इरानको सशस्त्र फौजद्वारा प्रदर्शनमा सहभागी किशोरीको यौन उत्पीडनपछि हत्या

तस्बिर स्रोत, Atash Shakarami
- Author, बर्ट्राम हिल, एइडा मिलर र माइकल सिम्किन
- Role, बीबीसी आई इन्भेस्टिगेशन्स
इरानमा लागु गरिएको महिलाको पोसाकसम्बन्धी नियमको विरोध प्रदर्शनमा क्रममा १६ वर्षे निका एकाएक गायब भइन्।
इरानका सुरक्षा फौजले यौन उत्पीडनपछि ती किशोरीको हत्या गरेको हालै खुलासा भएको दस्ताबेजमा उल्लेख छ। यो दस्ताबेज सुरक्षा फौजले नै लेखेको बुझिएको छ।
त्यसकै आधारमा हामीले १६ वर्षे निका शाकारामीमाथि के भयो भन्ने कुरा पत्ता लगाएका छौँ। उनी सन् २०२२मा भएको सत्ताविरोधी विरोध प्रदर्शनबाट गायब भएकी थिइन्।
उनको शव नौ दिनपछि फेला परेको थियो। इरानी सरकारले उनले आत्महत्या गरेको दाबी गरेको थियो।
हामीले उक्त दस्ताबेजमा भएको आरोपबारे इरान सरकार र उसको रेभलूशनरी गार्ड्ससमक्ष प्रश्न राखेका थियौँ। उनीहरूले त्यसको जबाफ दिएका छैनन्।
“अति गोप्य” लेखिएको उक्त प्रतिवेदनमा इस्लामिक रेभलूशनरी गार्ड्स कोर (आईआरजीसी)ले निकाको मुद्दामा गरेको सुनुवाइको सारांश प्रस्तुत गरिएको छ। यो सुरक्षा फौजले उक्त मुलुकको इस्लामिक संस्थापनको बचाउ गर्छ। प्रतिवेदनमा उनका हत्याराहरू र त्यो सत्य लुकाउन प्रयत्न गरेका वरिष्ठ कमान्डरहरू भन्दै केही नाम पनि उल्लेख छ।
त्यसमा एउटा गोप्य भ्यानको पछाडि भएको घटनाको विचलित पार्ने किसिमका विवरण छन्। उक्त गाडीमा सुरक्षा फौजले निकालाई नियन्त्रणमा राखेका थिए।

तस्बिर स्रोत, BBC
यसमा अरू केके विवरण छन्?
एकजना पुरुषले उनीमाथि बस्दै यौन दुर्व्यवहार गरेको थियो।
हत्कडी लगाइएको र रोकिएको भए पनि उनले लात्तीले हान्दै र गाली गर्दै त्यसको प्रतिरोध गरेकी थिइन्।
प्रतिरोधले ती पुरुषहरूलाई उनलाई लठ्ठीले हान्न उक्साएको थियो भन्ने स्वीकारोक्ति
हाल आधिकारिक इरानी दस्ताबेजका कैयौँ नक्कली प्रतिहरू सम्प्रेषण भइरहेका छन्। त्यसैले बीबीसीले कैयौँ स्रोतहरूसँग हरेक विवरणको जाँचमा महिनौँ बिताएको छ।
हाम्रो विस्तृत अनुसन्धानले हामीले प्राप्त गरेको कागजातले ती किशोरीका अन्तिम समयका गतिविधिको विवरण अभिलेख राखेको देखाएको छ।

निका शाकारामी बेपत्ता भएको र उनको मृत्यु भएको खबर जताततै फैलिएको थियो। अनि उनको तस्बिर इरानमा महिला स्वतन्त्रताको लडाइँको एउटा बिम्ब बनेको थियो। इरानमा सडक सङ्घर्ष बढ्दै गइरहेका बेला सन् २०२२ को शरद् ऋतुमा अनिवार्य हिजाब लगाउनुपर्ने कडा निमयमाथि आक्रोशित मानिसहरू उनको नाममा नारा लगाउँथे।
