इजरेल र इरानबीच जारी द्वन्द्वका पाँच सम्भावित सबैभन्दा खराब परिणाम

तस्बिर स्रोत, Reuters
- Author, जेम्स ल्यान्डेल
- Role, कूटनीतिक संवाददाता
अहिलेसम्म इजरेल र इरानबीचको युद्ध दुई देशबीच मात्रै सीमित देखिएको छ। संयुक्त राष्ट्रसङ्घसहित सबैतिरबाट संयम अपनाउन आग्रह भएका छन्।
यदि दुवै पक्षले यो आग्रह सुनेनन् भने के हुन्छ? लडाइँ बढ्यो र अझै फैलियो भने के हुन्छ?
केही सम्भावित खराब अवस्थाबारे यहाँ चर्चा गरिएको छ।
अमेरिका तानिन सक्छ
अमेरिकाले अस्वीकार गरे पनि इजरेली आक्रमणलाई अमेरिकी सेनाले अनुमोदन र कम्तीमा पनि मौन समर्थन गरेको इरानको स्पष्ट विश्वास छ।
यसको जबाफमा इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गर्न सक्छ।
त्यसमा इराकमा रहेका विशेष फौजका शिविरहरू, खाडीमा रहेका सैन्य अखडा र यो क्षेत्रमा रहेका कूटनीतिक नियोगहरू पर्न सक्छन्।
त्यसका लागि इरानका 'प्रोक्सी' फौजहरू हमास र हिज्बुल्लाह कमजोर भएका हुन सक्छन् तर इराकमा रहेका यसका सहयोगी सशस्त्र विद्रोहीहरू अझै पनि सशक्त रहेका हुन सक्छन्।
अमेरिकाले यस्तो आक्रमणको सम्भावना औँल्याउँदै केही फौज फिर्ता पनि बोलाइसकेको छ।
यद्यपि सार्वजनिक खपतका लागि उसले यदि अमेरिकी निसानामा कुनै आक्रमण भए त्यसको कडा परिणाम भोग्नुपर्ने चेतावनी इरानलाई दिएको छ।
यदि तेल अभिभ वा अन्य कुनै स्थानमा अमेरिकी नागरिक मारिएको अवस्थामा के हुन सक्छ?
त्यस अवस्थामा डोनल्ड ट्रम्प आफैँ कुनै कदम चाल्न बाध्य हुन सक्छन्।
इरानलाई हराउन र आफूलाई सघाउन अमेरिका यो युद्धमा तानिने अवस्थाका लागि इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहू लामो समय देखिको पर्खाइमा छन्।
सैन्य विश्लेषकहरूका अनुसार फोर्डोमा रहेका जस्ता इरानका आणविक उत्पादन केन्द्रहरूसम्म प्रहार गर्न आवश्यक बङ्कर छेड्न सक्ने बमवर्षकहरू अमेरिकासँग मात्रै छन्।
तर यसो गर्न ट्रम्पलाई एउटा अप्ठ्यारो छ। उनले चुनावमा भोट माग्न चलाएको 'मेक अमेरिका ग्रेट अगेन' अभियानका क्रममा आफूले "अनन्त चलिरहने" युद्ध सुरु नगर्ने वाचा गरेका थिए।
तर उनको दल रिपब्लिकनका कैयौँले इजरेल सरकार र तेहरानमा सत्ता पलट हुनुपर्ने इजरेली सत्ताको धारणालाई समर्थन पनि गरिरहेका छन्।
यदि अमेरिका यो युद्धमा सक्रिय सहभागी भयो भने त्यसले युद्ध थप चर्काउने मात्रै नभई त्यसलाई विनाशकारी र लामो समयसम्म चल्ने स्तरको बनाउने सम्भावना छ।
खाडी राष्ट्रहरू जोडिन सक्छन्
यदि इजरेलका अति सुरक्षित सैन्य र अन्य निसानाहरूमा क्षति पुर्याउन इरान सफल भएन भने उसले त्यसपछि खाडी राष्ट्रका केही सहज निसानाहरूमा आफ्ना क्षेप्यास्त्र ताक्न सक्छ।
वर्षौँदेखि आफ्ना शत्रु पक्षलाई सहयोग गरिरहेको इरानले ठान्ने देशहरू त्यो निसानामा पर्न सक्छन्।
यो क्षेत्रमा निसानाका लागि कैयौँ ऊर्जा र पूर्वाधारहरू छन्। सन् २०१९ मा साउदी अरबको तेल उत्खनन क्षेत्रमा आक्रमण गरेको आरोप इरानमाथि लागेको थियो।
सन् २०२२ मा पनि उसको समर्थन रहेको यमनको हुथी विद्रोही समूहले यूएईका केही स्थानमा आक्रमण गरेका थिए।
त्यसयता इरान र यो क्षेत्रका केही देशहरूबीच एक किसिमको मेलमिलाप भएको छ।
तर यिनै देशहरूले अमेरिकी हवाई अड्डाका लागि ठाउँ दिएका छन्। त्यसमध्ये केहीले गोप्य रूपमा गत वर्ष इरानी क्षेप्यास्त्र आक्रमणबाट इजरेललाई जोगाउन सहयोग पनि गरे।
यदि खाडी क्षेत्रमा आक्रमण भयो भने ती राष्ट्रहरूले पनि आफ्नो र इजरेलको रक्षाका लागि अमेरिकी युद्धक विमान मगाउन सक्छन्।
इरानको आणविक क्षमता निस्तेज गर्न इजरेल असफल हुन सक्छ
इजरेलको आक्रमण असफल भयो भने के हुन्छ? इरानका आणविक केन्द्रहरू जमिनमुनि निकै गहिरोमा र अति सुरक्षित रहेछन् भने के हुन्छ?
