कतारले कसरी हमास-इजरेल सहमति गरायो

तस्बिर स्रोत, Reuters
हमास र इजरेलबीच चार दिनका लागि सङ्घर्षविराम गर्ने र बन्दी साटफेर गर्ने विषयमा भएको सहमतिका लागि कतारले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै बुधवार अमेरिकी राष्ट्रपति जो बाइडनले कतारको प्रशंसा गरे।
दुई पक्षबीच त्यस्तो सहमति गराउन कतारबाहेक अमेरिका र इजिप्टले पनि सहयोग गरेका थिए। कतारी प्रधानमन्त्रीले अमेरिका र इजिप्टप्रति कृतज्ञता प्रकट गरेका छन्।
सामाजिक सञ्जालमा लेख्दै मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अल थानीले उक्त सम्झौता "एउटा बृहत् तथा दीर्घकालीन सहमति" बन्ने र त्यसबाट "युद्ध र रक्तपातको अन्त्य हुने" अपेक्षा व्यक्त गरेका छन्।
उनले अहिलेको सहमतिबाट "बृहत् र न्यायसङ्गत शान्ति प्रक्रियाका लागि गम्भीर वार्ता"को बाटो खुल्न सक्ने जनाएका छन्।
उक्त सङ्घर्षविराम स्थानीय समय अनुसार बिहीवार बिहान १० बजेबाट सुरु हुने विवरणहरूमा जनाइएको छ।
जसक्रममा मानवीय सहायता बोकेका गाडीहरू पनि गाजा पुग्ने आशा गरिएको छ।
इजरेल र विश्व नेताका प्रतिक्रिया
इजरेल सरकारले यसलाई युद्धको अन्त्य नभएको भन्दै "हमासलाई पूर्ण रूपमा निस्तेज पार्ने" आफ्नो प्रतिबद्धता दोहोर्याएको छ। उसले अझै गाजामा हवाई हमलाहरू रोकेको छैन।
थप दश-दशजना बन्धकहरू छाडिँदाको अवस्थामा सङ्घर्षविराम एक-एक दिनले थपिने इजरेलले जनाएको छ।
एकजना बीबीसी संवाददाताले मुक्त गर्न लागिएका इजरेली बन्धकहरूको सूचीमा ३० जना बालबालिका, आठजना महिला र १२ जना वृद्ध महिलाहरू समावेश गरिने बताइएको जनाएका छन्। ती सबै इजरेली यहुदीहरू हुनेछन्।
यूकेका विदेशमन्त्री डेभिड क्यामरनले यस सहमतिलाई बन्धकहरू छुटाउन र गाजामा मानवीय सहायता पुर्याउनका लागि "महत्त्वपूर्ण कदम" भनेका छन्।
फ्रान्सका राष्ट्रपति एमानुअल माँक्रोले सबै बन्धकहरू छुटाउनका लागि "अथक" प्रयासहरू भइरहेको जनाएका छन्।
राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले यसलाई "सही दिशामा महत्त्वपूर्ण कदम" बताएका छन्। तर उनले "थप धेरै कामहरू गर्न आवश्यक रहेको" बताएका छन्।
रोममा पोप फ्रान्सिसले बन्धकहरूका इजरेली परिवार र इजरेली जेलमा रहेका प्यालेस्टिनीहरूका आफन्तहरूलाई भेटेका छन्।
जसपछि उनले जारी द्वन्द्व युद्धभन्दा पर गएर "आतङ्कवाद" बनेको र दुवै पक्षलाई पीडा दिएको बताए।

तस्बिर स्रोत, Getty Images
सङ्घर्षविरामलाई प्यालेस्टिनी नेता महमुद अब्बास, युरोपेली सङ्घ ईयू र अमेरिका, जोर्डन, रुस, चीन, इजिप्ट, फ्रान्स र जर्मनी सहितका देशले स्वागत गरेका छन्।
इजरेलले यस लडाइँका बेला पछिल्ला सातामा केही ठाउँहरूमा "संक्षिप्त सङ्घर्षविराम" गर्ने गरेको थियो।
तर गए राति पुष्टि गरिएको चार दिन लामो सङ्घर्षविराम ७ अक्टोबर यता गाजा क्षेत्रभर हुन लागेको पहिलो पूर्ण आकारको सङ्घर्षविराम हो।
कतारको भूमिका
पर्सिअन खाडीमा अवस्थित कतार एउटा सानो देश हो।
कुनैबेला मध्यपूर्वको निकै गरिब देश हाल त्यस भेगको धनीमध्येमा पर्छ।
पछिल्ला वर्षमा उक्त देशले आफ्नो छिमेकमा मात्र नभएर विश्वभरका वार्ताहरूमा मुख्य भूमिका निर्वाह गरेको थियो।
उसले यसअघि समेत इजरेल र हमासबीच युद्धविराम गराउन सकेको थियो।
कतारका नेताहरूले कैयौँ वर्षदेखि “मध्यपूर्व र संसारभरका द्वन्द्वमा सबै पक्षसँग - लगभग सबै पक्षसँग - कुरा गर्ने रणनीति अङ्गीकार गरेको छ,” द ग्रुप गल्फ स्टेट एनलिटिक्सका जर्जिओ काफिआरोले भने।
उक्त देश भेनेजुएला, चाड र सुडान संलग्न वार्ताहरूमा समेत सहभागी भएको उनी बताउँछन्।
"यो अन्तर्राष्ट्रिय मञ्चमा दोहालाई बढ्दो रूपमा सक्दो धेरै भिन्नभिन्न पक्षका लागि उपयोगी बनाउने कूटनीतिक रणनीतिको एउटा पाटो हो," काफिआरोले थपे।
केही सरकारहरूले दोहाको हमासजस्ता अतिवादी समूहसँगको सम्बन्धलाई लिएर आलोचना गर्छन्।

तस्बिर स्रोत, Getty Images
सन् २०१७ मा साउदी अरब नेतृत्वमा केही देशले उक्त देशसँग सम्बन्ध तोडेका थिए। जस क्रममा उनीहरूले कतारलाई अतिवादी र इस्लामिस्ट समूहहरूसँग सम्बन्ध तोड्न बाध्य पार्न त्यसो गरेको दाबी गरेका थिए।
कतारले आतङ्कवादलाई समर्थन गरेको भनिएका दाबीलाई कडा रूपमा खण्डन गर्ने गरेको छ।
त्यस्ता समूहहरूसँगको जुनसुकै सम्बन्धलाई दोहाले त्यस क्षेत्रका विभिन्न पक्षहरूसँग सम्बन्ध राख्ने आफ्नो स्वतन्त्र नीतिको एउटा पक्ष बताउने गरेको छ।
कतार उपयोगी मध्यस्थकर्ताका रूपमा देखा परेको यो पहिलो घटना भने होइन।
अफगानिस्तानको सत्तामा नहुँदा कैयौँ वर्ष उक्त देशले तालिबानको कार्यालय आफ्नो भूमिमा राख्न दिएको थियो।
अमेरिका र उसका साझेदारहरू तालिबानसँग लडाइँमा हुँदा उसले वासिङ्टनलाई उनीहरूसँग वार्ता गर्ने ठेगाना उपयोगी हुने भन्दै आश्वस्त पार्यो।
फलस्वरूप सन् २०२० मा एक विवादास्पद शान्ति सम्झौता भयो र त्यसपछिको वर्षमा काबुलबाट पश्चिमा शक्तिहरू भद्रगोल तरिकाबाट निस्किए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।











