इरानको राष्ट्रपतिमा सुधारवादी उम्मेदवार विजयी हुँदाको 'राजनीतिक भूकम्प'

इरानी राष्ट्रपति

तस्बिर स्रोत, Reuters

    • Author, केभान हुसेनी
    • Role, बीबीसी पर्सियन

पचास दिनभन्दा पनि कम समयमा इरान कट्टरपन्थी पश्चिम विरोधी राष्ट्रपतिबाट सुधारवादी राष्ट्रपतिको नेतृत्वमा पुगेको छ।

त्यस्तो परिवर्तन हुन्छ भन्ने कसैले ठानेकै थिएनन्।

शनिवार निर्वाचित मसुद पेजेस्कियान १९ वर्षअघि इरानका अन्तिम सुधारवादी राष्ट्रपतिका बेलामा स्वास्थ्यमन्त्री भएका थिए।

त्यसपछि सुधारवादीहरूले राष्ट्रपति उम्मेदवार बन्नका लागि समेत प्रतिबन्धको सामना गरिरहेका थिए।

पेजेस्कियान पनि सुधारवादीहरूका लागि एक आदर्श उम्मेदवार थिएनन्।

तर सुधारवादीहरूले यस पटक जित्न सकिने झिनो मौका रहेको महसुस गरे र आफ्नो सम्पूर्ण शक्ति लगाएर त्यसलाई प्राप्त गरे।

यो किन धेरैका लागि स्तब्ध पार्ने विषय हो?

मसुद पेजेस्कियानको चुनावी र्‍यालीमा उनको समर्थन गर्दै एक इरानी महिला

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, मसुद पेजेस्कियानको चुनावी र्‍यालीमा उनको समर्थन गर्दै एक इरानी महिला

इरानी संविधानअनुसार राष्ट्रपति पदमा उठ्ने सबै उम्मेदवारलाई त्यहाँको शक्तिशाली 'गार्डिअन काउन्सिल'ले जाँच गर्नुपर्छ।

उक्त काउन्सिललाई सन् १९९७ देखि २००५ सम्म सत्ता चलाएको सुधारवादी गुटविरुद्ध पक्षपातपूर्ण व्यवहार गरेको आरोप लागेको छ।

पछिल्ला तीनवटा राष्ट्रपति निर्वाचनमा आफ्ना सबै उच्च तहका उम्मेदवारलाई उक्त काउन्सिलले अयोग्य घोषित गरेको सुधारवादीहरूले गुनासो गरेका थिए।

उनीहरूले आफ्नो गुटका केही खासै नचिनिएका व्यक्तिले मात्र उम्मेदवारका रूपमा चुनावमा भाग लिने मौका पाएको बताउने गरेका थिए।

त्यसले गर्दा आफ्ना अनुदारवादी प्रतिद्वन्द्वीसँग उनीहरूले चुनाव जित्न सकेनन् र त्यो प्रतिस्पर्धा पनि असमान खालको थियो।

गत मे १९ मा तत्कालीन राष्ट्रपति इब्राहिम रइसीको हेलिकप्टर दुर्घटनामा निधन हुँदा पनि धेरैले पुनः परम्परावादी शक्तिले नै त्यहाँ चुनाव जित्ने ठानेका थिए।

गत जुन ९ मा उक्त काउन्सिलले उम्मेदवारहरूको जाँचको नतिजा सार्वजनिक गरेको थियो।

त्यसपछि पनि सुधारवादीहरूले चुनाव जित्लान् भन्ने अपेक्षा एकदमै कम थियो।

मसुद पेजेस्कियान छजना उम्मेदवारमध्ये अन्य उम्मेदवारसँग मत र अडान नमिल्ने एक मात्र उम्मेदवार थिए।

इरानका अतिवादी के चाहन्छन्?

