इरान र अमेरिका दुवै परमाणु वार्ता गर्न 'चाहन्छन्' तर तेहरान यी कारणले सङ्कोच पनि मान्दै छ

तेहरानमा अमेरिकाविरोधी भित्तेचित्र बनाइँदै

तस्बिर स्रोत, ATTA KENARE/AFP via Getty Images)

तस्बिरको क्याप्शन, इरानले अमेरिकामाथि आशङ्का गर्नुका पछाडि ऐतिहासिक असन्तुष्टि छ
    • Author, आर्मेन नेर्सेसिअन
    • Role, बीबीसी विश्व सेवा

इरानसँग परमाणु कार्यक्रमबारे प्रत्यक्ष संवाद गर्ने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको घोषणाले यो साता धेरैलाई अचम्भीत पारिदियो।

उनले कूटनीति विफल भए सैन्य कारबाही हुने चेतावनी पनि दिन छुटाएनन्। तर वार्ताको प्रसङ्ग उठाउनुलाई महत्त्वपूर्ण मानिएको छ। किनभने अघिल्लो कार्यकालमा ट्रम्पले इरानसँग सन् २०१५ मा भएको परमाणु सम्झौता स्थगित गरिदिएका थिए।

इरानले वर्षौँदेखि आर्थिक तथा रणनीतिक दबाव खेप्नुपरेको छ। तर इरानका सर्वोच्च नेता आयतूला अली खामनेईले अमेरिकासँग प्रत्यक्ष वार्ता गर्न मानेका छैनन्।

कूटनीतिक कारणले मात्र उनी अनिच्छुक देखिएका हैनन्, उनी उक्त इस्लामिक गणतन्त्रको राजनीतिक र वैचारिक जग बचाउन पनि वार्ता गर्ने पक्षमा नउभिएका हुन्।

इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूसँग अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प

तस्बिर स्रोत, Avi Ohayon (GPO) / Handout/Anadolu via Getty Images

तस्बिरको क्याप्शन, इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूसँगको भेटमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कूटनीति विफल भए सैन्य कारबाहीको सम्भावना रहने बताएका थिए

इरानी सत्तासँग ऐतिहासिक रूपमा शत्रुतापूर्ण सम्बन्ध रहेको अमेरिकासँग खुलस्त छलफलमा सहभागी हुँदा त्यहाँ विद्यमान अमेरिकाविरोधी भावनामा ठेस पुग्नुका साथै कट्टरपन्थीहरूमाझ खामनेईको वर्चस्व कमजोर हुन सक्छ।

इरानका विदेशमन्त्रीले ओमानमा अप्रत्यक्ष वार्ता हुने र वाशिङ्टनले सद्भाव देखाएको अवस्थामा इरान अमेरिकासँग सम्झौताका लागि तयार हुने बताएका छन्।

एक विश्लेषकले दुवै पक्षले सम्झौता चाहेको बताएकी छन्। उनका अनुसार पहिलो बैठकमै सम्झौता हुने सम्भावना कम भए पनि त्यसले आधार तयार गर्ने सम्भावना छ।

त्यसो भए वास्तवमै इरानले सम्झौता चाहेको छ त? कि यो एकअर्कालाई धम्क्याउने लामो र खतरनाक खेलको अर्को चरण मात्रै हो?

दबावमा इरान

इरानका सर्वोच्च नेता आयतोला अली खामनेई

तस्बिर स्रोत, Majid Saeedi/Getty Images

इरानमाथि दबाव बढ्दो छ र देशको अर्थतन्त्र सङ्कटमा छ। त्यहाँ मूल्यवृद्धि ३२ प्रतिशत नाघेको छ, बेरोजगारी बढिरहेको छ र देशको मुद्रा अहिलेसम्मकै न्यूनतम बिन्दुमा झरेको छ। विशेष गरी युवा र मध्यमवर्गमा सार्वजनिक निराशा बढ्दो छ। पछिल्ला वर्षहरूमा देखिएका व्यापक प्रदर्शनले आर्थिक कठिनाइ र राजनीतिक दमनबाट गुज्रिएको समाजलाई प्रतिबिम्बित गर्छन्।

यही समय इरानको क्षेत्रीय प्रभाव पनि कमजोर बनेको छ। उसका प्रमुख छद्म प्रतिनिधि हिज्बुल्लाह, हमास र हूथीहरू विफल भइरहेका छन्। सिरियामा बसर अल-असदको सत्ता ढलेसँगै इरानको हिज्बुल्लाहसँग महत्त्वपूर्ण सम्बन्ध टुटेको छ र उसको क्षेत्रीय प्रभाव घटेको छ।

