इजरेल र इरान 'पूर्ण युद्धविरामका निम्ति सहमत भएको' डोनल्ड ट्रम्पको दाबी

डोनल्ड ट्रम्प

तस्बिर स्रोत, Getty Images

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इजरेल र इरानले "सिङ्गो र पूर्ण युद्धविरामका निम्ति सहमति जनाएको" दाबी गरेका छन्।

उनले अबको केही घण्टामा त्यस्तो युद्धविराम कार्यान्वयनमा जाने पनि बताएका छन्।

इरान र इजरेलको तर्फबाट उनको त्यस्तो घोषणाको पुष्टि हुन बाँकी नै छ।

डोनल्ड ट्रम्पले युद्धविराम सहमतिको बारेमा घोषणा गर्दै दुवै देशले आफ्ना सैन्य कारबाहीहरूलाई "अन्त्य गर्ने" काम थालेपछि "अबको लगभग छ घण्टापछि" त्यो लागु हुने बताएका थिए। ट्रम्पको घोषणामा सैन्य गतिविधिहरूका बारेमा समयबद्ध विवरणहरू भएता पनि त्यसमा युद्ध औपचारिक रूपमा अन्त्य हुने कुरा समावेश छ।

अमेरिकी राष्ट्रपतिले इजरेल इरान द्वन्द्वलाई "१२ दिनको युद्ध" पनि भने। उनले आफ्नो सन्देशमा "यो युद्ध वर्षौँसम्म चल्न सक्ने र सम्पूर्ण मध्यपूर्वलाई ध्वस्त पार्न सक्ने खालको भएपनि त्यसो नभएको र अब कहिल्यै त्यस्तो नहुने" दाबी पनि गरेका छन्।

इजरेल र इरानबाट 'युद्धविराम' घोषणाको पुष्टि हुन बाँकी

बीबीसीका संवाददाता बर्न्ड डेबुस्मन जूनिअर ह्वाइटहाउसबाट पठाइएको उनको समाचार विवरणमा भन्छन् कि ट्रम्पको युद्धविराम घोषणका बारेमा इजरेल र इरानको प्रतिक्रिया थाहा पाउनै बाँकी छ। फेरि उनको यो घोषणपछि लडाइँ रोकिन्छ वा युद्धविराम लागु भएमा त्यो कायमै रहन्छ भन्ने कुनै ग्यारेन्टी पनि छैन।

अमेरिकी सञ्चारमाध्यमहरूले नाम उल्लेख नगरिएका सरकारी अधिकारीहरूलाई उल्लेख गर्दै कतारी प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले युद्धविरामका निम्ति भूमिका खेलेको जनाएका छन्।

तर ट्रम्पले गरेको युद्धविरामसम्बन्धी घोषणाप्रति इरानबाट औपचारिक प्रतिक्रिया आइनसकेको बीबीसी पर्सिअन सेवाकी पत्रकार घोनशेह हबिबिआजादले बताएकी छन्।

इरानको सरकारी लगायतका सञ्चारमाध्यमहरूले त्यसलाई "ट्रम्पको दाबी" मात्रै भनेर जनाएका छन्, जुन हालका निम्ति घटनालाई सावधानीपूर्वक लिइएको सङ्केत हो।

यसैबीच इजरेली सेना आईडीएफले तेहरानका विभिन्न जिल्लालाई लक्ष्यित गर्दै त्यहाँ हमला हुन सक्ने भनी मानिसहरूलाई अन्यत्र जान तीनवटा सूचनाहरू जारी गरेको छ।

देशका विभिन्न भागमा विस्फोटका आवाज सुनिएको विवरण प्राप्त भएको छ।

इरानद्वारा कतारस्थित अमेरिकी सैन्य अखडामा हमला

त्यसअघि इरानले कतारस्थित संयुक्त राज्य अमेरकाको हवाई सैन्य अखडामा क्षेप्यास्त्र हमला गरेको थियो, जसलाई इरानले शनिवार आफ्नो परमाणु केन्द्रहरूमा भएका हमलाको जवाफ भनेको छ।

ट्रम्पले त्यस्तो हमलामा अमेरिकी वा कतारी कोही पनि हताहत नभएको भन्दै इरानको हमला "एकदमै कमजोर" रहेको बताएका थिए र उनले "हमलाबारे पहिले नै जानकारी दिएकामा" इरानलाई धन्यवाद पनि दिए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।