विपिन जोशीबारे कतारका प्रधानमन्त्रीले भने, ‘ए, अहिलेसम्म रिहा भएका छैनन्?’

तस्बिर स्रोत, Mofa.gov.qa
नेपालले संयुक्त राष्ट्रसङ्घको महासभामा गाजामा तत्काल युद्धविराम गर्ने प्रस्तावको पक्षमा मतदान गरेको छ।
मानवीय सहायताका लागि तत्काल लडाइँ रोक्ने प्रस्तावमा नेपालसहित १५३ देशले पक्षमा मतदान गरे पनि उक्त प्रस्ताव सङ्घर्षरत पक्षहरूका लागि बाध्यकारी भने हुँदैन।
महासभाको आपत्कालीन सत्रमा पेस गरिएको उक्त प्रस्तावमा युद्धका कारण बन्दी बनाइएकाहरूलाई तत्काल र बिनासर्त रिहा गर्न पनि माग गरिएको छ।
इजरेलमा अध्ययनका लागि गएका कञ्चनपुरका विपिन जोशीलाई पनि हमासले बन्दी बनाएको ठानिएको छ। नेपालले जोशीलाई छुटाउन कूटनीतिक पहल भइरहेको बताउँदै आएको छ।
नेपालका परराष्ट्रमन्त्रीले हालै कतारका प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग पनि भेट गरेका थिए।
महासभामा भएको मतदानको अर्थ के हो?
संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी प्रतिनिधि रहिसकेका कूटनीतिज्ञ मधुरमण आचार्य महासभाबाट मङ्गलवार राति पारित भएको प्रस्ताव इजरेलका लागि बाध्यकारी नहुने बताउँछन्।
“यसको राजनीतिक र नैतिक अर्थ मात्रै छ। बाध्यकारी हुँदैन,” उनले भने।
राष्ट्रसङ्घका १९३ सदस्यराष्ट्रमध्ये अमेरिका र इजरेलसहित १० राष्ट्रले भने राष्ट्रसङ्घको महासभामा पेस गरिएको युद्धविरामको विपक्षमा मतदान गरेका छन्। मतदानमा यूके सहितका २३ देश मतदानमा अनुपस्थित रहे।
हमासले अमेरिकी र इजरेली नागरिकहरूलाई पनि बन्दी बनाएको छ।
यसअघि एक साता भएको सङ्घर्षविरामका बेला हमासले बन्धक बनाएका करिब २४० मध्ये विभिन्न देशका १०० जनाभन्दा बढीलाई रिहा गरेको थियो। विदेशी नागरिकमध्ये थाईल्यान्डका सबैभन्दा धेरै २३ जना मुक्त भएका थिए।
नेपाली कूटनीतिमाथि प्रश्न
यसअघि गत अक्टोबर २८ मा पनि नेपालले गाजामा मानवीय सहायताका लागि सङ्घर्षविराम गर्ने पक्षमा मतदान गरेको थियो।
इजरेल र हमासबीचको सङ्घर्षबारे नेपालले आफ्नो दृष्टि र कूटनीति स्पष्ट पार्न नसकेको भन्दै केही विश्लेषकहरूले आलोचना गरेका छन्।

तस्बिर स्रोत, UN News
नेपालले इजरेलमा हमासले गरेको हमलालगत्तै उक्त सङ्गठनलाई आतङ्ककारीको सङ्ज्ञा दिँदै आक्रमणको निन्दा गरेको थियो। अक्टोबर ७ मा इजरेलमा हमास लडाकुहरूबाट भएको आक्रमणका क्रममा १० नेपालीले पनि ज्यान गुमाएका थिए।
तर हमासको हमलापछि इजरेलले हमासले शासन गरिरहेको गाजा क्षेत्रमा सुरु गरेको आक्रमण ६६औँ दिनसम्म पनि जारी छ।
इजरेलले गरेको सैन्य कारबाहीमा अहिलेसम्म १८,००० बढीले ज्यान गुमाइसकेको विवरण आएका छन्।
विपिन जोशीको रिहाइका लागि नेपालको पहल
नेपाल सरकारले हमासले बन्दी बनाएको ठानिएका जोशीको रिहाइका लागि कूटनीतिक पहल जारी राखिएको जनाएको छ।
यसअघिको अस्थायी युद्धविरामका क्रममा उनलाई रिहा गराउने प्रयास असफल भए पनि नेपालले कतार र इजिप्टमार्फत् पहल गरेर उनलाई मुक्त गर्ने प्रयास गरिरहेको अधिकारीहरूले बताएका छन्।