इजरेलले इरानबाट समर्थन पाएको लडाकु समूहविरुद्ध उनीहरूकै भूमिमा ठूला र विनाशकारी आक्रमण गरिरहेको छ। आफूसँग कुनै बेला भएको शक्ति देखाउने अवस्थामा इरान अहिले छैन।

आन्तरिक अशान्ति र क्षेत्रीय जोखिमका कारण इरान एक्लिँदै गएको छ। त्यस कारण तेहरानले प्रतिबन्धहरू खुकुलो बनाएर सास फेर्ने ठाउँको खोजिरहेको छ।

अविश्वासका कारण

अमेरिकी राष्ट्रपति बराक ओबामाले समकक्षी हसन रोहानी देखिएका पत्रिका

तस्बिर स्रोत, BEHROUZ MEHRI/AFP via Getty Images

तस्बिरको क्याप्शन, सन् २०१३ मा तात्कालिक अमेरिकी राष्ट्रपति बराक ओबामाले समकक्षी हसन रोहानीसँग भेट गरेका थिए। त्यो सन् १९७९को इस्लामिक विद्रोहपछिको सबैभन्दा उच्च चहको वार्ता थियो

कूटनीतिक प्रयासहरूमा गहिरो अविश्वास छ। इरानी अधिकारीहरू यसअघि ओबामा प्रशासनले हस्ताक्षर गरेको र ट्रम्पले फिर्ता लिएको 'जोइन्ट कम्प्रिहेन्सिभ प्लान एक्शन' सम्झिएर पनि झस्किने गर्छन्।

ट्रम्पको निर्णयका कारण पुनः प्रतिबन्धहरू लागेका थिए र देशको अर्थतन्त्र ध्वस्त भएको थियो। खामनेईलाई त्यसैले पनि अमेरिका विश्वासयोग्य देश हैन भन्ने लाग्छ।

यो आशङ्का पछाडि ऐतिहासिक असन्तुष्टिहरू पनि छन्। सन् १९५३ देखि अमेरिकी गुप्तचर निकाय सीआईएको आडमा प्रधानमन्त्री मोहम्मद मोसादेघ अपदस्थ भएको घटनादेखि इरान र इराकबीच भएको युद्धमा अमेरिकाले सद्दाम हुसेनलाई गरेको समर्थनसम्म इरानी नेताले सम्झने गरेका छन्।

ती घटनासँगै सबैभन्दा पछिल्लो समय अमेरिकी ड्रोन आक्रमणमा भएको जेनरल कसिम सुलेमानीको हत्यालाई पनि इरानी नेतृत्वले धोका र शत्रुता मान्ने गरेको छ। यी घटनाहरू तेहरानले बिर्सँदैन र उसका निर्णयहरू प्रभावित हुन्छन्।

यो विषयलाई थप जटिल बनाउने कुरा चाहिँ वाशिङ्टनको मिश्रित सन्देश हो।

राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल वाल्ट्ज र विदेशमन्त्री मार्को रुबिओले इरानको परमाणु कार्यक्रम पूरै विघटन हुनुपर्नेमा जोड दिने गरेका छन्। अर्कोतिर मध्यपूर्वदूत स्टीभ विट्कोफले यो विवादलाई कूटनीतिक माध्यमबाट समाधान गर्ने कुरा गरिरहेका छन्।

पहिलो प्रस्तावलाई कथित "लिबिया मोडल"का रूपमा व्याख्या गरिएको छ। सन् २००३ मा अफ्रिकी शासक कर्नेल मुअम्मर गद्दाफीले आमनरसंहारका हतियार त्याग्ने सहमति गरेको प्रसङ्गसँग यसलाई जोडेर हेर्ने गरिएको छ।

विश्लेषक अनिसेह बासिरी इरानले पाउने सुनिश्चिततामा धेरै कुरा निर्भर रहने बताउँछिन्।

"मेरो विचारमा इरानी पक्षले आफ्नो कार्यक्रम पूर्ण रूपमा अन्त्य गर्ने कुरा स्वीकार गर्दैन," उनी भन्छिन्।

शिकागो विश्वविद्यालयका राजनीतिशास्त्री जोन मिअरसाइमर दुई देशबीच भइरहेका गोप्य लेनदेनबारे अनुमान लगाउन कठिन रहेको ठान्छन्। "मेरो विचारमा अमेरिका र इरान दुवै युद्ध छल्न चाहन्छन्।"

इरानलाई कस्तो फाइदा, कस्तो भय

कर्नेल मुअम्मर गद्दाफी

तस्बिर स्रोत, Ernesto Ruscio/Getty Images

तस्बिरको क्याप्शन, लिबियामा कर्नेल मुअम्मर गद्दाफीको शासन ढल्नुअघि त्यहाँको परमाणु कार्यक्रम स्थगित भएको थियो

