खरबुजा कसरी प्यालेस्टिनीहरूको प्रतीक बन्यो

खरबुजा खाँदै एक बालक

तस्बिर स्रोत, Getty Images

"प्यालेस्टाइनमा प्यालेस्टिनी झण्डा फहराउनु अपराध भएको छ

त्यहाँ इजरेली सेनाविरुद्ध खरबुजाको आधा भाग उठाइएको छ

- रातो, कालो, सेतो, हरियो प्यालेस्टाइनका लागि।”

यी पङ्क्ति अमेरिकी कवि अरासेलिस गिर्मीको कविता "ओड टु द वाटरमेलन"मा लेखेका हुन्। यिनले प्यालेस्टिनी मामिलामा खरबुजाको प्रतीकात्मक अर्थ बुझाउँछन्।

रातो, कालो, सेतो र हरियो रङ्ग खरबुजामा मात्र हैन, प्यालेस्टिनी झण्डामा पनि छन्।

गाजामा इजरेलले गरेको पछिल्लो आक्रमणबीच प्यालेस्टिनीहरूको समर्थनमा निकालिएका जुलुसहरू तथा सामाजिक सञ्जालका अनगिन्ती पोस्टहरूमा त्यस्तो प्रतीक प्रयोग गरिएको देखिन्छ।

खरबुजा प्यालेस्टाइनको प्रतीक बन्नुको इतिहास छुट्टै छ।

सन् १९६७ को अरब-इजरेल युद्धपछि इजरेलले गाजा र वेस्ट ब्याङ्क कब्जा गर्‍यो।

त्यसपछि इजरेलले ती क्षेत्रमा प्यालेस्टिनी झण्डा र उक्त झण्डासँग मिल्दाजुल्दा रङ्गाजस्ता राष्ट्रियताका प्रतीकहरू बोक्न प्रतिबन्ध लगायो।

युद्धविराम माग गर्दै जर्मनीको बर्लिनमा भएको प्रदर्शनमा खर्बुजाको आकृति

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, युद्धविराम माग गर्दै जर्मनीको बर्लिनमा भएको प्रदर्शनमा खर्बुजाको आकृति

आफ्नो देशको झण्डा बोक्नु फौजदारी अपराध बनेपछि प्यालेस्टिनीहरूले विरोधको रूपमा खरबुजाका टुक्राहरू प्रयोग गर्न थाले।

इजरेल र प्यालेस्टाइनले सन् १९९३ मा ओस्लो सम्झौताका रूपमा चिनिने अन्तरिम शान्ति सम्झौताहरूको एउटा शृङ्खलामा हस्ताक्षर गरेपछि प्यालेस्टिनी अधिकारीहरूले झण्डालाई मान्यता दिए।

प्यालेस्टिनी प्रशासन कब्जा गरिएको वेस्ट ब्याङ्कका केही भागहरू र गाजामा शासन गर्न खडा गरिएको थियो।

"गाजा स्ट्रिपमा जवान पुरुषहरूलाई एक पटक काटिएका खरबुजाहरू बोकेको आरोपमा पक्राउ गरिएको थियो। यद्यपि उनीहरूले रातो, कालो र हरियो प्यालेस्टिनी झण्डाला रङ्ग मिलाएर प्रदर्शन गर्दै थिए। उनीहरू एक पटक प्रतिबन्धित झण्डा फहराएर जुलुसमा सैनिकको साथमा उभिएका थिए," द न्यूयोर्क टाइम्सका पत्रकार जोन किफ्नरले ओस्लो सम्झौतामा हस्ताक्षर भएपछि लेखेका थिए।

त्यसको धेरै महिनापछि सन् १९९३ को डिसेम्बरमा त्यो पत्रिकाले उक्त गिरफ्तारीबारे गरिएको दाबी पुष्टि हुन नसकेको जनायो।

यद्यपि उसले "इजरेली सरकारका प्रवक्तालाई सोध्दा उनले त्यस्ता घटनाहरू भएको हुन सक्ने कुरालाई अस्वीकार गर्न सकिँदैन" भनेको पनि उल्लेख गर्‍यो।

प्यालेस्टिनीहरूको पक्षमा वकालत गर्न बनाइएको पेन्टिङ

तस्बिर स्रोत, Instagram/Khaled Hourani

तस्बिरको क्याप्शन, प्यालेस्टिनीहरूको पक्षमा वकालत गर्न बनाइएको खरबुजाको चित्र

त्यस बेलादेखि कलाकारहरूले प्यालेस्टिनीप्रति ऐक्यबद्धता जनाउन खरबुजालाई चित्रण गर्ने खालको कला सिर्जना गर्न कार्यलाई जारी राखेका छन्।

सबैभन्दा प्रसिद्ध कलाकृतिमध्ये एउटा खालिद होरानीको पनि हो। सन् २००७ मा उनले ‘सब्जेक्टिभ एट्लस अफ प्यालेस्टाइन’ नामक पुस्तकका लागि खरबुजाको टुक्राको चित्र बनायो।

