के अमेरिकी दबावले गाजामा इजरेल-हमास युद्धविराम हुन सक्छ?

तस्बिर स्रोत, Reuters
- Author, ह्युगो बाचेगा
- Role, मध्यपूर्व संवाददाता, जेरुसेलम
इजरेल र हमास समूहबीच युद्धविराम त्यति सहज छैन। दुई पक्षले हप्तौँसम्म वार्ता गर्दा पनि युद्धविरामका लागि सहमति जुट्न सकेको छैन। तर अन्तर्राष्ट्रिय दबाव बढिरहेको छ।
यसको सबैभन्दा ठूलो सङ्केत अमेरिकाको बाइडन प्रशासनले सीआईए प्रमुख विलियम बर्न्सलाई वार्ता गर्न कायरो पठाउनु हो।
हमासले स्थायी युद्धविराम, गाजाबाट सबै इजरेली सेनाहरूको फिर्ती र देशको उत्तरी क्षेत्रमा प्यालेस्टिनीहरूलाई निर्बाध आवतजावत खुला गरिनुपर्ने आफ्नो अडान सार्वजनिक रूपमा व्यक्त गर्दै आइरहेको छ।
इजरेलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले भने हमासको अन्त्य र उसले बन्धक बनाएका मानिसहरू मुक्त नहुँदासम्म इजरेलले युद्ध गरिरहने बताएका छन्।
“इजरेलमा चर्को अमेरिकी दबाव छ र अर्कोतर्फ इजिप्ट र कतारले हमासमाथि दबाव दिइरहेका छन्। त्यो स्पष्ट छ,” सन् २०११ मा हमासले बन्धक बनाएका एक इजरेली सैनिकको मुक्तिका लागि भएको सम्झौतामा मध्यस्थताको भूमिका निर्वाह गरेका गर्शन बास्किन भन्छन्।
“सीआईएका प्रमुख देखा पर्नु भनेको वार्ताका सबै मध्यस्थकर्ताहरूमध्ये सबैभन्दा उच्च तहका मानिसहरू त्यहाँ हुनु हो। त्यसले अमेरिकी दबाव बढेको देखाउँछ।”
तर त्यसको अर्थ सहमति हुनै लागेको छ भन्ने होइन।
अमेरिका सहित आफ्ना प्रमुख सहयोगी राष्ट्रहरूबीच बढ्दो निराशाबीच इजरेली अधिकारीहरू केही लचकता अपनाउन इच्छुक देखिएका छन्। यसै साताको आरम्भमा इजरेलका रक्षामन्त्री योअभ गालान्टले युद्धविरामका लागि अहिले उचित समय भएको बताएका थिए।
दुई पक्षबीच कुनै सम्झौता भए हमासले इजरेलमाथि गरेको आक्रमणका क्रममा बन्धक बनाएका केही मानिसहरू र इजरेलले बन्दी बनाएका प्यालेस्टिनीहरू मुक्त हुने ठानिएको छ।
यसअघि नोभेम्बरमा भएको अस्थायी युद्धविरामका क्रममा पनि दुवै पक्षले मानिसहरू रिहा गरेका थिए।
इजरेली अधिकारीहरूका अनुसार अझै १३३ जना व्यक्तिहरूलाई गाजामा बन्धक बनाइएको छ। हमासले बन्धक बनाएकामध्ये ३० जनाको मृत्यु भइसकेको बताइएको छ।
बन्धक मुक्त गर्ने योजना
अमेरिकाले छ हप्ताको युद्धविरामका लागि अघि सारेको प्रस्तावमा हमासले जीवित रहेका ४० जना बन्धक मुक्त गर्ने उल्लेख छ। उसले त्यसमा महिला बन्धकहरूका साथै ५० वर्ष माथिका पुरुषहरू र गम्भीर स्वास्थ्य समस्या भएका व्यक्तिहरूलाई प्राथमिकता दिन भनेको छ।
