युद्ध चर्किए इजरेलबाट नेपालीहरूको 'उद्धार आवश्यक हुने,' सरकारसँग विकल्प के-के छ

तस्बिर स्रोत, EPA
- Author, प्रदीप बस्याल
- Role, बीबीसी न्यूज नेपाली
इरान र इजरेलबीच देखा परेको प्रत्यक्ष द्वन्द्वले घातक स्वरूप लिइरहँदा खास गरी पाँच हजारभन्दा धेरै नेपाली श्रमिकहरू रहेको इजरेलमा उनीहरूको सुरक्षा चिन्ता बढेको छ।
शुक्रवारदेखि सुरु भएको पछिल्लो द्वन्द्व थप चर्कने घटनाक्रम देखा परिरहँदा इजरेलबाट उनीहरूको उद्धार गर्नुपर्ने कुरा उठ्न थालेका छन्।
इजरेलमा आपत्काल घोषणा गरिएको पछिल्लो अवस्थामा त्यहाँ दिनहूँ क्षेप्यास्त्र हमला भइरहँदा बारम्बार भूमिगत बङ्करमा लुक्नुपर्ने अवस्था सिर्जना भइरहेको त्यहाँ रहेका नेपालीहरूले बीबीसीसँग बताएका छन्।
इरानमा भने झण्डै एक दर्जनको सङ्ख्यामा मात्र भिजिट भिसामा गएर अनौपचारिक रूपमा बसिरहेका नेपालीहरू रहेको अधिकारीहरूले बताएका छन्।
तर काठमाण्डू र तेल अभिभस्थित नेपाली अधिकारीहरूले "अहिले नै त्यस्तो (उद्धार गर्नुपर्ने) अवस्था नदेखिएको" भए तापनि घटनाक्रमलाई आफूहरूले 'नजिकबाट हेरिरहेको' बताएका छन्।
बीबीसीसँग कुरा गर्दै नेपालको परराष्ट्र र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ताहरूले उद्धार गर्नुपर्ने अवस्थाबारे आफूहरू इजरेलस्थित नेपाली दूतावाससँग आपसी संवादमा रहेको र "आवश्यक समयमा उपयुक्त निर्णय" लिइने बताए।
तर त्यस्तो अवस्था कतिखेर आउने र त्यसबेला के गर्ने भन्नेबारे अहिले नै टिप्पणी गर्न हतार हुने उनीहरूको जबाफ छ।
एकजना वैदेशिक श्रम मामिलाका विज्ञले भने उद्धारको निर्णय सरकारी सोचका आधारमा नभईकन त्यहीँ रहेका नेपालीहरूको आवश्यकता बुझेर हुनुपर्ने टिप्पणी गरेका छन्।
बीबीसीसँग कुरा गरेका इजरेलस्थित केही नेपालीहरूले पछिल्लो तनाव यसअघिका युद्धमा समेत नदेखिएको "निकै गम्भीर" रहेको र "विमानस्थल खुल्दाको अवस्थामा नेपाल फर्कने" अवस्थामा रहेको बताएका छन्।
इजरेलमा इरानी क्षेप्यास्त्रको असर आवासीय भवनहरूमा समेत परेको छ जहाँ अधिकांश नेपालीहरू केअरगिभर भनिने वृद्ध वृद्धा, बिरामी र अपाङ्गता भएका व्यक्तिहरूको हेरचाह गर्ने काममा संलग्न छन्।
परराष्ट्र मन्त्रालयको मनस्थिति के छ
परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले आइतवार साँझ बीबीसीसँग कुरा गर्दै हालसम्म नेपालीहरू सुरक्षित अवस्थामा रहेको र त्यहाँस्थित नेपाली दूतावास उनीहरूसँग सम्पर्कमा रहेको बताएका छन्।
उद्धार गर्नुपर्ने हुनसक्ने अवस्थाबारे सरकारले के सोचेको छ भन्ने प्रश्नमा ढकालले भने: "अहिले त्यस्तो अवस्था देखिइसकेको छैन। तर अहिलेको अवस्थामा हामी घटनाक्रमलाई नजिकबाट हेरिरहेका छौँ र आवश्यकता अनुसार उपयुक्त कदम चाल्ने नै छौँ।"