‘द स्टोरी अफ द वाटरमेलन’ भनिने उक्त कलाले संसारभरि यात्रा गर्‍यो र सन् २०२१ मेमा इजरेल-हमास द्वन्द्वका बेला थप प्रमुखता पायो।

खरबुजालाई चित्रण गर्ने कार्यको वृद्धि यस वर्षको सुरुमा पनि भयो।

ज्यानुअरीमा इजरेली राष्ट्रिय सुरक्षा मामिला हेर्ने मन्त्री इटामर बेन गभिरले प्रहरीलाई सार्वजनिक स्थानहरूबाट प्यालेस्टिनी झण्डा हटाउन निर्देशन दिए।

उनले ती झण्डा फहराउने कार्य "आतङ्कवादको समर्थनमा" भएको बताएका थिए। इजरेली विपक्षी जुलुसहरूमा पनि खरबुजाका चित्रहरू देखा परेका थिए।

इजरेली कानुनले प्यालेस्टिनी झण्डालाई निषेध गर्दैन तर प्रहरी र सैनिकहरूले सामाजिक अवस्था खलल हुन सक्ने ठानेमा त्यस्ता झण्डा हरू हटाउने अधिकार उनीहरूलाई छ।

गत जुलाईमा जेरुसलेममा भएको विरोध प्रदर्शनमा इजरेली प्रदर्शनकारीहरूले प्यालेस्टिनी झण्डाको रङ्गका खरबुजा बोकेर प्रदर्शन गरेका थिए। त्यसमा उनीहरूले "स्वतन्त्रता" शब्दका साथमा ती चिह्नहरू राखेका थिए।

जेरुसलेममा भएको प्रदर्शन

तस्बिर स्रोत, Getty Images

गत अगस्टमा प्रधानमन्त्री बेन्जमिन नेतन्याहूको न्यायिक सुधार गर्ने योजनाहरूको विरोध गर्न तेल अभिभमा भेला हुँदा पनि प्रदर्शनकारीहरूको एउटा समूहले खरबुजा अङ्कित टी-शर्ट लगाएका थिए।

हालै खरबुजाहरू र खरबुजाका चित्रहरू गाजा युद्धको विरोध गरिएका सामाजिक सञ्जाल पोस्टहरूमा मुख्य रूपमा देखा परेका छन्।

उदाहरणका लागि, टिकटकमा ब्रिटिश मुस्लिम हास्य कलाकार सुमिरुन नेस्साले खरबुजाका फिल्टरहरू बनाए । त्यसबाट भएको सबै कमाइ गाजालाई सहयोग गर्ने परोपकारी संस्थाहरूलाई दिने वाचा गर्दै आफ्ना फलोअरहरूलाई उक्त फिल्टर प्रयोग गरेर भिडिओ बनाउन उत्प्रेरित गरे।

केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले आफ्नो खाता वा भिडिओलाई सामाजिक सञ्जालहरूहरूले दबाइदिने डरले प्यालेस्टिनी झण्डाको सट्टा खरबुजाको चित्र वा चिह्न पोस्ट गरिरहेका पनि हुन सक्छन्।

तेल अभिभमा भएको प्रदर्शन

तस्बिर स्रोत, Getty Images

प्यालेस्टाइनलाई समर्थन गर्ने मानिसहरूले विगतमा इन्स्टाग्रामले "छद्म प्रतिबन्ध" लगाएको आरोप लगाएका थिए।

उनीहरूका अनुसार उक्त सञ्जालले निश्चित पोस्टलाई अन्य प्रयोगकर्ताको फीडमा देखा नपर्ने बनाइदिएको थियो।

बीबीसीका साइबर संवाददाता जो टाइडी भन्छन्, "त्यस्तो अहिले पनि भइरहेको छ भन्ने कुनै प्रमाण भेटिएको छैन।

"प्यालेस्टाइनको समर्थन गरिएका सामग्रीहरू पोस्ट गर्ने प्रयोगकर्तालाई प्रतिबन्ध लगाउने कुनै षड्यन्त्र छ जस्तो लाग्दैन," उनी भन्छन्।

"मानिसहरूले सामाजिक सञ्जालमा खरबुजाका तस्बिरहरू प्रयोग गरिरहेका छन् तर उनीहरूले प्यालेस्टाइनको झण्डा पनि स्वतन्त्र रूपमा प्रयोग गरिरहेका छन् र द्वन्द्वको बारेमा खुलेर लेखिरहेका छन्।"

खरबुजालाई प्यालेस्टाइनमा दशकौँसम्म राजनीतिक प्रतीकको रूपमा मानिन्थ्यो। विशेषगरी पहिलो र दोस्रो इन्तिफादास (प्यालेस्टिनी विद्रोह) मा त्यसलाई त्यस्तो प्रतीक मानिएको थियो।

अहिले खरबुजा उक्त इलाकामा अविश्वसनीय रूपमा लोकप्रिय फल मात्र बनेको छैन, प्यालेस्टिनीहरू र उनीहरूको सङ्घर्षलाई समर्थन गर्ने पुस्ताका लागि शक्तिशाली प्रतीक पनि बनेको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।