इरान किन धेरैतिर द्वन्द्वमा फसेको छ

Silhouette of raised arms and clenched fists on the background of the flag of Iran

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, द्वन्द्वका क्रममा छाया शक्तिहरूको प्रयोग दशकौंदेखि इरानी राष्ट्रिय सुरक्षा रणनीतिको हिस्सा रहँदै आएको छ ।
    • Author, लुइस बारुचो
    • Role, बीबीसी वर्ल्ड सर्भिस

इजरेलमाथि इरानले गरेको पहिलो प्रत्यक्ष आक्रमणसँगै मध्यपूर्वमा उसको भूमिकालाई लिएर विश्वको ध्यान केन्द्रित भएको छ ।

गत १३ अप्रिलमा इरानले इजरेलमाथि तीन सय ड्रोन तथा मिसाइल प्रहार गर्‍यो, जसलाई उसले सिरियास्थित आफ्नो कन्सुलेट कार्यालयमा भएको हमलाको बदला भनेको छ ।

हमासले गत ७ अक्टोबरमा इजरेली मानव बस्तीहरूमा गरेको आक्रमणको बदलामा इजरेलले गाजा क्षेत्रमा प्रत्याक्रमण थालेसँगै उक्त क्षेत्रको बढ्दो तनावपूर्ण अवस्थामा इरान र उसका सहयोगीहरूको पनि भूमिका देखिएको छ।

इरानले हमासलाई समर्थन गर्छ । यद्यपि, तेहरानले इजरेलमाथि लेबननबाट भएको आक्रमण, अमेरिकी सेनामाथि जोर्डनमा भएको ड्रोन हमला तथा यमनको लालसागर क्षेत्रमा पश्चिमा पानीजहाज लक्षित हमलाजस्ता मध्यपूर्वमा हालैका महिनामा भएका घटनाहरूमा आफ्नो प्रत्यक्ष संलग्नतालाई अस्वीकार गरेको छ । इरानले समर्थन गरेका समूहहरूले ती घटनाको जिम्मा लिएका थिए ।

इरानले कुन–कुन समूहलाई सघाउँछ ?

अमेरिकी आक्रमणमा मारिएकाहरूको फोटोसहित पिएमएफ समूहले गरेको प्रदर्शन।

तस्बिर स्रोत, AHMED JALIL/EPA-EFE/REX/Shutterstock

तस्बिरको क्याप्शन, अमेरिकी आक्रमणमा मारिएकाहरूको फोटोसहित पिएमएफ समूहले गरेको प्रदर्शन।

गाजाको हमास, लेबननको हिजबुल्लाह र यमनका हुथीहरूसँगै इरान, सिरिया र बहरेनबाट सञ्चालन हुँदै आएका मध्यपूर्वका थुप्रै हतियारधारी समूहको गाँठो इरानसँग जोडिएको छ ।

"प्रतिरोधको खम्बा’ भनेर पनि चिनिने यी समूहलाई पश्चिमा देशहरूले आतंकवादी समूहका रुपमा परिभाषित गरेका छन्। र क्राइसिस ग्रुप थिंक ट्याङ्कसँग आवद्ध इरान मामिलाका जानकार अली भाएजका अनुसार ‘तिनीहरूले आफ्नो क्षेत्रलाई अमेरिकी र इजरेली खतराबाट जोगाउने साझा उद्देश्य बोकेका छन्।"

"इरानको दृष्टिमा उसलाई सबैभन्दा पहिले अमेरिका र त्यसपछि इजरेलबाट खतरा छ । उसले इजरेललाई अमेरिकाको छद्म शक्तिका रुपमा हेर्छ", उनले थपे, "इरानले त्यस्तो अविश्वसनीय सञ्जाल तयार गरेको छ, जसले उसलाई आफ्नो शक्ति देखाउन मद्दत गर्छ।"

इरान औपचारिक रुपमा प्रत्यक्ष युद्धमा संलग्न नभएको तीन दशक नाघिसक्यो र उसले छद्म शक्तिहरूसँग आफ्नो संलग्नतालाई बारम्बार नकार्दै आएको छ।

