर्गत हालसम्म १७७ जनाको शव फेला परेका छन्।
तीमध्ये १६ जनाको पहिचान भएकाले सम्बन्धित परिवारलाई बुझाइएको र बाँकी शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको उनले बताए।
“नेपाली सेनाको हेलिकप्टरसहित नेपाल प्रहरीले ड्रोन क्यामेरा, तालिम प्राप्त कुकुरसहित जिल्लाको विभिन्न ३० स्थानलाई आधार इलाका बनाई शव खोजतलासअन्तर्गत जमिनको सतहमा रहेका शव सङ्कलनको पहिलो चरणको काम पूरा गरेको छ,” रेग्मीले भने,
प्रहरीले अब उत्खनन र खानतलासीमार्फत् शव सङ्कलन गर्न थालिएको जनाएको छ।
सुरक्षाकर्मीहरूले सङ्कलन गरेका शवहरू सेनाको हेलिकप्टर प्रयोग गरेर लग्ने गरिएको छ।
तस्बिर स्रोत, RSS
बेत्रावतीको घरमा फेला परेका अधिकांश शवको पहिचान भएन
सोमवार बेत्रावतीस्थित एउटा घरमा एकैस्थानमा २० जनाभन्दा बढी मानिसको शव बरामद भएको थियो।
उक्त घर सुरक्षित रहेको ठानेर सार्वजनिक सवारीसाधन रोकेर आएका मानिसहरूले त्यहाँ आश्रय लिएको ठानिएको राससले जनाएको छ।
तर अधिकांश शवको बेत्रावतीमा पहिचान नभएकाले परीक्षणका लागि काठमाण्डू पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बाढीले प्रभावित बनाएको बेत्रावतीसहित सोलेबजार, तुप्चे, त्रिशूली बजार, ढुङ्गे र देवीघाटमा घर तथा सडकमा भरिएका ग्रेगर र लेदो हटाई पुरिएका स्थानमा शव खोज्न थालिएको हो।
यसअघि विभिन्न ३० स्थानमा परिचालन भएको शव सङ्कलन टोली अब मुख्य प्रभावित क्षेत्रको बस्तीमा केन्द्रित भएको राससले जनाएको छ।
उपत्यका बाहिरबाट एलपी ग्यास सिलिन्डर भर्न थालियो
तस्बिर स्रोत, STC
पृथ्वी
राजमार्गको कृष्णभीरमा सडक भासिएपछि काठमाण्डू उपत्यकाबाहिर खाना पकाउने
ग्यास भरेर लैजान थालिएको राष्ट्रिय समाचार समितिले जनाएको छ।
यसअघि नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष देवान चन्दले नेपाल
आयल निगमले उद्योगीलाई राजधानी बाहिरग्यास भर्न अनुमति दिएको बताएका थिए।
उपत्यका र छिमेकी जिल्लामा रहेका १६ उद्योगले बारा, पर्सा, चितवन, मकवानपुर,
नवलपरासी
(बर्दघाट–सुस्तापूर्व), नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लाका
उद्योगसँग समन्वय गरी भरेर उपत्यका लैजान थालेका बताइएको छ।
उपत्यका र छिमेकी जिल्लामा
कुल ग्यास खपतको ४० प्रतिशत खपत हुने उद्योगीहरूको भनाइ छ।
ग्यास बोकेका बुलेट वैकल्पिक मार्गबाट पनि काठमाडौँ छिर्न नसकेपछि बाहिर नै
भरेर सिलिन्डरमा ग्यास भरेर लैजान थालिएको हो।
भदौ १० गते तिब्बत हुँदै भोटेकोशी नदीमा आएको बाढीले रसुवासहित विभिन्न जिल्लामा ठूलो विनाश निम्त्यायो। रसुवाको स्याफ्रुबेँसी अतिप्रभावित क्षेत्रमध्ये एक हो।