इरानमा चुनाव

तस्बिर स्रोत, EPA

इरानका 'प्रिन्सिपलिस्ट'हरू सुधारवादीका तुलनामा अधिक रूढिवादी छन् र शासन सञ्चालनमा कट्टरपन्थी इस्लामिक संस्करणलाई अपनाउनु पर्ने मान्यता राख्छन्।

इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेई सोही गुटबाट आएका हुन्।

इस्लामिक रिभोलुशनरी गार्ड्स कोर पनि सुधारवादीभन्दा 'प्रिन्सिपलिस्ट'सँग नजिक छ।

पछिल्ला वर्षहरूमा इरानमा 'प्रिन्सिपलिस्ट'ले एउटा समन्वयकारी प्रक्रियाबाट सुधारवादीलाई शक्तिबाट बाहिर निकालिरहेको देखिएको छ।

त्यो प्रक्रियालाई प्राय: सञ्चारमाध्यमहरूमा 'होमोजेनाइजेसन' भन्ने गरिएको छ।

यो प्रक्रियामा खामेनेइको समर्थन नगर्नेहरूलाई उनका चरम समर्थक अनुदारवादी व्यक्तिलाई त्यो पदमा ल्याएर हटाइने गरेको छ।

त्यसले गर्दा देशमा प्रतिरोध पनि उत्पन्न भयो। विशेष गरी सन् २००९ मा सुधारवादीहरूले राष्ट्रपति निर्वाचनमा धाँधली भएको दाबी गरे र लाखौँ मानिसहरू विरोध प्रदर्शनमा उत्रिए।

तर इस्लामिक गार्ड्स्‌ र उसको मिलिसिया "बासिज"ले ती विरोध प्रदर्शनलाई हिंसात्मक ढङ्गले दबाए।

सन् २०२१ मा इब्राहिम रइसीले राष्ट्रपति चुनाव जित्दा केही विश्लेषकले त्यहाँ प्रक्रिया मात्र पूरा गरिएको बताएका थिए।

"इस्लामिक गणतन्त्र" भनिने इरानको राज्य सञ्चालनका हरेक पक्षहरू त्यहाँका सर्वोच्च नेताको विचारधारासँग मत मिल्ने अनुदारवादीहरूको नियन्त्रणमा रहेको छ। उनीहरूले आफूहरूलाई 'रिभ्योलुसन फ्रन्ट' भन्ने गर्छन्।

रइसीले खामेनेईकोजस्तै नीतिहरू अपनाए।

उनले अपनाएका आन्तरिक र बाह्य दुवै खाले नीतिहरू खामेनेईले सधैँ अघि सार्दै आएका मतसँग मिल्ने खालका थिए।

त्यस्ता मतमा आत्मनिर्भर अर्थतन्त्रको प्रयास र विदेशनीतिमा 'लुक इस्ट'को मान्यता पर्छन्।

उक्त मान्यता भनेको चीन र रुससँग निकट सम्बन्ध स्थापित गर्ने हो।

अनुदारवादीहरूका लागि समाजमा थप कट्टर खालका "इस्लामिक" प्रतिबन्ध उनीहरूको नीतिका महत्त्वपूर्ण स्तम्भहरू हुन्।

त्यस्तो नीतिमा महिलामाथि कठोर व्यवहार पनि पर्छ।

इरानमा आन्दोलन

सईद जलिली

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, अनुदारवादी खेमाका सईद जलिलीले चुनाव हारेका छन्

सोही नीतिका कारण सन् २०२२ को सेप्टेम्बरमा हिरासतमै एकजना किशोरी निधन भयो र त्यसले त्यहाँ "इस्लामिक गणतन्त्र"विरुद्ध सबैभन्दा ठूलो आम असन्तुष्टि उत्पन्न गर्‍यो।

तर शासकहरूले सन् २००९ को विरोध प्रदर्शनमा भन्दा पनि अधिक हिंसात्मक बल प्रयोग गरेर त्यसलाई दबाए।

मानवअधिकारवादी सङ्गठनका अनुसार त्यहाँ करिब ६ महिनाको सडक आन्दोलनका क्रममा १८ वर्ष मुनिका ६० भन्दा बढी बालबालिकासहित ५०० भन्दा बढीको ज्यान गएको थियो।

इन्टरनेटमा 'सेन्सरशीप' लगाइयो र सामूहिक गिरफ्तारीहरू भए।

सन् २०२२-२३ को सरकारविरोधी प्रदर्शनमा सामेल भएका चार जनालाई त मृत्युदण्डसमेत दिइयो।