तर ४५ वर्षअघिको राज्य क्रान्तिसँगै इरानले मिलिसिया समूहलाई सघाउँदै आएको छ। सन् १९८० को सुरुवातदेखि नै त्यस्ता समूह इरानी राष्ट्रिय सुरक्षा रणनीतिको प्रमुख हिस्साको रुपमा रहँदै आएका छन्।

गाजा युद्धका क्रममा बढ्यो हमला

गाजामा इजरेलले सैन्य अभियान चलाइरहँदा इरान समर्थित त्यस्ता समूहहरूले आक्रमण सुरू गरे । हिजबुल्लाहले लेबननबाट गरेको रकेट आक्रमण तथा लालसागरमा पश्चिमा पानीजहाजमाथि यमनबाट हुथीले गरेका आक्रमण त्यसका उदाहरण हुन् ।

तीमध्ये २८ जनवरीमा जोर्डनमा भएको ड्रोन हमला मुख्य घटनामध्येको हो, जसको इरान समेतको समर्थन रहेको मानिने विभिन्न समूहको संयुक्त शक्ति इराकस्थित ' इस्लामिक रेसिस्टेन्स' ले जिम्मा लियो । उक्त घटनामा तीनजना अमेरिकी सैनिक मारिएका थिए । अक्टोबर ७ मा भएको हमास आक्रमणयता अमेरिकी सैनिकहरू मारिएको यो पहिलो घटना थियो । यसमा इरानले आफ्नो संलग्नता अस्वीकार गर्‍यो ।

प्रतिक्रियास्वरुप उक्त घटनाको एक सातामा अमेरिकाले इराक र सिरियामा इरानी रिभोलुसनरी गार्ड्स (आइआरजिसी) कुड्स फोर्स र त्यससँग सम्बन्धित मिलिसियाहरूमाथि निशाना बनायो । लगत्तै अमेरिका र बेलायतले यमनमा क्रियाशील इरान समर्थित हुथीमाथि संयुक्त कारबाही चलाए ।

सिरियाको राजधानी दमास्कसस्थित इरानी कन्सुलेट भवनमा अप्रिल १ मा भएको हवाई हमलामा १३ जना मारिए, जसमा कुड्स फोर्सका वरिष्ठ कमाण्डर पनि परे । उक्त कार्यालयले इरानको एलिट रिपब्लिकन गार्डको विदेश शाखाको रुपमा काम गर्दथ्यो र हिजबुल्लाहलाई हतियार उपलब्ध गराउने गर्दथ्यो ।

इरानले इजरेलाई उक्त आक्रमणको दोष लगायो । इजलेरले उक्त कारबाहीको जिम्मा नलिए पनि त्यसमा उसैको भूमिका रहेको व्यापक अनुमान छ ।

सिरियास्थित इरानी केन्द्रहरूमा गत केही महिनामा भएका इजरायली शैलीका त्यस्ता हवाई आक्रमणहरूमा आइआरजिसीका केही वरिष्ठ कमाण्डरहरूको मृत्यु भएको छ ।

इरानले १३ अप्रिलको हमलालाई दमास्कस आक्रमणको जबाफ भनेको छ ।

इरानको इतिहास र अमेरिकासँगको सम्बन्ध

इरान-इराक युद्धमा सहभागी सैनीकको सम्झनामा प्रकाशित इरानी ब्याङ्क नोट।

तस्बिर स्रोत, CENTRAL BANK OF IRAN

तस्बिरको क्याप्शन, सन् १९८०को दशकमा इरान-इराक युद्धमा सहभागी सैनीकको चित्र अङ्कित इरानी ब्याङ्क नोट।

इरानको आधुनिक इतिहासका दुई घटनाले मध्यपूर्वमा इरानको स्थिति र अमेरिकासँगको तनावपूर्ण सम्बन्धलाई बुझ्न मद्दत गर्छ ।

सन् १९७९ को इरानी क्रान्तिपछि यो देश पश्चिमाहरूसँग अलग्गिएको देखिन्छ ।

त्यसलगत्तै इरानमा झण्डै एक वर्षदेखि बन्धक बनाइएका ५२ जना अमेरिकी कूटनीतिज्ञहरूलाई छुटाउन वासिङ्टन डिसीस्थित जिम्मी कार्टरको प्रशासन आतुर थियो । इरान सजायको भागिदार हुनुपर्छ र उसलाई अन्तर्राष्ट्रिय मञ्चहरूबाट अलग्याइनुपर्छ भन्ने भावना बलियो हुँदै थियो ।

