हमासको टोली कायरोमा, गाजामा छहप्ते युद्धविराम हुने अमेरिकाको आशा

इजरेली सैनिक

तस्बिर स्रोत, Reuters

हमासको प्रतिनिधिमण्डल इजिप्टको कायरोमा पुगेको बताइएसँगै इजरेल गाजा द्वन्द्वमा युद्धविरामको अपेक्षा गरिएको छ।

आफ्नो नाम खुलाउन नचाहने एक जना अमेरिकी अधिकारीले युद्धविरामको सर्तमा इजरेलले “करिब सहमति जनाएको” बताएका छन्।

अमेरिकाका अनुसार छ सातासम्म हुन सक्ने युद्धविराममा हमासले बन्धक बनाएका थप मानिसहरू मुक्त गरिनुका साथै प्यालेस्टिनी बन्दीहरू पनि इजरेलबाट रिहा हुन सक्छन्।

हमासले बन्धक बनाएका भनिएका नेपाली विद्यार्थी विपिन जोशीको अवस्था गत अक्टोबरदेखि नै अज्ञात छ।

यसअघिको युद्धविराममा पनि हमासले केही बन्धक रिहा गरेको भए पनि जोशी मुक्त भएका थिएनन्।

गाजामा राहतको पर्खाइमा रहेका मानिसहरू सहायता बोकेका ट्रकहरूतर्फ दौडने क्रममा गत बिहीवार ११२ जना मारिएपछि सङ्घर्षविरामका लागि दबाव बढेको थियो।

हमासले खानेकुरा पर्खिरहेका सर्वसाधारणमाथि इजरेलले गोली चलाएको आरोप लगाएको छ। इजरेलले भने यस्तो आरोप अस्वीकार गरेको छ।

उसले घटनाको प्रारम्भिक समीक्षामा इजरेली सैनिकहरूतर्फ अघि बढेका कैयौँ मानिसहरूमाथि सेनाले गोली चलाएको आइतवार जनाएको छ। घटनामा अधिकांश मानिसहरूको भिडमा किचिएर मृत्यु भएको इजरेलको दाबी छ।

कतारसँग निरन्तर छलफलमा रहेका इजिप्टका अधिकारीहरूले हमास र इजरेल दुवैतर्फका प्रतिनिधिहरू वार्तामा उपस्थित हुने अपेक्षा गरिएको बताएका छन्।

'इजरेल करिब सहमत'

गाजा युद्ध

तस्बिर स्रोत, EPA

हमासलाई उद्धृत गर्दै आगामी २४ देखि ४८ घण्टासम्ममा सङ्घर्षविरामको सहमति हुनसक्ने विवरण आएका छन्। तर इजरेलले आफ्ना सर्तमा सहमति जनाएको अवस्थामा मात्रै यो सहमति सम्भव भएको हमासको भनाइ रहेको एक स्रोतले जनाएको छ।

एक जना वरिष्ठ अमेरिकी अधिकारीले छ साताका लागि युद्धविराम गर्न इजरेल करिब सहमत रहेको बताएसँगै युद्धविरामको आशा बढेको बताइएको छ।

गत अक्टोबर ७ मा हमासले इजरेली भूमिमा प्रवेश गरेर गरेको आक्रमणमा १,२०० जनाभन्दा बढीको मृत्यु हुनुका साथै २५३ जना बन्धक बनाएपछि इजरेली सेनाले गाजाका विभिन्न क्षेत्रमा हमासलक्षित स्थलआक्रमण गरिरहेको छ।

गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले इजरेली कारबाहीका कारण अहिलेसम्म ३०,४१० जनाभन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको बताएको छ। मृतकमध्ये २१,००० बालबालिका र महिला छन्। युद्धका कारण करिब ७,००० जना बेपत्ता र ७१,७०० जना घाइते छन्।

सहायता निकायहरूले उत्तरी गाजामा भोकमरी सुरु हुन लागेको चेतावनी दिएसँगै युद्धविरामका लागि दबाव बढेको थियो।

भोकमरीको जोखिम

शिविरहरू

तस्बिर स्रोत, Reuters

नर्वेजिअन शरणार्थी काउन्सिलका प्रमुख यान एगलन हालै मात्रै यो क्षेत्रको अवलोकनबाट फर्किएका छन्।

“त्यहाँको अवस्था भयानक छ भन्ने मलाई पहिल्यै अनुमान थियो तर त्यहाँ मैले सोचेको भन्दा पनि खराब अवस्था रहेछ,” उनले आइतवार बीबीसीसँग भने।

“मानिसहरू 'हामी भोकै छौँ, भोकले मर्न लाग्यौँ' भन्दै आक्रोशित भएका छन्,” उनले भने।

उनले युद्धका भग्नावशेषमा बसिरहेका करिब ३,००,००० मानिसहरूसम्म राहत पुर्‍याउन इजरेलले अनुमति नदिएको भन्दै उक्त क्षेत्रमा भोकमरी सुरु भइसकेको हुन सक्ने बताए।

बिहीवार राहत सामग्री बोकेका ट्रकहरूमा घेराबन्दी भएपछि सयभन्दा धेरै मानिसहरू मारिएपछि अमेरिकाले गाजामा हवाईजहाजबाट पहिलो चरणको राहत सामग्री खसालेको छ।

अमेरिकाले शनिवार तीनवटा सैन्य विमानबाट ३०,००० थान खानेकुराका पोका सुरक्षित तरिकाले खसालिदिएको थियो।

गाजा क्षेत्र

यसैबीच इजरेलले आइतवार गाजाको खान यूनिस क्षेत्रमा हवाई हमला गरेको छ। हमलामा भएको क्षतिको विवरण सार्वजनिक भएको छैन। हमासका अनुसार शनिवार रफाह क्षेत्रमा इजरेली हवाई हमलामा ११ जना मानिस मारिएका थिए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।