प्रवक्ता ढकालले नेपाली समुदायसँगको सम्पर्कका क्रममा इजरेल सरकारद्वारा जारी भइरहेका पूर्वसावधानीका उपायको पालनामा जोड दिइएको बताए।
उनले आवश्यकता पर्दाको अवस्थामा इजरेल सरकारसँगको समन्वयमा उचित कदम चालिने बताएका छन्।
तेल अभिभस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले विकसित घटनाक्रमलाई लिएर आफू र परराष्ट्रमन्त्रीबीच निरन्तर सम्पर्क भइरहेको बताएका छन्।
"अवस्था निकै विग्रिएर हाम्रा नागरिकलाई उद्धार गर्नुपर्ने परिस्थिति आउँदा हामी सबै ढङ्गले तयार छौँ। पानीजहाजमार्फत साइप्रस पुर्याएर हुन्छ वा स्थल नाकामार्फत् जोर्डन पुर्याएर हुन्छ हामी त्यसको विकल्प हेरिरहेका छौँ," राजदूत पण्डितले बीबीसीसँग भने।
"परराष्ट्रसँगको कुराकानीमा आवश्यक परे उद्धार उडान गर्ने विकल्प समेत तयार राख्ने कुरा छ। मैले आपसी सहकार्यका लागि यहाँस्थित भारतीय राजदूतसँग समेत कुराकानी गरिरहेको छु।"
जोखिम कहाँ-कहाँ?
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरे हमासको अक्टोबर ७ को हमलापछिको अवस्थामा नेपालले उद्धार गरेको हालैको उदाहरणलाई हेरेर पनि आवश्यक पर्दाको हकमा त्यसो गर्ने कुरामा सन्देह व्यक्त गर्नु नपर्ने बताउँछन्।
"अहिले पनि पर्दा गर्ने त्यस्तै नै हो। परराष्ट्र मन्त्रालयसँग हामी निकट संवादमा काम गरिरहेका छौँ। त्यस्तो अवस्थामा हामी [उद्धार] गरिहाल्छौँ," घिमिरे भन्छन्।
"हाल अन्य देशहरू जोडिइ नसकेकाले हाम्रो ध्यान मध्यपूर्वका अन्य देशमा केन्द्रीत भइसकेको छैन। इरानमा करिब एक दर्जनको सङ्ख्यामा नेपालीहरू रहेको भनिए पनि अनौपचारिक बाटोबाट गएका उहाँहरू सम्पर्कमा हुनुहुन्न।"
त्यसबाहेक लेबनन, जोर्डन, इराक र सिरिया दुई देशबीचको द्वन्द्वको प्रत्यक्ष मारमा पर्न सक्ने देशका रूपमा हेरिन्छन् जहाँ औपचारिक र अनौपचारिक तवरबाट गएका नेपालीहरू रहेका पाइन्छन्।
यीमध्ये जोर्डनमा झण्डै ३,००० र लेबननमा झण्डै ८०० जना शान्ति सैनिकबाहेक १,२०० जना जति नेपाली श्रमिकहरू रहेको ठानिन्छ।