मासा अमिनी नामकी एक २२ वर्षे महिलाको मृत्यु हुनु केही दिनअघि मात्र ‘द विमिन, लाइफ, फ्रीडम मूभ्मन्ट’ नाममा आन्दोलन सुरु भएको थियो। प्रहरी नियन्त्रणमा रहँदा विभिन्न चोटका कारण उनको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घको तथ्य पत्ता लगाउने एक निकायको निष्कर्ष थियो। उनलाई हिजाब सही तरिकाले नलगाएको आरोप लगाइएको थियो।
निकाको शवलाई भने उनको परिवारले विरोध प्रदर्शनबाट हराएको एक हप्तापछि एक शवगृहमा फेला पारेको थियो। तर इरानका अधिकारीहरूले निकाको मृत्यु त्यहाँ भएको प्रदर्शनसँग सम्बन्धित नभएको र उनीहरूले आफैँ गरेको अनुसन्धानबाट आत्महत्याका कारण उनको ज्यान गएको पत्ता लागेको बताएका थिए।
उनी हराउनु ठिक अघि २० सेप्टेम्बरका साँझ लाले पार्कनजिकै उनको भिडिओ खिचिएको थियो र त्यसमा उनले हिजाबमाथि आगो लगाएको देखिएको थियो।
उनका वरिपरि रहेका अरूले इरानका सर्वोच्च नेता आयोतोल्लाह अलि खमेनीप्रति सङ्केत गर्दै “निरङ्कुश शासक मुर्दावाद” भनेका थिए।
त्यसबेला उनीमाथि निगरानी भइरहेको थियो भन्ने कुरा गोप्य प्रतिवेदनले स्पष्ट पारेको छ। तर उनलाई यो कुरा थाहा थिएन।
आईआरसीजीका कमान्डर-इन-चीफलाई सम्बोधन गरिएको प्रतिवेदनमा यो रिपोर्ट विरोध प्रदर्शनमा सुरक्षा घेरा दिइरहेको फौजका धेरै सदस्यसँग गरिएको बृहत् कुराकानीमा आधारित रहेको बताइएको छ।
विभिन्न सुरक्षा एकाइहरूले लुकीलुकी प्रदर्शनको निगरानी गरिरहेको उक्त दस्ताबेजमा लेखिएको छ।
त्यस्तै निगरानी राख्नेमध्ये ‘टीम १२’ले ती किशोरीको “अरूभन्दा फरक व्यवहार रहेको र मोबाइल फोनमा बारम्बार कुराकानी गरेका कारण नेतृत्वदायी भूमिकामा रहेको ” शङ्का गरेको प्रतिवेदनमा लेखिएको छ।
उक्त टोलीले उसका एक जना कर्मचारीलाई प्रदर्शनकारीका रूपमा भिडमा पठायो र निका प्रदर्शनकारीहरूकी एक नेत्री थिइन् कि भन्ने पत्ता लगाउन कोसिस गर्यो। प्रतिवेदनका अनुसार ती भिडमा पठाइएका व्यक्तिले आफ्नो टोलीलाई फोन गरेर निकालाई गिरफ्तार गर्न भने। तर उनी भागिन्।
उनकी काकीले बीबीसी पर्सिअनलाई त्यसअघि भनेअनुसार निकाले त्यस रात एक साथीलाई फोन गरेर उनलाई सुरक्षा फौजले पछ्याइरहेको बताएकी थिइन्।
करिब एक घण्टापछि उनी फेरि देखिएको प्रतिवेदनमा भनिएको छ। त्यसपछि उनलाई गिरफ्तार गरेर सुरक्षा फौजको भन्ने चिनिने गरी कुनै सङ्केत नराखिएको फ्रीजरयुक्त गाडीमा राखियो।
निकालाई गाडीको पछाडिपट्टिको भागमा राखिएको थियो। त्यहाँ टीम १२ का तीन सदस्य आरश काल्होर, सदेह मोनज्याजी र बेहरुज सादेगी थिए।
उनीहरूको टीमका नाइके मोर्टेजा जलिल भने अगाडिको सीटमा चालकसँग बसेका थिए।