उक्त सोचले अमेरिका र पश्चिमा शक्तिहरूलाई इराकको पक्षमा पुर्‍यायो, जहाँ सद्दाम हुसेन सत्तामा थिए ।

त्यसपछि इरान र इराकबीच युद्ध भयो, जुन सन् १९८० देखि १०८८ सम्म चल्यो ।

दुवै देश युद्धविरामका निम्ति तयार हुँदामसम्म दुवैतर्फ धेरै जनधनको क्षति भइसकेको थियो भने इरानको अर्थतन्त्र ध्वस्त भइसकेको थियो।

त्यस क्रममा इरानका उच्च अधिकारीहरू भविष्यमा हुन सक्ने त्यस्ता आक्रमणबाट बच्न इरानले आफ्नै ब्यालेस्टिक मिसाइल कार्यक्रम र छद्म शक्तिहरूको सञ्जाल तयार पार्नुपर्छ भन्ने मनस्थितिमा पुगे ।

सन् २००१ मा अफगानिस्तान र सन् २००३ मा इरानमाथि अमेरिकी नेतृत्वमा भएको आक्रमण तथा अरब देशहरूमा सन् २०११ यता भएका विभिन्न घटनाहरूले त्यस्तो सोचलाई झन मलजल गर्‍यो।

इरान के चाहन्छ र किन ?

अमेरिका र इरानको झन्डा।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, इरानी क्रान्तिपछि अमेरिका र इरान विपरीत ध्रुवमा रहँदै आएका छन्।

सैन्य शक्तिका दृष्टिकोणले इरान अमेरिकाभन्दा धेरै कमजोर छ । धेरै जानकारहरू इरानको कथित प्रतिरक्षा रणनीतिले लामो समयदेखि इरानी सत्ताका निम्ति रक्षाकवचको काम गर्दै आएको छ भन्नेबारे सहमत छन् ।

"इरान अमेरिकालाई मध्यपूर्वबाट बाहिर धकेल्न चाहन्छ, यो उसको अर्को पक्षलाई थकाएर बाहिर धकेल्ने दीर्घकालीन रणनीति हो", मिडल–इस्ट इन्स्टिच्युट अन्तर्गतको इरान कार्यक्रमका संस्थापक निर्देशक एलेक्स भाटंका भन्छन्।

बेलायतस्थिति युनिभर्सिटी अफ सक्सेसका कामरान मार्टिन पनि त्यसमा सहमत छन् । अझ उनी इरान विश्वमञ्चकै शक्तिशाली खेलाडी बन्ने चाहना राख्दछ भन्ने ठान्दछन् । अन्तर्राष्ट्रिय सम्बन्धका वरिष्ठ लेक्चरर मार्टिन भन्छन्, "पर्सियाका रुपमा चिनिने प्राचीन इरानको गौरवपूर्ण इतिहास छ। १२ शताब्दीसम्म पूर्वी एसियामा उसको दबदबा चल्दथ्यो ।"

"इरान क्षेत्रीय र विश्व मामिलामा उसको महत्वपूर्ण हैसियत हुनुपर्छ भन्ने विश्वास गर्छ। पर्सियन कलासाहित्यको बलियो विगतका कारण पनि इरानले आफूलाई महान शक्ति सम्झन्छ।"

इरानको कति नियन्त्रण छ?

यस्मिन माथर
तस्बिरको क्याप्शन, इरानी अध्येता यास्मिन माथरका अनुसार मानिसहरूले सोचेजस्तो छद्म शक्तिहरूमाथि इरानको नियन्त्रण छैन

बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालयमा आवद्ध इरानी अध्येता यास्मिन माथर छद्म शक्तिहरूमाथि इरानको खासै नियन्त्रण नभएको तर्क गर्छिन् ।

लालसागरमा पानीजहाजमाथि आक्रमण गर्ने यमनी हुथीहरूको उदाहरण दिँदै उनले भनि्, "तिनीहरूले सहजै इरानको निर्देशन मात्र पालना गरिरहेका छैनन्। स्वयं एक बलियो शक्तिका रुपमा उदाउने उनीहरूको आफ्नै एजेण्डा छ ।"