यदि अस्त्र बनाउन संवर्द्धन गरिएको उसको ४०० किलोग्राम युरेनिअम नष्ट भएन भने के हुन्छ?
त्यसले परमाणुअस्त्रका लागि इन्धनको काम गर्छ र त्यो सम्भवत: अस्त्र बन्नै लागेको अवस्थामा रहेको विश्वास गरिन्छ अनि त्यो १० वा त्यसभन्दा अधिक बमहरू बनाउन पर्याप्त रहेको हुन सक्ने आकलन छ।
उक्त युरेनिअम अति गोप्य खानीहरूमा गहिरो गरी लुकाइएको हुन सक्ने ठानिएको छ।
इजरेलले इरानका केही आणविक वैज्ञानिकहरूको ज्यान लिएको हुन सक्छ तर इरानको ज्ञान र विशेषज्ञतालाई कुनै पनि बमले नष्ट गर्न सक्दैन।
यदि इजरेलको आक्रमणले इरानको नेतृत्वलाई आफ्नो परमाणु क्षमतालाई जति सक्दो चाँडो तयार गर्नु एक मात्रै प्रत्याक्रमणको उपाय हो भनेर विश्वस्त तुल्यायो भने के हुन्छ?
आफ्ना प्रमुख मारिएपछि नेतृत्वमा आएका नयाँ सैन्य प्रमुखहरू पूर्ववर्तीहरू भन्दा थप कट्टर र कम सजग भए भने त्यसको परिणाम के हुन्छ?
यसले कम्तीमा पनि इजरेललाई थप आक्रमण गर्न बाध्य पार्न सक्छ।
यस क्षेत्रलाई निरन्तर आक्रमण र प्रत्याक्रमणको शृङ्खलामा तान्न सक्छ। इजरेलीहरूले यो रणनीतिका लागि प्रयोग गर्ने एउटा क्रूर वाक्यांश छ "घाँस काट्ने।"
विश्वव्यापी आर्थिक झड्का
तेलको मूल्य अहिले नै बढ्दो क्रममा छ।
यदि इरानले 'स्ट्रेट अफ हर्मुज' भनिने खाडी क्षेत्रको जल क्षेत्र बन्द गरेर इन्धनको ढुवानी थप कठिन बनायो भने के हुन्छ?
अनि अरब प्रायद्वीपको अर्को छेउमा यमनका हुथीहरूले 'रेड सी'मा जहाजहरूमा आक्रमण गर्ने आफ्नो प्रयास दोबर पारे भने के हुन्छ?
यो समूहको विगतले उनीहरूलाई अप्रत्याशित आक्रमण र उच्च जोखिम लिन सक्ने देखाएको छ। उनीहरू इरानका निम्ति अन्तिम 'प्रोक्सी' सहयोगी हुन सक्छन्।
विश्वभरका धेरै देशहरूले अहिले नै जीवनयापनको बढ्दो लागतबाट निम्तिएको सङ्कटको सामना गरिरहेका छन्।
तेलको बढ्दो मूल्य र ट्रम्पको कर युद्धको भारले पहिले नै थिचिएको विश्वव्यापी आर्थिक प्रणालीमा मुद्रास्फीतिको भार थप्नेछ।
अनि बिर्सनै नहुने अर्को पक्ष भनेको बढ्दो तेलको मूल्यबाट फाइदा उठाउने एक व्यक्ति रुसका राष्ट्रपति पुटिन हुन्।
यो अवस्थामा क्रेमलिनको ढुकुटीमा अचानक अर्बौँ डलर जम्मा हुनसक्छ र युक्रेन युद्धका कारण तिर्न बाँकी ऋण पुटिनले चुक्ता गर्न सक्छन्।
इरानको सत्ता ढल्न सक्छ
इरानमा इस्लामिक विद्रोहबाट उदाएको सत्ता ढाल्ने आफ्नो दीर्घकालीन दाउमा इजरेल यदि सफल भयो भने के हुन्छ?
नेतन्याहूले आफ्नो पहिलो लक्ष्य इरानको आणविक क्षमता नष्ट गर्ने रहेको दाबी गर्ने गरेका छन्।
तर उनले पछिल्लो वक्तव्यमा आफ्नो व्यापक दाउ इरानको सत्ता फेर्ने रहेको स्पष्ट गरिसकेका छन्।
इरानको वर्तमान सरकार ढाल्ने कुराले यो क्षेत्रका केहीलाई प्रभावित गर्न सक्छ- विशेषगरी केही इजरेलीहरूलाई।
तर इरानमा गृहयुद्ध भयो भने त्यसले कस्तो अन्योल र अस्थिरता निम्त्याउन सक्छ? कस्ता अप्रत्याशित परिणामहरू निम्तिन सक्छन्?
इराक र लिबिया दुवै देशमा कायम सत्ता र सरकार हटाएपछि के भयो भन्ने धेरैको सम्झना अझै ताजै छ।
आगामी दिनहरूमा यो द्वन्द्व कसरी अगाडि बढ्छ भन्नेमा धेरै कुरा निर्भर देखिन्छ।
इरानले कसरी र कति कडा बदला लिन्छ? अनि अमेरिकाले इजरेललाई कुन हदसम्मको संयम अपनाउन दबाव दिन सक्छ?
यी दुई प्रश्नको उत्तरमा धेरै कुरा निर्भर हुन सक्छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