इरानका लागि लिबियाको जस्तो परमामाणुनिरस्त्र हुने सम्झौता छलफलको विषय नहुन सक्छ। परमाणुअस्त्र विहीन बनेपछि गद्दाफीको सत्ता सन् २०११ मा पश्चिमा राष्ट्रहरूको आडमा भएको प्रदर्शनमा ढल्यो। उनको पनि हत्या भयो।

इरानका सर्वोच्च नेताले गद्दाफीको हालतलाई सतर्कतापूर्वक हेर्ने गरेका छन्।

इरानको परमाणु कार्यक्रम नै उसको मोलमोलाइको सबैभन्दा बलियो आधार हो। उसका सबै क्षेत्रीय प्रतिनिधिहरू कमजोर भएको समय र अर्थतन्त्र कमजोर बनेको अवस्थामा उससँग बाँकी अब परमाणुशक्ति मात्रै छ।

कुनै बलियो सुनिश्चितताबिना यो पनि त्याग्ने हो भने इरानी सत्ता विदेशी आक्रमण र आन्तरिक असन्तुष्टिको भुङ्ग्रोमा पर्न सक्छ।

प्राध्यापक मिअरसाइमर यदि अमेरिकाले इरानलाई लिबियाकै जस्तो सम्झौता गराउन चाहेको हो भने उसले इजरेलसँग मिलेर इरानमाथि आक्रमण गर्न सक्ने बताउँछन्।

अर्कोतर्फ अमेरिकासँग प्रत्यक्ष वार्ता गर्दा इरानका सत्तासँग निकटस्थ उच्च वर्गमा राजनीतिक उथलपुथल सिर्जना हुन सक्छ। यसले मध्यमार्गीहरूलाई बलियो बनाउनुका साथै इरानको रिभलूशनरी गार्ड्सलाई कमजोर बनाउन सक्छ।

अनि त्यसले इरानी सत्ताको पश्चिमाविरोधी बुझाइलाई पनि चुनौती दिन सक्छ।

यदि कूटनीति सफल भयो र आर्थिक अवस्थामा सुधार भयो भने सुधारवादी आन्दोलनको उदय हुन सक्छ। त्यसले कट्टरपन्थीहरूको पकडलाई चुनौती दिन सक्छ।

जोखिम

अमेरिकी मध्यपूर्वदूत र इरानका विदेशमन्त्री

तस्बिर स्रोत, MANDEL NGANAMER HILABI/AFP via Getty Images

अहिले दुवै पक्षसमक्ष के गर्ने के नगर्ने भन्ने चुनौती देखा परेको छ। अमेरिकाले पनि पारमाणविक गतिविधिलाई सीमित गर्ने वा निगरानीमा राख्ने यसअघिको सम्झौता गर्ने वा इरानका रणनीतिक पूर्वाधार निष्क्रिय बनाउने महँगो सम्झौतामध्ये एउटा रोज्नुपर्ने छ।

इरान वैचारिक कारणले आफू एक्लोपन पर्ने सक्ने सम्भावनाबारे विचार गर्नुपर्ने अवस्था छ।

वाशिङ्टनमा कतिपयले इरानसँग कूटनीति विफल हुने भन्दै सैन्य कारबाहीमा जोड दिएका छन्। अन्य कतिपय अमेरिकीले वार्ताबाट परिणाम पनि आउन सक्ने र उक्त क्षेत्रमा तनाव कम गर्दै स्थायित्व हासिल हुने अपेक्षा गरेका छन्।

त्यो सम्भावना निकै उच्च छ। अमेरिका र इरानबीचको सम्बन्धमा नयाँ ढोका खुल्न सक्छ। त्यसमा विफलताले यसअघि नै तरल रहेको क्षेत्रमा थप अस्थिरता निम्त्याउन सक्छ।

यी दुई पक्ष अब सम्मुख पर्दाको अवस्था निर्णायक बन्न सक्छ। इरानका हकमा आन्तरिक र बाह्य दबाव छ। खामनेईले अझै पनि आफ्नो अडान नछाड्न सक्छन् तर उनलाई आर्थिक, सामाजिक कारण र अशान्ति तथा रणनीतिक आवश्यकतालाई छल्न उनलाई पनि कठिन भइरहेको छ।

वार्ता सफल वा विफल जे भए पनि त्यसको परिणामले इरानको पारमाणविक कार्यक्रमको मार्गलाई मात्र नभई मध्यपूर्वको सुरक्षाको भविष्यलाई पनि नयाँ स्वरूप दिने छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।