क्राइसिस ग्रुपका अली भाएज पनि त्यसमा सहमत छन्, "गैर–राज्ययुक्त खेलाडीहरूसँग सहकार्य गर्नु र उनीहरूमाथि आफ्नो पूर्ण नियन्त्रण नहुनु इरानजस्ता देशको समस्या हो।"

उनी इरानको शक्तिलाई अतिरञ्जित गरिएको छ भन्ने समेत ठान्दछन् । "मध्यपूर्वमा भइरहेका सम्पूर्ण चलखेलहरूको मास्टरमाइन्ड इरान हो भन्ने एक प्रकारको दृष्टिकोण छ । तर इरान र उसका मित्रहरू आफ्नो मूल सुरक्षा रणनीतिसम्बन्धी उद्देश्य हासिल गर्न सक्षम देखिँदैनन्, चाहे त्यो इजरेललाई युद्धविरामका लागि सहमति जनाउन बाध्य पार्ने कुरामा होस् वा अमेरिकालाई मध्यपूर्वबाट बाहिर पठाउने विषयमा होस्।"

तथापि इरानसँग अहिले परमाणु कार्यक्रम छ । जसबारे भाएज भन्छन्, "ऊ बिस वर्षयताकै बलियो स्थानमा छ।" उनको विचारमा विभिन्न हतियारधारी सञ्जालसँग इरानको आवद्धताले भन्दा उसको पारमाणविक कार्यक्रमले इजरेल र पश्चिमका निम्ति ठूलो समस्या निम्त्याउन सक्छ।

तेस्रो विश्वयुद्ध?

इरान-अमेरिका तनावको सांकेतिक चित्र।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, इरान पूर्ण-युद्ध टार्न चाहन्छ भन्ने विज्ञहरूको विश्वास छ।

इजरेलमाथि आक्रमण गर्ने इरानको निर्णयलाई केही विष्लेषकहरूले ‘पाराडाइम सिफ्ट’ भनेका छन् । वासिङ्टन डिसीको थिंक ट्यांक स्टिमसन सेन्टरका बारबरा स्लेभिन भन्छिन्, "छाया युद्धका रुपमा सञ्चालन हुँदै आएको इरान–इजरेल द्वन्द्व अब खुला रुपमा देखिएको छ, सोचीविचारी धिमा गतिका ड्रोनहरूको प्रयोग गरेर इरानले इजरेल र अमेरिकालाई तयारीको समय दिएको छ।"

तर इजरेली र अमेरिकी सैन्य शक्तिसँग जुध्दा इस्लामिक गणतन्त्रले विनाशकारी परिणाम बेहोर्नुपर्ने स्थिति आउन सक्नेतर्फ तेहरान सचेत रहनेछ । "युद्ध टार्नु खामेनेइ को विरासतका निम्ति महत्वपूर्ण छ" ‘इरानी विष्लेषक इस्फान्ड्यर बत्मान्गेलिज भन्छन्, "इरानका तर्फबाट इजरेलविरुद्ध जस्तोसुकै जबाफ दिइयोस्, त्यो पूर्ण स्तरको युद्धलाई टार्ने किसिमले तय गरिएको हुनेछ।"

तथापि मध्यपूर्वमा तनावको स्थिति बनेको छ, इन्टरनेटमा ‘तेस्रो विश्वयुद्ध’बारे खोजी हुन थालेको छ ।

इरानले इजरेलमाथि मिसाइल र ड्रोन आक्रमण गरेको प्रसङ्गमा क्राइसिस ग्रुपका भाएज भने पूर्ण–युद्धको सन्दर्भलाई नकार्न नमिल्ने चेतावनी दिन्छन् ।

"अझै पनि यी दुई देशले त्यस्ता गतिविधिहरूको आदानप्रदान गरिराख्न सक्छन्, जसले गर्दा युद्ध तन्किँदै गएर अमेरिकालाई पनि संलग्न गराउने र सम्पूर्ण मध्यपूर्वलाई यसमा तान्न सक्छ," उनले भने ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।