एक साताभित्र गाजामा युद्धविराम हुने बाइडनको आशा

अमेरिकी राष्ट्रपति जो बाइडन

तस्बिर स्रोत, Getty Images

अमेरिकी राष्ट्रपति जो बाइडनले आगामी सोमवारसम्ममा गाजामा युद्धविराम हुन सक्ने आशा व्यक्त गरेका छन्।

कतारमा इजरेल र हमासका प्रतिनिधिबीच जारी वार्तामा केही प्रगति भइरहेको समाचार आएका बेला बाइडनले गाजामा जारी युद्धबारे टिप्पणी गरेका हुन्।

आफ्ना राष्ट्रिय सुरक्षा सल्लाहकारले आफूलाई वार्ता युद्धविरामको नजिक पुगेको बताएको अमेरिकी राष्ट्रपतिले बताए।

अमेरिका इजरेलको मुख्य सहयोगी राष्ट्र हो।

गत वर्ष अक्टोबरमा हमासले दक्षिणी इजरेलमा आक्रमण गरी झन्डै १,२०० जनाको हत्या गरेपछि इजरेलले गाजामा हवाई तथा स्थलआक्रमण सुरु गरेको थियो।

त्यस बेला हमासले २५३ जनालाई बन्धक बनाएको थियो। तीमध्ये केही रिहा भइसकेका छन्।

हमासले बन्धक बनाएको भनिएका नेपालका विपिन जोशीको अवस्था अहिलेसम्म थाहा हुन सकेको छैन।

गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरेली कारबाहीमा परेर गाजामा २९,७८२ जनाको मृत्यु भएको छ। आइतवार मात्र ९० जनाको ज्यान गएको उसले जनाएको छ।

वार्तामा प्रगति

रफाह

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, गाजामा युद्ध सुरु भएपछि रफाहमा लाखौँ शरणार्थीहरू बसिरहेका छन्

सोमवार न्यूयोर्क सिटीमा आयोजित एउटा पत्रकार सम्मेलनमा बोल्दै अमेरिकी राष्ट्रपति बाइडनले भने, "हामी नजिक छौँ। भइसकेको छैन तर आगामी सोमवारसम्म युद्धविराम होला भन्ने मेरो आशा छ।"

यसअघि अमेरिकी विदेश मन्त्रालयका एक प्रवक्ताले हमासद्वारा बन्धक बनाइएका इजरेली नागरिकको रिहाइका लागि भएका प्रयासमा विगतका केही दिनमा "प्रगति" भएको बताएका थिए।

यद्यपि हमासले प्रस्तावित सहमति स्वीकार गर्ला भन्ने विषय अझै अस्पष्ट रहेको पनि उनले बताएका थिए।

"इजिप्ट, इजरेल, अमेरिका र कतारबीच भएको संवादमा प्रगति भएको छ," प्रवक्ता म्याथ्यू मिलरले भने।

गत साता गाजामा तत्काल युद्धविरामको आह्वान गर्दै संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्‌मा प्रस्तुत एउटा प्रस्तावविरुद्ध अमेरिकाले भीटो प्रयोग गरेको थियो। यसपछि अन्तर्राष्ट्रिय जगत्‌मा अमेरिकाको व्यापक आलोचना भएको थियो।

यद्यपि लगत्तै अमेरिकाले अस्थायी युद्धविरामको आफ्नो अर्को प्रस्तावलाई अघि बढाएको छ। उसले दक्षिणी गाजाको रफाह सहरमा आक्रमण नगर्न इजरेललाई भनेको छ।

दुवै पक्ष दबावमा

इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहु

तस्बिर स्रोत, reuters

इजरेल सरकारले नयाँ स्थल कारबाही सुरु गर्नुअघि गाजाका विभिन्न भागका सर्वसाधारण मानिसहरूलाई त्यहाँबाट अन्यत्र सार्नका लागि आफ्नो सेनाले एउटा योजना बनाएको बताएको छ।

तर उसमाथि यस्तो कारबाही सुरु नगर्न अन्तर्राष्ट्रिय दबाव बढ्दो छ।

गाजाका अन्य क्षेत्रबाट भागेका प्यालेस्टिनी शरणार्थी हाल रफाहमा बसेका छन्।

उता प्यालेस्टिनी प्राधिकरणका प्रधानमन्त्री मोहम्मद शतायेले आफ्नो सम्पूर्ण सरकारसहित राजीनामा दिएका छन्।

प्राधिकरणको सरकारले वेस्ट ब्याङ्कका केही क्षेत्रमा शासन गर्दै आएको छ।

राष्ट्रपति महोमद अब्बासले शतायेको निर्णय स्वीकार गरेका छन् र अब त्यहाँ विषय विज्ञहरूको सरकार बन्ने अपेक्षा गरिएको छ।

इजरेल र हमासको युद्ध सकिएपछि गाजामा शासन गर्न सक्षम हुने गरी प्राधिकरणको पुनर्गठनका लागि अब्बासमाथि अमेरिकी दबाव छ।

गत साता इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले उक्त क्षेत्रबारे आफ्नो योजना प्रस्तुत गरेका थिए। तर त्यसमा प्यालेस्टिनी प्राधिकरणबारे केही उल्लेख गरिएको थिएन।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।