इरान इजरेल युद्ध: इरानका सर्वोच्च नेता भूमिगत बङ्करभित्र, उनको हत्या योजना ट्रम्पले रोकिदिएका हुन्?

तस्बिर स्रोत, EPA-EFE/Shutterstock
अमेरिकाबाट प्राप्त विवरणहरूमा राष्ट्रपति डोनल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईको हत्या गर्ने इजरेली योजना रोकिएदिएको उल्लेख छ।
लगातार चौथो रात पनि दुई देशबीच घातक आक्रमण र प्रत्याक्रमण जारी छ।
शुक्रवारयता इरानमा कम्तीमा २२४ जनाको ज्यान गएका विवरण आएका छन्। इजरेलमा कम्तीमा १२ जनाको ज्यान गएका विवरण छन्।
कहाँ होलान् इरानी सर्वोच्च नेता?
इरानका सर्वोच्च नेतालाई मारिदिने इजरेलको योजनालाई ट्रम्पले व्यक्तिगत रूपमा हस्तक्षेप गरेर रोकिदिएको र अहिलेको द्वन्द्वको अवस्थामा त्यस्तो योजना 'राम्रो उपाय' नभएको उनले बताएका विवरण आएका छन्।
एकजना वरिष्ठ अमेरिकी अधिकारीलाई उद्धृत गर्दै रोएटर्स समाचार संस्थाले इरानीहरूले कोही अमेरिकी नमारेको हुनाले तेहरानको राजनीतिक नेतृत्व विरुद्धका हमलालाई वाशिङ्टनले समर्थन नगर्ने बताए।
ह्वाइट हाउसले इजरेलले उसको ध्यान इरानको परमाणु क्षमता ध्वस्त पार्नेतर्फ केन्द्रित गर्न सुझाएको विश्वास गरिन्छ।
यी विवरणबारे ट्रम्पले कुनै सार्वजनिक टिप्पणी गरेका छैनन्। एक अमेरिकी टेलिभिजनसँगको अन्तर्वार्तामा इजरेली प्रधानमन्त्री बेन्जमिन नेतान्याहुले पनि यसबारे सोधिएका प्रश्नको जबाफ दिनबाट तर्किए।
इरानभित्रका सूत्रहरूका अनुसार इजरेलले शुक्रवार आक्रमण थाले लगत्तैका केही घण्टामा आयातोल्लाह अली खामेनेईलाई तेहरानको उत्तरपूर्वी भागमा रहेको भूमिगत बङ्करभित्र लगिएको छ।
शुक्रवारकै इजरेली हमलामा इस्लामिक रिभोलुशनरी गार्डस्का कमान्डर इन चीफ होसेन सलामी, इरानको सशस्त्र सेनाको चीफ अफ स्टाफ मोहम्मद बघेरी तथा कैयन् वरिष्ठ परमाणु वैज्ञानिकहरू मारिएका थिए।
युद्धको पछिल्लो अवस्था के हो?

तस्बिर स्रोत, Reuters
इजरेली सेनाका अनुसार उसले मध्य इरानमा रहेको जमिनबाट जमिनमा प्रहार गर्ने क्षेप्यास्त्रस्थलमा हमला गरेको छ।
तेहरान नजिकैको पर्चिनमा आक्रमण भएको इरानको मेहर समाचार एजेन्सीले जनाएको छ।
उक्त स्थलमा सैन्य परिसर रहेको छ जहाँ स्थित परमाणु अनुसन्धान केन्द्रलाई गत अक्टोबरमा इजरेलले हमला गरेर ध्वस्त पारिदिएको बताइएको थियो।
इरानले इस्लामिक रिभोलुशनरी गार्ड्सका खुफिया इकाइका प्रमुख मोहमद काजेमी मारिएको पुष्टि गरेको छ।
इजरेलको सेना आईडीएफले भनेको छ सोमवार सबेरै इरानले थप क्षेप्यास्त्रहरू प्रहार गरेको छ जसलाई निस्तेज बनाउन प्रतिरक्षा प्रणाली सक्रिय पारिए।
जेरुसलेममा विस्फोटनका विवरण आएका छन्।
आइतवार साँझ भएको इरानी हमलामा ८ जना घाइते भएको बताइएको छ।
यसबीच शक्तिशाली तथा सम्पन्न देशहरूको समूह जी सेभेनका नेताहरू तीन दिने शिखर बैठकका निम्ति क्यानडाको अल्बर्टा प्रान्तमा भेला हुन थालेका छन्।
उक्त बैठकमा इजरेल र इरानबीचको युद्ध मुख्य विषय बन्ने देखिएको छ।
ब्रिटेन र फ्रान्सले संयम अपनाउन र द्वन्द्व मत्थर पार्न आह्वान गरेका छन्।
जापानले इजरेलद्वारा गरिएको आक्रमण 'निकै दुखद' भन्दै त्यसको निन्दा गरेको छ।
बीबीसी कूटनीतिक संवाददाताका अनुसार जी सेभेनका नेताहरूले अमेरिकी राष्ट्रपतिलाई इजरेलमाथि उनको प्रभाव प्रयोग गरेर द्वन्द्व थप चर्कन नदिन अनुरोध गर्ने छन्।
बैठकका निम्ति वाशिङ्टनबाट त्यसतर्फ लाग्नु पूर्व टिप्पणी गर्दै ट्रम्पले दुई पक्षबीच सम्झौता हुने आशा प्रकट गरे तर कहिलेकाहीँ उनीहरूबीच 'लड्न' पनि आवश्यक हुन जाने बताए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