त्यसको बदलामा इजरेलले ७०० जना प्यालेस्टिनीहरूलाई रिहा गर्ने र त्यसमध्ये इजरेलीहरूको हत्या आरोपमा जन्मकैदको सजाय भोगिरहेका १०० जना समेट्न प्रस्ताव गरिएको छ।
हमासले वार्ताका मध्यस्थकर्ताहरूलाई आफ्नो नियन्त्रणमा त्यस्ता ४० जना मानिसहरू नरहेको बताएको छ। हमासको यस्तो कुराले या यसअघि ठानिएको भन्दा धेरै बन्धक बनाइएका मानिसहरूको मृत्यु भएको वा मानिसहरू प्यालेस्टाइन इस्लामिक जिहाद जस्ता अरू सशस्त्र समूहको नियन्त्रणमा पनि रहेको हुनसक्ने सम्भावना औँल्याएको छ।
बढ्दो आन्तरिक दबाव

तस्बिर स्रोत, Reuters
इजरेलका प्रधानमन्त्री नेतन्याहूमाथि भने राजनीतिक र सामाजिक दबाव बढ्दो छ। अधिकांश इजरेलीहरू युद्धका पक्षमा देखिए पनि उनीमाथि बन्धक मुक्त गर्नका लागि हमाससँग सम्झौता गर्न दबाव परिरहेको छ।
बन्धक बनाइएका मानिसहरूका परिवारहरूले ठूला प्रदर्शनहरू गरिरहेका छन् र प्रधानमन्त्रीमाथि बन्धक फिर्ता ल्याउने विषयलाई प्राथमिकता नदिएको आरोप लगाएका छन्। आफ्नै राजनीति टिकाउन केन्द्रित भएको आरोप लगाउँदै नेतन्याहूको राजीनामा पनि इजरेलमा माग भइरहेको छ।
नेतन्याहूको सत्ताधारी गठबन्धनमा पनि विभाजन देखा परेको छ। उनको गठबन्धनमा उग्र वामपन्थी देखि चरम राष्ट्रवादीहरू सहयोगीका रूपमा छन् र ती शक्तिहरू हमाससँग सम्झौता भन्दा युद्धमा जोड दिन्छन्।
अर्थमन्त्री बेट्सालेल स्मोटरिट्जले हमासमाथि थप दबावले मात्रै बन्धकहरू फिर्ता ल्याउन र उक्त समूहको अन्त्य सम्भव भएको प्रधानमन्त्रीलाई बताएका छन्। त्यस्तै राष्ट्रिय सुरक्षा मन्त्री इतामर बेन ग्भियरले दक्षिणी गाजाको रफाहमा उनले वाचा गरेको प्रत्याक्रमण अघि नबढाए नेतन्याहूलाई पदबाटै हटाउने चेतावनी दिएका छन्।
इजरेली अधिकारीहरूले रफाहमा प्रवेश गर्न जरुरी रहेको बताउँदै आएका छन्। उनीहरूले त्यहाँ हमासका चार वटा ब्रिगेडहरू रहेको र त्यहाँ उसका उच्च तहका नेताहरू लुकेर बसेको हुनसक्ने ठानेका छन्।
बाह्य दबावमा इजरेल

तस्बिर स्रोत, EPA
इजरेल बाहिरका भने सबै पक्षहरू उक्त सहरमा आक्रमणको विपक्षमा देखिएका छन्। यो सहरमा १५ लाख प्यालेस्टिनीहरू पालहरूमा बसेर आश्रय लिइरहेका छन्। यहाँ हुने आक्रमणले त्यहाँ आश्रय लिइरहेका सर्वसाधारणहरूमा विपत्ति निम्तिने बाह्य पक्षको चिन्ता छ।
देशभित्रको आलोचनाको प्रतिवाद गर्दै नेतन्याहूले सोमवार रफाहमा कारबाही सुरु गर्ने मिति तय भइसकेको बताएका थिए। यद्यपि उनले यसबारे विस्तृतमा केही बताएनन्।