प्रतिवेदनका अनुसार त्यो समूहले उनलाई लैजान ठाउँ खोज्ने प्रयत्न गर्यो।
उनीहरूले नजिकै रहेको अस्थायी प्रहरी शिविरमा लगे तर त्यहाँ असाध्यै भिड भएकाले राख्न नसकिने भनियो।

तस्बिर स्रोत, BBC
त्यसपछि उनीहरूले निकालाई गाडीमा ३५ मिनेट लाग्ने एक थुनुवा केन्द्रतिर लगे। त्यहाँका कमान्डर सुरुमा निकालाई राख्न सहमत भए। तर पछि उनले आफ्नो विचार परिवर्तन गरे।
“आरोपित (निका)ले निरन्तर नारा लगाइरहेकी र गाली गरिरहेकी थिइन्, ” उनले प्रतिवेदन तयार पारिरहेका अनुसन्धानकर्ताहरूलाई भने।
“त्यसबेला त्यहाँ अरू १४ जना महिला थुनुवाहरू थिए। त्यहाँ निकाले अरूहरूलाई पनि आक्रोशित बनाइदिने मैले ठानेँ। ”
“उनले दङ्गा मच्चाउलिन् भनेर म चिन्तित थिएँ।”
मोर्टेजा जलिलले फेरि आईआरजीसी मुख्यालयमा सुझावका लागि सम्पर्क गरे। प्रतिवेदनमा लेखिएअनुसार उनलाई तेहेरानको कुख्यात एभिन जेलमा जान भनियो।
जाँदै गर्दा बाटोमा उनले पछाडिको अँध्यारो भागबाट केही वस्तु फुटेजस्तो वा ठोक्किएजस्तो आवाज आइरहेको सुनेको बताए।
उनले सुनेको आवाज के थियो भन्ने कुरा निकाको रखवारी गरिरहेका पछाडि बसेका व्यक्तिले दिएको बयानबाट हामीले थाहा पाएका छौँ।
तीमध्ये एक बेहरुज सादेगीका अनुसार निकालाई थुनुवा केन्द्रले अस्वीकार गरेपछि गाडीमा राख्नेबित्तिकै उनी गाली गर्न र चिच्याउन थालिन्।
“अरश कल्हरले उनको मुखमा मोजा कोचिदियो र उनी सङ्घर्ष गर्न थालिन्। त्यसपछि उनलाई सादेहले उनलाई चेस्ट फ्रीजरको माथि सुताए र उनीमाथि बसे। त्यसपछि परिस्थिति शान्त भयो,” उनले अनुसन्धानकर्तालाई भने।
“मलाई के भयो भन्ने कुरा थाहा छैन तर केही समयपछि उनले फेरि गाली गर्न थालिन्। मैले केही देख्दिनथेँ। मैले झगडा गरेको र ढ्यामढुम गरेको मात्र सुन्थेँ।”

तर अरश कल्होरले थप कहालीलाग्दो विवरण दिएका छन्।
उनका अनुसार उनले फोनको टर्च बाल्दा सादेह मोनजाजीले उसका हात निकाको सुरुवालभित्र हालेको देखिएको थियो।
आरस कल्होरले त्यसपछि आफूहरूले नियन्त्रण गुमाएको बताए।
“उनलाई थाहा थिएन… को (यो गरिरहेको थियो),” तर उनले केही सुनिरहेका थिए…आरोपित (निका)माथि लठ्ठी हानिएको…‘मैले हान्न थालेँ तर मैले आरोपितलाई हानिरहेको थिएँ कि आफ्नै मानिसहरूलाई भन्ने मलाई साँच्चै थाहा थिएन।’”
तर सादेश मोनजाजीको भनाइ अरब कल्होरसँग मिल्दैन। मोनजाजीले निकाको सुरुवालभित्र हात हालेको भन्ने कुरा अस्वीकार गरे। तर निकामाथि बस्दा र उनको नितम्ब छुँदा आफू उत्तेजक बनेको अस्वीकार गर्न नसक्ने बताए।