चरम दमनका कारण सडक आन्दोलन रोकियो। त्यसैबेला देशबाहिर रहेको धर्मनिरपेक्ष मान्यता राख्ने प्रतिपक्षी समूह पनि आपसी द्वन्द्वमा फस्यो।

त्यसले गर्दा संस्थापन पक्षले इरानमा सन् १९७९ आफ्नो स्थापनापछि देखिएको सबैभन्दा ठूलो खतरालाई पनि सहजै टार्न सफल भयो।

तर सडकमा देखिएको जनआक्रोश शान्त भए पनि त्यो सतहमा देखिएको मात्र थियो।

उच्च सरकारी दमनबाट उत्पन्न क्रोधबिच कमजोर आर्थिक अवस्थाले मानिसहरूलाई थप असन्तुष्ट बनाएको थियो।

राष्ट्रपति रइसीको हेलिकप्टर दुर्घटनामा परेको खबर आएपछि संस्थापन पक्षका लागि राष्ट्रपति निर्वाचन एउटा 'दुःस्वप्न' जस्तो बनेको थियो।

तर आफ्नो आवाज उठाउन नसक्ने विपक्षीहरू र जेलमा रहेका विरोधीहरूका लागि यो चुनाव मतदान बहिष्कार गरेर असहमति प्रकट गर्ने माध्यम पनि बनेको थियो।

पूर्वराष्ट्रपति मोहम्मद खातामी र अन्य शीर्ष सुधारवादी व्यक्तिहरूले अप्रत्यक्ष र उत्साहपूर्ण रूपमा मसुद पेजेस्कियानलाई समर्थन गर्ने निर्णय गरे।

यद्यपि यो चुनाव सुरुमा मतदान गर्न आग्रह गर्ने र बहिष्कारको समर्थन गर्ने बीचको लडाइँ जस्तो देखियो।

पहिलो चरणको निर्वाचनमा इरानको राष्ट्रपति निर्वाचनको इतिहासमै सबैभन्दा कम झन्डै ४० प्रतिशत मात्र भोट खस्यो।

त्यसबाट दुई जना धेरै मत पाउने उम्मेदवारहरू दोस्रो चरणमा प्रवेश गरे।

त्यसमा पेजेस्कियान र सईद जलिली रहेका थिए। जलिली एक जना चर्चित कट्टरपन्थी नेता हुन्।

उनी सन् २०१३ सम्म महमुद अहमदिनेजादको राष्ट्रपतीय कार्यकालमा इरानका मुख्य परमाणु वार्ताकार थिए।

जलिलीको मत सर्वोच्च नेतासँग मिल्दोजुल्दो भएको र चुनावमा धाँधली गरेर भए पनि उनलाई जिताउन सकिने अनुमान पनि गरिएका थिए।

तर त्यसविपरीत शनिवार विश्वले पेजेस्कियानलाई इरानको नयाँ निर्वाचित राष्ट्रपतिका रूपमा पायो।

उनले जनजीवनमा असर पार्ने लगभग सबै नीतिहरूमा उल्लेखनीय परिवर्तन गर्ने वाचा गरेका छन्।

पेजेस्कियानका प्रतिबद्धता के छन्?

इरानी राष्ट्रपति

तस्बिर स्रोत, Reuters

पेजेस्कियानको मुख्य चुनावी रणनीति अनुदारवादीहरूको पश्चिमा विरोधी विदेश नीतिलाई आक्रमण गर्नु रह्यो।

सुधारवादी राजनीतिज्ञहरूसँग जटिल सञ्जाल र सम्बन्ध हुँदाहुँदै पनि उनले पूर्वविदेशमन्त्री मोहम्मद जवाद जरिफलाई चुनावी अभियानका लागि नियुक्त गरेका थिए।

उनले सन् २०१५ मा एक व्यापक सम्झौतासहित परमाणु वार्ता सफल बनाएका थिए।

यद्यपि जरिफ सुधारवादी व्यक्ति होइनन्। उनी प्राज्ञिक क्षेत्रबाट आएका व्यक्ति हुन् तर उनले पेजेस्कियानका पक्षमा व्यापक प्रचार गरेका थिए।