तस्बिर स्रोत, Nepali Embassy Israel
हालै दोहा फोरममा भाग लिन कतार पुगेका परराष्ट्रमन्त्री एनपी साउदले कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल-थानीसँगको भेटमा विपिन जोशीको रिहाइका लागि पहल गरिदिन अनुरोध गरेको नेपाली अधिकारीहरूले बताएका छन्।
यसअघि इजरेल र हमासबीच युद्धविराममा मध्यस्थकर्ताको भूमिका खेलेको कतारले जोशीको रिहाइमा सहयोग गर्न सक्ने अपेक्षा नेपालले कतारी अधिकारीहरूसँग राखेको छ।
इजरेलस्थित नेपाली राजदूत कान्ता रिजालले पनि इजरेलको प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयले बन्धक बनाइका र हराइरहेका मानिसहरूको खोजीका लागि बनाएको टोलीका संयोजकसँग भेट गरेकी छन्।
उक्त भेटमा रिजालले इजरेल सरकारबाट निर्णायक प्रयास र भूमिकाको अपेक्षा नेपालले गरेको बताएको नेपाली दूतावासले जनाएको छ।
जबाफमा इजरेली अधिकारीहरूले जोशीको रिहाइमा "कुनै कसर बाँकी नराखिने प्रतिबद्धता" व्यक्त गरेको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
कतारी प्रधानमन्त्रीले के भने
भेटमा सहभागी कतारका लागि नेपाली राजदूत नरेश विक्रम ढकालका अनुसार कतारी प्रधानमन्त्रीले विपिन जोशी अझैसम्म मुक्त नभएको विषयमा आश्चर्य व्यक्त गरेका थिए।

तस्बिर स्रोत, Kishor Chandra Subedi
“यहाँका प्रधानमन्त्रीले जुन किसिमले थप चासो राखेर ‘ए, अहिले पनि रिहा भएका छैनन्?’ भन्ने खालको कुरा राख्नुभयो," राजदूत ढकालले बीबीसी न्यूज नेपालीसँग टेलिफोनमा भने।
"...अब त्यसले गर्दा अब छिटोभन्दा छिटो विपिनबाबु रिहा हुने कुरामा हामी विश्वस्त छौँ,” राजदूत उनले भने।
कतारको परराष्ट्र मन्त्रालयले भने विपिन जोशीको रिहाइको पहलबारे केही उल्लेख गरेको छैन। मन्त्रालयले भेटपछि जारी गरेको सूचनामा द्विपक्षीय हितका विषयमा कुरा भएको सङ्क्षिप्त विवरण मात्रै समावेश छ।
राजदूत ढकालका अनुसार कतारले इजरेल र हमासबीच फेरि युद्धविराम गराउने पहल भइरहेको जानकारी नेपाली पक्षलाई दिएको छ।
“कब्जामा रहेका व्यक्तिहरूमध्ये अन्तर्राष्ट्रिय नागरिकहरूलाई सकेसम्म छिटो निकाल्ने प्रयत्न छ। फेरि नयाँ नोटमा हामीले यसलाई राख्यौँ भन्ने उहाँहरूको आश्वासन छ,” ढकालले भने।
परराष्ट्रमन्त्री साउदको सचिवालयका अनुसार कतारका प्रधानमन्त्री अल-थानीले विपिन जोशीलगायत विदेशी बन्दीहरूको रिहाइका लागि "कतार सरकारले उच्च प्रयास गरिरहेको" बताएका थिए।
उनले "चाँडै सकारात्मक परिणाम आउन सक्ने सङ्केत" पनि दिएको साउदको सचिवालयले जनाएको छ।
विपिन जोशीबारे अहिलेसम्म के थाहा छ?
नोभेम्बरमा इजरेली डिफेन्स फोर्सेसले सार्वजनिक सञ्जालमा सीसीटीभी फुटेजसहित एउटा पोस्ट गरेको थियो।
त्यसमा हमासका लडाकुहरूले बन्धक बनाएर लगेका केही मानिसलाई अक्टोबर ७ कै दिन अल-शिफा अस्पताल परिसरमा देखिएको र तीमध्ये एक जना नेपाली भएको जनाएको थियो।

तस्बिर स्रोत, ISRAEL DEFENSE FORCES/REUTERS
त्यस आधारमा ती व्यक्ति विपिन जोशी भएको अनुमानहरू गरिए पनि उनलाई कहाँ राखिएको छ र कस्तो अवस्थामा छन् भन्नेबारे जानकारी नेपाली अधिकारीहरूसँग छैन।
राजदूत ढकाल सम्पर्कस्रोतहरूबाट हालसम्म प्राप्त भएका सूचनाहरूमा विपिन जोशी "जीवितै रहेको बुझिएको" बताउँछन्।
उनलाई देखेका र भेटेका व्यक्तिहरूसम्म नेपालले पहुँच स्थापित गर्न भने नसकेको अधिकारीहरूले बताएका छन्।
“तर हामीलाई पनि विश्वास के छ भने विपिनबाबु अहिलेसम्म सकुशल छन् भन्ने नै छ,” राजदूत ढकालले भने।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