इराक र सिरियामा नेपालीहरूको यकिन विवरण नरहेको बताइन्छ।
"इराक, सिरियाजस्ता देशमा हामीले जान बन्देज गरेका छौँ। अर्कोतिर हाम्रा सबैभन्दा धेरै नेपाली भएको यूएई हो जुन देश यसमा तटस्थ देखिएको छ," घिमिरे भन्छन्।
तर इरानले 'स्ट्रेट अफ हर्मुज' भनिने खाडी क्षेत्रको जल क्षेत्र बन्द गर्ने चेतावनी दिइरहँदा त्यससँग जोडिएको ओमानमा समेत पर्न सक्ने सम्भावित असरलाई समेत आफूहरूले नियालिरहेको नेपाली अधिकारीहरू बताउँछन्।
श्रम प्रवक्ता घिमिरे भन्छन्: "तत्काललाई इजरेलबाहेक हामीले संवेदनशील मानेर निकट रूपमा अवस्था नियालिरहेको ओमान हो जहाँ झण्डै २० हजार नेपालीहरू कार्यरत छन्।"
नेपालका विकल्प
वैदेशिक श्रम मामिलाका एकजना विज्ञ गणेश गुरुङले कतिखेर उद्धार आवश्यक हुन्छ भन्ने कुरा नेपाल सरकारको भन्दा त्यहीँ भएका नेपालीहरूमार्फत् निर्क्योल हुनु महत्त्वपूर्ण हुने बताउँछन्।
अहिले नै ब्रिटेनसहितका कैयौँ पश्चिमा देशहरूले इजरेलमा यात्रा प्रतिबन्ध लगाइसकेको अवस्था छ भने शुक्रवारदेखि त्यहाँ नियमित उडानहरू हुन सकेका छैनन्।

त्यहाँ काम गर्ने नेपालीहरू अहिले नै "आतङ्कित अवस्थामा भए उद्धारका लागि कुनै मानवीय क्षति पर्खनु नहुने" गुरुङ टिप्पणी गर्छन्।
उनी थप्छन्: "उनीहरू आतङ्कित अवस्थामा भए सरकारले जोखिम देखे-नदेखे पनि उद्धार गर्नुपर्ने हुन्छ।"
बरु त्यसका लागि सरकारले सहजीकरण गर्न सक्ने विभिन्न विकल्पहरू अघि सार्नुपर्ने गणेश गुरुङ सुझाउँछन्।

तस्बिर स्रोत, Anadolu via Getty Images
वैदेशिक रोजगार बोर्डसँग यस्तै अवस्थाका लागि पैसा जुटाएर राखिएकाले यस सङ्कटमा त्यसको उपयोग गर्न सकिने विज्ञहरू सुझाउँछन्।
"त्यहाँ पैसाको अभाव छैन र त्यो वहाँहरूले नै जम्मा पारेर राखेको पैसा पनि हो," गुरुङ भन्छन्।
गणेश गुरुङ विगतमा कैयौँ पटक उद्धारका लागि भारतको साथ लिएको र उसको तयारी र सूचना नेपालको भन्दा राम्रो हुने देखिएको बताउँदै त्यो एउटा विकल्प हुनसक्ने औँल्याउँछन्।
त्यसबाहेक इजरेलसँग सीमा जोडिएको एवं ऊसँग दौत्य सम्बन्ध भएको जोर्डनसम्म पुर्याएर त्यहाँबाट उद्धार गर्न सकिने अर्को विकल्प हुने उनी बताउँछन्।
"नेपाल सरकारले उद्धार आवश्यक पर्न सक्ने सङ्ख्या र सम्भावित मार्गका लेखाजोखा र सहकार्य गर्नुपर्ने देशका विभिन्न विकल्पमा काम गर्न अत्यावश्यक भइसकेको छ," श्रमविज्ञ गुरुङ भन्छन्।
"तर इजरेलमा अन्य देशहरूको तुलनामा फरक पक्ष भनेको सबैजसो घरमा भूमिगत बङ्कर हुनु, सुरक्षाका मामिलामा उनीहरूले इजरेलीसरह नै प्राथमिकता पाउनु र इजरेलीहरूको त्यसमा सहकार्य नै हुनुले सबै नेपालीहरू फर्किहाल्न चाहने नहुन सक्छ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