जारिफलाई सँगै राखेर सार्वजनिक गरेको घोषणापत्रमा पेजेस्कियानले आफ्नो विदेश नीति "न पश्चिमविरोधी, न पूर्वविरोधी हुने" बताएका थिए।

दुवैले रुस र चीनसँग नजिक हुने राईसीको नीतिको आलोचना गरेका छन्।

उनीहरूले पश्चिमासँग वार्ता गरेर देशको परमाणु कार्यक्रममा भएको अवरोधको समाधान गर्न तथा प्रतिबन्धहरू कम गर्न एवं आर्थिक सङ्कट समाधान गर्न उनीहरूको समूहले मात्र सक्नेमा जोड दिएका थिए।

अन्य उम्मेदवार र सर्वोच्च नेताले त्यस्तो मतको आलोचना गरेका छन्।

खामेनेईले अमेरिकासँगको मैत्रीपूर्ण सम्बन्धबाट समृद्धि हासिल गर्ने विश्वास गर्नेलाई “भ्रममा परेको” भनेका छन्।

इरानमा शक्ति कसको हातमा?

इरानले पालन गर्दा गर्दै पनि अमेरिका परमाणु सम्झौताबाट पछि हटेको उल्लेख गर्दै उनले त्यस्तो धारणा राखेका हुन्।

उनको संवैधानिक अधिकार र अन्तर्राष्ट्रिय सम्बन्धमा व्यक्तिगत चासोका कारण परराष्ट्र नीतिमा खामेनेइको विचार निकै महत्त्वपूर्ण हुन्छ।

चुनाव बहिष्कार अभियानका कारण पेजेस्कियानले चुनौतीको सामना गर्नु परेको थियो।

बहिष्कार पक्षधरले इरानी राजनीतिक संरचनामा राष्ट्रपतिले विदेश नीतिको पुनर्संरचना गर्न नसक्ने बताएका थिए। त्यो दाबी पुष्टि हुने व्यापक आधारहरू पनि छन्।

क्षेत्रीय स्तरमा इरानी नीतिका लागि सबैभन्दा महत्त्वपूर्ण पक्ष कुड्स फोर्सले गर्ने काम रहँदै आएको छ।

तर उनीहरूमाथि राष्ट्रपतिको प्रत्यक्ष नियन्त्रण हुँदैन। उनीहरूले के गर्ने वा नगर्ने भन्ने निर्णय सर्वोच्च नेताले मात्र गर्न सक्छन्।

खामेनेईले बारम्बार देशको सुरक्षाका लागि जे आवश्यक छ, त्यो नै कुड्स फोर्सले गर्ने बताउँदै आएका छन्। उनले पहिलो चरणको चुनाव हुनु भन्दा तीन दिनअघि पनि उक्त कुरा बताएका थिए।

बदलिएको मध्यपूर्व

इरानमा सर्वोच्च नेता सबैभन्दा शक्तिशाली मानिन्छन्

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, इरानमा सर्वोच्च नेता सबैभन्दा शक्तिशाली मानिन्छन्

गत अक्टोबर ७ मा इजरेलमा हमासले गरेको आक्रमण र त्यसपछि गाजामा जारी युद्धको पृष्ठभूमिमा लेबनन, सिरिया र इराक जस्ता देशहरूमा इरानी 'प्रोक्सी' समूहको सञ्जाल र इरानी सेनाका गतिविधिसम्बन्धी कुनै पनि खालको परिवर्तन गर्न अझ चुनौतीपूर्ण बनेको छ।

पछिल्ला आठ महिनामा इरान त्यस क्षेत्रमा हमासको मुख्य समर्थकका रूपमा देखा परेको छ।

त्यस्तै इजरेली र पश्चिमा पानी जहाजहरूमा क्षति पुर्‍याइरहेको यमनको हुथी लगायतका समूहलाई पनि इरानको समर्थन रहेको छ।

दुई देशबीच व्यापक गतिरोध भएका बेला इरानी सेनाले इजरेलमा प्रत्यक्ष आक्रमण समेत गरेको थियो।