“यहाँ सरकारमै विद्रोह भइरहेको छ र नेतन्याहूको दलमा पनि। उनलाई आफूहरूले नचाहेको सम्झौता नगर्न दबाव दिइरहेका छन्,” बास्किन भन्छन्।
"नेतन्याहू आफैँ स्वतन्त्र छैनन्। उनी आफ्नै सरकारको बन्धक छन्।"
पछिल्लो प्रस्तावबारे हमासले औपचारिक जवाफ दिन बाँकी छ। यद्यपि उसले “आफ्ना जनताहरूमाथिको आक्रमण अन्त्य गर्ने सम्झौताको पक्षमा” रहेको बताएको छ।
तर इजरेलले आफ्नो अडान नछाडेको उक्त समूहको विज्ञप्तिमा उल्लेख छ।
अमेरिकी राष्ट्रपतिको कार्यालयले हमासको प्रतिक्रियालाई “कम उत्साहजनक” भनेको छ।
यसबारे अन्तिम निर्णय गाजामा हमासका नेता याह्या सिन्वरले लिने ठानिएको छ। उनी कुनै सुरुङभित्र पहरेदार र बन्धकहरूमाझ लुकिरहेको हुनसक्ने ठानिएको छ। तर उनीसँगको सञ्चार सहज छैन र त्यसका लागि कैयौँ दिन र बिचौलिया मानिसहरू आवश्यक पर्ने ठानिएको छ।
हमासको आशङ्का
बास्किनका अनुसार हमासले प्यालेस्टिनी बन्दीहरूलाई कुनै अर्को देशमा निष्कासन नगरी रिहा गर्न माग गरेको छ जसले मध्यस्थतालाई केही जटिल बनाएको छ।
हमासले स्थायी युद्धविराम नभए बन्धकहरू मुक्त भएलगत्तै इजरेलले पुनः आफ्नो समूहमाथि आक्रमण सुरु गर्ने चिन्ता व्यक्त गर्दै आएको छ।
हमासको नेतृत्व इजरेलमाथि बढ्दो अन्तर्राष्ट्रिय दबावबारे जानकार छ। यस्तो अवस्थामा उसले गाजामा सर्वसाधारणले कष्ट झेलिरहेका भएपनि आफ्ना सर्तहरू इजरेललाई मनाउने सहज समय पर्खिरहेको छ।
गत अक्टोबर ७ मा हमासले इजरेलमाथी गरेको आक्रमणपछि सुरु भएको युद्धमा हालसम्म ३३ हजार भन्दा धेरै मानिसहरूको मृत्यु भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ।
अक्टोबर ७ मा हमासले कडा अवरोध तोडेर गरेको आक्रमणमा इजरेलमा १,२०० जनाको ज्यान गएको थियो भने २४० जनालाई बन्धक बनाएर लगिएको थियो।
“विगतमा यस्ता काम गरेको मेरो अनुभवका आधारमा भन्ने हो भने दुवै पक्षका निर्णायक मानिसहरू यसका लागि तयार छन् कि छैनन् भन्ने मुख्य कठिनाइ हो। यो प्रस्ट छैन,” बास्किन भन्छन्।
“नेतन्याहू सम्झौताका लागि तयार छन् कि छैनन् भन्ने प्रस्ट छैन र हमासका सिन्वार पनि तयार रहे नरहेको प्रस्ट छैन। तर जब उनीहरू तयार हुन्छन् बीचको बाटो उनीहरूले भेट्टाउँछन् नै।”
हुनसक्छ हमासका प्रवक्ताले रफाहमा आक्रमणको मिति तय भइसकेको भन्ने नेतन्याहूको टिप्पणीलाई लिएर, त्यसले वार्ता पुनः सुरु गर्नुको औचित्यबारे प्रश्न उठेको बताएका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