उनका अनुसार त्यसले निकालाई क्रुद्ध बनायो। उनको हात पछाडि लगेको बाँधिएको भए पनि उनले उसलाई कोपरिन र धकेलिदिइन्। त्यसपछि उनी लड्न पुगे।
“उनले मेरो अनुहारमा हानिन् त्यसैले मैले आफ्नो बचाउ गर्नुपर्यो।”
गाडीको क्याबिनबाट मोर्टेजा जलिलले चालकलाई गाडी रोक्न भने।
त्यसपछि उनले गाडीको पछाडिको ढोका खोल्दा निकाको निष्प्राण शरीर फेला पारे।

तस्बिर स्रोत, social media
उनले आफूले निकाको अनुहार र टाउकोबाट रगत पुछेको बताए। “ती राम्रो अवस्थामा थिएनन्।”
निकाकी आमाले उनलाई एक शवगृहमा भेट्दाको अवस्थाबारे जे बताइएको छ, त्योसँग यो विवरण मिल्छ। बीबीसी पर्सिअनले अक्टोबर २०२२ मा फेला पारेको मृत्यु प्रमाणपत्रले उनको मृत्यु “कडा वस्तुले प्रहार गरेका कारण धेरै चोटहरू लागेर” भएको लेखिएको छ।
टीमका नाइके मोर्टेजा जलिलले त्यहाँ के भएको थियो भन्ने पत्ता लगाउन नखोजेको स्वीकार गरेका छन्।
“म त उनलाई कसरी कतै लग्ने मात्र सोचिरहेको थिएँ र कसैलाई केही प्रश्न सोधिनँ। मैले यो मात्रै सोधेँ ‘सास फेरिरहेकी छ कि छैन?’ मलाई लाग्छ बेहरुज सादेगीले जबाफ दिएका थिए ‘अहँ, उसको मृत्यु भइसकेको छ’।”
आफ्ना अगाडि भएको हत्यापछि जलिलले आईआरजीसीको मुख्यालयमा तेस्रो पटक फोन गरे।
त्यसपछि उनले “नईम १६” नाम दिइएका अझ वरिष्ठ अधिकारीसँग कुराकानी गरे।
“हाम्रो केन्द्रमा यसअघि नै मृत्युहरू भएका थिए। म त्यो सङ्ख्या बढेर २० पुगोस् भन्ने चाहन्नथेँ” नईम १६ले अनुसन्धानकर्तालाई भने। “उनलाई यहाँ ल्याउनुले कुनै समस्या समाधान गर्दैनथ्यो।”
उनले जलिललाई साधारण रूपमै “सडकमै फ्याकिँदिन भने।” जलिलले भनेअनुसार उनीहरूले निकाको शरीरलाई तेहरानको यादेगा ए इमाम राजमार्गको शान्त सडकमा फ्याँकिदिए।
यौन दुर्व्यवहारका कारण गाडीको पछाडिको भागमा हानाहान भएको र टीम १२ ले गरेको प्रहारका कारण निकाको मृत्यु भएको प्रतिवेदनको निष्कर्ष छ।
त्यसमा भनिएको छ, “तीनवटा लठ्ठी र तीन टेजरको प्रयोग गरिएको थियो। कुन प्रहारले उनको ज्यान गयो भन्ने स्पष्ट छैन।”
यो प्रतिवेदन निकामाथि के भएको थियो भन्नेबारे सरकारले तयार पारेको प्रतिवेदनसँग बाझिन्छ। उनको अन्तिम संस्कार गरेको करिब एक महिनापछि सरकारद्वारा सञ्चालित टेलिभिजनमा औपचारिक अनुसन्धानको परिणाम सार्वजनिक गरिएको थियो। त्यसमा निका एउटा भवनबाट हाम फालेको भनिएको थियो।
त्यसमा देखाइएको सीसीटीभी फुटेजमा निका दाबी गरिएकी एक व्यक्ति एक अपार्टमेन्ट ब्लकमा छिरेको देखाइएको थियो, तर निकाकी आमाले बीबीसी पर्सिअनलाई एक टेलिफोन अन्तर्वार्तामा “कुनै पनि परिस्थितिमा ती व्यक्ति निका थिइन् भनेर आफूले भन्न नसक्ने” बताइन्।