जे भए पनि इरानमा राष्ट्रपति उच्च श्रेणीका कूटनीतिज्ञ हुन् र उनको कार्यालयसँगै विदेश मन्त्रालयले पनि परराष्ट्र नीतिमा महत्त्वपूर्ण भूमिका खेल्छ।

विदेश नीतिहरूको कार्यान्वयन मात्र होइन, नीतिहरू बनाउँदादेखि नै राष्ट्रपति र विदेश मन्त्रीको व्यापक भूमिका हुन्छ।

उनीहरूलाई अप्रत्यक्ष कूटनीतिमार्फत पनि आफ्नो दृष्टिकोणलाई अगाडि बढाउने अवसर प्राप्त भएको छ।

सन् २०१५ मा पनि त्यस बेलाका मध्यमार्गी राष्ट्रपति हसन रुहानीले खामेनेई स्वयम्‌सहित कट्टरपन्थीलाई सम्झौता स्वीकार गर्ने कुरामा मनाउन सफल भएका थिए।

त्यसबाहेक उदारवादी प्रशासनले इरान भित्रको सार्वजनिक वृत्तमा हुने बहसलाई पनि व्यापक प्रभाव पार्न सक्छ।

त्यसले खामेनेईसँग शतप्रतिशत नमिल्ने नीतिहरूलाई पनि अघि बढाउन सहयोग पुग्छ।

त्यस्ता सूक्ष्म कुराले पने सुधारवादीलाई आफूले गरेका वाचा पूरा गर्ने अवसर मिल्न सक्छ।

पेजेस्कियानले "कट्टरपन्थीहरूले देशको वरिपरि लगाएका पर्खालहरू" भत्काउने कुरा गरेका छन्।

सार्वजनिक बहसले त्यसलाई थप सहयोग नै पुग्नेछ।

यद्यपि यसपटक सुधारवादीहरूले पहिले जस्तो स्वतन्त्र र अधिक लोकतान्त्रिक समाज निर्माणका वाचाहरू गरेका थिएनन्।

इरानमा सुधारवादीहरूले गम्भीर राजनीतिक दमनको सामना गरेका छन्।

कट्टरपन्थीहरूले उनीहरूका प्रमुख विचारकहरूको हत्या गरिदिएका छन्।

त्यहाँ पत्रपत्रिका बन्द गरिएका छन् र उनीहरूले गर्ने राजनीतिक क्रियाकलापहरूको सामूहिक रूपमै जाँच गरिन्छ।

त्यसले गर्दा सुधारवादीहरूको शक्तिका महत्त्वपूर्ण केन्द्रहरूमा प्रभाव छैन।

उदारवादीको प्रभाव कति?

उदारवादीहरू इरानी समाजमा व्यापक सुधार चाहन्छन्

तस्बिर स्रोत, EPA

उनीहरूको सर्वोच्च नेताको कार्यालय, गार्डिअन काउन्सिल र देशको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद् जस्ता शक्ति केन्द्रमा पहुँच छैन।

त्यसैले उनीहरूले पनि स्वतन्त्र निर्वाचन, सेन्सरशीप कानुनको परिवर्तन वा वा 'मोरालिटी पोलिस'लाई नियन्त्रण गर्न सक्दैनन्।

सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने २७ वर्ष पहिलेको जस्तो सुधारवादीहरूले व्यापक मत पनि पाएका छैनन्।

त्यसबेला ३ करोड ५० लाख मतदातामध्ये २ करोडले उनीहरूलाई मतदान गरेका थिए।

यसपालि ६ करोड २० लाख योग्य मतदाताहरू मध्ये लगभग १ करोड ६० लाख मतदाता मात्र उनीहरूको पक्षमा देखिए।

एक करोड ३० लाख भन्दा बढीले कट्टरपन्थी प्रतिद्वन्द्वी सईद जलिलीलाई मतदान गरे।

जलिलीले इरानले आफ्ना हितको सुरक्षा गर्नका लागि अझ कडा रूपमा पश्चिम विरोधी नीति अपनाउनु पर्ने आवश्यकता देखेका छन्।

त्यसैले उनले परिवर्तनका लागि कति काम गर्न सक्छन् भन्ने आधारमा नै पेजेस्कियानको मूल्याङ्कन हुनेछ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।