‘गाजा युद्धमा भोकमरीलाई अस्त्रको रूपमा प्रयोग गरिँदै छ’

तस्बिर स्रोत, EPA
- Author, जेम्स ग्रेगरी
- Role, बीबीसी न्यूज
गाजा युद्धमा भोकमरी एउटा अस्त्रको रूपमा प्रयोग भइरहेको युरोपेली सङ्घ ईयूका विदेश नीति प्रमुखले आरोप लगाएका छन्।
जुजेप बूरेलले सो क्षेत्रमा सहायता सामग्री पुग्न नदिनुलाई “मानवसिर्जित विपद्” को सङ्ज्ञा दिए।
एउटा स्पेनिश पानीजहाज अत्यावश्यक खाद्यान्न सहायता लिएर साइप्रसबाट गाजाका लागि हिँडेको छ।
तर संयुक्त राष्ट्रसङ्घले स्थलमार्गबाट गाजामा सहायता पुर्याउन नसकिने जनाएको छ।
अर्कोतर्फ इजरेली प्रधानमन्त्री बेन्जमिन नेतान्याहुले दक्षिणी गाजामा आक्रमणको योजना अगाडि बढाउने बताएका छन्।
'मानवसिर्जित विपद्'
गाजामा सहायता सामग्री पुर्याउन सबैभन्दा छिटो र प्रभावकारी माध्यम सडक मार्ग भए पनि त्यहाँबाट आवश्यकताको सानो हिस्सा मात्र सहयोग पुग्न सकिरहेको छ।
सहायता पुर्याउनका निम्ति अब सामुद्रिक र हवाईसहितका वैकल्पिक मार्गतर्फ ध्यान मोडिन थालेको छ।
दक्षिणतिरका दुईवटा बिन्दुबाट सहायता पुर्याउन दिएको भन्दै इजरेलले खाद्यान्न अभावका लागि आफू जिम्मेवार नरहेको दाबी गर्ने गरेको छ।

तस्बिर स्रोत, WORLD CENTRAL KITCHEN
तर मङ्गलवार न्यूयोर्कस्थित राष्ट्रसङ्घीय सुरक्षा परिषद्लाई सम्बोधन गर्दै बूरेलले उपयोगी स्थलमार्गहरू उपलब्ध नगराइँदा गाजामा मानवीय सङ्कट उत्पन्न भएको बताए।
“अहिले एउटा जनसङ्ख्या बाँच्नका निम्ति सङ्घर्षरत रहेको हामीले देखिरहेका छौँ,” उनले भने।
“मानवीय सहायता गाजामा पुग्न जरुरी छ र युरोपेली सङ्घले त्यसलाई सम्भव तुल्याउन भरमग्दुर प्रयास गरिरहेको छ।”
“त्यहाँको [मानवीय विपद्] मानवसिर्जित हो र हामीले समुद्री मार्ग, हवाई मार्गबाट सहायता पुर्याउने विकल्प खोजिरहेका छौँ, हामीले आफैँलाई यो कुरा सम्झाउनुपर्छ कि हामीले त्यो गर्नुपर्छ। किनकि सडक मार्गबाट सहायता पुर्याउन सकिने हुँदाहुँदै… कृत्रिम ढङ्गले तिनलाई बन्द गरिएको छ,” बूरेलले थपे।
“भोकमरीलाई युद्धमा एउटा अस्त्रका रूपमा प्रयोग गरिँदै छ र यदि सोही कुरालाई हामी युक्रेन युद्धमा निन्दा गर्छौँ भने गाजाको हकमा पनि हामीले तिनै शब्द प्रयोग गर्नुपर्छ।”
राष्ट्रसङ्घको चेतावनी
संयुक्त राष्ट्रसङ्घले गाजामा कम्तीमा पाँच लाख ७६ हजार मानिस भोकमरीको चपेटामा पर्नबाट अब एक पाइला मात्रा टाढा रहेको चेतावनी दिएको भोलिपल्ट युरोपेली सङ्घका विदेश नीति प्रमुखको टिप्पणी आएको हो।
विगत दुई साताभित्र अस्पतालमा उपचारका क्रममा कम्तीमा २७ जना बालबालिकाले कुपोषण र पर्याप्त झोल पदार्थ नपाउँदा ज्यान गुमाएको हमासको स्वास्थ्य मन्त्रालयले बताएको छ।
हमासका बन्दुकधारीले गत अक्टोबर ७ तारिखमा इजरेलमा आक्रमण गरेर करिब १,२०० जनालाई मारेपछि र २५३ जनालाई बन्धक बनाएर लगेपछि गाजा युद्ध शुरू भएको हो।
त्यसयता इजरेली हमलामा ३१ हजार १८० जनाभन्दा बढी मानिस गाजामा मारिएका हमासको स्वास्थ्य मन्त्रालयले बताएको छ।
अमेरिका, कतार र इजिप्टका मध्यस्थकर्ताहरूको सहभागितामा हप्तौँसम्म वार्ता चले पनि युद्धविराम वा बन्धक साटासाट गर्ने विषयमा दुई पक्षबीच हालसम्म सहमति जुट्न सकेको छैन।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