“उनीहरू झुट बोलिरहेका छन् भन्ने हामी सबैलाई थाहा छ,” नसिन शाकारामीले प्रदर्शनकारीको मृत्युबारेको दाबीबारे छलफल गर्दै बीबीसीलाई भनिन्।
प्रतिवेदनबारे द बीबीसी आई इन्भेस्टिगेशन यसको विषयवस्तुका कारण मात्र गम्भीर भएको होइन, त्यो विश्वशनीय छ कि छैन भन्ने पनि चासो थियो।
कहिलेकाहीँ औपचारिक इरानी दस्ताबेजका रूपमा देखाई इन्टरनेटमा सम्प्रेषण गरिएका दस्ताबेज
तर ती मध्ये अधिकांश नक्कली दस्ताबेज चिन्न सजिलो छ किनभने ती आधिकारिक दस्ताबेजको स्वरूपभन्दा फरक, व्याकरण या हिज्जेमा त्रुटियुक्त हुन्छन्।
तिनमा गलत औपचारिक नारा या लोगो राखिएको हुन्छ। अथवा सरकारी निकाय वा विभागको नाम पुरानो राखिएको हुन सक्छ।
अर्को चाहिँ त्यहाँ प्रयोग भएको भाषा हो। नक्कली दस्ताबेजमा इरानी आधिकारिक निकायले प्रयोग गर्ने भन्दा भिन्न शैलीको भाषा हुन्छ।
हाम्रो जाँच जुन दस्ताबेजमा केन्द्रित थियो त्यसमा पनि केही विसङ्गति थिए। उदाहरणका लागि प्रतिवेदनमा उद्धृत गरिएको ‘नाजा’ प्रहरी फौजलाई त्यस बेला ‘फराजा’ नाममा चिनिन्थ्यो।
त्यसै कारण दस्ताबेजको सत्यतथ्य थप जाँच्नका लागि हामीले यस्ता सयौँ वैध दस्ताबेज हेरेका इरानका एक पूर्वगुप्तचार अधिकारीलाई लगायौँ।
उनले इरानमा वरिष्ठ गुप्तचर अधिकारीहरूलाई हरेक दिन प्रदान गरिने एक औपचारिक कोड प्रयोग गरेर आईआरजीसी सङ्ग्रहमा फोन गरे।
उनले त्यो फाइल अस्तित्वमा छ भन्ने पुष्टि गरे र सन् २०२२ मा भएको सरकारविरोधी प्रदर्शनबारे बनाइएको ३२२ पृष्ठ लामो प्रतिवेदनकै एक हिस्सा थियो भन्ने प्रमाणित गरे।
हामी १०० प्रतिशत निश्चित हुन नसके पनि यसले हामीलाई यो प्रतिवेदन वास्तविक हो भन्ने आत्मविश्वास दिलायो।
उनको आईआरजीसीमा रहेको विशेष पहुँचले हामीलाई अर्को रहस्य पनि सुल्झाउन मद्दत गर्यो। त्यो हो निकाको शरीररलाई सडकमा फ्याँक्न टीमलाई आदेश दिने “नईम १६” को पहिचान।
पूर्वगुप्तचर अधिकारीले यो पत्ता लगाउन इरानको सैन्य संरचनामा रहेका एक व्यक्तिलाई फोन गरेका थिए। नईम १६ चाहिँ मोहम्मद जमानीका लागि दिइएको कोड नम्बर हो भन्ने उनलाई बताइयो। जमानी आज्ईआरजीसीमा काम गर्छन्।
प्रतिवेदनको सारांशअनुसार निकाको मृत्युबारे भएको पाँच घण्टा लामो सुनुवाइमा त्यो नाम पनि एक जना सहभागीका रूपमा सूचीकृत छ।
हामीले यी आरोपहरू आईआरजीसी र इरानी सरकारसमक्ष राख्यौँ। उनीहरूले त्यसको जबाफ दिएनन्।
हामीलाई थाहा भएसम्म निकाको मृत्युका लागि जिम्मेवार पुरुषहरूलाई अझै दण्ड दिइएको छैन।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