भोटेकोशी नदीको किनारमा रहेको स्याफ्रुबेँसी अहिले बगरमा परिणत भएको छ। हेर्नुहोस् केही तस्बिर।
तस्बिर स्रोत, RSS
तस्बिर स्रोत, RSS
तस्बिर स्रोत, RSS
तस्बिर स्रोत, RSS
तस्बिर स्रोत, RSS
तस्बिर स्रोत, RSS
कुन जिल्लामा कति शव फेला परे
तस्बिर स्रोत, Reuters
पछिल्लो तथ्याङ्कअनुसार बाढीमा परी हालसम्म मृत्यु हुनेको सङ्ख्या १,२२२ पुगेको छ।
रसुवादेखि नवलपरासी पश्चिमसम्म शवहरू फेला परेको खोजी तथा उद्धारमा संलग्न निकायहरूले जनाएका छन्। केही शव नारायणी नदीमा बगेर भारत पनि पुगेका छन्।
रसुवा – ११५
नुवाकोट – १५५
धादिङ – ६०
गोरखा – ६९
नवलपरासी पूर्व – २१७
नवलपरासी पश्चिम – २०२
तनहुँ – ३८
चितवन – ३४८
झन्डै १२ हजार जनाको उद्धार, हराइरहेकाको खोजी 'प्राथमिकतामा'
तस्बिर स्रोत, Reuters
भोटेकोशी र त्रिशूली नदीमा विनाशकारी बाढीको एक आठ दिन पुग्दा बुधवार साँझसम्म ११,९९३ जनाको उद्धार गरिएको सरकारी निकायहरूले बताएका छन्।
हिजो बेलुकाको तथ्याङ्कअनुसार ४,२१६ जना अझै
सम्पर्कविहीन छन्।
सम्पर्कविहीनको खोजी प्राथमिकताका साथ जारी रहेको अधिकारीहरूले बताएका
छन्।
रासससँग राष्ट्रिय विपद् जोखिम
न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले बाढी प्रभावित क्षेत्रमा
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी २१,३१४ सुरक्षाकर्मी
परिचालन गरिएको बताएकी छन्।
नेपाल प्रहरीका ७,९१२, सशस्त्र प्रहरी बल नेपालका ४,२०३ र नेपाली सेनाका ९,१९९ सुरक्षाकर्मी
खोज तथा उद्धारमा खटिएका छन्।
सुरक्षाकर्मीले नदी किनार, बाढीबाट प्रभावित बस्ती, सडक तथा पहिरो गएका क्षेत्रमा खोजी गरिरहेका छन् ।
प्राधिकरणका अनुसार बाढीपछि नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५ र
सशस्त्र प्रहरी बल नेपालका १३ जना सम्पर्कविहीन छन्।
भन्सार कार्यालयका १४,
अध्यागमन
कार्यालयका तीन तथा रसुवाबाट करिब ८६५ जना सम्पर्कविहीन छन्।
जलविद्युत् आयोजनामा कार्यरत करिब ९००, लाङ्टाङ राष्ट्रिय निकुञ्जका
तीन, क्वारन्टीन कार्यालयका तीन, जनप्रतिनिधि सात, स्थानीय तह वा मातहतका कर्मचारी ३२ तथा निजी
विद्यालयका एक जना सम्पर्कविहीन रहेको प्राधिकरणको विवरणमा उल्लेख छ।
सेनाले हालसम्म ४,०९१ नेपाली र २७३ विदेशी नागरिकको हवाई उद्धार गरेको बताइएको
छ।
लाइभ पेजमा यहाँलाई स्वागत छ
नमस्कार। बीबीसी नेपाली सेवाको लाइभ पेजमा यहाँलाई स्वागत छ।
भोटेकोशी र त्रिशूली नदीमा विनाशकारी बाढी आएको आज नवौँ दिन हो।
आज हामी यो लाइभ पेजमा उक्त बाढीले पुर्याएको क्षति र त्यसपछि जारी उद्धार तथा राहतका प्रयासबारे भइरहेका गतिविधिबारे अप्डेट गर्ने छौँ।